राज्यसत्ताले बुझोस्, एउटा लास फ्रिजमा राखेर अर्को जिउँदो मान्छेलाई कोठामा थुन्नु नै आजको लोकतन्त्रको वास्तविक र बीभत्स चित्र हो।
दशकौं हुन लाग्यो, काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालको एउटा कुनामा एउटा मेकानिकल घ्यारघ्यार आवाज निरन्तर गुञ्जिरहेको छ। त्यो फ्रिजभित्र केवल एउटा लास छैन, त्यहाँ यो देशको लोकतन्त्रको जमेको र नीलो भएको अनुहार छ। २०७३ असार ३० गते धादिङको परेवाटारमा अठारवर्षे भर्भराउँदो सपनालाई जातको डोरीले पासो लगाइयो– अजित मिजार। आज अजितको छाला हिउँजस्तै चिसो र कठोर छ। यद्यपि, उनको वियोगान्त कथा यो देशको संसद् र अदालतका न्याना कोठाहरूमा अझै पनि आगो झैं दन्किरहेको छ।
अजितको चिसो शव आजको नेपाली न्याय प्रणालीको वास्तविक ‘पोस्टमार्टम रिपोर्ट’ हो, जसले हाम्रो विधिको शासनको कलेजो कुहिएको पुष्टि गर्छ। आज मार्च २१, अर्थात् ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस’। विश्वभर समानताका नारा घन्किरहँदा र रंगभेदविरुद्धका प्रतिबद्धता दोहोर्याइरहँदा नेपालको एउटा अस्पतालको मर्चरीमा भने एउटा दलित युवकको शव न्यायको पर्खाइमा छ। यो दिवस मनाइरहने संयुक्त राष्ट्रसंघ र मानव अधिकारका अभियन्ताहरूका लागि अजितको लास यो शताब्दीकै सबैभन्दा ठूलो गिज्याहट हो। आज हामी केवल अजितको मात्र कुरा गरिरहेका छैनौं। हामी ती युवतीको कुरा गरिरहेका छौं, जसको प्रेमले यो जात व्यवस्थाको नक्कली साम्राज्यलाई जगैदेखि हल्लाइदिएको थियो। आज नयाँ पालिस लगाउन तम्तयार सिंहदरबारका कुर्सी र वर्षौंदेखि न्यायको तराजु समातेर बसेका न्यायमूर्तिहरूलाई प्रश्न सोध्न मन लाग्यो– अजितकी प्रेमिका कहाँ छिन् ?
प्रेमको रङ र जातको रगत : यो कथा कुनै ठूला राजनीतिक दस्तावेजहरूको संग्रह होइन। यो त ती स–साना र सामान्य लाग्ने कुराको थुप्रो हो, जसले एउटा मान्छेको अस्तित्वलाई नै खरानी बनाइदियो। एउटा सामान्य फोन कल, जुन अचानक मृत्युको धम्कीमा बदलियो। एउटा पुरानो लुगाको फेरो, जसलाई समातेर एउटी आमाले वर्षौंसम्म मर्चरीको गेटमा विलाप गरिरहिन्। अनि धादिङको परेवाटारको त्यो हिलो र ओसिलो खाल्डो, जहाँ अजितको तातो शरीरलाई ‘बेवारिसे’को बिल्ला भिराएर हतार–हतार पुरिएको थियो– मानौं, एउटा मान्छेको लास होइन, एउटा फोहोरको व्यवस्थापन गरिँदै थियो। के राज्यको नजरमा दलितको शरीर केवल विसर्जन गर्नुपर्ने फोहोर मात्रै हो ?
हाम्रो समाजमा जातको उन्माद मान्छेको नसा–नसामा विष झैं घोलिएको छ। जसले रगतको रङ रातो हुन्छ भन्ने शाश्वत सत्यलाई पनि अहंकारको लेपनले छोपिदिन्छ। अजितले त्यही रगतको रङमा प्रेम मिसाउने धृष्टता गरे। उनले कथित माथिल्लो जातको घमण्डलाई आफ्नो मानवीय अँगालोमा बाँध्न खोजे। उनले यो बिर्सिए कि यो भूगोलमा प्रेमका लागि मन्दिरका घण्टीहरू होइन, मर्चरीका चिसो फ्रिजहरू पहिले तयार गरिन्छन्। जुन युवतीले आफ्नो पुर्खाको विरासत र जातको भारी बिसर्जन गरेर एउटा दलित युवकको हात थाम्ने अदम्य साहस गरिन्, ती विद्रोही युवती आफ्नै प्रेमको चिता बल्दा यसरी निःशब्द कसरी हुन सक्छिन् ? यो मौनता स्वाभाविक होइन, यो त एउटा गहिरो र अँध्यारो सामाजिक षड्यन्त्रको अँध्यारो कुवा हो।
साक्षी संरक्षण कि संस्थागत हत्या ? : हामीसँग ‘साक्षी संरक्षण ऐन’ छ। हामीसँग मानव अधिकारका ठूला–ठूला ठेलीहरू छन्। विडम्बना, एउटी मुख्य साक्षीलाई यसरी गायब पारिनु वा राज्यको नजरबाटै ओझेलमा राखिनु के संस्थागत मिलेमतो होइन ? राज्यले ती साक्षीलाई संरक्षण गर्न सकेन कि चाहेन ? जुन साहसले अजितलाई रोजेको थियो, त्यो साहस अहिले कुन अँध्यारो कोठामा बन्धक छ ? के उनलाई पनि ‘इज्जतका लागि गरिने हत्या’को अर्को मौन र अदृश्य अध्याय बनाइयो ? वा, उनलाई कुनै घरको अँध्यारो छिँडीमा, कुनै मानसिक अस्पतालको सुनसान कुनामा जिउँदो लास बनाएर कैद गरिएको छ ?
जसले विद्रोहको आगो बालेकी थिइन्, ती क्रान्तिकारी प्रेमिका आज खरानीसमेत नभेटिने गरी कहाँ हराइन् ? यो समाजले उनलाई एउटा यस्तो मनोवैज्ञानिक पिँजडामा राखेको छ, जहाँ बाहिरबाट हेर्दा पारिवारिक इज्जत र संस्कार देखिन्छ तर भित्रबाट हेर्दा केवल कुहिएको आत्माको गन्ध आउँछ। उनको मौनता हाम्रो समाजको सबैभन्दा ठूलो सामूहिक हार हो। उनलाई घरभित्र थुनेर र उनको आवाज निमोठेर राज्यले आफूलाई विजयी ठानेको होला, तर वास्तवमा राज्य पराजित भएको छ। राज्य यति धेरै डराएको छ कि एउटी युवतीको सत्यले उसको वर्षौं पुरानो जातीय साम्राज्यलाई ध्वस्त पार्छ भन्ने उसलाई राम्रोसँग बोध छ। राज्यले उनलाई संरक्षण गर्न सकेन कि चाहेन ? यो प्रश्न नै आजको न्यायको मुख्य कसी हो।
अदालती आदेश र बेवारिसे न्याय : नेपाल प्रहरीले अजितको मृत्युलाई ‘आत्महत्या’को संज्ञा दिन हरसम्भव प्रयास गर्यो। तर, के प्रहरीले कहिल्यै ती युवतीको भौतिक र मानसिक अवस्थाबारे सोधीखोजी गर्ने हिम्मत गर्यो ? आठ वर्ष भयो– उनी जीवित छिन् कि छैनन् ? यदि छिन् भने उनलाई स्वतन्त्र संसारको हावा फेर्न किन दिइएन ? अन्तर्राष्ट्रिय कानुनी परिभाषामा यसलाई ‘जबर्जस्ती बेपत्ता’ भनिन्छ। सार्वभौम नागरिक यसरी गायब पारिँदा राज्यका आँखामा कुन जातको पट्टी बाँधिएको छ ?
२०७८ फागुनमा सर्वोच्च अदालतले एउटा ऐतिहासिक आदेश दियो– पीडित परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिनु र घटनाको गम्भीरतालाई हेर्दै पुन : अनुसन्धान अघि बढाउनु। तथापि, त्यो आदेश सिंहदरबारका दराजहरूमा धुलो जमेर बसेको होला। जब आपसी मत मिल्छ, तब सत्यको घाँटी निमोठिन्छ। अदालतका फैसलाहरूमा अक्सर ‘प्राविधिक प्रमाण’को अभाव देखाइन्छ। के एउटा बाबुले आठ वर्षसम्म आफ्नो जवान छोराको लास नजलाउनु अन्यायको सबैभन्दा ठूलो र जीवित प्रमाण होइन ? अजितका बुबा कुलमान मिजारको ओइलाएको अनुहार, जसमा न्यायको तिर्खाले धाँजा फाटेको छ, के त्यो यो देशको न्याय प्रणालीको हार होइन र ?
पवित्र जातको फोहोरी राजनीति : भन्छौं, ‘नयाँ नेपाल’मा छौं। कुन नयाँ नेपाल ? जहाँ एउटा दलितको लासले दशकौंसम्म माटो पाउँदैन ? जहाँ एउटा बाबुले न्यायका लागि अस्पतालको मर्चरी धाउँदा–धाउँदा आफ्नो जीवनको आधा ऊर्जा खर्च गरिसक्यो। यसरी वर्षौंसम्म एउटा बाबुले अस्पतालको मर्चरी कुर्नुपर्दा हाम्रो नागरिक समाज र दलित आन्दोलन कहाँ हरायो ? हाम्रो अधिकारको लडाइँ मौसमी हावाजस्तो निरर्थक बनेको हो ? या केही गैरसरकारी संस्थाका प्रतिवेदनहरूमा मात्र सीमित छ ? यो प्रश्न आज हरेक नागरिक अगुवा र अधिकारकर्मीले आफूलाई सोध्नुपर्ने बेला आएको छ। वास्तवमा, आज हामी लोकतान्त्रिक क्रूर भएका छौं, जो दौरा–सुरुवाल र सुट–पेन्ट लगाएर समानताको डकार लिइरहेका छौं। एउटा बाबुको दशकौं लामो प्रतीक्षा र एउटी युवतीको गायब पारिएको अस्तित्वलाई मौन समर्थन गरिरहँदा, के हामीलाई आफ्नो ‘मनुष्य’ हुनुमा अलिकति पनि धिक्कार महसुस हुँदैन ?
सिंहदरबार र अदालतका अग्ला पर्खालहरूमा जातको गन्ध आउँछ। यहाँका न्यायमूर्ति र नेताहरूका लागि कुलको कथित इज्जतभन्दा एउटा मान्छेको रगत सस्तो भएको छ। अबको लडाइँ केवल अजितको शवको अन्त्येष्टिको विषयमात्र होइन, यो ती युवतीको अस्तित्वको खोजी पनि हो। यदि राज्यले उनलाई सुरक्षित रूपमा संसारको अगाडि उभ्याउन सक्दैन भने यो बुझ्नुपर्छ कि यो राज्यले दुईवटा हत्या गरेको छ– एउटा दलितको शरीरको र अर्को त्यो दलितलाई प्रेम गर्ने युवतीको आत्मा र आवाजको। यो राज्यसत्ताले बुझोस्, एउटा लास फ्रिजमा राखेर अर्को जिउँदो मान्छेलाई कोठामा थुन्नु नै आजको लोकतन्त्रको वास्तविक र बीभत्स चित्र हो।
अन्तर्राष्ट्रिय गुहार र मानवीय चेतनाको पुकार : हामी अब यो लाचार राज्यसँग न्यायको भिक्षा माग्न छोड्छौं। हामी संयुक्त राष्ट्रसंघ, एम्नेस्टी इन्टरनेसनल र विश्वभरका मानव अधिकारवादीहरूलाई पुकार्छौं। यो नेपालको आन्तरिक मामिलामात्र होइन, यो त ‘जातीय रंगभेद’को बर्बर नमुना हो। जुन देशले आफ्नो नागरिकको लासलाई सम्मानजनक बिदाइ दिन सक्दैन, फ्रिजमा सडाएर तेस्र्याउनमा बरु गर्व गर्छ, त्यो देशले विश्वमञ्चमा ‘बुद्धको देश’ भनेर शिर उठाउने कुनै हक राख्दैन। हामी चाहन्छौं कि अन्तर्राष्ट्रिय निकायले स्वतन्त्र टोली पठाएर अजितको शंकास्पद हत्या र ती युवतीको वर्तमान अवस्थाबारे गहिरो शल्यक्रियात्मक छानबिन गरोस्।
हाम्रो साझा हारको गवाही : अजितको लासले माटो पाउनु र ती युवतीले आफ्नो हराएको आवाज पाउनु एउटै सिक्काका दुई पाटा हुन्। यदि ती युवती बाहिर आएर सत्य बोल्ने हो भने यो समाजको नक्कली इज्जतको जग भत्किनेछ। आज मार्च २१ को यो विशेष सन्दर्भमा राज्यले एउटा संकल्प गरोस्– के यो दिवस केवल भाषणमा सीमित हुनेछ ? प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू ! अब बन्ने नयाँ सरकार ! यदि तपाईंको लोकतन्त्र फ्रिजभित्र जमेको छैन भने ती युवतीलाई यथाशक्य चाँडो सार्वजनिक गरियोस्। नत्र सारा संसारले बुझ्नेछ– नेपाल एउटा यस्तो देश हो जहाँ प्रेम गर्नेहरूलाई कि त खाडलमा पुरिन्छ, कि त सधैंका लागि अन्धकारमा गायब पारिन्छ।
अजित, तिमी चिसो छौ। तिमी स्थिर छौ। यद्यपि, महाराजगन्जको त्यो फ्रिजबाट निस्कने चिसो वाफले हाम्रा संसद् भवन र अदालतका न्यानो कुर्सीहरूलाई गिज्याइरहेको छ। तिम्रा बुबाको अनुहार, जसमा अब आँसु होइन, एउटा अनन्त र उजाड मरुभूमि छ, त्यो यो देशको इतिहासको सबैभन्दा डरलाग्दो ऐना हो। अब हामी सबैले त्यो ऐनामा आफ्नो कुरूप अनुहार हेर्नुपर्छ। जबसम्म अजितको शवले न्यायको माटो पाउँदैन र जबसम्म उनको प्रेमको साक्षीलाई यो राज्यले सार्वजनिक गर्दैन, तबसम्म हामीमध्ये कोही पनि स्वतन्त्र छैनौं। हामी सबै त्यो मर्चरीको फ्रिजमा जमेका लासहरू हौं, जसले सास मात्र फेरिरहेका छौं।एकपटक तपाईं आफैंलाई सोध्नुहोस्, तपाईंको इज्जतको पर्खाल कति अग्लो छ ? जसलाई एउटा १८ वर्षे ठिटोको
चिसो लासले पनि भत्काउन सकेन ?
प्रतिक्रिया दिनुहोस !