युवामय बालेनको टिम
काठमाडौं : बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन भएको छ, जसमा अधिकांश मन्त्रीहरू युवा छन्। ४० वर्षमुनिका मात्रै १० जना मन्त्री छन्।
बालेनको मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला समेटिएका छन्। १५ सदस्यीय मन्त्रिमण्डलमा ५ जना महिला छन्। काठमाडौंबाटै ३ मन्त्री भएका छन्। ३६ वर्षका प्रधानमन्त्री बालेनले आफूसँगै रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राखेका छन्।
स्वर्णिम वाग्ले (५१ वर्ष)
अर्थमन्त्री
रास्वपाका उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन्। उनी बालेन सरकारको वरीयता क्रममा दोस्रो स्थानमा छन्। तनहुँ–२ बाट निर्वाचित वाग्ले दोस्रोपटक प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। उनी अर्थविज्ञका रूपमा परिचित छन्। अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका अर्थमन्त्री वाग्ले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनेका थिए।
५१ वर्षीय वाग्ले राष्ट्रसंघीय विकास कार्यक्रमको एसिया प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकारका साथै सर्वाङ्गीण विकास अध्ययन केन्द्र, विश्व बैंक र काठमाडौं विश्वविद्यालयमा पनि आबद्ध भएर काम गरेका छन्। फागुन २१ को निर्वाचनअघि नै रास्वपा सभापति रवि लामिछानेले उनलाई भावी अर्थमन्त्री भन्दै प्रचार गरेका थिए।
सुधन गुरुङ (३८ वर्ष)
गृहमन्त्री
सुधन गुरुङले शक्तिशाली गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। देशको शान्ति सुरक्षाको जिम्मा, ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागजस्ता महत्त्वपूर्ण संरचनाको कमान्ड गृहले गर्छ। सबैभन्दा आकर्षक मन्त्रालयको जिम्मेवारी गुरुङले पाएका छन्।
सरकारको तेस्रो वरीयता क्रममा रहेका गुरुङ गोरखा–२ बाट निर्वाचित हुन्। उनी भदौ २३ र २४ को आन्दोलनका मुख्य योजनाकारका रूपमा पनि चिनिन्छन्। ‘हामी नेपाल’ नामक संस्थाका अध्यक्ष ३८ वर्षीय गुरुङ सामाजिक अभियन्ता हुन्। जेन–जी आन्दोलनका समयमा प्रधानसेनापति अशोकराज सिग्देलसँग पटक–पटक भेट गर्ने पनि गुरुङ नै थिए। उनलाई जेन–जी आन्दोलनका आयोजक युवाहरूले ‘हाइज्याकर’ को आरोप पनि लगाए। २०७२ सालको भूकम्पपछिको उद्धार र राहतलगायत सामाजिक कार्यमा गुरुङ खटिएका थिए।
शिशिर खनाल (४७ वर्ष)
परराष्ट्र मन्त्री
परराष्ट्र मन्त्रालयको जिम्मेवारी शिशिर खनालले पाएका छन्। उनी काठमाडौं–६ बाट निर्वाचित हुन्। राजनीतिमा सक्रिय भएको छोटो समयमै खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका थिए। २०७९ माघ ३ देखि २२ सम्म १९ दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उनी शिक्षा मन्त्री बनेका थिए। २०७९ सालको निर्वाचनमा पनि काठमाडौं–६ बाट उनी निर्वाचित भएका थिए।
रास्वपाको केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख खनाललाई परराष्ट्र मन्त्री बनाइएको छ। अमेरिकाको प्रतिष्ठित ‘युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसन’ बाट उनले सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् भने बज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन्। उनी हालको मन्त्रिपरिषद्को चौथो वरीयता क्रममा छन्।
सुनील लम्साल (३५ वर्ष)
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री
रूपन्देही–१ बाट निर्वाचित सुनील लम्साल भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री बनेका छन्। बालेन सरकारको पाँचौं वरीयता क्रममा रहेका ३५ वर्षीय लम्साल पूर्वाधार इन्जिनियर हुन्। उनी प्रधानमन्त्री बालेनका साथी पनि हुन्। बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा लम्सालले पूर्वाधार सल्लाहकारका रूपमा काम गरेका थिए।
भौतिकमन्त्री लम्साल काठमाडौं विश्वविद्यालयबाट फोहोर व्यवस्थापनमा विद्यावारिधि अध्ययनरत छन्। उनले लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् भने भारतको नीति मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन्। उनी २०६२/६३ सालको आन्दोलनमा सहभागी भएका थिए।
विराजभक्त श्रेष्ठ (४४ वर्ष)
ऊर्जा मन्त्री
काठमाडौंका विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारी पाएका छन्। ४४ वर्षीय श्रेष्ठ काठमाडौं–८ बाट निर्वाचित भएका थिए। यसअघि श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका थिए। उनी दोस्रोपटक मन्त्री बनेका हुन्। उनी प्रतिनिधिसभामा पनि दोस्रोपटक निर्वाचित भएका हुन्।
२०७९ को निर्वाचनमा पनि रास्वपाबाट काठमाडौं–८ बाटै श्रेष्ठ प्रतिनिधिसभा सदस्य बनेका थिए। उनले वाणिज्य तथा व्यापार प्रशासनमा स्नातक गरेका छन्। उनी उज्ज्वल थापा नेतृत्वको विवेकशील पार्टीबाट राजनीतिक यात्रा सुरु गरी २०७४ सालमा प्रदेशसभा सदस्य पनि भएका थिए। बालेन सरकारमा उनी छैटौं वरीयता क्रमका मन्त्री हुन्।
खडकराज पौडेल ‘गनेस’ (४६ वर्ष)
पर्यटन मन्त्री
कास्की–१ बाट सांसद बनेका ४६ वर्षीय खड्कराज पौडेल (गनेस) ले पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्। बालेन सरकारको सातौं वरीयता क्रममा रहेका पौडेल लेखक, शिक्षक र सामाजिक अभियन्ता पनि हुन्। अंग्रेजी साहित्यमा स्नातक तथा पोखरा विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसन गरेका पौडेलले १५ वर्षभन्दा बढी शिक्षण अनुभव सँगालेका छन्।
उनी पोखरामा ‘र्यान्डम रिडर्स सोसाइटी’मार्फत पठन संस्कृतिको विकास गर्ने अभियानका परिकल्पनाकारका रूपमा पनि चिनिन्छन्। ‘पैताला’ जस्तो प्रयोगवादी उपन्यासमार्फत साहित्यमा ‘एब्सर्ड’ चेत भित्र्याएका पौडेलले परम्परागत राजनीतिक संस्कृतिको आलोचना गर्दै ‘विचारले जित्ने, चरित्रले टिक्ने’ वैकल्पिक राजनीतिको पक्षमा आफूलाई उभ्याएका छन्। उनी ‘अटेरी’ अभियानका प्रवर्तकका रूपमा समेत परिचित छन्।
सस्मित पोखरेल (२९ वर्ष)
शिक्षा मन्त्री
प्रधानमन्त्री बालेनका सारथी सस्मित पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्रालयसँगै सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन्। विगतमा सञ्चारमन्त्रीले सरकारको प्रवक्ताको जिम्मेवारी पाउने गरेकामा यसपटक शिक्षा मन्त्रीलाई सो जिम्मेवारी दिइएको छ। २९ वर्षीय पोखरेल काठमाडौं–५ बाट निर्वाचित सांसद हुन्।
उनले एमाले नेता ईश्वर पोखरेल, कांग्रेस महामन्त्री प्रदीप पौडेल र राप्रपा नेता कमल थापालाई पराजित गरेका थिए। बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा पोखरेलले शिक्षा क्षेत्र हेर्ने सहायक विज्ञ र सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गरेका थिए। बालेनको विश्वासपात्र रहेका पोखरेलले शिक्षासँगै युवा तथा खेलकुदको क्षेत्र पनि हेर्नेछन्।
निशा मेहता (३८ वर्ष)
स्वास्थ्यमन्त्री
निशा मेहताले स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्रीको जिम्मेवारी पाएकी छन्। ३८ वर्षीया मेहता समानुपातिकबाट सांसद बनेकी हुन्। नेपालको स्वास्थ्य क्षेत्रको नेतृत्व तहमा पहिलोपटक नर्सिङ पेसाबाट एक महिला स्वास्थ्यमन्त्री बन्न सफल भएकी छन्।
सुनसरीको इनरुवा नगरपालिकाकी मेहताले बीएस्सी नर्सिङ अध्ययन पूरा गरेपछि आफ्नो पेसागत जीवनको सुरुवात बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट गरेकी थिइन्। उनले विराटनगरस्थित नोबेल मेडिकल कलेज र विराट टिचिङ अस्पतालमा समेत काम गरिन्। उनले भारतको दिल्लीबाट एमएस्सी नर्सिङको अध्ययन पूरा गरेकी छन्। स्वास्थ्य क्षेत्रमै सुधार ल्याउने उद्देश्यका साथ उनी राजनीतिमा प्रवेश गरेकी हुन्।
डा. विक्रम तिमिल्सिना (४३ वर्ष)
सञ्चारमन्त्री
पूर्वसञ्चारकर्मी डा.विक्रम तिमिल्सिनालाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी दिइएको छ। सञ्चारमन्त्री तिमिल्सिना नुवाकोट–१ बाट निर्वाचित हुन्। उनले कांग्रेसका नेता डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए।
उनले विगतमा रेडियो सगरमाथामा पनि काम गरेका थिए। ४३ वर्षीय तिमिल्सिनाले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन्। त्यस्तै, क्विन्सल्यान्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन्। उनी बालेन सरकारको १०औं वरीयता क्रममा छन्।
प्रतिभा रावल (३२ वर्ष)
सामान्य प्रशासनमन्त्री
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावललाई संघीय मामिला तथा सामान्य प्रशासनका साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा दिइएको छ। बालेन सरकारको ११औं वरीयता क्रममा रहेकी ३२ वर्षीया रावल पूर्वसञ्चारकर्मी हुन्।
एक दशकभन्दा बढी पत्रकारिता गरेकी रावल रास्वपाकी समानुपातिक सांसद हुन्। रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा रावलले उनको सचिवालयमा काम गरेकी थिइन्। कञ्चनपुरकी स्थायी बासिन्दा रावल पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन्।
सोबिता गौतम (३० वर्ष)
कानुनमन्त्री
चितवन–३ बाट निर्वाचित सोबिता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेकी छन्। भरतपुर महानगरकी मेयर रेनु दाहाललाई हराएर सांसद बनेकी गौतम रास्वपाकी चर्चित नेतृ हुन्। अघिल्लो प्रतिनिधिसभामा ३० वर्षीया गौतम काठमाडौं–२ बाट निर्वाचित भएकी थिइन्। तीनवर्षे संसद्को कार्यकालमा उनले कानुन, न्याय र मानवअधिकार समिति सदस्य भएर काम गरेकी थिइन्।
उनले कानुन विषयमा स्नातक उत्तीर्ण गरेकी छन् भने हाल काठमाडौं स्कुल अफ ल मा एलएलएम अध्ययनरत छिन्। राजनीतिमा आउनुअघि उनले नेपाल टेलिभिजनमा स्वास्थ्य सरोकार कार्यक्रम चलाउँथिन्।
गीता चौधरी (३३ वर्ष)
कृषिमन्त्री
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरकी गीता चौधरी कृषि तथा पशुपन्छीका साथै वन तथा वातावरणमन्त्री भएकी छन्। रास्वपाकी समानुपातिक सांसद चौधरी कानुन व्यवसायी हुन्। कानुनमा स्नातकोत्तर गरेकी ३३ वर्षीया चौधरीको राजनीतिक यात्रा २०६२/६३ को आन्दोलनपछि सुरु भएको हो। सामान्य थारू परिवारमा जन्मिएकी चौधरी बालेन सरकारको १३औं वरीयता क्रममा छन्।
दीपककुमार साह (३४ वर्ष)
श्रममन्त्री
महोत्तरी–२ बाट निर्वाचित दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्। ३४ वर्षीय साह लामो बिरासत कायम गरेका शरदसंह भण्डारीलाई पराजित गरेर सांसद बनेका हुन्। साहले लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा ‘पीएचडी स्कलर’ का रूपमा अध्ययन गरेका छन्। उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एन्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन्। उनी नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्षसमेत हुन्।
सीता वादी (३० वर्ष)
महिलामन्त्री
प्रधानमन्त्री बालेनले सीता वादीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाएका छन्। उनी वादी समुदायबाट संघीय सांसद हुँदै मन्त्री हुने पहिलो व्यक्ति हुन्। सुर्खेतकी सीताको परिवार खोलाको बालुवा चालेर जीविकोपार्जन गर्दै आएको थियो। ३० वर्षीया सीतालाई रास्वपाले समानुपातिकबाट सांसद बनाएको हो। उनले राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन्।
प्रतिक्रिया दिनुहोस !