महाभारत बुझ्ने दीपशिखा

महाभारत बुझ्ने दीपशिखा
सुन्नुहोस्

पुस्तक, पूर्वीय दर्शनअन्तर्गतका अति महत्वपूर्ण ग्रन्थ महाभारत र गीता (महाभारतभित्रै गीता रहेको)बारे छिटो र छोटो जानकारी चाहनेका लागि अति उपयोगी देखिन्छ।

महाभारत विश्वकै सबभन्दा ठूलो महाकाव्य हो। यसलाई आर्षकाव्य पनि भनिन्छ। यसको विषयवस्तु, यहाँभित्र उल्लिखित पात्रहरू, अनेक घटना, उपघटनाहरूको वर्णन तथा तारतम्य पढ्दै जाँदा कुनै पनि पाठक चकित, आनन्दमग्न र सोचमग्न हुन्छ। यो जति पढ्यो उति पढूँपढूँ लाग्ने, जति चर्चा गर्‍यो उति गरूँ गरूँ लाग्ने र जति बुझ्यो उति बुझूँबुझूँ लाग्ने खालको छ ।

महाभारतको विषयमा महाभारतकै आदिपर्वमा छ । जुन संसारका अन्यत्र ठाउँमा पनि छ र जुन कुरा महाभारतमा छैन, त्यो संसारमा कतै पनि पाइँदैन। यस्तो रोचक, रहस्यमय र विशद महाग्रन्थ सुरुमा, महर्षि व्यासले भन्ने र गणेशले लेख्ने गरेर तयार गरिएको भनिन्छ। कैयन वर्षको अन्तरालमा यसको अनुवाद विभिन्न भारतीय भाषादेखि लिएर संसारका धेरै प्रमुख भाषामा गरिएको छ। नेपाली भाषामा पनि विभिन्न लेखकले विभिन्न समयमा गद्य तथा पद्य स्वरूपमा लेखेका छन्। यसभित्र विभिन्न कथा, उपकथा, घटना र प्रसंगलाई व्याख्या तथा वर्णन गर्दा पनि फरकफरक तरिकाले गरिएको छ।

यसो हुनुको कारण लेखकीय लहड वा फरक फरक स्रोतलाई आधार बनाइएको हुन सक्छ। यसभित्रका एकेक मुख्य पात्रलाई लिएर नेपाली भाषामै पनि अनेक चर्चित पुस्तकहरू लेखिएका छन्। यस अर्थमा यसलाई उपजीव्य ग्रन्थ पनि भनिन्छ। जसले महाभारत पढ्छ ऊ कुनै न कुनै रूपमा प्रभावित हुन्छ नै। लेखकीय क्षमता हुनेले त्यसपछि केही न केही लेख्ने हुँदा भविष्यमा पनि ‘उपमहाभारतीय लेखन’ जारी हुन सक्छ।

यसै क्रममा नेपाली साहित्यमा एउटा अर्को महाभारतीय पुस्तक थपिएको छ, २०८२ मंसिरमा– ‘महाभारत पर्वभित्रका पर्वहरू’। यस पुस्तकका लेखक हुन्– हरिप्रसाद पाण्डे। जसमा आदिपर्वदेखि महाप्रस्थान पर्वसम्म गरी महाभारतका १८ ओटै पर्वबारे संक्षिप्त चर्चा गरिएको छ। आदिपर्वमा महाभारत ग्रन्थको रचना कसरी भयो भन्ने विषयमा चर्चा गर्दै वेदव्यासको जन्म, समुद्र मन्थन, कद्रु र विनता, जरत्कारुको धर्म र ऋषिको अडान, दक्षका दशकन्या, कुन्तीपुत्र कर्ण कवच कुण्डलधारी, दुष्यन्त शकुन्तला, ययाति देवयानी शर्मिष्ठा, ययातिको अनुभव, धृतराष्ट्र पाण्डुको जन्म र विवाह, कौरव पाण्डवको जन्म, कौरवहरूको दुश्कर्म र पाण्डवहरूको धैर्य, कृपाचार्य/द्रोणाचार्यको जन्म, कौरव तथा पाण्डवको जन्म, तिनीहरूको विवाह, द्रोणाचार्यको आदेशमा भीम र अर्जुनले द्रुपदलाई पक्रेको प्रसंग, धृतराष्ट्रलाई कणिक मन्त्रीका नौ सुझाव, पाण्डवहरूलाई लाहाघरभित्र जलाउने कौरवहरूको योजना, द्रौपदीको स्वयम्बर, इन्द्रप्रस्थको निर्माण, अर्जुनको बाह्रवर्षे वनवासजस्ता शीर्षकमा वर्णन गरिएको छ।

सभापर्वमा मयनिर्मित सभाभवन, फालिएका जरासन्धलाई सिंहासन, युधिष्ठिरको राजसूय यज्ञ, शिशुपाल बध, जुवाको दाउमा द्रौपदी र पाण्डवहरूको बाह्रवर्षे वनवास शीर्षकमा शीर्षका चर्चा गरिएको छ। दोस्रो पटकको जुवामा हारेपछि सर्तबमोजिम पाण्डव वनवास गैसकेपछिको अवस्थालाई वनपर्व नाम दिइएको छ। यसमा धर्मका आठ मार्ग, पाण्डवलाई वनमै मार्ने योजना, द्रौपदी–युधिष्ठिर संवाद, अर्जुनको हिमालय यात्रा र त्यहाँ उनले हावा पिएर गरेको तपस्या, नल दमयन्तीको दुःख र तिनको मिलन, भागीरथी गंगाको पृथ्वीमा अवतरण, ऋषि जमदग्नि र उनका छोरा परशुरामको कुरा, अष्टावक्रको जन्म, लामो जीवन बाँच्दाको पीडा, वनवासमा रहेका पाण्डवका सामु राजकीय फूर्तिफार्ती देखाउने क्रममा गन्धर्वहरूका कारण लज्जित हुनुपरेपछि दुर्योधनको आत्महत्याको प्रयास, सावित्री सत्यवान्को कथा, धर्मराजबाट युधिष्ठिरको परीक्षाजस्ता विषयमा वर्णन गरिएको छ।

विराटपर्वमा पाण्डवहरू विराट राजाको दरबारमा एक वर्ष गुप्तवास बस्ने क्रममा भोगिएका केही रमाइला र केही दुःखदायी प्रसंगहरूको उल्लेख गरिएको छ। उद्योगपर्वमा अभिमन्यु र उत्तराको बिहे, कौरव र पाण्डवको लडाइँ हुने भएपछि कृष्णजी पाण्डवको पक्षबाट लड्ने कुरा, शल्य पाण्डवका मामा भैकन पनि कौरवको पक्षबाट लड्ने, कौरव र पाण्डवबीच हुन लागेको लडाइँ रोक्ने प्रयास, विदुर नीति, अन्ततः कौरव र पाण्डवबीच लडाइँ हुने भएपछिको पहिलो दिन पाण्डवतर्फबाट धृष्टद्युम्न र कौरवतर्फबाट भीष्मपितामह सेनापति चुनिएको प्रसंगबारे उल्लेख गरिएको छ। १८ दिनसम्म लगातार चलेको महाभारतको लडाइँमा कौरवतर्फबाट पहिलो सेनापति बनेका भीष्मपितामह सख्त घाइते भएपछि सेनापति फेरिँदै कौरव १०० भाइ मारिइसक्दा पनि भीष्मपितामह अरू ४० दिनसम्म बाँचिरहेका हुन्छन्। त्यसो हुँदा यो कुरा अन्तिम पर्वमा फेरि आउने नै भयो। भीम र परशुरामको २३ दिने युद्ध र शिखण्डीलाई पुरुषत्व प्राप्तिका विषयमा पनि छ।

धृतराष्ट्र आँखा नदेख्ने भएको हुँदा लडाइँ हेर्न सक्ने कुरो भएन। महर्षि व्यासले देख्ने तुल्याइदिन्छु भन्दा पनि उनी मान्दैनन्। तर उनी लडाइँमा के के भयो त्योचाहिँ सुन्न चाहन्छन्, त्यो पनि दरबारमा बसीबसी। यसका लागि दरबारिया कर्मचारी सञ्जयले उनै व्यासबाट दिव्यदृष्टि पाउँछन्। प्रस्ट नियमसहित थालिएको युद्धको सुरुमै अर्जुनलाई वैराग्य उत्पन्न हुन्छ। युद्ध मैदानमा सबै आफ्नै र आदरणीय इष्टजनतिर धनु चलाउन उनलाई मन लाग्दैन। त्यस विषयमा श्रीकृष्ण भगवानले सम्झाउनुहुन्छ। श्रीकृष्ण अर्जुनबीचको त्यो संवाद नै गीता बन्छ। त्यो सुन्न पाएकोमा सञ्जय आफूलाई धन्य ठान्छन्। वाणशैयामा सुतिरहेका भीष्मलाई तकिया र पानीको व्यवस्था वाणकै माध्यमबाट अर्जुनले गर्नुपर्ने हुन्छ। 

यी कुराहरूको बुँदागत चर्चा भीष्मपर्वमा गरिएको छ। द्रोणपर्वमा अभिमन्युको मृत्यु, शोकमा डुबेका युधिष्ठिरलाई नारदले सम्झाएको, जयद्रथको मृत्यु, लडाइँ हार्दै गएको बारे कौरव सदस्य कृपाचार्य र कर्णका बीच मनमुटाव, जालझेलपूर्ण तरिकाबाट धृष्टद्युम्नद्वारा द्रोणाचार्यको हत्या, अश्वत्थामाद्वारा बदला लिएरै छाड्ने प्रणसँगै भगवान् शंकरको महिमाबारे चर्चा गरिएको छ। 

कर्णपर्वमा, युद्ध भएको १८ दिन भइसकेको हुन्छ। युद्धकै विषयमा कौरव पक्षमा कर्ण र शल्यका बीच र पाण्डव पक्षमा युधिष्ठिर र अर्जुनका बीच भनाभन हुन्छ। भीमद्वारा दुशासनको र अर्जुनद्वारा कर्णको अन्त्य पनि यसै पर्वमा भएको चर्चा छ। शल्यपर्वमा खासगरी अर्जुन र भीमद्वारा धेरै कौरवहरू मारिन्छन्। एक जना बाँकी रहेको दुर्योधनसँग भीमको गदायुद्ध हुन्छ। यसबारे गदापर्वमा बयान गरिएको छ। यसै पर्वमा चन्द्रमामा दाग हुनुको कारण, गदायुद्धमा बलरामको असन्तुष्टि, श्रीकृष्णबाट धृतराष्ट्रलाई सान्त्वना र मृत्यु पर्खिरहेका दुर्योधनको छटपटीका बारेमा चर्चा गरिएको छ। 

सौप्तिकपर्वमा पिताको मृत्युको बदला लिएर छाड्छु भन्ने प्रण गरेका अश्वत्थामाको बेचैनीबारे चर्चा छ। सोही बेचैनीबीच उनी पाण्डव सुतिरहको ठाउँमा पुगी पाण्डव सेना र पाण्डव पुत्रहरूलाई मार्छन्। निद्राको सुरमा भए पनि थाहा पाएर बाहिर भाग्नेलाई ढोकामा पहरा बसेका कृतवर्मा र कृपाचार्यले मार्छन्। यो सुनेपछि दुर्योधनको पनि प्राणान्त हुन्छ। अश्वत्थामाद्वारा उत्तराको गर्भमा रहेका परीक्षितलाई लक्षित गरी हानिएको ब्रह्मास्त्रका कारण बालकको मृत्यु भए पनि कृष्णजीले बचाउँछन्।

स्त्रीपर्वमा, स्त्रीहरूको शोकबारे चर्चा गरिएको छ। यहाँ, विदुरले धृतराष्ट्रलाई सम्झाउँछन्। दुर्योधन कलिको अंश भएको कुरा थाहा हुन्छ। श्रीकृष्णलाई गान्धारीले श्राप दिन्छिन्। शान्तिपर्वमा, कुन्तीको पहिलो पुत्र कर्ण भएको कुरा सार्वजनिक हुन्छ। युधिष्ठिर वन जान खोज्दा कृष्णले सम्झाउँछन्। यतिखेरसम्म पनि वाणशय्यामा रहेका भीष्मले पाण्डवजनलाई सम्झाउँछन्। यस क्रममा उनीबाटै केही कथाप्रसंग पनि आएका छन्। कतिपय शास्त्रीय मान्यता, दर्शन, उपदेश र योगको महत्वबारे पनि यसै पर्वमा चर्चा गरिएको छ। अनुशासनपर्वमा अतिथिको महिमा, नारीको सत्कार गर्नुपर्ने, गाईदानलगायत विभिन्न दानको महत्व, मानिसका इच्छा इत्यादिका बारेमा बयान गरिएको छ।

अश्वमेधपर्वमा युधिष्ठिरले गरेको अश्वमेध यज्ञबारे चर्चाका साथै सफल जीवनका आधारबारे सुझाइएको छ। आश्रमवासपर्वमा धृतराष्ट्र र गान्धारी वनवास गएको, व्यासको व्यवस्थाअनुसार विधवा पत्नीहरूले आफ्ना पतिसँग भेट गर्न पाएको र धृतराष्ट्र, गान्धारी र कुन्तीले परम गति पाएको चर्चा गरिएको छ भने मुसलपर्वमा सम्पूर्ण यदुवंशीको नास भएको दुःखद प्रसंगबारे छ। अन्तिम महाप्रस्थान पर्वमा पाण्डव सशरीर स्वर्ग गएको कुरासँगै महाभारतीय पर्वको संक्षिप्त चर्चा समाप्त गरिएको छ।

मीना पाठक पाण्डे प्रकाशक रहेको कृतिको दोस्रो खण्डमा ‘श्रीमद्भगवद्गीता सर्सर्ती’ छ। जस अन्तर्गत गीताका अठारै अध्यायमा उल्लिखित कुराहरूको पनि सारांश दिइएको छ। यसरी हेर्दा यो पुस्तक, पूर्वीय दर्शनअन्तर्गतका अति महत्वपूर्ण ग्रन्थ महाभारत र गीता (महाभारतभित्रै गीता रहेको)बारे छिटो र छोटो जानकारी चाहनेका लागि अति उपयोगी देखिन्छ। अभिराज आचार्यले भूमिकामा लेखेका छन्, ‘कृति सिंगो महाभारत बुझ्ने दीपशिखा बनेको छ। सबैका लागि मार्गदर्शक बनेको यो धर्मशास्त्र, इतिहास र दर्शनको अद्भुत संगम हो। जहाँ तथ्य र कथ्य, श्रद्धा र तर्क, भक्ति र विवेक परम्परा र आधुनिकता अनुभूत गर्न सकिन्छ।’

जीवन र जगत्बारे विशद चिन्तन गरिएको विशालकाय ग्रन्थ महाभारत र यसैभित्रको गुदी गीताबारे संक्षिप्तमा चर्चा गर्ने प्रयास गर्नु निश्चय नै कठिन कार्य हो। यस्तो कार्यमा हात हालेर लेखक पाण्डेले ठूलो सफलता हात पार्नु भएको छ। अझ संक्षिप्तीकरणको पनि मिहिन अध्ययन गरेर त्यसको पनि सार खिच्ने काम कठिन कार्य सम्पादकीय सम्प्रेषणमा भएको छ, पुस्तकका सम्पादक गोपीकृष्ण ढुंगानाबाट। जसमा उनले १३ पृष्ठमा विभिन्न उपशीर्षकमार्फत महाभारतका महत्वपूर्ण र चर्चित घटना तथा प्रसंगहरूको सार खिचेर दिएका छन्। 

महाभारतभित्र के छ भन्ने विषयमा पनि उनले ३५ वटा प्रमुख बुँदागत प्रस्तुति दिएका छन्, त्यसले पाठकलाई चुरो–कुरो बुझ्न मद्दत मिल्नेछ। त्यतिमात्र होइन, गीताभित्र के छ भनेर पनि ढुंगानाले १० बुँदागत वाक्यमा गीताको गहनताबारे बुझाएका छन्। पुस्तकको भाषाशैली यति आकर्षक हुनुमा पनि सम्पादक ढुंगानाकै मिहिनेत परेको कुरा स्मरणीय छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.