एक सातादेखि वडा कार्यालयमा ताला, सेवाग्राही मर्कामा
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–३ नम्बर वडा कार्यालयमा एक सातादेखि तालाबन्दी हुँदा सेवाग्राही समस्यामा परेका छन् । गत साता वडाका स्थानीयले सडक निर्माण, खानेपानीलगायतका माग राखेर वडा कार्यालयमा तालाबन्दी गरेका थिए । विकास निर्माणको माग गरेर वडा कार्यालयमा तालाबन्दी हुँदा समस्याको सामाधन गरी सेवा सुचारु गर्नुको सट्टा वडाका जनप्रतिनिधि र कर्मचारीहरु गैरजिम्मेवार बन्दा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
चैत्र १० गतेदेखि वडा कार्यालय बन्द हुँदा वडाको सेवा पूर्णरुपमा प्रभावित भएको छ । तालाबन्दी भएको एक साता बितिसक्दा समेत वडाका जनप्रतिनिधिहरुले ताला खुलाउने प्रयास नगरेको सेवाग्राही आरोप छ । वडा कार्यालय बन्द हुँदा सिफारिससम्म नपाएको यहाँका स्थानीय यशोदा भट्टले बताइन् ।
‘बैंकिङ प्रयोजनका लागि सिफारिस लिन तीन दिन वडा कार्यालय पुगेर फकिएँ’, उनले भनिन्, ‘वडाका जनप्रतिनिधि र कर्मचारी जिम्मेवार नबन्दा यहाँका जनताले दुःख पाएका छन् ।’ समस्याको समाधान गर्नुको साटो सम्बन्धित निकायले चासो नदिँदा नागरिकलाई सानो कामका लागि समेत दुःख हुने गरेको स्थानीयको गुनासो छ ।
कार्यालय बन्द हुँदा दैनिक रुपमा आवश्यक पर्ने सिफारिस, प्रमाणपत्र, जन्म दर्तालगायतका कामहरु पूर्णरुपमा बन्द हुँदा नागरिकले दुःख पाएको यहाँका अर्का स्थानीय डबलबहादुर सिंहले बताए । ‘३५ दिनभित्रमा जन्म दर्ता गरिसक्नु पर्छ, एक सातादेखि वडा कार्यालय बन्द छ पछि हामीलाई शुल्क लाग्छ’, सिंहले भने, ‘वडाबाट सिफारिस लगेर अन्यत्र जाने सेवाग्राहीहरु समेत समस्यामा छन ।’
अर्का स्थानीय उत्तमप्रसाद कलौनी पनि एक सातादेखि राहदानीको सिफारिस नपाएर समस्यामा छन् । ‘राहदानीका लागि सिफारिस पाएकोे छैन एक सातादेखि सेवाको पर्खाइमा छु’, कलौनीले भने, ‘वडा कार्यालय बन्द हुँदा यहाँका स्थानीयको काम ठप्प छ ।’ स्थानीयले जायज माग राखेर तालाबन्दी गरे पनि वडाका जनप्रतिनिधि र कर्मचारी गैरजिम्मेवार बन्दा सेवाग्राहीले सास्ती खेप्नु परेको स्थानीयको गुनासो छ ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नागरिकका माग सम्बोधन गरिसकेको जानकारी दिए । ‘उहाँहरुले सडक निमार्णको माग गर्नु भएको थियो पालिकाबाट उक्त माग सम्बोधन भएर प्रक्रिया अघि बढिसकेको छ’, उनले भने, ‘पालिकामा सहमति भएको हो अहिले कालोपत्रेको माग राखेका छन् ।’ उनले स्थानीयको माग थपिँदै जादा समस्या भएको बताए ।
प्रतिक्रिया दिनुहोस !