सुहाङलाई रोकियो, बादललाई अवसरका ‘खात’
काठमाडौं : ३६ वर्षीय सुहाङ नेम्बाङले जब एमाले संसदीय दलको नेतामा दाबी गरे, एमालेजनमा आशाको रक्तसञ्चार भयो । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा सुहाङ छाए । एमाले संसदीय दलको बैठक स्थल च्यासलमा बुधबार एकाएक युवा, विद्यार्थी नेताहरूको बाक्लो उपस्थिति छायो । तर, सुहाङलाई दलको नेताको उम्मेदवार बन्न एमाले संस्थापन पक्ष तगारो बन्यो । समर्थक र प्रस्तावक पनि नपाएपछि सुहाङ उम्मेदवार बन्न पाएनन् ।
माओवादी पृष्ठभूमिका रामबहादुर थापा ‘बादल’लाई सर्वसम्मत संसदीय दलको नेता घोषणा गरियो । सुहाङको प्रस्तावक र समर्थकमा नबस्न पार्टी महासचिव शंकर पोखरेलले ‘महत्त्वपूर्ण भूमिका’ निर्वाह गरेको भन्दै एमाले नेताहरूले असन्तुष्टि पोखेका छन् ।
उपमहासचिव योगेश भट्टराईले सांसदहरूलाई दबाबमा राखेर दलको नेता चयनको निर्णय भएको भन्दै असन्तुष्टि पोखेका छन् । संसदीय दलको नेता छान्ने तरिका र शैलीको विषयमा चिन्ता प्रकट गरेका छन् । ‘एमालेको व्यापक पुनर्गठनमार्फत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नुपर्ने बेलामा संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंक्तिलाई थप चिन्तित बनाएको छ,’ उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरूका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन ।’
पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले संसदीय दलका नेता चयन प्रक्रियाले एमालेभित्र लोकतन्त्र कति कमजोर र संकुचित भइसकेको छ भन्ने स्पष्ट पारेको बताएका छन् । ‘एउटा सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थकसमेत नपाउने वातावरण सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद विषय हो,’ पाण्डेले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्, ‘जब नेतृत्व म नै पार्टी र पार्टी नै म भन्ने भ्रममा बांच्छ र निर्वाचनको गम्भीर पराजयलाई पनि सामान्य ठान्छ, त्यहाँ सुधारको ढोका बन्द हुन्छ । यस्तो दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील होइन, अधोगतितर्फ मात्र धकेल्छ ।’ ९ सिटमा खुम्चिएको आजको अवस्थामा पनि चेत खुलेन भने कहिले खुल्ने ? भनेर पाण्डेले प्रश्न गरेका छन् ।
एमालेजनमा असन्तुष्टि नबढोस् पनि किन त ? चुनावमा पार्टीले शर्मनाक’ हार बेहोरे पनि शैली फेर्न संस्थापन पक्ष तयार भएन । अरू पार्टीको नेतृत्वमा युवाको जर्बजस्त उपस्थिति भए पनि एमालेले सुहाङलाई रोकेर परिवर्तनको सन्देश प्रवाह गर्न चाहेन । पार्टी निर्माणमा त्याग, तपस्या र योगदान पुर्याएका नेताहरू बाहिरै रहँदा माओवादी पृष्ठभूमिका बादलले अवसरको खातै खात पाउन थालेपछि एमाले नेताहरू संस्थापनसँग चिढिएका छन् । बादल संसदीय दलको नेता मात्र होइन, एमालेको कार्यवहाक अध्यक्ष पनि बनाइएका छन् । पार्टी अध्यक्ष ओली थुनामा रहेका कारण वरियाताक्रमको पहिलो नम्बरका उपाध्यक्ष बादललाई कार्यवाहक अध्यक्ष बनाइएको एमालेले जनाएको छ ।
०७७ फागुन २३ मा नेकपा भंग भएर एमाले र माओवादी केन्द्र अलग–अलग हुँदा बादल एमालेमै बसेका थिए । पार्टी अध्यक्ष ओलीलाई सहयोग पुर्याएकै कारण बादल एकपछि अर्को लाभको पद हासिल गरिरहेका छन् । ०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा उनी ओलीको पक्षमा उभिएका थिए । हाल थापा एमालेका समानुपातिक सांसद हुन् ।
एमालेमा बसेकै कारण बादलले शक्तिशाली गृह मन्त्रालयको जिम्मेवारीमा निरन्तरता पाएका थिए । दोस्रोपटक ओली प्रधानमन्त्री हुँदा लगातार साढे १ वर्षसम्म बादल गृहमन्त्री भए । २०७८ चितवनमा भएको १०औं महाधिवेशनबाट पार्टी उपाध्यक्ष बनाइए । ११औं महाधिवेशमा ओली समूहबाट उठेका थापा उपाध्यक्षमा निर्वाचित भए । उनी पार्टीको दोस्रो वरियताक्रममा छन् । १० वर्ष लामो माओवादी सशस्त्र संघर्षमा फौजी योजनाकारका रूपमा उनले धेरै आक्रमणको नेतृत्व गरेका थिए । प्रहरीचौकी, सैनिक ब्यारेकदेखि जिल्ला सदरमुकाम आक्रमणमा बादल नै प्रमुख योजनाकारको रूपमा थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा उनी रक्षामन्त्री बनेका थिए । तत्कालीन माओवादी विभाजन हुँदा उनी मोहन वैद्य पक्षमा लागेका थिए र पछि वैद्य नेतृत्वको पार्टीको महासचिव भए ।
२०७४ सालको चुनावभन्दा केही समय अघि माओवादी केन्द्रमा फर्किएका थिए । उनी २०७४ मा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भए । त्यसपछि उनी गृहमन्त्री भएका थिए । नेता थापाले आफू मात्रै होइन एमालेमा आएपछि श्रीमतीलाई सांसद र मन्त्री पनि बनाए । २०७८ जेठ २७ मा थापाकी श्रीमती नैनकला थापामगर सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेकी थिइन् । २०७९ सालको निर्वाचनमा बादल पत्नी थापामगर समानुपातिक सांसद भएकी थिइन् । उनले संसद्मा एकाध दिन बोलेर समय गुजारेकी थिइन् ।
किन रोकिए सुहाङ ?
इलाम–२ बाट निर्वाचित सुहाङलाई एमाले दलको नेता बनाउनुपर्नेमा एमाले युवा पंक्तिमा जोडदार माग थियो । जेन–जी आन्दोलनले पार्टीमा पुस्तान्तरण र हस्तान्तरण माग गरेको भन्दै युवा नेताहरूले सुहाङलाई संसदीय दलको नेता बनाउन लबिङ गरेका थिए । समिक बडालदेखि नरेश रोकायसम्मले सुहाङको पक्षमा लबिङ गरेका थिए । संसदीय दल नेतामा बादल र सुहाङको दाबी परेपछि पार्टी निर्वाचन समिति बन्यो । एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्यलाई मतदान अधिकृत बनाएर चुनावी प्रक्रिया थालिएको थियो । दुवै जनाले उम्मेदवारी फारम पनि लागेका थिए ।
सुहाङको प्रस्तावकमा संखुवासभाका अर्जुनकुमार कार्की र समर्थनको नाम धनकुटाका राजेन्द्र राई भनेर फाराममा नाम पनि लेखियो । राईले हस्ताक्षर पनि गरे । पार्टी नेतृत्व भने बादललाई संसदीय दलको नेता घोषणा गरेर जाने पक्षमा थियो । त्यसमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल दुवै जना थापालाई सर्वसम्मत घोषणा गर्न लागेका थिए तर सुवाङको दाबी पछि निर्वाचन प्रक्रियामा गएको थियो ।
अन्त्यमा नेतृत्वबाट सुहाङलाई रोकेपछि थापाको मात्रै उम्मेदवारी परेको थियो । एकमात्र उम्मेदवारी परेको भन्दै थापालाई सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको थियो । थापा संसदीय दलको नेता निर्वाचित भएको घोषणा भएपछि सुहाङले खादा लगाएर बधाई दिएका थिए ।
एमालेका सांसद सुहाङले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई अबलम्बन गर्न आफू संसदीय दलको नेतामा दाबी गरेको बताए । ‘यो प्रक्रियालाई नकारात्मक ढंगले हेर्नुहुँदैन । लोकतान्त्रिक अभ्यासलाई अबलम्बन गर्ने प्रयास गरेका हौं । यसमा मलाई कुनै दबाब छैन । मैले जुन अपेक्षा गरेको थिएँ, त्यो अनुसारको भएन । मभन्दा अर्को उम्मेदवार संसदीय दलको नेता हुन योग्य ठानेर यो रिजल्ट आएको हुनसक्छ,’ उनले भने । सुहाङले अपेक्षित नतिजा नआए पनि यसलाई आफूले पाइलाको रूपमा लिएको बताए । ‘अपेक्षित हिसाबको नतिजा नआए पनि हतोत्साही हुनुहुँदैन । मैले एक पाइला चालेको हुँ, आगामी दिनमा पनि चाल्नेछु,’ उनले भने ।
एमाले सांसद ऐनबहादुर महरले व्यापक छलफल र दाबी भए पनि अन्त्यमा सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन भएको बताए । सुहाङलाई संसदीय दलको नेतामा रोकिएको भन्दै एमाले युवाहरूले बुधबार साँझ पार्टी कार्यालय च्यासलमा महासचिव पोखरेलविरुद्ध नाराबाजी गरेका छन् ।
प्रतिनिधिसभामा एमालेका २५ सांसद छन् । जसमा प्रत्यक्षतर्फ एमालेले ९ सिट जितेको छ भने समानुपातिकमा १६ सिट पाएको छ । २०७९ सालमा ७८ सिट जितेको एमाले यसपटक खुम्चिएर तेस्रो दल बनेको छ । चुनावमा पार्टी अध्यक्ष ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, पृथ्वीसुब्बा गुरुङदेखि महासचिव शंकर पोखरेल पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस !