१९ वर्षपछि गैरवामपन्थी सभामुख

१९ वर्षपछि गैरवामपन्थी सभामुख
फाइल तस्बिर

काठमाडौं : २०६२/०६३ को दोस्रो जनआन्दोलनबाट प्रतिनिधिसभा पुनर्स्थापना भएपछि एमालेका तत्कालीन नेता सुवास नेम्वाङ सभामुख बने। त्यसयताका १९ वर्ष एकपछि अर्को गर्दै वामपन्थी पृष्ठभूमिका नेताहरू नै सभामुख बने। ‘जेन–जी’ आन्दोलनपछि फागुन २१ को निर्वाचनबाट वामपन्थी दलहरू पछि परे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुईतिहाइ बहुमत ल्यायो। रास्वपाका डोलप्रसाद (डिपी) अर्याल सभामुखमा निर्विरोध निर्वाचित भए।

संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि शुक्रबार ११ बजेदेखि २ बजेसम्म समय तोकेको थियो। रास्वपाका अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने एकल प्रस्तावमात्र दर्ता भएकाले उनी निर्विरोध भएका हुन्। यसको औपचारिक घोषणा भने आइतबार बस्ने प्रतिनिधिसभा बैठकले गर्नेछ। हाल सभामुख चयन भइनसकेकाले ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको अध्यक्षता गरिरहेका छन्। 

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्यालले आफू संविधान र कानुनको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘हामीसँग संविधान छ, कानुन छ। सभामुखको काम, कर्तव्य र अधिकार संविधान तथा कानुनले नै निर्धारण गरेका छन्,’ उनले भने, ‘म त्यहीअनुसार अघि बढ्नेछु।’

अर्यालले सभामुखको जिम्मेवारी पाउने प्रक्रिया जारी रहेको उल्लेख गर्दै प्रक्रिया पूरा भई जिम्मेवारीमा पुगेमा संविधान र कानुन जनताको हित एवं राष्ट्रियताका पक्षमा रहेर काम गर्ने स्पष्ट पारे। ‘मैले जुन जिम्मेवारी पाउँदै छु त्यसको निर्णय प्रक्रियामै छ। प्रक्रिया सकिएर त्यो जिम्मेवारीमा पुगें भने नेपालको संविधान, कानुन, नेपाली जनताको हितमा र राष्ट्रियताका हितमा व्यवस्थापिकाले गर्नुपर्ने काम न्यायसंगत मैले गर्नेछु,’ उनको भनाइ थियो। 

सभामुखमा निर्विरोध भएका अर्यालको राजनीतिक यात्रा भने त्यति लामो छैन। २०७९ सालमा रास्वपा स्थापना भएपछि मात्रै उनी राजनीतिमा सक्रिय बनेका हुन्। सुरुवातमा रास्वपाको संस्थापक सदस्य रहेका उनी पछि पार्टीको उपसभापति बने। सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको नागरिकता खारेज गरेपछि उनी केही समय पार्टीको कार्यवाहक सभापति पनि बनेका थिए। हालका प्रधानमन्त्री बालेन शाह पार्टीको वरिष्ठ नेता हुनुअघि अर्याल नै वरिष्ठ नेता थिए। हालका अर्थमन्त्री स्वर्णिम वाग्ले पनि पार्टीको उपसभापति भए तापनि अर्याल पहिलो मर्यादाक्रमका उपसभापति हुन्।

२०७९ को निर्वाचनमा अर्याल समानुपातिकबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनले मन्त्री हुने अवसर पनि पाए। उनी   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका थिए। फागुन २१ को निर्वाचनमा भने अर्याल काठमाडौं–९ बाट निर्वाचित भएका हुन्। रास्वपाले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय बिहीबार मात्र गरेको थियो। गृहमन्त्रीको चाहना राखेका अर्याल अन्ततः व्यवस्थापिकाको नेतृत्वमा पुगेका छन्। धादिङको साविक मैदी गाविस र हालको ज्वालामुखी गाउँपालिकामा अर्यालको जन्म भएको थियो। २०४९ सालमा काठमाडौं छिरेपछि उनले रेस्टुरेन्ट मजदुरका रूपमा काम गरेका थिए। २०५३ सालमा जापान गएका उनी फर्किएपछि पर्यटन व्यवसायीका रूपमा उदाए। उनको कन्सल्टेन्सी सेवा, सहकारी र शिक्षा क्षेत्रमा पनि लगानी छ।

 कृष्णप्रसाददेखि डिपीसम्म

नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराई हुन्। २०१५ सालको पहिलो आमनिर्वाचनपछि भट्टराई सभामुख बनेका थिए। उनी २०१६ असार १९ देखि तत्कालीन राजा महेन्द्रले ’कु’ नगर्दा सम्म सभामुख रहे। महेन्द्रले २०१७ साल पुस १ गते कु गर्दै नेपालमा निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए।

२०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि २०४८ सालमा भएको आमनिर्वाचनपछि दमननाथ ढुंगाना सभामुख भए। उनी २०५१ असोज १५ सम्म सभामुख रहे। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरेर मध्यावधि निर्वाचन गराएपछि उनको कार्यकाल सकिएको थियो।

२०५१ पुस ३ देखि २०५५ चैत ९ सम्म रामचन्द्र पौडेल (हालका राष्ट्रपति)ले सभामुखको भूमिका निर्वाह गरेका थिए। २०५६ असार ९ देखि २०६३ पुस १५ सम्म तारानाथ रानाभाट सभामुख थिए। सुवासचन्द्र नेम्वाङ भने ४ कार्यकाल सभामुख भए। नेम्वाङ २०६३ वैशाख ३० देखि २०६३ माघ १ सम्म अन्तरिम संसद्को सभामुख भएका थिए।

त्यस्तै, दोस्रो कार्यकाल २०६३ माघ ३ देखि २०६५ जेठ १४ सम्म, तेस्रो कार्यकाल २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म र चौथो कार्यकाल २०७० फागुन ६ देखि २०७२ असोज २७ सम्म उनी सभामुख भए। नेम्वाङ संविधानसभाको अध्यक्ष पनि बने।

त्यस्तै, ओनसरी घर्तीमगर पहिलो महिला सभामुख हुन्। उनले २०७२ असोज २९ देखि २०७४ असोज २९ सम्म सभामुखको भूमिका निर्वाह गरिन्। त्यसपछि कृष्णबहादुर महरा सभामुख बने। २०७४ फागुन २७ देखि २०७६ असोज १४ सम्म उनी सभामुख रहे। उनले राजीनामा दिएपछि अग्निप्रसाद सापकोटा सभामुख भए। उनी २०७६ माघ १२ देखि २०७९ असोज २२ सम्म सभामुख भएका थिए। २०७९ माघ ६ देखि २०८२ माघ ५ सम्म देवराज घिमिरे सभामुख बनेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.