नमेटिने ‘म’ !
गाउँका खोलाहरू झैं
चञ्चल भएर बग्न सक्दिनँ
शान्त हुन सक्दिनँ
कसरी आओस् मसम्म वसन्त !
कुन उत्सवले पत्याओस् मेरा दुःखलाई ?
कुन टेकोले अड्याओस्
ममाथि खस्नै आँटेको आकाश ?
म त चाहन्थें—
गीतका हरफहरूले डोर्याएर लगोस् कतै
बतासले बुइँ चँढाएर घुमाओस् नयाँ–नयाँ संसार
कुनै असल मानिसले भेटेर भनोस्–
‘एक्लो छैनौ तिमी ।’
दुःखमा सम्झाउने ईश्वर छैन मेरो
टेक्ने धरती र चियाउने अलिकति आकाशमात्र हैन
शत्रुसम्म नभएको मेरा लागि मित्रसमेत छैनन् ।
बैंसमा टेकेको धूलो
र, बालक छँदा दगुरेको गोरेटो
पाठशाला जाँदा भेटिएका गुरु
र, तिर्खाउँदा पिएको जरुवाको पानी
बिर्सनका लागि बनेको मानिस, कदापि होइन म ।
म त—
ज्यादै लामा–लामा
सम्झनाका नदीहरूलाई सङ्लाउँदै–सङ्लाउँदै
बगिरहेको सङ्लेकीराजस्तो मानिस हुँ !
प्रतिक्रिया दिनुहोस !