छोरी, तिम्रो स्वाभिमानका निम्ति !
प्रिय छोरी,
शासित हुनु,
शोषित हुनु,
चिनारीविहीन नारी हुनु —
यो सब बुझेकी छु मैले
आँसु पिएर अपमानका असिनाले चुटिँदा
भोग्नु नभोग्नु भोगेकी छु मैले।
मैले भोगेको बेहिसाब नृशंसता
मेरी छोरीले कदापि बेहोर्नु नपरोस्।
मैले हिँडेको अनकन्टार बाटो
मेरी छोरीले टेक्नु नपरोस्।
मेरो कानको मुन्द्री र
गलाको तिलहरीमा भन्दा
तिम्रो स्वाभिमानमा मैले सौन्दर्य देखें !
बेचिदिएँ ती सबै सबै
र, छोरीको आत्मसम्मान किनें
स्वाभिमान जगाएँ
तिम्रो भविष्यको शीतल बाटो बनाएँ।
तिम्रो आर्जित मानसम्मानमा
म पुलकित भएँ।
तिमीले जित्दा
संसार जितें,
छोरी,
तिम्रो नाम मेरो आकाश भयो।
मेरो आकाशमा तिम्रो उज्यालो
अनुभूत गरुँ हरसमय
म तिम्री निरक्षर आमा
एक साधारण आइमाई।
मैले तिमीमा सरलता देख्न चाहेको छु
तिमीभित्र शालीनता खोजेको छु !
आफूले पाएको मानको बदलामा
अभिमानको घोडा चढेर आयौ भने
आफ्नो धरातल बिर्सी
माथिमाथि खहरे बढेर आयौ भने
म भयभीत त्यसबेला
खुसी हुनु कि दुःखी हुनु !
छोरी,
माथि चढ्न पो गाह्रो छ
तल खस्न त कतिबेर लाग्छ र !
तिमी पढे–लेखेकी छोरी,
तिमीलाई सिकाउनु पर्दैन, थाहा छ,
सरलता जस्तो सौन्दर्य गुमाएर,
जटिल लाग्ने हो कि जिन्दगी भन्ने डर छ !
गलाको गहना केही नठानेकी मैले
तिम्रो पहिचानलाई नै गहना मानेकी छु
अभिमानले गाल्ने पो हो कि तिमीलाई,
अस्थिरताले डगमगाएर घरिघरि
आफ्नै उचाइबाट ढाल्ने पो कि तिमीलाई ?
संसारले माने पनि
संसारै जाने पनि
तिमी मेरो जीवनको अंश
म तिम्री आमा–
मलाई सधैं तिम्रै पीर छ
तिमी छोरी हौ,
टेक्नमा अलिकति भूल गर्यौ भने पनि
तिमी बाँच्ने यो समाज आफैं कठिन भिर छ !
सरल हुनू, शान्त रहनू
सोच्नु, सोचेरै पाइला टेक्नु
तिम्रो स्वाभिमानका निम्ति झुक्ने
तिम्री आमाको पहाड झैं यो शिर छ !
प्रतिक्रिया दिनुहोस !