‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘प्रश्नोत्तर’ कविताको यो हरफजस्तै छ उनको सोच पनि। उसो त जब जोकोही मानिस आफ्नो लक्ष्य अनि गन्तव्यमा पुग्नका लागि योजना बनाएर दृढ संकल्पसहित निरन्तर लागि नै रहन्छ– तबमात्रै ऊ सफल हुन्छ। हो– उनी पनि कलिलो उमेरबाटै एउटै उद्देश्य बोकेर अनवरत रूपमा अघि बढिरहे। उनको सपनासमेत आंशिक रूपमा पूरा भएको छ। फेरि, सोख–चाहना कहिल्यै मार्नु हुँदैन। इच्छाएको काम गर्दा सन्तुष्टि मिल्नेमात्रै होइन– सफलता पनि प्राप्त हुन्छ। यही सूत्र अपनाइरहेका छन् उनले। आफ्नो क्षेत्र–विधामा पृथक् पहिचान बनाउन सफल लोकप्रिय गायक चेतन राईको साझा परिचय हो यो।
औपचारिक रूपमा चेतनले बनाएको व्यक्तित्व भनेको गायकको हो। अहिलेसम्म उनले जे, जति गीत गाएका छन्– ती आफैंमा चर्चित र ऐतिहासिक पनि छन्। यद्यपि उनको परिचय यतिमै सीमित छैन– बहुआयामिक र फरा किलो छ। कतिले आधुनिक पप गीतकार, कतिले कुशल संगीतकार त कतिले नामी भिडियो निर्देशकका रूपमा चिन्छन्। तर, नजिकबाटै नियाल्नेहरूले भने उनलाई गायन क्षेत्रका बहुविधाका धनी व्यक्तिको श्रेणीमा राख्छन्।
अझ पछिल्ला दिनमा त चेतनमा अर्को पनि उपाधि थपिएको छ– छोटो अवधिमा नै उत्कृष्ट म्युजिक भिडियो पस्कने व्यस्त गायक। हालै उनको म्युजिक भिडियोसहितको ‘कयौं प्रहार’ गीत सार्वजनिक भएको छ। पाँचौं एल्बम ‘स्पिड’ मा समावेश गरिएको उक्त गीतले छोटो समयको अन्तरालमा राम्रो चर्चा बटुलिरहेको छ। चेतनको जन्म २०३५ साउन १७ गते सल्यान जिल्लाको हालको शारद नगरपालिका–३ बयलडाँडामा दीपककुमार राई र पार्वताकुमारी घर्तीमगरका १ छोरा तथा १ छोरीमध्ये पहिलो सन्तानको रूपमा भएको हो।
उनी घरनजिकैको त्रिभुवन जनमाध्यमिक विद्यालयबाट २०५१ सालमा एसएलसी पास गरेर उच्च शिक्षा अध्ययनसँगै संगीत क्षेत्रबाटै भविष्य निर्माण गर्ने सुनौलो सपना सँगालेर काठमाडौं भित्रिएका हुन्। अनि आफ्नो गन्तव्य पहिल्याउँदै एकातिर प्रभुराज ढकाल, उदय सोताङ, चन्द्रराज शर्मा र सुदेशराज शर्मासँग संगीत प्रशिक्षण लिए भने अर्कातिर भोटाहिटीस्थित ललितकला क्याम्पसमा संगीत विषयमै अध्ययन गर्न थाले। हुन पनि एक किसिमबाट हेर्दा चेतनको रगतमा नै संगीत मिसिएको छ।
उनको हजुरबुबादेखि बुबा, काका र अन्य नातागोता पनि जिल्लाको नाम चलेका गायक नै हुन्। र त उनको आधार पनि संगीत नै बन्यो। ‘म सानैदेखि रेडियोमा बजेका गीत सुनेर गुन्गुनाउँथें। गाउँको पूजाआजा, जात्रा, बिहेबटुलो, चाडपर्वमात्रै होइन– विद्यालयमा आयोजना गरिने हरेक सांस्कृतिक कार्यक्रममा पनि आकर्षकको केन्द्र बन्थें’ चेतन आफ्नो विगत स्मरण गर्छन्– ‘त्यतिबेला विद्यालयमा हरेक शुक्रबार आयोजना हुने अतिरिक्त क्रियाकलापमध्ये सांस्कृतिक कार्यक्रममा सधैं प्रथम हुन्थें। त्यसले ममा हौसला बढायो। त्यतिबेलादेखि अहिलेसम्म यही क्षेत्रमा रमिरहेको छु, अझै रमिरहनेछु।’ त्यस्तै, २०६० बाट भने चेतन स्कुलहरूमा संगीत शिक्षकको रूपमा काम गर्न थाले। त्यो यात्रा चार वर्ष जति चल्यो।
त्यसपछि आफ्नै गीति एल्बम ल्याउने जमर्कोमा जुटे। त्यही दौरानमा २०६६ मा पहिलो ‘एल्बम’ ‘सेभेन’ आयो। सात वटा गीत समावेश यस ‘एल्बम’ले राम्रो व्यावसायिक सफलता हासिल गर्यो। त्यसपछि चेतनले क्रमशः ‘साउन्ड’, ‘स्टेप’, ‘स्टेज’ र केही समयअघि ‘स्पिड’ एल्बम पनि पस्किसकेका छन्। आधुनिक, पप, लोकपप आदि सबै विधाका गीत गाउन उत्तिकै पोख्त चेतनले हालसम्म सात दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन्। नेपालका असंख्य गायकहरूको भिडमा पृथक् पहिचान बनाउन सफल उनले सामान्यदेखि ठूल्ठूला ‘स्टेज प्रोग्राम’हरूमा समेत गाएरै ‘हाइहाइ’ कमाइसकेका छन्।
यही अन्तरालमा चेतनले दुई दर्जनभन्दा बढी म्युजिक भिडियो पनि ल्याइसकेका छन्, जसमा ‘तिमी तिमी’, ‘एक दुई तीन रमाइलो छ यो दिन’, ‘मरेर के लानु छ’, ‘कहिले कतै’, ‘बाँधन’, ‘नाम्चेबजार’, ‘जापानिज साडी’, ‘दर्के झरी’, ‘मेरो देश नेपाल’, ‘हाँसी देऊन’, ‘दोधार’, ‘घुम्दै जाँदा’, ‘सालैजू’, ‘तिमी धुन बन’, ‘बाँध न मायाको डोरीले’ आदि चर्चित र व्यावसायिक रुपमा पनि सफल मानिन्छन्। र त चेतन दर्जनौं राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्मान, पुरस्कार तथा अवार्डसहित अभिनन्दित भइसकेका छन्।
जस्तोकि ३१ अगस्ट २०२५ मा उनलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् थाइल्यान्डको ११औं राष्ट्रिय अधिवेशन निर्वाचनको अवसरमा सम्मानपत्र प्रदान गरिएको छ। सोही दिन थाइल्यान्डमा ‘बल्र्ड वाइड मिडिया नेटवर्क’ले आयोजना गरेको ‘ग्लोबल इन्टरनेसनल अवार्ड–२०२५’ मा वर्षको सर्वोत्कृष्ट पपगायक घोषणासहित अवार्ड दिइयो। यसैगरी, १ सेप्टेम्वरका दिन ‘पगेन्ट नेपाल’ले थाइल्यान्डको बैंककमा आयोजना गरेको ‘चारऔं स्टार इन्टरनेसनल अवार्ड– २०२५’ मा विशेष अतिथिको रूपमा सम्मान गर्यो। उनले विभिन्न फोरममा कुशल निर्णायकको भूमिकासमेत निर्वाह गरिसकेका छन्। चेतनले गायनकै दौरानमा जापान, दुबई, थाइल्यान्डलगायत मुलुकको भ्रमण गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !