विद्यार्थी संगठनहरू केवल ‘राजनीति गर्ने ठाउँ’ मात्र पक्कै होइनन्। यी त लोकतान्त्रिक अभ्यास गर्ने उत्कृष्ट र जीवन्त प्रयोगशालाहरू पनि हुन्।
पहिलो पटक विद्यार्थीका रूपमा अक्सफोर्ड विश्वविद्यालय पुगेको थिएँ। त्यहाँका दृश्यहरू देख्दा खासै ‘कल्चरल सक’ महसुस भएन। त्यहाँ लामो इतिहास बोकेका धेरै पुराना पुरातात्विक भवनहरू थिए। भित्ताहरूमा विभिन्न कालखण्डका चर्चित राजनीतिज्ञ र कलाकारका नामहरू थिए। वैज्ञानिक, साहित्यकार र मानवशास्त्रीका नाम अंकित नेमप्लेटहरू जताततै देखिन्थे।
युरोपका अन्य सहरमा जस्तै म त्यहाँ पनि खुसीसाथ घुमिरहेको थिएँ। तर पछि मात्र नयाँ कुराको गहिरो बोध भयो। ‘कल्चरल सक’ आँखाले देखिने भौतिक वस्तुमा मात्र सीमित हुँदोरहेनछ। यो त मानिसको सोच र अनुभव गर्ने तहमा लुकेको हुन्छ। वास्तविक आश्चर्य त भवन, संरचना वा पुराना इतिहासमा मात्र थिएन। मेरा लागि वास्तविक ‘सक’ त्यहाँको व्यापक बौद्धिक स्वतन्त्रतामा थियो। फरक विचारहरू सँगै अटाउने वैचारिक सह–अस्तित्व निकै लोभलाग्दो थियो।
अक्सफोर्डको बौद्धिक संरचना र खुलापन : नयाँ भर्ना भएका विद्यार्थीलाई आकर्षित गर्न विभिन्न संघ संगठन सक्रिय थिए। उनीहरूले आआफ्ना स्टलहरू राखेर विद्यार्थीलाई जानकारी दिइरहेका देखिन्थे। त्यहाँ कला, विज्ञान, खेल र खानाका विषयगत संगठनहरू प्रशस्त थिए। कुनै देश विशेष वा राजनीतिक विचारधारासँग सम्बन्धित संगठनहरू पनि थिए। आफैं पनि विद्यार्थी राजनीति र राजनीतिक इतिहासमा रुचि राख्थें। त्यसैले म जिज्ञासा मेटाउन राजनीतिक संघसंगठनका स्टलहरू भएका ठाउँमा गएँ। त्यहाँ परम्परावादी कन्जरभेटिभ र लोकतान्त्रिक समाजवादी लेबर पार्टीका समाजहरू थिए। विचारधाराका आधारमा विद्यार्थी आ–आफ्ना धारणा राख्दै छलफलमा व्यस्त देखिन्थे। पश्चिमाहरूले अतिवादी मान्ने कम्युनिस्ट विचारधाराका संगठन देखेर छक्क परें।
त्यहाँ झन्डै सय वर्ष अगाडि स्थापना भएको ‘अक्सफर्ड अक्टोबर क्लब’ थियो। भर्खरै स्थापना भएको ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी’ विद्यार्थी समाज पनि त्यहीँ थियो। सबै संगठन एउटै क्याम्पस र एउटै बौद्धिक स्पेसमा सँगै थिए। अक्सफोर्डको विशेषता यसको भवन होइन, यसको खुला बौद्धिक संरचना रहेछ।
विद्यार्थी समाजको उद्देश्य र कार्यशैली : यस्ता विद्यार्थी राजनीतिक समाजहरू विश्वविद्यालयमा विधिवत् रूपमा दर्ता भएका हुन्छन्। यिनीहरूको मुख्य उद्देश्य आफ्नो राजनीतिक विचारधाराको व्यापक प्रचार गर्नु हो। उनीहरू नयाँ विद्यार्थीलाई आफ्नो विचारप्रति आकर्षित गर्न निरन्तर कोसिस गर्छन्। यसका लागि उनीहरू विभिन्न सेमिनार र महत्वपूर्ण प्रवचन कार्यक्रमहरू गर्छन्। आफ्नो विचारधारासँग मिल्ने सांसदहरूसँग विद्यार्थीको सिधा अन्तरक्रिया गराइने गरिन्छ। अन्तर्राष्ट्रिय घटनाक्रमका विषयमा गोष्ठी तथा बौद्धिक वादविवाद कार्यक्रमहरू आयोजना हुन्छन्।
यद्यपि, यी समाजहरू कुनै राजनीतिक दलबाट औपचारिक रूपमा सञ्चालित हुँदैनन्। तिनीहरू पूर्ण रूपमा स्वतन्त्र विद्यार्थी संस्थाका रूपमा मात्र सञ्चालित हुन्छन्। विश्वविद्यालयमा संगठित भई शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई सुरक्षित हुन्छ। गाजा नरसंहार र रुस–युक्रेन युद्धविरुद्ध रचनात्मक ढंगले कार्यक्रमहरू आयोजना गरिन्छन्। शताब्दीयौं पुरानो दासप्रथा र आधुनिक युगको जातीय विभेदविरुद्ध आवाज उठ्छ। वर्गीय र लैंगिक विभेदविरुद्ध पनि विद्यार्थीले विभिन्न कार्यक्रम गर्ने गर्दछन्। तर, सबै संगठनले विश्वविद्यालयको नीति र नियमभित्र बसेर काम गर्नुपर्छ। कसैलाई डर–धम्की दिने वा गालीगलौज गर्ने कार्य त्यहाँ वर्जित हुन्छ। पठनपाठन वा परीक्षा अवरुद्ध पार्ने जस्ता गतिविधिहरू कानुनतः दण्डनीय मानिन्छन्।
छाता संगठन र लोकतान्त्रिक अभ्यास : विश्वविद्यालयमा झन्डै पाँच दशक अगाडि ‘अक्सफोर्ड विश्वविद्यालय विद्यार्थी युनियन’ बन्यो। यो सबै साना–ठूला संघ संगठनका लागि एउटा बलियो छाता संस्था हो। यस युनियनले नै अन्य सबै संगठनलाई नियमन गर्ने काम गर्दछ। यसमा पनि चुनावी प्रक्रियाद्वारा नै विद्यार्थीको कार्य समिति गठन गरिन्छ। त्यस्तै, विश्वविख्यात वादविवादमात्र गर्ने ‘अक्सफर्ड युनियन’ पनि त्यहाँ छ। यहाँ पनि चुनावी प्रक्रियाबाट नै विद्यार्थीका समितिहरू गठन हुने गर्दछन्। यी दुवै संघमा कम होइन, निकै घमासान राजनीति हुने गर्दछ।
कसको विचारधाराको प्रभाव बढाउने भन्ने विषयमा त्यहाँ ठूलो प्रतिस्पर्धा हुन्छ। विद्यार्थी संगठनहरू समूह बनाएर चुनावी नारासहित क्याम्पसमा प्रचारमा हिँड्छन्। चुनाव सकिएपछि पनि एकले अर्कालाई विभिन्न आरोप–प्रत्यारोप लगाउने गर्छन्। अविश्वासको प्रस्ताव हाल्ने र सदनमा चर्को वादविवाद गर्ने चलन छ। यो लोकतान्त्रिक प्रक्रिया त्यहाँ धेरै दशकदेखि निरन्तर रूपमा चलिरहेको छ। बेलायतलगायत विश्वका धेरै मन्त्री र प्रधानमन्त्री यहीँबाट जन्मिएका हुन्। कतिपय राष्ट्रपति र राजाहरू पनि आफ्नो विद्यार्थीकालमा यहाँ आबद्ध थिए। विश्वविद्यालयको मुख्य काम नै योग्य र सचेत नेतृत्वको विकास गर्नु हो।
विश्वविद्यालय, विवेक निर्माणको केन्द्र : हाम्रो समाजमा एउटा प्रश्न निकै धेरै चर्चामा आउने गरेको छ। ‘विश्वविद्यालय पढ्ने ठाउँ हो, विद्यार्थीले किन राजनीति गरेर बस्ने ?’ तर विद्यार्थीले विश्वविद्यालयमा राजनीति नसिके अन्य कहाँ सिक्ने र गर्ने ? समाजका तमाम समस्या र मुद्दाहरू विश्वविद्यालयमै उठ्नु निकै जरुरी हुन्छ। समाजका जटिल समस्या र असमानताका विषयमा त्यहाँ घनिभूत बहस हुनुपर्छ। नीतिगत बहसहरू उठाउन सबैभन्दा उपयुक्त थलो विश्वविद्यालय नै हो। विश्वविद्यालयले केवल जानकारीमात्र दिने होइन, नागरिकमा विवेक निर्माण गर्छ। यहाँ विद्यार्थीले प्रश्न गर्न र असहमति व्यक्त गर्न राम्ररी सिक्छन्।
विद्यार्थीले तर्क गर्न र अरूको प्रतितर्क धैर्यपूर्वक सुन्न पनि सिक्छन्। फरक विचारसँग सह–अस्तित्व कायम राख्ने कलाको विकास त्यहीँबाट हुन्छ। यदि यी बहसहरू विश्वविद्यालयभित्र भएनन् भने सडकमा विस्फोट हुनेछन्। क्याम्पसको स्वस्थ बहसले नै समाजलाई एउटा दीर्घकालीन स्थिरता प्रदान गर्दछ। हामीलाई दूरदर्शी नेतृत्व वा स्टेट्समेनको खाँचो छ कि छैन ? केवल स्लाइडहरू देखाएरमात्र सक्षम नेतृत्व उत्पादन गर्न सम्भव छैन। हाम्रो समाजमा अचेल सामान्य ‘कमन सेन्स’ पनि निकै दुर्लभ हुन थालेको छ। समाज नबुझी र तर्क गर्न नसिकाई असल नेतृत्व कसरी उत्पादन होला ?
विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि : विश्वविद्यालयलाई ज्ञानसँगै नागरिक चेतना र राजनीतिक परिपक्वता उत्पादन गर्ने केन्द्र बनाउनुपर्छ। विद्यार्थी आन्दोलनको विश्व इतिहास हेर्दा यसको जरा निकै गहिरो छ। १८औं शताब्दीको फ्रान्सेली क्रान्तिमा शिक्षित युवाले विचारको जग बसाले। सन् १८४८ को क्रान्तिमा युरोपभर नै विद्यार्थीहरू सांगठानिक रूपमा सडकमा आए। उनीहरूले पुरातन राजसंस्था विरुद्ध नागरिक अधिकार र राजनीतिक सुधारको माग गरे। यसलाई नै आधुनिक विद्यार्थी राजनीति आन्दोलनको जन्मका रूपमा लिने गरिन्छ।
मे १९६८ को पेरिस आन्दोलन पनि विद्यार्थी राजनीतिको एउटा ठूलो मोड थियो। अमेरिकामा भएको भियतनाम युद्ध विरुद्धको आन्दोलनले पनि ठूलो चर्चा पायो। अरब स्प्रिङ, इन्डोनेसिया र बंगलादेशका आन्दोलनमा पनि विद्यार्थीको मुख्य भूमिका थियो। हाम्रै नेपालमा पनि परिवर्तनको संवाहकका रूपमा विद्यार्थी सडकमा ओर्लिएका छन्। विद्यार्थी आन्दोलनको प्रत्यक्ष र गहिरो प्रभाव सधैं हाम्रो समाजमा पर्ने गर्दछ। धेरै नागरिक शक्ति पनि यस्ता आन्दोलनमा स्वतःस्फूर्त रूपमा संलग्न हुन्छन्। यो एउटा विश्वव्यापी ‘प्याटर्न’ हो, जसले समाजलाई नयाँ दिशा दिन्छ। विद्यार्थी राजनीतिक समाजहरू किन आवश्यक छन् भन्ने प्रश्न अब निकै महत्वपूर्ण छ। के आजका अन्य आधुनिक माध्यमहरू यसका लागि पर्याप्त छैनन् र ?
संरचनागत बहस र नेतृत्व विकास : आजको विश्वविद्यालय जीवनमा विद्यार्थीका आवाज राख्ने धेरै नयाँ माध्यमहरू छन्। सामाजिक सञ्जाल, नागरिक अभियान र गैरसरकारी संस्थाहरू यसका उदाहरण हुन्। यी सबैले आआफ्नो ठाउँमा महत्वपूर्ण र फरक भूमिका खेलिरहेका हुन्छन्। सामाजिक सञ्जालले कुनै पनि सन्देशलाई निकै छिटो फैलाउने काम गर्दछ। नागरिक अभियानहरूले तत्कालीन मुद्दा उठाउँछन् र अनुसन्धान संस्थाहरूले नीतिगत सुझाव दिन्छन्। तर यी माध्यमहरूमा संरचना र विचारको गहिराइको निकै अभाव देखिन्छ। सामाजिक सञ्जाल क्षणिक हुन्छ र आजको ट्रेन्ड भोलि नै हराउँछ। अभियानहरू प्रायः मुद्दा–केन्द्रित हुन्छन् र तिनले दीर्घकालीन वैचारिक बहस गर्दैनन्।
अनुसन्धान संस्थाहरूमा सहभागिता सीमित हुन्छ र त्यहाँ व्यापक विद्यार्थी संलग्नता हुँदैन। यही बिन्दुमा विद्यार्थी राजनीतिक समाजहरूको वास्तविक र दीर्घकालीन महत्व देखिन्छ। यस्ता समाजहरूले विचारलाई एउटा निश्चित संरचनागत रूप प्रदान गर्ने गर्छन्। उनीहरूले बहसलाई निरन्तर बनाउँछन् र भविष्यका नेतृत्वलाई आवश्यक प्रशिक्षण दिन्छन्। असहमतिहरूलाई संस्थागत ढाँचाभित्रै व्यवस्थापन गर्ने कला पनि विद्यार्थीले त्यहाँ सिक्छन्। यहाँ विचार केवल व्यक्तमात्र हुँदैन, यसको कडा परीक्षण पनि हुन्छ। विचारलाई चुनौती दिइन्छ र त्यसलाई अझ परिष्कृत बनाउने काम गरिन्छ।
नेपाली सन्दर्भ र दलीय हस्तक्षेप : यही प्रक्रियाबाट नै युवाहरूमा वास्तविक राजनीतिक परिपक्वताको विकास हुन थाल्छ। प्रश्न गर्ने साहस नै स्वतन्त्रताको पहिलो पाइला हो भन्ने बुझ्न जरुरी छ। त्यसैले, विद्यार्थी संगठनहरू केवल ‘राजनीति गर्ने ठाउँ’मात्र पक्कै होइनन्। यी त लोकतान्त्रिक अभ्यास गर्ने उत्कृष्ट र जीवन्त प्रयोगशालाहरू पनि हुन्। साँचो अर्थमा देशका वास्तविक युथ काउन्सिलहरू यिनै संगठनहरू हुन्। तर, जब हामी नेपाली सन्दर्भमा फर्कन्छौं, यहाँको अवस्था निकै फरक छ। नेपालमा विद्यार्थी राजनीतिको संरचना र अभ्यास दुवै निकै कमजोर देखिन्छ। ‘राजनीतिक’ र ‘दलीय’ संस्थाहरू बीचको भिन्नता यहाँ निकै मधुरो भएको छ।
राजनीतिक संस्था भनेको विचार, बहस र सार्वजनिक हितका मुद्दा उठाउने मञ्च हो। यहाँ विभिन्न दृष्टिकोणहरू आपसमा टकरिन्छन् र विचारहरू थप परिष्कृत हुन्छन्। यो पूर्ण रूपमा सार्वजनिक हित र लोकतान्त्रिक मूल्यसँग सम्बन्धित हुन्छ। तर दलीय संस्था भनेको निश्चित राजनीतिक दलको एउटा संगठनात्मक विस्तारमात्र हो। यसको प्राथमिकता विचारको स्वतन्त्र परीक्षणभन्दा पनि पार्टीको हित रक्षा गर्नु हुन्छ। पार्टीको नीति र निर्देशन पालना गर्नु नै यस्ता संस्थाको मुख्य काम बन्छ। जब यी दुईबीचको सीमा धमिलो हुन्छ, स्वतन्त्र बहसको ठाउँ रहँदैन।
नेपालमा विद्यार्थी राजनीतिको विचलन : नेपाली विद्यार्थी संगठनहरू ऐतिहासिक रूपमा ठूला राजनीतिक परिवर्तनका संवाहक रहेका थिए। प्रजातन्त्रको आन्दोलन होस् वा गणतन्त्र स्थापना, विद्यार्थीको भूमिका सधैं अग्रणी रह्यो। तर पछिल्लो समय विचारभन्दा पनि दलगत अन्ध–निष्ठा निकै हाबी भएको छ। बहसभन्दा आदेश–पालना प्रमुख भयो र स्वतन्त्रताभन्दा केन्द्रीय नियन्त्रण बढेर गयो। फलतः विद्यार्थी संगठनहरू स्वतन्त्र विचार मञ्चभन्दा दलका विस्तारकजस्ता मात्र भए। अक्सफर्डमा जस्तो स्वतन्त्र विचार राख्ने थलोका रूपमा यिनीहरू विकास भएनन्। शुभेच्छुक संस्था हुनुपर्नेमा यी केवल दलीय भ्रातृ संगठन मात्र बनेर खुम्चिए। परिणाम स्वरूप क्याम्पसहरूमा हिंसात्मक प्रवृत्ति र दादागिरी निकै बढ्यो।
योग्य नेतृत्व विकासभन्दा पनि नेटवर्कका आधारमा उकालो चढ्ने गलत प्रवृत्ति देखियो। जहाँ विश्वविद्यालयमा गम्भीर बहस हुनुपर्ने हो, त्यहाँ अहिले केवल मौनता छ। जहाँ तर्क हुनुपर्ने हो, त्यहाँ देखावटी र खोक्रा नाराहरू मात्र छन्। यसले विद्यार्थी राजनीतिमात्र होइन, समग्र राजनीतिक संस्कृतिलाई नै कमजोर बनाएको छ। यही कारणले गर्दा नै सर्वसाधारण मानिसमा विद्यार्थी राजनीतिप्रति नकारात्मक धारणा छ। समस्या विद्यार्थी राजनीतिमा होइन, यसको गलत संरचना र अभ्यासमा मात्र हो।
जिरो टोलेरेन्स र संस्कारको खोजी : म काठमाडौं विश्वविद्यालयमा रहँदा तालाबन्दीजस्ता गतिविधि हटाउन निकै सचेत थिएँ। विद्यार्थीको हक कुण्ठित नहोस् भनेर हामीले ‘जिरो टोलेरेन्स’को वकालत ग¥र्यौं। भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा पनि यस्तो कडा नीति रहेको छ। त्यहाँको राजनीतिक संस्कार र चेतनाले दलीय प्रभावलाई सधैं टाढा राखेको छ। काठमाडौं विश्वविद्यालयले यस्तो नीति ल्याउन सकेन वा सायद ल्याउन चाहेन होला। तर नेपालका हरेक सार्वजनिक संस्थामा यस्ता नियम र कार्यविधिहरू निकै जरुरी छन्। अब सुधारका लागि केही ठोस र संरचनागत कदमहरू चाल्नै पर्ने बेला आएको छ। विद्यार्थी संगठनहरूलाई औपचारिक रूपमा राष्ट्रिय राजनीतिक दलबाट अलग राख्नुपर्छ।
उनीहरूको वैचारिक सम्बन्ध रहन सक्छ, तर संगठनात्मक नियन्त्रण भने हुनु हुँदैन। विश्वविद्यालयमा नियमित वादविवाद र सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमहरू अनिवार्य गरिनुपर्छ। नीति संवादका कार्यक्रमहरूले विद्यार्थीलाई समाजका वास्तविक समस्याहरूसँग प्रत्यक्ष रूपमा जोड्नेछन्। विश्वविद्यालयले नियामकमात्र होइन, एउटा सक्षम ‘एनेब्लर’को भूमिका निर्वाह गर्नुपर्छ। स्वतन्त्र विद्यार्थी समाजहरूलाई प्रोत्साहन दिँदै सुरक्षित बहसको वातावरण सिर्जना गर्नुपर्छ। यस कार्यमा राज्यको भूमिका विश्वविद्यालयको भन्दा पनि अझ बढी महत्वपूर्ण हुन्छ।
शिक्षा परिवर्तनको शक्तिशाली हतियार : राज्यको भूमिका केवल नियमन गर्नेमात्र होइन, बौद्धिक अभ्यासको संरक्षण गर्ने पनि हो। विश्वविद्यालयभित्र स्वतन्त्र रूपमा विचार राख्न पाउने वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व हो। यदि राज्यले यसलाई खतरा मान्छ भने, उसले आफ्नै भविष्यमाथि अविश्वास गरेको बुझिन्छ। राजनीतिक दलको दमनले लोकतन्त्रलाई कहिल्यै पनि फाइदा पुग्दैन। यसको ‘चेक एन्ड ब्यालेन्स’ मिलाउने मुख्य जिम्मा पनि राज्यकै काँधमा हुन्छ।
नेल्सन मण्डेलाले शिक्षालाई संसार बदल्ने सबैभन्दा शक्तिशाली हतियारका रूपमा व्याख्या गरेका थिए। विद्यार्थी समाजहरूलाई स्वतन्त्र राखेर शिक्षालाई साँच्चै नै त्यस्तो शक्तिशाली हतियार बनाउन सकिन्छ। राज्यले स्पष्ट कानुन बनाएर हिंसा, डर र धम्कीका गतिविधि रोक्न सक्छ। तर स्वतन्त्र विचार र बहसलाई भने सधैं संरक्षण र प्रोत्साहन दिनुपर्छ। स्वतन्त्रता भनेको अराजकता होइन भन्ने कुरा सबैले समयमै बुझ्न जरुरी छ। वैचारिक विविधतालाई राज्य र समाजले समान रूपमा स्वीकार गर्न सक्नु पर्दछ। कन्जरभेटिभ, लिबरल, समाजवादी र कम्युनिस्ट विचारहरू एउटै बौद्धिक स्पेसमा अटाउनुपर्छ। बहुदलीय लोकतान्त्रिक अभ्यासका लागि विश्वविद्यालयलाई एउटा पवित्रस्थलका रूपमा प्रयोग गर्नुपर्छ।
समृद्ध समाजको आधार : विद्यार्थी राजनीतिक समाजको मूल उद्देश्य राजनीतिक दलको संगठन विस्तार गर्नु होइन। यसको उद्देश्य त सशक्त नागरिक र आलोचनात्मक सोचको विकास गर्नुमात्र हो। बहसको परिपक्वता र सामाजिक उत्तरदायित्व निर्माण गर्नु नै यसको वास्तविक धर्म हो। विद्यार्थी समाजको सुधार र सशक्तीकरण केवल एउटा विश्वविद्यालयको मात्र जिम्मेवारी होइन। यो त सम्पूर्ण समाजको दीर्घकालीन हित र प्रगतिका लागि एउटा प्राथमिकता हो। विश्वविद्यालयले विद्यार्थीलाई केवल शैक्षिक डिग्रीमात्र दिने हो कि लोकतन्त्र जोगाउने नागरिक ? यसको गम्भीर निर्णय अब राज्य र सम्बन्धित सबै निकायले समयमै गरोस्।
प्रतिक्रिया दिनुहोस !