मीठो बोलेर सधैं आमाको मन जित्ने प्रयास गरौं। आमाको आशीर्वाद नै हाम्रो जीवनको ठूलो भाग्य हो। उनको खुसी नै हाम्रो वास्तविक र दिगो सफलता हो।
आज मातातीर्थ औंसी। आमाको मुख हेर्ने पवित्र दिन। ‘आमा’ शब्द नै प्यारो छ। जसभित्र विशाल ब्रह्माण्ड अटाए झैं लाग्छ। आमा शब्द सुन्दामात्र पनि मनमा शान्ति मिल्छ। ममताकी खानी र हाम्रो सृष्टिकी मुख्य आधार। जसको प्रेमको गहिराइ नाप्न सकिने कुनै यन्त्र छैन।
आमा अर्थात् साक्षात् देवी। यो सुन्दर धर्तीमा उतार्ने महान् नारी। आफ्नो भोक र प्यासको कहिल्यै वास्ता गरिनन्। सन्तानको ओठमा मुस्कान देख्न सधैं संघर्षरत्। आमाको त्याग र बलिदानको कुनै सीमा हुँदैन। उनको निस्वार्थ प्रेममा कहिल्यै कुनै स्वार्थ लुकेको देखिनँ। सन्तानको सानो खुसीमा पनि निकै रमाउने। सन्तान बिरामी पर्दा रातभर जाग्राम बस्ने।
लाग्छ, आमाको न्यानो काख नै संसारको सबैभन्दा ठूलो स्वर्ग हो। जहाँ संसारका सबै दुःख स्वतः हराएर जान्छन्। नेपाली संस्कृतिमा विशेष दिन आज। जिउँदो आमालाई सम्मान गर्नु झन् ठूलो धर्म मानिन्छ। टाढा भएका सन्तानहरू पनि घर फर्कने गर्छन्। आमालाई मन पर्ने मीठा परिकारहरू खुवाउने चलन छ। नयाँ लुगा र उपहार दिएर खुसी बाँड्ने गरिन्छ।
सन्तानले आमाको खुट्टामा शिर राखेर ढोग्ने गर्छन्। आमाले पनि हर्षका साथ आशिषको वर्षा गर्छिन्। सन्तानको प्रगति देख्दा आमाको छाती गर्वले फुल्ने गर्छ। यो उत्सव केवल औपचारिक पर्वमात्र होइन। यो त प्रेम र आदर साटासाट गर्ने अवसर पनि हो। यसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ र बलियो बनाउँछ। आमाको मुस्कान नै घरको सबैभन्दा ठूलो उज्यालो हो।
आमा हाम्रो जीवनको पहिलो गुरु हुन्। हामीलाई पहिलो पटक बोल्न आमाले नै सिकाएकी हुन्। हाम्रो पहिलो पाइला आमाकै हात समातेर अघि बढ्यो। संस्कार र नैतिकताको पाठ आमाको काखबाटै सुरु हुन्छ। उनले सधैं हामी सन्तानलाई सही र सत्य बाटो देखाउँछिन्। आमाको काख नै हाम्रो पहिलो र उत्तम पाठशाला हो। त्यहाँ माया, दया र धैर्यको महान् शिक्षा पाइन्छ। विपत्तिमा पनि आमा कहिल्यै डगमगाउनु वा आत्तिन्नन्। सन्तानको सुरक्षाका लागि उनी पहाड झैं अडिग उभिन्छिन्। आमा एउटा अदृश्य शक्ति र अटुट विश्वास हुन्। आमाको काखमा जस्तो सुरक्षा अन्त कतै पाइँदैन।
धार्मिक शास्त्रहरूमा पनि आमाको महिमा गाइएको छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने मूल मन्त्र छ। जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन्। आमाको सेवा गर्नु नै सबैभन्दा ठूलो तीर्थाटन हो। आमाको चित्त दुखाउनु जीवनको सबैभन्दा ठूलो पाप हो। आमा खुसी भएमात्र साक्षात् भगवान् पनि खुसी हुन्छन्। भनिन्छ, घरमा आमा हाँसेमात्र लक्ष्मीको बास हुने गर्छ। हाम्रो धर्मले नारीलाई जहिले पनि पुज्न सिकाउने गर्छ। आमा त्यसको सबैभन्दा उच्च र पवित्र रूप हुन्। आमाको सेवा गर्ने अवसर पाउनु नै अहोभाग्य हो।
आजको बदलिँदो समयमा धेरै कुरा फेरिएका छन्। धेरै सन्तान परदेशको भूमिमा श्रम गरिरहेका छन्। कोही उच्च शिक्षा त कोही कमाउन बाहिर गएका छन्। गाउँका पुराना घरहरूमा आमाहरू एक्लै टोलाइरहेका देखिन्छन्। उनीहरू सधैं छोराछोरीको बाटो हेरेर बसिरहेका हुन्छन्। धेरैको त अहिले फोन र भिडियो कलमा मात्र कुरा हुने गर्छ। प्रविधिले गर्दा भौतिक दूरी त केही कम भएको छ। तर आमाको न्यानो स्पर्श फोनमा पाउन सकिँदैन। यो भर्चुअल संसारले आमाको काखको तिर्सना मेटाउन सक्दैन। सन्तानको एक स्पर्शले आमाका सबै थकाइ मेटिन्छन्।
समाजमा निकै नराम्रो चलन पनि बढेको छ। केही मानिसले आफ्नी आमालाई वृद्धाश्रममा पुर्याउने गर्छन्। यो हाम्रो सभ्य समाजका लागि ठुलो कलंक हो। जसले दुःख गरेर हुर्कायो, उसैलाई बुढेसकालमा छोड्नु अपराध हो। आमालाई पैसा वा महँगो उपहारभन्दा समय चाहिन्छ। उनलाई बुढेसकालमा सन्तानको थोरै माया र साथ चाहिन्छ। आमाको सेवा र रेखदेख गर्नु हाम्रो परम कर्तव्य हो। उनको बुढेसकालको बलियो लौरो ‘हामी’ बन्नुपर्छ। उनका आँखामा कहिल्यै पनि आँसु झर्न दिनु हुँदैन। आमाको आँसुले घरको सुख र शान्ति नाश गर्छ।
आमा हाम्रो जीवनको शीतल र घमाइलो छायाँ हुन्। जतिसुकै कडा घाममा पनि उनले शीतलता प्रदान गर्छिन्। आमा एउटा दियो हुन्, जसले सधैं बाटो देखाउँछ। हामी जतिसुकै ठूलो ओहोदामा पुगे पनि बालक नै हौं। उनको काखमा टाउको राख्दा मन निकै ढुक्क हुन्छ। संसारका सबै धन र सम्पत्ति एकातिर राखे पनि पुग्दैन। आमाको एउटा मुस्कान ती सबैभन्दा धेरै बहुमूल्य छ। आमाको गुन हामीले सात जुनीसम्म पनि तिर्न सक्दैनौं। आमाको काख नै संसारको सबैभन्दा सुरक्षित किल्ला हो।
त्यसैले मातातीर्थ औंसीका दिन मात्र होइन, सधैं आमालाई पुजौं। उनको स्वास्थ्यको सधैं विशेष ख्याल राख्ने प्रण गरौं। आमाका इच्छाहरू पूरा गरिदिने कोसिस जारी राखौं। मीठो बोलेर सधैं उनको मन जित्ने प्रयास गरौं। आमाको आशीर्वाद नै हाम्रो जीवनको ठूलो भाग्य हो। उनको खुसी नै हाम्रो वास्तविक र दिगो सफलता हो। आमा हुनुको गौरवलाई हृदयदेखि नै महसुस गरौं। उनको सपना पूरा गरेर श्रद्धा प्रकट गरौं। सबै आमाहरूमा भक्तिपूर्वक नमन !
प्रतिक्रिया दिनुहोस !