आधुनिक नेपालीय मैथिली साहित्य लेखनको परम्परा धेरै लामो छैन, जबकि यो भाषा अत्यन्त समृद्ध एवं सम्पन्न रहिआएको सर्वविदित छ। मल्ल शासनकालमा त यो राजकाजको भाषाको रुपमा प्रचलित थियो। मैथिली भाषा–साहित्यको प्रथम गद्यात्मक कृति ज्योर्तिश्वर ठाकुुरको ‘वर्णरत्नाकर’लाई मानिन्छ जुन तेह्रौं, चौधौं शताब्दीमा लेखिएको थियो।
मैथिली साहित्यको लेखन परम्परा विशेष गरेर गद्य लेखन परम्परा धेरै लामो कालखण्डलाई आफ्नो गर्भमा लुकाएको पाइन्छ। दुःखको कुरा, अहिले मैथिलीमा लिखित एक दर्जन उपन्यास पनि पाठकले पढ्न पाएका छैनन्। यस्तोमा रमेश रञ्जनद्वारा लिखित ‘सङोर’ उपन्यासको प्रकाशन महŒवपूर्ण छ। समीक्ष्य उपन्यास ३० अध्यायमा विभाजित छ। २१८ पृष्ठमा सीमित छ।
सर्मपणमा लेखिएको छ– आफ्नो मातृभाषा, मातृसंस्कृति र मातृभूमिको लागि जीवन अर्पण गर्ने अमर सहिद सुप्रसिद्ध रंंगकर्मी र सङोर रेडियो नाटक शृंखलाकी सुप्रसिद्ध कलाकार रञ्जु झालाई। यसको प्रकाशनले मैथिली युवक–युवतीमा पठन संस्कृतिको विकास हुनेछ। पूर्वीय नेपालको लहान र हनुमानगरमा यस उपन्यासको कथावस्तुको सूत्रपात भएको छ। यस उपन्यासको प्रारम्भ बडो रोमान्टिक पारामा छ।
अमित यसको नायक छ भने नायिका अनुपमा। दुइटै एउटै कलेजको विद्यार्थी भएकाले एकापसमा आकर्षण हुनु सवर्था स्वाभाविक हो। अचेल कलेज र विश्वविद्यालयमै पहिला गर्लफ्रेन्ड र त्यसपछि दाम्पत्य जीवनमा आबद्ध हुने अवसर पाइन्छ। चलनचल्तीको भाषामा अमितकी गर्लफ्रेन्ड छिन्, अनुपमा। अनुपमा नै पहिले अमितलाई आफूतिर आकर्षित गर्ने प्रयास गर्छिन्। अमित निम्न जातिमा उत्पन्न र एउटा निर्धन परिवारमा जन्मेका र हुर्केका युवक हुन् तर एकदम प्रतिभाशाली। उनलाई खतरा महसुस हुन थालेको थियो कि यस्तो प्रेम सफल हुँदैन।
मधेसी समाजको संरचनामा जातपातको धेरै बोलबाला हुन्छ। अन्तरजातीय विवाह त असम्भव जस्तै हुन्छ तर पनि प्रेम जातपातको सीमामा कहाँ सीमित हुन्छ र ! यी युगल जोडी प्रेममा धेरै अगाडि बढिसकेको थियो तर जटाधर खलनायक भएर उनको बाटोमा बिध्नबाधा दिन थाल्यो। उनले आफैं अनुपमालाई अपनाउन चाहन्थे तर अनुपमा श्यामको राधाजस्तो अमितको प्रेममा पागल भइसकेकी थिइन्। जटाधरले अनुपमाको दाइ राधवेन्द्रलाई चुगली लगाइदियो।
राधवेन्द्र र उसको बुवा अमोदानन्दले अनुपमालाई कलेज जान बञ्चित गरिदियो। किनभने यो सामाजिक मर्यादाको सरासर उल्लंघन थियो। राघवेन्द्रले साथीलाई लगाएर अमितलाई यस्तो कुट्न लगायो कि ऊ कलेज पनि जाने स्थितिमा रहेन। अमितले राधवेन्द्रसँग बदला लिन सशस्त्र समूहमा गएर जोडिन्छ। तर त्यो समूह पनि सफलतापूर्वक ‘एडजस्ट’ हुँदैन। परिणाम के हुन्छ भने ऊ न घरको हुन्छ न घाटको, अन्तमा खाली हात फर्केर आउँछ।
उपन्यासकारले यस उपन्यासमा मधेसी समाजका धेरै समस्यालाई उजागर गर्ने प्रयास गरेका छन्। मधेसी समाजमा दाइजो प्रथाको चलन धेरै पुरानो छ र आजसम्म प्रचलनमा छ। अमितलाई बहिनी सुष्माको विवाहको चिन्ता छ किनभने ऊ गरिब परिवारको छ। राम्रो केटोसित विवाह गराउन ऊसँग धेरै पैसा छैन। राधवेन्द्र पनि अनुपमाको विवाह गराउन बुवा आमोदानन्दसँग चिन्ता व्यक्त गर्छ र भन्छ विवाह केटाकेटीको खेल होइन। राधवेन्द्र दकियानुस विचारको केटो छ किनभने ऊ न त अनुपमा र अमितको अन्तरजातीय विवाहको पक्षमा छ न त धेरै दहेज दिएर आफूभन्दा धनी परिवारमा विवाह गराइदिने पक्षमा छ। यो दाइजो प्रथाको दुर्गुण हो। यतिमात्र होइन, मधेसी समाजमा व्याप्त रक्सीपानको समस्यालाई पनि समेटिएको छ। फूलचनलाई सराबीको रूपमा चित्रित गरिएको छ। उसको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगे पनि रक्सी खान छोड्दैन। उसको एकमात्र छोरी सृष्टि गाउँभरिमा रक्सीपान निषेध गराउने अभियानमा लाग्छिन्।
उपन्यासमा राजनैतिक समस्यालाई पनि उठाइएको छ। कलेज र विश्वविद्यालय पढाइका लागि होइनन् कि राजनीतिको प्रयोगका लागि स्थापित भएका छन्। आजको पतीत या भ्रष्ट शिक्षा पद्धति माथि पनि उपन्यासकारले आक्रोश पोखेका छन्। मधेसमात्र होइन, सम्पूर्ण देश नै बन्द संस्कृतिको सिकार हुँदै आएको छ। समाज आधुनिकीकरण हुँदै गएको र सामाजिक संरचना र स्वरूपमा परिवर्तन परिलक्षित हुँदै गएकोमा उनलाई चिन्ता हुनु सवर्था स्वाभाविक हो।
नेपाल कृषि प्रधान देश हो। तर अचेल अन्न, पानी, दाल, दलहन, तेलहन, फलफल र तरकारी निम्ति आफ्नो दक्षिणी छिमेकी मुलुक माथि निर्भर हुँदै गएकोमा पनि उनको चित्त बुझेको छैन। मधेसी युवा वर्गमा नशाको लत लागेको छ। सिगरेट र बिडी पिउनु र त्यो पनि आफ्ना बुवा–आमा अगाडि साधारण कुरो भइसकेको छ। सम्पूर्ण मधेसी समाजमा खास गरेर मिथिलाञ्चलमा शाब्दिक मर्यादा, सम्बोधन मर्यादा र सम्बन्धको मर्यादा भताभुंग र लथालिंग हुँदै गएको छ।
‘जेनरेसन ग्याप’ले गर्दा पनि सामाजिक संरचना र स्वरूपमा नचाहिँदो किसिमको चेन्ज आउँदै गरेको छ। भनाइको अर्थ के हो भने उपन्यासकार रमेश रञ्जनले सङोर उपन्यासमा सामाजिक, आर्थिक, राजनीतिक र समाजशास्त्रीय समस्यालाई उठाएका छन्। रेमिट्यान्सको भरमा देशको आर्थिक स्थिति चलिराखेको कुरो चिन्तनीय र सोचनीय हुन गएको छ। मोबाइलजस्तै देशको राजनीतिक स्थिति चिन्ताजनक अवस्थामा पुगेको छ।
उपन्यासकार रञ्जनले सशस्त्र समूहको गतिविधि, क्रियाकलाप र मनोविज्ञानको सूक्ष्म अवलोकन गरेर त्यसको अभिव्यक्ति यहाँ गरेका छन्। सम्पूर्ण मधेसमा चोरी, डकैती, चन्दा आतंक र फिरौतीको फन्दा दिनानुदिन कसिँदै गएकाले मधेसको जनजीवन कष्टकर हुँदै गएको छ। उपन्यासकारको निष्कर्ष खुलासा भएको पाइन्छ, ‘तमाम निमोछिया छौडा सभके काम हई। डरके मारे कियो ने बजैत छै (पृ.९७)।’ मोटरसाइकल त मधेसमा युद्ध गर्नेका लागि बख्तरबन्द गाडी सावित भएको छ।
उपन्यासकारले पुलिस प्रशासन र नक्कली डाक्टरहरूको सेवालाई सबैभन्दा गन्हाएको पेसाको रूपमा प्रमाणित गरेर पेस गरेका छन्। मधेसी समाजमा एकरसता व्याप्त छ। यसमा कहिलेकाहीँमात्र परिवर्तन आएको महसुस हुन्छ, जस्तो विवाह, व्रतबन्ध, मुन्डन र श्राद्धको अवसरमा। फलतः युवा समूह गाउँबाट राजधानी पलायन हुँदै विदेशतिर भासिँदै गएको छ।उपन्यासको भाषाशैलीमा ठेट मैथिली शब्दको प्रचुर प्रयोग भएको भेटिन्छ भने प्रञ्जल र परिस्कृत शब्दावलीको प्रयोग पनि। समग्रतः के भन्न सकिन्छ भने यो उपन्यास पठनीय, स्तरीय र संग्रहनीय छ। यो उपन्यास न दुःखान्त भएको छ न त सुखान्त। यी दुइटैको बीचमा यसको कथावस्तुले विस्तार पाएको छ।
प्रतिक्रिया दिनुहोस !