अल्गोरिदम : नेपालको डिजिटल भविष्यको चालक

अल्गोरिदम : नेपालको डिजिटल भविष्यको चालक

अहिले सामाजिक सञ्जाल र अखबारहरूमा निकै चर्चामा रहेको एउटा शब्द हो ‘अल्गोरिदम’ । बिहान उठेदेखि राति नसुत्दासम्म फेसबुक, टिकटक वा अन्य सामाजिक सञ्जालहरू ‘स्क्रोल’ गर्छौं । अचम्मको कुरा के छ भने हामीलाई जे मन पर्छ, मोबाइलको ‘स्क्रिन’मा त्यही कुरा आइपुग्छ । कहिलेकाहीँ त लाग्छ, यो मेसिनले मेरो मनको कुरा कसरी थाहा पायो ? यो कुनै जादु वा तन्त्रमन्त्र होइन, यो त हाम्रो डिजिटल संसारलाई चलाउने एक ‘अदृश्य इन्जिन’ हो, जसलाई प्राविधिक भाषामा ‘अल्गोरिदम’ भनिन्छ ।

आजको डिजिटल युगमा ‘अल्गोरिदम’ले हामीले के किन्ने, कुन समाचार पढ्ने, कोसँग मित्रता गर्नेसम्मका कुराहरू निर्धारण गरिरहेको छ । सामाजिक सञ्जालदेखि बैंकिङ प्रणालीसम्म, अनलाइन किनमेलदेखि सरकारी सेवासम्म हाम्रो दैनिक जीवनका अधिकांश काम कुनै न कुनै रूपमा ‘अल्गोरिदम’सँग जोडिएका छन् । हामीलाई पूर्ण रूपमा ‘अल्गोरिदम’ले नै डोहोर्‍याइरहेको छ तर, वास्तवमा यो अल्गोरिदम भनेको के हो ? यसले कसरी काम गर्छ ? र हिमालको काखमा रहेको नेपालजस्तो देशमा यसको प्रभाव र भविष्य कस्तो होला ? वास्तवमा, अल्गोरिदम कुनै रहस्यमय कुरा होइन, यो त हाम्रो दैनिक जीवनमै प्रयोग हुने साधारण तर शक्तिशाली डिजिटल युगको नयाँ अवधारणा हो ।

के हो ‘अल्गोरिदम’ ? : साधारण भाषामा अल्गोरिदम भनेको कुनै पनि समस्या समाधान गर्न वा निश्चित लक्ष्यमा पुग्न अपनाइने एउटा ‘नियम र चरणहरूको सेट’ हो । यो एउटा यस्तो बाटो हो, जसले हामीलाई ‘कहाँबाट सुरु गर्ने’देखि ‘कहाँ अन्त्य गर्ने’सम्मको स्पष्ट मार्गचित्र देखाउँछ ।

अब मानौं तपाईंलाई नयाँ ठाउँमा पुग्नु छ । सुरुवात त घरबाट निस्कने अनि पहिलो पाइला पाँच सय मिटर सिधा हिँड्ने, हिँडेर जाने क्रममा यदि चोकमा रातो बत्ती बलेको छ भने रोकिने, हरियो छ, भने अघि बढ्ने, बायाँ मोड्ने र १० मिनेट हिँड्ने र अन्त्य : आफ्नो गन्तव्यको ढोकामा पुग्ने । यही स्टेप–बाई–स्टेप प्रक्रिया नै ‘अल्गोरिदम’ हो । कम्प्युटरले पनि ठ्याक्कै यसरी नै काम गर्छ । फरक यतिमात्र हो कि हामी मानिस कहिलेकाहीँ बाटो बिर्सन्छौं वा आलस्य गर्छौँ, तर ‘अल्गोरिदम’ले दिइएको निर्देशन कहिल्यै छोड्दैन र निर्देशन अनुरूप नै काम गर्ने गर्छ ।

जसरी चिया पकाउनलाई एउटा प्रक्रिया, चरण वा ‘रेसिपी’ हुन्छ, वास्तवमा त्यही नै हो ‘अल्गोरिदम’ । कम्प्युटरको सन्दर्भमा, ‘अल्गोरिदम’ भनेको गणितीय सूत्रहरूको समूह हो, जसले डेटालाई लिन्छ र त्यसलाई प्रशोधन गरेर हामीलाई चाहिएको नतिजा दिन्छ । यो एउटा यस्तो बुद्धिमान गणित हो, जसले ‘यदि यसो भयो भने, त्यसो गर’ भन्ने तर्कमा काम गर्छ । 

यसका चरण र भित्री रहस्य : ‘अल्गोरिदम’ले जादु झैं काम गरे पनि यसको पछाडि ठोस विज्ञान र तर्क लुकेको हुन्छ । यसको कार्य प्रणालीलाई मुख्य चार चरणमा बुझ्न सकिन्छ ।

१. इनपुट : अल्गोरिदमलाई पहिले केही जानकारी वा डेटा चाहिन्छ । जस्तै, तपाईंले गुगलमा ‘नेपालमा वर्तमान युवाको अवस्था’ टाइप गर्नुभयो, भने त्यो इनपुट भयो । २. प्रशोधन : प्राप्त भएको डेटालाई ‘अल्गोरिदम’ले आफ्नो प्रोग्रामिङ र पुराना रेकर्डहरूसँग तुलना गर्छ । यसले ठूलो मात्रामा रहेको ‘डेटाबेस’बाट सेकेन्डभरमै सही जानकारी खोज्छ । ३. वर्गीकरण र प्राथमिकता : फेसबुक वा युट्यबजस्ता प्लेटफर्ममा ‘अल्गोरिदम’ले तपाईंको रुचि हेर्छ । तपाईंले कुन भिडियो धेरै बेर हेर्नुभयो ? कुन फोटोमा ‘लाइक’ गर्नुभयो ? यी सबै गतिविधिहरूको विश्लेषण गरेर ‘अल्गोरिदम’ले तपाईंलाई मन पर्ने सामग्री पहिलो प्राथमिकतामा राख्छ । ४. आउटपुट : अन्तमा, यसले नतिजा दिन्छ । तपाईंको फेसबुक फिडमा आउने पोस्टहरू वा गुगल म्यापले देखाउने छोटो बाटो नै ‘अल्गोरिदम’ को ‘आउटपुट’ हो ।

दैनिक जीवनमा ‘अल्गोरिदम’को भूमिका : हामी अनजानमै दिनको सयौं पटक ‘अल्गोरिदम’सँग ठोक्किरहेका हुन्छौं, सोसल मिडियाः टिकटकको ‘फर यु’ पेज ‘अल्गोरिदम’को उत्कृष्ट नमुना हो । यसले तपाईंको मुड र रुचिलाई तपाईंले भन्दा राम्रोसँग बुझ्छ । त्यही अनुरूप काम गरेर तपाईंको रुचि अनुरूपका बिभिन्न पोस्ट, रिल्स तथा जानकारीहरू तपार्इं ‘डिस्पे’मा देखाउँछ । ई–कमर्स (दराज वा अमेजन) ले ‘तपाईंलाई यो पनि मन पर्न सक्छ ?’ भन्दै सामानहरू देखाउनु ‘अल्गोरिदम’कै काम हो । बैंकहरूले ऋण दिँदा वा क्रेडिट कार्डको ‘फ्रड’ पत्ता लगाउँदा ‘अल्गोरिदम’ प्रयोग गर्छन् । पठाओ वा इनड्राइभजस्ता साइडिङ सेयरिङ एपले कुन चालक नजिक छ र भाडा कति हुनुपर्छ भन्ने कुरा ‘अल्गोरिदम’बाटै तय गर्छन् ।

नेपालमा वर्तमान अवस्था : नेपाल ढिलोगरी प्रविधिको दौडमा छ । नेपालका सरकारी निकायदेखि निजी क्षेत्रसम्म अल्गोरिदमको प्रवेश भइसकेको छ । झन् दैनिक जीवन र नयाँ युवा पुस्ता त ‘अल्गोरिदम’बाट आनन्द पनि लिइरहेका छन् । नेपाली अधिकांश बैंकले बिस्तारै ‘क्रेडिट स्कोरिङ’का लागि अल्गोरिदम प्रयोग गर्न थालेका छन् । डिजिटल वालेटहरू (खल्ती, ईसेवा)ले प्रयोगकर्ताको खर्च गर्ने बानी बुझ्न यसको सहयोग लिन्छन् । अहिले विशेषगरी नेपालमा ‘स्टार्टअप’ संस्कृति बढ्दो छ । पठाओ, फुडमान्डु र दराजजस्ता कम्पनी पूर्ण रूपमा अल्गोरिदममा आधारित छन् । यिनीहरूले नेपाली बजारमा ‘डेटा–ड्रिभन’ निर्णय लिन सिकाएका छन् । यसका प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा अल्गोरिदमबाट निर्देशित गरिरहेको छ ।

नेपालमा यसको भविष्य – अवसर र चुनौती : प्रतिनिधिसभा निर्वाचन २०८२ मा पनि निकै चर्चामा रह्यो ‘अल्गोरिदम’ । विशेषगरी रास्वापाले निर्वाचनमा नसोचेको नतिजा ल्याउनुमा ‘अल्गोरिदम’को महत्वपूर्ण भूमिका छ भनी पुराना राजनीतिक दल र यसमा आबद्ध कार्यकर्ताले सामाजिक सञ्जालमै अभिव्यक्ति दिइरहेछन् । नेपालको भौगोलिक बनावट र आर्थिक अवस्थालाई हेर्दा ‘अल्गोरिदम’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले देशको मुहार फेर्न सक्छ । यसका लागि नयाँ जेन—जी पुस्तालाई यसतर्फ आकर्षित गर्न सक्दा यो क्षेत्रबाट देशले काया परिवर्तन गर्न सक्छ । यसतर्फ वर्तमान सरकार पूर्ण सचेत छ ।

नेपालको समग्र विकास र समृद्धिका लागि ‘अल्गोरिदम’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ एउटा गेम–चेन्जर साबित हुन सक्छ । विशेषगरी कृषिप्रधान देश नेपालमा माटोको परीक्षण, मौसमको पूर्वानुमान र बजारको माग विश्लेषण गर्ने स्वचालित प्रणाली विकास गर्न सके किसानले उचित मूल्य पाउने र बिचौलियाको अन्त्य हुने देखिन्छ । स्वास्थ्य क्षेत्रमा पनि दुर्गमका नागरिकका लागि ‘डायग्नोस्टिक अल्गोरिदम’मार्फत रोगको पहिचान र उपचारमा नयाँ क्रान्ति ल्याउन सकिन्छ । त्यस्तै, पर्यटकको रुचिअनुसारका गन्तव्यहरू सिफारिस गर्ने प्रणालीले पर्यटन उद्योगलाई विश्वव्यापी बजारीकरण गर्न मद्दत पुग्नेछ । सबैभन्दा महत्वपूर्ण पक्ष, सरकारी सेवाहरू जस्तै पासपोर्ट, राष्ट्रिय परिचयपत्र, लाइसेन्स र नागरिकता वितरणलाई ‘अल्गोरिदम’मा आधारित स्वचालित प्रणालीमा ढाल्न सके प्रशासनिक ढिलासुस्ती र भ्रष्टाचारको जरो नै उखेल्न सकिन्छ । यसरी प्रविधिको सही प्रयोगले नेपालको सेवा प्रवाह र उत्पादनलाई आधुनिक युगको गतिमा लैजान सकिने प्रशस्त आधार छन् ।

नेपाल प्रविधिको तीव्र विकाससँगै अगाडि बढ्दै गर्दा ‘अल्गोरिदम’ र कृत्रिम बुद्धिमत्ताले ठूलो अवसर सिर्जना गरेका छ, तर त्यससँगै केही गम्भीर चुनौती देखा परिरहेका छन् । मुख्य रूपमा डेटा गोपनीयताको असुरक्षा, डिजिटल विभाजनका कारण बढ्दो असमानता, ‘अल्गोरिदम’मा हुने पूर्वाग्रह र गलत सूचना, तथा दक्ष जनशक्तिको अभाव प्रमुख समस्या हुन् । यसैलाई बेलैमा सम्बोधन गर्नतर्फ सरकार चनाखो हुनुपर्छ ।

यी चुनौतीलाई समयमै सम्बोधन गर्न सकेमात्र प्रविधिको लाभ सबैमा समान रूपमा पुग्न सक्छ । त्यसका लागि प्रभावकारी नीति, कडा नियमन, डिजिटल पहुँच विस्तार र युवा जनशक्ति विकासमा ध्यान दिन आवश्यक छ । सही रणनीति अपनाउन सकेमा, यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै नेपालले प्रविधिको क्षेत्रमा नयाँ सम्भावना र सफलता हासिल गर्न सक्छ ।

‘अल्गोरिदम’ले रोजगारी खोस्छ ? : यो डरलाग्दो प्रश्न हो । वास्तविकता के हो भने, ‘अल्गोरिदम’ले दोहोरिने कामहरूलाई प्रतिस्थापन गर्नेछ र यसले नयाँ प्रकारका रोजगारी पनि सिर्जना गर्नेछ । नेपालले अब जेन—जी  र युवा पुस्तालाई ‘डाटा साइन्टिस्ट’, ‘एआई एथिक्स अफिसर’ र ‘मिसिन लर्निङ इन्जिनियर’ बन्न प्रोत्साहित गर्नुपर्छ । अनिमात्र देश नयाँ र प्रविधिमैत्री रोजगारीहरू सिर्जना हुन्छ । हामी ‘अल्गोरिदम’सँग डराउने होइन, यसलाई नियन्त्रण र परिचालन गर्न सिक्नुपर्छ । यसबाट लिन सक्ने जति फाइदा लिन सक्नुपर्छ । यसलाई विकास र समृद्धिको मेरुदण्ड बनाउन पर्छ । यसलाई हाम्रो दैनिक जीवनसँग जोड्न सक्नुपर्छ । 

निष्कर्ष : ‘अल्गोरिदम’ आफैंमा खराब वा असल हुँदैन, मात्र यसको प्रयोग कसरी गर्छन् भन्नेमा भर पर्छ । यो एउटा औजारमात्र हो । यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा हाम्रो हातमा छ । नेपालको सन्दर्भमा, यदि हामीले सही नीति र नियमन ल्याउन सक्यौं भने अल्गोरिदमले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायमा ठूलो योगदान दिन सक्छ । आजको डिजिटल युगमा हामीले अल्गोरिदमलाई बुझ्नु भनेको भविष्यलाई बुझ्नु हो । अबको नेपाल ‘फाइल र ढड्डा’बाट बाहिर निस्केर ‘कोड र डेटा’को माध्यमबाट अगाडि बढ्नुपर्छ । ‘अल्गोरिदम’ले जतिसुकै राम्रो नतिजा देखाए पनि, अन्तिम निर्णय र मानवीय संवेदना सधैं मानिसकै हुनुपर्छ । किनकि, मेसिनसँग तर्क त हुन्छ तर मन र व्यावहारिकता हुँदैन ।
बानियाँ, युवा अभियन्ता हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.