अल्गोरिदम : नेपालको डिजिटल भविष्यको चालक
अहिले सामाजिक सञ्जाल र अखबारहरूमा निकै चर्चामा रहेको एउटा शब्द हो ‘अल्गोरिदम’ । बिहान उठेदेखि राति नसुत्दासम्म फेसबुक, टिकटक वा अन्य सामाजिक सञ्जालहरू ‘स्क्रोल’ गर्छौं । अचम्मको कुरा के छ भने हामीलाई जे मन पर्छ, मोबाइलको ‘स्क्रिन’मा त्यही कुरा आइपुग्छ । कहिलेकाहीँ त लाग्छ, यो मेसिनले मेरो मनको कुरा कसरी थाहा पायो ? यो कुनै जादु वा तन्त्रमन्त्र होइन, यो त हाम्रो डिजिटल संसारलाई चलाउने एक ‘अदृश्य इन्जिन’ हो, जसलाई प्राविधिक भाषामा ‘अल्गोरिदम’ भनिन्छ ।
आजको डिजिटल युगमा ‘अल्गोरिदम’ले हामीले के किन्ने, कुन समाचार पढ्ने, कोसँग मित्रता गर्नेसम्मका कुराहरू निर्धारण गरिरहेको छ । सामाजिक सञ्जालदेखि बैंकिङ प्रणालीसम्म, अनलाइन किनमेलदेखि सरकारी सेवासम्म हाम्रो दैनिक जीवनका अधिकांश काम कुनै न कुनै रूपमा ‘अल्गोरिदम’सँग जोडिएका छन् । हामीलाई पूर्ण रूपमा ‘अल्गोरिदम’ले नै डोहोर्याइरहेको छ तर, वास्तवमा यो अल्गोरिदम भनेको के हो ? यसले कसरी काम गर्छ ? र हिमालको काखमा रहेको नेपालजस्तो देशमा यसको प्रभाव र भविष्य कस्तो होला ? वास्तवमा, अल्गोरिदम कुनै रहस्यमय कुरा होइन, यो त हाम्रो दैनिक जीवनमै प्रयोग हुने साधारण तर शक्तिशाली डिजिटल युगको नयाँ अवधारणा हो ।
के हो ‘अल्गोरिदम’ ? : साधारण भाषामा अल्गोरिदम भनेको कुनै पनि समस्या समाधान गर्न वा निश्चित लक्ष्यमा पुग्न अपनाइने एउटा ‘नियम र चरणहरूको सेट’ हो । यो एउटा यस्तो बाटो हो, जसले हामीलाई ‘कहाँबाट सुरु गर्ने’देखि ‘कहाँ अन्त्य गर्ने’सम्मको स्पष्ट मार्गचित्र देखाउँछ ।
जसरी चिया पकाउनलाई एउटा प्रक्रिया, चरण वा ‘रेसिपी’ हुन्छ, वास्तवमा त्यही नै हो ‘अल्गोरिदम’ । कम्प्युटरको सन्दर्भमा, ‘अल्गोरिदम’ भनेको गणितीय सूत्रहरूको समूह हो, जसले डेटालाई लिन्छ र त्यसलाई प्रशोधन गरेर हामीलाई चाहिएको नतिजा दिन्छ । यो एउटा यस्तो बुद्धिमान गणित हो, जसले ‘यदि यसो भयो भने, त्यसो गर’ भन्ने तर्कमा काम गर्छ ।
यसका चरण र भित्री रहस्य : ‘अल्गोरिदम’ले जादु झैं काम गरे पनि यसको पछाडि ठोस विज्ञान र तर्क लुकेको हुन्छ । यसको कार्य प्रणालीलाई मुख्य चार चरणमा बुझ्न सकिन्छ ।
१. इनपुट : अल्गोरिदमलाई पहिले केही जानकारी वा डेटा चाहिन्छ । जस्तै, तपाईंले गुगलमा ‘नेपालमा वर्तमान युवाको अवस्था’ टाइप गर्नुभयो, भने त्यो इनपुट भयो । २. प्रशोधन : प्राप्त भएको डेटालाई ‘अल्गोरिदम’ले आफ्नो प्रोग्रामिङ र पुराना रेकर्डहरूसँग तुलना गर्छ । यसले ठूलो मात्रामा रहेको ‘डेटाबेस’बाट सेकेन्डभरमै सही जानकारी खोज्छ । ३. वर्गीकरण र प्राथमिकता : फेसबुक वा युट्यबजस्ता प्लेटफर्ममा ‘अल्गोरिदम’ले तपाईंको रुचि हेर्छ । तपाईंले कुन भिडियो धेरै बेर हेर्नुभयो ? कुन फोटोमा ‘लाइक’ गर्नुभयो ? यी सबै गतिविधिहरूको विश्लेषण गरेर ‘अल्गोरिदम’ले तपाईंलाई मन पर्ने सामग्री पहिलो प्राथमिकतामा राख्छ । ४. आउटपुट : अन्तमा, यसले नतिजा दिन्छ । तपाईंको फेसबुक फिडमा आउने पोस्टहरू वा गुगल म्यापले देखाउने छोटो बाटो नै ‘अल्गोरिदम’ को ‘आउटपुट’ हो ।
दैनिक जीवनमा ‘अल्गोरिदम’को भूमिका : हामी अनजानमै दिनको सयौं पटक ‘अल्गोरिदम’सँग ठोक्किरहेका हुन्छौं, सोसल मिडियाः टिकटकको ‘फर यु’ पेज ‘अल्गोरिदम’को उत्कृष्ट नमुना हो । यसले तपाईंको मुड र रुचिलाई तपाईंले भन्दा राम्रोसँग बुझ्छ । त्यही अनुरूप काम गरेर तपाईंको रुचि अनुरूपका बिभिन्न पोस्ट, रिल्स तथा जानकारीहरू तपार्इं ‘डिस्पे’मा देखाउँछ । ई–कमर्स (दराज वा अमेजन) ले ‘तपाईंलाई यो पनि मन पर्न सक्छ ?’ भन्दै सामानहरू देखाउनु ‘अल्गोरिदम’कै काम हो । बैंकहरूले ऋण दिँदा वा क्रेडिट कार्डको ‘फ्रड’ पत्ता लगाउँदा ‘अल्गोरिदम’ प्रयोग गर्छन् । पठाओ वा इनड्राइभजस्ता साइडिङ सेयरिङ एपले कुन चालक नजिक छ र भाडा कति हुनुपर्छ भन्ने कुरा ‘अल्गोरिदम’बाटै तय गर्छन् ।
नेपालमा वर्तमान अवस्था : नेपाल ढिलोगरी प्रविधिको दौडमा छ । नेपालका सरकारी निकायदेखि निजी क्षेत्रसम्म अल्गोरिदमको प्रवेश भइसकेको छ । झन् दैनिक जीवन र नयाँ युवा पुस्ता त ‘अल्गोरिदम’बाट आनन्द पनि लिइरहेका छन् । नेपाली अधिकांश बैंकले बिस्तारै ‘क्रेडिट स्कोरिङ’का लागि अल्गोरिदम प्रयोग गर्न थालेका छन् । डिजिटल वालेटहरू (खल्ती, ईसेवा)ले प्रयोगकर्ताको खर्च गर्ने बानी बुझ्न यसको सहयोग लिन्छन् । अहिले विशेषगरी नेपालमा ‘स्टार्टअप’ संस्कृति बढ्दो छ । पठाओ, फुडमान्डु र दराजजस्ता कम्पनी पूर्ण रूपमा अल्गोरिदममा आधारित छन् । यिनीहरूले नेपाली बजारमा ‘डेटा–ड्रिभन’ निर्णय लिन सिकाएका छन् । यसका प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा अल्गोरिदमबाट निर्देशित गरिरहेको छ ।
नेपालमा यसको भविष्य – अवसर र चुनौती : प्रतिनिधिसभा निर्वाचन २०८२ मा पनि निकै चर्चामा रह्यो ‘अल्गोरिदम’ । विशेषगरी रास्वापाले निर्वाचनमा नसोचेको नतिजा ल्याउनुमा ‘अल्गोरिदम’को महत्वपूर्ण भूमिका छ भनी पुराना राजनीतिक दल र यसमा आबद्ध कार्यकर्ताले सामाजिक सञ्जालमै अभिव्यक्ति दिइरहेछन् । नेपालको भौगोलिक बनावट र आर्थिक अवस्थालाई हेर्दा ‘अल्गोरिदम’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले देशको मुहार फेर्न सक्छ । यसका लागि नयाँ जेन—जी पुस्तालाई यसतर्फ आकर्षित गर्न सक्दा यो क्षेत्रबाट देशले काया परिवर्तन गर्न सक्छ । यसतर्फ वर्तमान सरकार पूर्ण सचेत छ ।
नेपालको समग्र विकास र समृद्धिका लागि ‘अल्गोरिदम’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ एउटा गेम–चेन्जर साबित हुन सक्छ । विशेषगरी कृषिप्रधान देश नेपालमा माटोको परीक्षण, मौसमको पूर्वानुमान र बजारको माग विश्लेषण गर्ने स्वचालित प्रणाली विकास गर्न सके किसानले उचित मूल्य पाउने र बिचौलियाको अन्त्य हुने देखिन्छ । स्वास्थ्य क्षेत्रमा पनि दुर्गमका नागरिकका लागि ‘डायग्नोस्टिक अल्गोरिदम’मार्फत रोगको पहिचान र उपचारमा नयाँ क्रान्ति ल्याउन सकिन्छ । त्यस्तै, पर्यटकको रुचिअनुसारका गन्तव्यहरू सिफारिस गर्ने प्रणालीले पर्यटन उद्योगलाई विश्वव्यापी बजारीकरण गर्न मद्दत पुग्नेछ । सबैभन्दा महत्वपूर्ण पक्ष, सरकारी सेवाहरू जस्तै पासपोर्ट, राष्ट्रिय परिचयपत्र, लाइसेन्स र नागरिकता वितरणलाई ‘अल्गोरिदम’मा आधारित स्वचालित प्रणालीमा ढाल्न सके प्रशासनिक ढिलासुस्ती र भ्रष्टाचारको जरो नै उखेल्न सकिन्छ । यसरी प्रविधिको सही प्रयोगले नेपालको सेवा प्रवाह र उत्पादनलाई आधुनिक युगको गतिमा लैजान सकिने प्रशस्त आधार छन् ।
नेपाल प्रविधिको तीव्र विकाससँगै अगाडि बढ्दै गर्दा ‘अल्गोरिदम’ र कृत्रिम बुद्धिमत्ताले ठूलो अवसर सिर्जना गरेका छ, तर त्यससँगै केही गम्भीर चुनौती देखा परिरहेका छन् । मुख्य रूपमा डेटा गोपनीयताको असुरक्षा, डिजिटल विभाजनका कारण बढ्दो असमानता, ‘अल्गोरिदम’मा हुने पूर्वाग्रह र गलत सूचना, तथा दक्ष जनशक्तिको अभाव प्रमुख समस्या हुन् । यसैलाई बेलैमा सम्बोधन गर्नतर्फ सरकार चनाखो हुनुपर्छ ।
यी चुनौतीलाई समयमै सम्बोधन गर्न सकेमात्र प्रविधिको लाभ सबैमा समान रूपमा पुग्न सक्छ । त्यसका लागि प्रभावकारी नीति, कडा नियमन, डिजिटल पहुँच विस्तार र युवा जनशक्ति विकासमा ध्यान दिन आवश्यक छ । सही रणनीति अपनाउन सकेमा, यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै नेपालले प्रविधिको क्षेत्रमा नयाँ सम्भावना र सफलता हासिल गर्न सक्छ ।
‘अल्गोरिदम’ले रोजगारी खोस्छ ? : यो डरलाग्दो प्रश्न हो । वास्तविकता के हो भने, ‘अल्गोरिदम’ले दोहोरिने कामहरूलाई प्रतिस्थापन गर्नेछ र यसले नयाँ प्रकारका रोजगारी पनि सिर्जना गर्नेछ । नेपालले अब जेन—जी र युवा पुस्तालाई ‘डाटा साइन्टिस्ट’, ‘एआई एथिक्स अफिसर’ र ‘मिसिन लर्निङ इन्जिनियर’ बन्न प्रोत्साहित गर्नुपर्छ । अनिमात्र देश नयाँ र प्रविधिमैत्री रोजगारीहरू सिर्जना हुन्छ । हामी ‘अल्गोरिदम’सँग डराउने होइन, यसलाई नियन्त्रण र परिचालन गर्न सिक्नुपर्छ । यसबाट लिन सक्ने जति फाइदा लिन सक्नुपर्छ । यसलाई विकास र समृद्धिको मेरुदण्ड बनाउन पर्छ । यसलाई हाम्रो दैनिक जीवनसँग जोड्न सक्नुपर्छ ।
निष्कर्ष : ‘अल्गोरिदम’ आफैंमा खराब वा असल हुँदैन, मात्र यसको प्रयोग कसरी गर्छन् भन्नेमा भर पर्छ । यो एउटा औजारमात्र हो । यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा हाम्रो हातमा छ । नेपालको सन्दर्भमा, यदि हामीले सही नीति र नियमन ल्याउन सक्यौं भने अल्गोरिदमले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायमा ठूलो योगदान दिन सक्छ । आजको डिजिटल युगमा हामीले अल्गोरिदमलाई बुझ्नु भनेको भविष्यलाई बुझ्नु हो । अबको नेपाल ‘फाइल र ढड्डा’बाट बाहिर निस्केर ‘कोड र डेटा’को माध्यमबाट अगाडि बढ्नुपर्छ । ‘अल्गोरिदम’ले जतिसुकै राम्रो नतिजा देखाए पनि, अन्तिम निर्णय र मानवीय संवेदना सधैं मानिसकै हुनुपर्छ । किनकि, मेसिनसँग तर्क त हुन्छ तर मन र व्यावहारिकता हुँदैन ।
बानियाँ, युवा अभियन्ता हुन् ।
प्रतिक्रिया दिनुहोस !