कुहिरोले सम्झाएको जवानी

नियात्रा

कुहिरोले सम्झाएको जवानी

जवानी त एकपटक आउने हो जीवनमा, तर, अराजकताहरू भ्रममा रमाउँछन्। हामी मान्छेहरू पनि यथार्थताभन्दा बढी भ्रममै रमाउँछौं।

जंगल र कुहिरोले जागेर ब्युँझाइरहन्छ, नवजीवन।निगालाका झाङ र बाँझपाते काँडा छिचलेर हिँडेका हावाहरूले मीठो काउकुती लगाइरहेछन्। ग्रीष्म, ग्रीष्मजस्तो छैन बीचपानीमा। चिसो छ, शीतल छ र स्फुर्तिदायक छ। हावाका मीठा झोक्काहरूले हल्लिरहेका बाँझका रूखहरू हेर्दा स्वादले सलबलाइरहन्छ मन।

क्यालेन्डरमा जेठ महिना लेखिएको छ, तर मंसिरको घमाइलो दिन भेटिए झैं भइरहेछ। जंगली पूmलहरूबाट निस्केका गाढा सुगन्धले मात चढाउँदै छ मनलाई। चिसो हावाले अघिल्तिर ऊनी टोपी पनि कमजोर बनिरहेछ। निगालाको टुसाको तरकारी र पोलेको गोलभेंडाको अचारसँग थाकेको ज्यानले भेटेको भात अमृतबराबर छ। खाना खुवाउने कर्नेल शंकर पण्डितजीलाई धन्यवाद दियौं। उहाँहरू अलमल गर्नुभयो बीचपानीमै। हाम्रा तीन लट्ठीहरू भने लमकलमक लम्कन लागे हाम्रो अघिअघि।

ज्यान अलि फुर्तिलो भएको छ। ‘खप्तड पुग्न अब त्यति धेरै उकालीओराली गर्नु पर्दैन, धेरै त ओरालो र समथर नै हो’, बीचपानीबाट अलि तल झर्नेबित्तिकै भेटिएका बझाङका बलभद्र सिंह भाइले भने। उनी लोकसेवाको परीक्षा दिएर बिहान मात्र सिलगढीबाट हिँडेका रहेछन्। बीचमा रात बसेपछि भोलिपल्ट घर पुगिन्छ भन्थे।

देशमा एकातिर गाडी, मोटरसाइकल, खानपान सबै सुविधा पाएर पनि लेखपढ नगरी मोजमस्ती गर्ने युवाहरू छन्, अर्कातिर पत्रपत्रिकाको मुख नै देख्न नपाउने, नयाँ पुस्तकहरू भेट्न हप्तौं हिँड्नुपर्ने र एक ठाउँबाट अर्को ठाउँमा पुग्न पैताला खियाउनुबाहेक अरू उपाय नभएकाहरू प्रतिस्पर्धामा उत्रिरहेछन्। यस परिस्थितिमा कता लैजाने हो देश! देश ढलपल ढलपल गरेर उभिइरहेको डुंगाजस्तो लाग्छ बलभद्र भाइको परिश्रमले सुकेको टिठलाग्दो अनुहार देख्दा।

बाटाहरू घनाजंगलमा पहाडका पटुकी बनेका छन्। निगाला, बाँझ, चिलौने, अँगेरी सबैले झ्याउका कपडा बेरेका छन्। हिउँ खाएका रूखहरूको ढाँचा नै बेग्लै छ। संकट काट्नेको विचार नै बेग्लैजस्तो। सचेत मृगहरू सतर्क भावमा उभिएझैं देखिँदै छन् रूखहरू। दुःखका कथाहरूको दस्तावेज पनि छ रूखहरूसँग।

ढुंगा, जमिन र रूख सबैतिर झ्याउ र लेउले ढाकिँदा हरियो रंग कोलाज देखिँदै छ संसार। घाँस होइन झ्याउको साम्राज्य छ। महिनौंसम्म हिउँले ढाक्ने जमिनमा घाँस उम्रन र बढ्नै नपाई झ्याउकै लगाइसक्दो र परिधान धर्तीले। रूखका हाँगाहाँगाबाट पातभन्दा धेरै झ्याउका लहरा झरेका छन्। रूखले छोडेका जमिनहरूमा झ्याउकै घाँस उम्रेका छन्, लेउ र लहरा बनेर। सानामा वनमाला भनेर खेल्ने झ्याउ घाँस सप्रेका छन् त्यतातिर।

पहिलेपहिले राजा, महाराजाहरूको जन्मोत्सव मनाउँदा र राष्ट्रिय पर्वमा विशाल जनसभा प्रवेश गर्ने स्वागतद्वारहरू त्यस्तै वनमालाले सजाइन्थे। त्यस्ता विशेष अवसरहरू आउनुपूर्व नै सिपाहीहरू हाम्रै जितपुरफेदीको ठूलो खोला, अँधेरीखोला र अर्घौतातिरबाट वनमालाका भारी बोकेर सहरतिर पस्थे। हामी केटाकेटीहरू भने डाँडाडाँडामा बसेर गाइदिन्थ्यौं–

    ‘सिपाही दाइको दाइ, क्या राम्रो झोला
    झोला भन्दा दाइ, छ राम्रो वनमाला
    वनमालाको दाइ, जीउभरि  फूलैफूल 
    बास्ना छैन दाइ, छ सधैं तुलबुल।’

जंगलकै ओडारमा हिँड्ने क्रम जारी छ। रूखका लस्करमाझ हिँड्न पाउँदा रूखमै अनुवाद भए झैं लागिरहेछ। निस्फिक्री फैलिएका हाँगा र लहर लागेका पातहरू। रूखलाई जत्तिको पीडा अरू केलाई होला र ? मनमनै रूखप्रति दया लाग्छ मलाई। भीरमा पनि फुल्नैपर्ने, पीरमा पनि फुल्नैपर्ने, शिरमा पनि फुल्नैपर्ने, पुछारमा पनि फुल्नैपर्ने।

प्रचण्ड घाम पनि सहेकै छ, बबन्डर मच्चाउने हुरी पनि सहेकै छ, मुसलधारे वर्षामा पनि भागेको छैन, डरलाग्दो मेघमा पनि आत्तिएको छैन, ज्यान ढाक्दो हिउँमा पनि पन्छिएको छैन। ठिंग उभिएको छ, र हेरिरहेछ संसारको चर्तिकला। धन्न चराहरू आइदिन्छन् र गाइदिन्छन् र पो। एक हूल छाउराहरूले दूध चुस्दा आमाको शरीर हल्लाएझैं क्षणक्षणमा चुम्दाचुम्दै हावाले स्पन्दन ल्याइदिन्छ र पो हाँगा र पातहरूलाई।

हामी हिँडिरहेको देखेर टिठलाग्दो पाराले हेरिरहेझैं लाग्छ रूखहरूले। उनीहरूले कुरा गर्न खोजे झैं लाग्छ हामीसँग। मान्छे हुनुको नाताले संसारमा हिँड्न पाउनु जत्तिको सौभाग्य अरू केही छैन। मनमनै धन्यवाद दिन्छु म प्रकृतिलाई। जंगलमा पूरै कुहिरो पस्यो। घना कुहिरो, घना एकान्त र घना जंगलको त्रिवेणीमा पाइला निरन्तर चलेका छन्। हावामात्र छ त्यो त्रिवेणीमा संगीत भर्ने। चराहरूको संगीत भने एउटा सिम्फोनी बनेर फैलिइरहेछ। संगीतको सात स्वरलाई माथ गर्ने खालको छ चराहरूको आवाज। चराहरूको त्यो अनन्त आनन्दको सुर र आवाज सुनेका भए कैयौं नयाँ संगीतको आविष्कार गर्थे होलान्, गोपाल योञ्जन, नातिकाजी, अम्बर गुरुङ, शम्भुजित बाँस्कोटा, बेगनार, मोत्जार्ट र विथोविनहरूले चराहरूको त्यो अपूर्व आवाजहरूको अघिल्तिर फिकाफिका लाग्दो हो पियानोको सुरिलो स्वर पनि।

केके नपुगेजस्तो लाग्दो हो बाँसुरी, गितार र भ्वाइलिनका तरंगहरू। क्षणक्षणमा सजिइरहने र क्षणक्षणमा बदलिइरहने अर्केस्ट्रायुक्त ओपेरा हाउसको मञ्चको पनि केही गुणन भागको अर्थ छैन त्यहाँ। झन्झन् बाक्लिँदै छन् निगालो झाडी। बाक्लो कुहिरोले गर्दा नजिकैको पनि केही देख्न सकिँदैन थियो। च्वाइँच्वाइँ चुइँचुइँ, च्वाइँच्वाइँ, चुइँचुइँ आवाज झन्झन् गाढा बन्दै आयो हामीतिरै। ‘लौ बाघ, भालु वा बँदेल आउँदै छ कि हामीतिर अथवा सिकार बनिन्छ कि डरलाग्दा दाह्राहरूको।’ एउटा डरले बेस्सरी चिमोट्यो मनमा।

बढ्यो। झन् बढ्यो आवाज। बाटा नजिकको झाडी झन्झन् हल्लन थाले। प्रसव वेदनाको बेला आमाको गर्भ हुँदै बलात् शिशु बाहिरिएझैं झाडीबाट निस्किए दुई भारी। भारीपछि देखिए, भारी बोक्ने दुई सिपाही। निगालाका टुसा टिपेर निस्केका रहेछन् । ‘भरेलाई तिहुन टिपेको सा’ब, यो जंगलमा अरू केही छैन तरकारी’, अमल्दार हिमबहादुर पुन बोले। ‘अरू बेला सिलगढीबाट मगाउनुपर्छ तरकारी, अचेल तामाकै तरकारी, तामाकै अचार,  सुप, तामाकै दाल, जिन्दगी त निगालाको तामाजस्तै रहेछ नि।’ अर्का हबल्दारले तामामा जीवनदर्शन कोट्ट्याए।

‘निगालाको तामा, एउटा झाङबाट फुत्त निस्कियो। हलक्क हल्क्यो। कसैले भाँचिदिए हेर्दाहेर्दै साफ। अलि बढी बाँचे हाँगा बोकेर हल्लियो, पात पतिंगरमा फैलियो, आखिर सुक्यो र माटोमै मिल्यो।’ हबल्दारले व्याख्या गरे दर्शनको। ‘जंगल भनेको पनि मान्छेको भीडजस्तै त हो नि साप’, अमल्दार हाम्रो पछिपछि हिँड्नुभयो। ‘किन नि ?’– हाम्रो मित्रको उत्सुकता।

‘बाहिरबाट देख्न मात्र जंगल भनेपछि रूखहरूले घेरेको हरियो भागजस्तो। जंगलभित्र त सधैं प्रतिस्पर्धा, सधैं टोकाटोक, सधैं मारामार, सधैं हत्या, सधैं सिकार। बाँच्ने बहादुर, मर्नेको नामोनिसाना हुँदैन जंगलमा। क्षणक्षणमा छिनाझपटी छ यी जनावरहरूमा। जंगली जनावरहरूमा बाँच्नु भनेकै क्षणक्षणमा शत्रुबाट बच्नु, अरूलाई मार्नु र आफू  जितेर बाँच्नु हो। प्रतिस्पर्धामा हार्नेहरू कोही बाँच्दैन जंगलमा।

आखिर रूखबिरुवाको हालत पनि त त्यही हो नि। बाक्लो जंगलमा जुन रूखले अरूलाई जित्दै माथि पुग्छ उसैले भेट्छ घाम, उसैको हुन्छ सीधा र मोटो शरीर। अरूसँग नारिएर वा अरूलाई जितेर अघि बढ्न नसक्ने वनस्पतिहरू पनि मिल्छन् माटोमा। ‘प्रकृतिको नियम जितको जीवन’– यही त रहेछ नि हजुर।’ हबल्दारको व्याख्याले हामीलाई बाटो काट्न अरू सजिलो बनाइरहेछ। ‘जंगल त लुक्न, लुकाउन, फुक्न, फुकाउन– जे गर्न पनि सजिलो रहेछ हगि, त्यसै भएर युद्धकारीहरूलाई जंगल प्यारो लागेको होला सायद’– चिमालघारीभित्रबाट हिँडिरहेको बेला युद्धबाट आक्रान्त बनिरहेको मन कोट्ट्याउने प्रयास गरें।

‘जिन्दगी पनि त भ्रम र छद्म नै त रहेछ आखिर, जंगलजस्तो। जसले धेरै बाँड्न सफल छ उही सफल छ अचेल। चाहे नेता हुन्, चाहे अभिनेता। चाहे जागिरे हुन्, चाहे व्यापारी। युद्ध भनेकै तर्साउने, फकाउने हान्ने, छेक्ने, लुक्ने, लुकाउने र सिध्याउने हो रहेछ। अरूलाई भ्रमको जालोभित्र फसाएर आफू फटाफट हिँड्नेहरूले नै जितेका छन् युद्धमा। कुहिरोले ढाकेको बाटो र जंगलभित्रको जवानी धरापमा छन् । दुवैलाई छिचल्न सक्नेहरू नै अल्मलिँदैनन् गन्तव्यमा पुग्न।’ निष्कर्षमा पुग्दैछौं हामी।

चिमालका हाँगाहाँगाबाट धोत्रो स्वरमा एकोहोरो चिच्याइरहेछन् बडेमाका हिममलेवा। फूलबुट्टे लुङ्गी र चौबन्दीमा ठिंग उभिएका दुई काली युवतीझैं हाम्रो बाटोको दायाँबायाँ उभिएका छन् दुई झ्यापुल्ले पहाडहरू। उकालो, ओरालो, सीधा, घुमाउरो सबै किसिमको छ बाटो। एकएकवटा झोला बोकेका हामी थाकेर पनि नथाकेझैं हिँडिरहेछौं। मनमा उत्साह भएपछि थकाइले पनि त्यति धेरै पस्ने आँट गर्दो रहेनछ। उता गर्मी हावापानी हुने ठाउँतिर भए लखतरान भइसक्थ्यौं होला हामी। कहिले अघि कहिले पछि गर्दै मेरो यात्राको बाटाभरि माया बिच्छ्याएकी छिन् प्रकृतिले। कठोर उकालोहरूमा मुस्कान छर्दै डोर्‍याउँछिन् उनी मलाई। ठाडो ओरालोमा मेरो पछिपछि झरिरहन्छिन् बगेको नदीजस्तै। उनैले नै कर गरेर मलाई पुर्‍याएकी हुन्, त्यो एकान्त लेकको अजस्र सौन्दर्यभित्र। प्रकृतिको साथ पाएसम्म त हो मेरो जीवन पनि।

म प्रकृतिको बदलिरहने अनुहारभित्रका केस्राकेस्रा खुसीहरू कोट्ट्याउँदै मक्ख पर्छु। उनका मायाका शीतल रंगहरूमा भिजिरहन्छु र सिँचन गरिरहन्छु उनलाई पनि। हामी दुईको मायाको अमीट रोशनी देखेर गाइरहेका चराका आवाजहरूमा मीठो मात छर्दै छ भर्खरै भेटिएको घामले। हाम्रा अनुभूतिहरूमा थपिँदै छ रंगहरू, पदचापहरूमा छन् झंकृत स्पन्दन।

घना जंगल अलि पातलिन थालेको छ। निगाले झाडीहरू भने झन्झन् घना बनेका छन्। झ्याउले बेरिएका बूढा रूखहरू र झ्यापुल्ले पातहरूले ढाकिएका निगालाघारीहरूको बीचबाट हिँडिरहनुमा मन पनि हरियो र ताजा बनिरहेछ। क्षणमै बाटो नै नदेख्ने गरी फैलिने र क्षणमै छ्याङ खुल्ने कुहिरोको खेलले पनि समयका हरेक स्पर्शहरू रोमाञ्चक बनिरहेछन्। कति आनन्दी बनाइरहेछ क्षणक्षणमा बदलिरहेको मौसमले।

आखिर आनन्द भन्ने कुरा पनि त भेटिने नै रहेछ नि बदलावमै। मान्छेभित्र जमेको जस्तोसुकै अहंकारी बादल पनि झर्दो रहेछ पत्कर बनेर एक्लो प्रकृतिको त्यो नाङ्गो सौन्दर्यभित्र। ‘चुरुपचुरुप’– बाटाभरि छरिएका पहेंला पत्करहरूमा टेक्दा निस्किरहेछ एक किसिमको मीठो संगीत। संगीतको सारेगमपधनिसले पनि समेट्न सक्दैन जस्तो लाग्छ त्यो जादुई मिठासलाई। जमराजस्तो एकनासको देखिन्छ निगालाको जंगल। झाडी, बुट्ट्यान, वन सबै निगालाकै। डोका, डाला, घुम, नाङ्ला, भकारी, थुन्से, फुर्लुङ, टोकरी, ढोग्से, हातेपङ्खा, चित्रा, कुर्सी सबै यिनै निगालामा फलेका छन्। टिप्ने जाँगर र सीपमात्र चाहिएको छ। निगालाको व्यवस्थित खेती गरेर उद्योग चलाउने हो भने पनि खाडी र मलेसिया भासिन पर्ने थिएन धेरैलाई।

बूढाबूढीसँगै चोयाको सीप पनि डढेपछि डोको पनि पारितिरबाट प्लास्टिकको मगाउनुपर्ने बाध्यता बढिरहेछ हाम्रा गाउँघरतिर। एउटा स्यानो पाटी छ। पाटीकै खाममा अडेस लागेर बस्नुभएको छ एक आमै। तलतिर दुई ढुंगामा दुईतिर टुक्रुक्क बसेका छन् दुई दिदीबहिनी। भर्खरै काटिएको चोया डोकोको रूपमा अनुवाद भइरहेछ दिदीका हातबाट। बहिनीहरू चोया काट्दै छन्।

जंगलबीचको पाटी, एउटा सहारा, ए क आशा र एक विश्राम बनिरहेछ। पाटी अघिल्तिरको ढुंगामा बस्छौं हामी। त्यतैको भाषामा के के भन्नुहुन्छ दिदीबहिनी, हामी केही बुझ्दैनौं। ‘हामीलाई गाली गर्नुभयो कि कसो दिदीबहिनीहरूले।’ — हाँसें र सोधें मैले। ‘चिनजानमै नभएका मान्ठालाई क्यान गाली दिँदो हुँ ?’ हाँस्नुभयो दिदी। दालमोठ, चिउरा, बिस्कुट र चाउचाउ दिदीबहिनीलाई पनि दियौं र हामीले पनि खायौं। ‘माथ दुखेको ओखती छ भने देऊ न’— एउटी बहिनीले दुखेको टाउको देखाइन्। तिनले टाउकोमा फरियाको नातो बाँधेकी थिइन्। हामीले सिटामोल दियौं।

‘यतातिर साँझबिहान हिँड्दा होस् पुर्‍याउनुपर्छ।’ ‘कस्तो होस् ?’ ‘बाघ, भालु, चितुवा रगरगी हिँडिरहेका हुन्छन्। तिनीहरूको झम्टाइमा परियो भने त ज्यान गइहाल्यो नि।’ ‘ए हो र ?’ ‘हो नि, बीचपानीबाट यहाँसम्म आइपुग्दा केही जनावर 
भेटेनौ ?’ ‘अहँ, हामीले त भेटेनौं।’ ‘जनावरले पिछा गरिहाल्यो भने ज्यान जोगाउने साधन के छ त ?’ ‘त्यस्तो त केही छैन हामीसँग।’

‘जंगल हो, जुनसुकै बेला जस्तोसुकै जंगली जनावरले टोक्न, चिथोर्न सक्छ। उनीहरूलाई नतर्साए केही गर्दैनन्। उनीहरू आत्तिए भने शत्रुलाई बाँकी छोड्दैनन्। त्यसैले जंगलमा हिँड्दा भाला, खुकुरी, चक्कु, टर्चजस्ता सामान बोकेर हिँड्नु जाति। आइलागिहाल्यो भने त जाइलाग्नै पर्‍यो नि होइन ?’

दिदीबहिनीसँग आधा घण्टा गफियौं हामी। लज्जावतीजस्ता थिए ती दिदीबहिनी। छिल्लिने, मस्किने केही स्वभाव थिएन तिनमा। मध्यपहाडतिर अथवा पूर्वतिरका दिदीबहिनी भए कति धेरै रामरउस र ठट्टा रमाइलो गर्थे होलान्। मध्यपश्चिमी र पश्चिमी पहाडका दिदीबहिनी सधैं शान्त देखिन्छन् जमेको तलाउजस्तो।

समथर निगालोघारी सकिनेबित्तिकै फेरि भेटियो जंगलले ढाकेको एउटा पहाड। जंगल सेता फूल, राता फूल, राता पात, हरिया पातले ढकमक्क ढाकिएको छ। मगमग बास्ना फिजिइरहेछ जंगलभरि। मन्दमन्द सप्तरंगी शोभा छरेर लर्किरहेछन्। चिसो हावाले शरीरभरि मीठो स्पर्श गरिरहेछ र कानैछेउमा पटकपटक सुरिलो सिट्ठी बजाइरहन्छ। आफ्नै लयमा गाउँदै कुनाकुना चहारिरहेछन् बथानबथानमा चराहरू।

‘होइन भाइ, अझै उकालो सकिएन भन्या ?’ थकाइ र उत्सुकता एकै पटक खन्याएँ मैले बलभद्र सिंह भाइको पोल्टामा। ‘अब उकालो आउँछ, अनि सुरु हुन्छ पाटन। आखिर जाँदा जत्ति उकालो भेटिन्छ फर्कंदा त्यत्ति नै ओरालो भेटिने त हो नि, किन आत्तिनु हुन्छ सर ? रातबराबरको दिन, दुःखबराबरको सुख यस्तैयस्तै त हो नि।’— गति र परिश्रमप्रति निष्ठा छ बलभद्र सिंह भाइमा। ‘उ ... हुई’ ... उ ... हुई, उ ... हुई’ ... जंगल नै थर्काउने गरी चिच्याइरहेछ एउटा चरा। ‘ढुकुर कुर, ढुकुर कुर’— ख्वै कतातिरबाट कराइरहेछन् ढुकुरहरू। उत्तरतिरको आकाशबाट झरेको सेतो कुहिरोलाई पूर्वतिर मोडिदियो हावाको शक्तिशाली झोक्काले। उकालोमा रंगीन छाप छोड्न हत्तारिएका छन् हाम्रा पाइलाहरू। कुहिरो र जंगलले सम्झाइरहेछ न जवानीको जोसलाई। कैयौं अराजकता र विद्रोह छन् जंगल र कुहिरोमा, तर आशाका तरेलीहरू जुर्मुराइरहेछन् अकण्टक। 

हाम्रो जवानी पनि एउटा आशालाग्दो अराजकताबाहेक अरू के नै हो र ? जवानी त एक पटक आउने हो जीवनमा, तर, अराजकताहरू भ्रममा रमाउँछन्। हामी मान्छेहरू पनि यथार्थताभन्दा बढी भ्रममै रमाउँछौं। कुहिरो र जंगलले अनेकौं भ्रमका लहरहरू दिइरहेछन्। हामी त्यसैमा मक्खिएर हिँडिरहेछौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.