अविरल वर्षाले भोजपुरका सडकमा जोखिम

अविरल वर्षाले भोजपुरका सडकमा जोखिम

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका—५, बोखिमस्थित बाढीले बगाएको सडक पुल।  िप्रदीपचन्द्र राई

भोजपुर : मनसुनी वर्षाका कारण जिल्लाका अधिकांश सडकखण्डमा आएको भेलबाढी र खसेको पहिरोले जोखिम बढाएको छ। यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई आवतजावतमा समस्या बढेको छ। विभिन्न मुख्य तथा भित्री सडकहरू पहिरोले अवरुद्ध बनेपछि यातायात पनि ठप्प बनेको छ।

पुष्पलाल मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा आएको बाढीले सडकहरू अवरुद्ध बनेका छन्। भोजपुर नगरपालिका वडा नं ५, बोखिमस्थित स्थानीय चालिसे खोलामा शनिबार आएको बाढीले पुल बगाउँदा भोजपुर काठमाडौं जोड्ने मुख्य सडकखण्ड ठप्प भएको छ। अविरल वर्षात्का कारण भोजपुरका विभिन्न सडकखण्डहरू बन्द भएका छन्।

‘बर्खा लागेपछि सडकको दुर्दशा सधैं यस्तै हुन्छ, के गर्नु कर तिर्न मुकामसम्म आउनैपर्‍यो, समयको बर्बादी र कष्टकर यात्राले सर्वसाधारण सेवाग्राहीलाई चरम सास्ती छ’ बोखिमका स्थानीय भीमप्रसाद खनालले भने। पुल बगाएपछि वडा कार्यालय र स्थानीयवासीको पहलमा डोजर लगाएर हाल वैकल्पिक मार्ग खुलाउने काम भइरहेको छ।

जिल्लाका दुर्गम ग्रामीण भेगका नागरिकलाई सेवा लिन जोखिमपूर्ण सडककै कारण कष्ट भोग्नुपर्ने विडम्बना छ। वर्षातले पहिरो र हिलो भएपछि भोजपुर दिङला सडकखण्ड, भोजपुर घोरेटार सडकखण्ड, आमचोक गाउँपालिका १० पाङ्चा राङ्चास्थित बालंखा–रानीटार कच्ची सडकखण्ड, हतुवागढी गाउँपालिका- ९ हसनपुर साफिङटारस्थित घोडेटार–मचुवाटार सडकखण्डलगायत जिल्लाभित्रका मुख्य ग्रामीण सडकखण्डहरूमा पनि वर्षाले क्षति पुर्‍याएको छ। यस्तै ६६ किलोमिटर भोजपुर लेगुवासडकखण्ड र ४२ किलोमिटर पुष्पलाल मध्यपहाडी लोकमार्ग विभिन्न स्थानमा पनि खसेको पहिरोले सडक अवरोध पुर्‍याएको छ।

सडकखण्डका विभिन्न स्थानमा पहिरो र हिलोले सडक अवरुद्ध हुँदा नियमित यातायातका साधनहरूलाई समस्या भएको छ। वर्षायाम सुरु भएसँगै दिङला क्षेत्र, उत्तरी साल्पासिलिछो क्षेत्रका ग्रामीण सर्वसाधारणहरू खाँदबारीदेखि धनकुटाको लेगुवा घुमेर सदरमुकाम धाउनुपर्ने बाध्यता छ। सडकको पहुँच भए पनि वर्षायाम लागेसँगै सवारीसाधन ठप्प हुँदा उत्तरी क्षेत्रका सर्वसाधारण पैदल अथवा छिमेकी जिल्ला घुमेर आउने गर्छन्। तीन घण्टाको दूरीलाई नौ घण्टा लामो कष्टकर यात्राले समय र पैसा दुवै खेर जाने साल्पासिलिछो गाउँपालिका खाटम्माका बमप्रसाद राईले बताए। 

‘बर्खा लागेपछि सदरमुकाम जान टाउको दुखाइ बन्छ, हिँडेर एकदिनै लाग्छ, खाँदबारी तरेर लेगुवा घुमेरै सदरमुकाम जान्छौं’ उनी थप्छ्न्, ‘सरकारी कर, नागरिकता, राहदानी बनाउनै तीन÷चार दिनै माया मार्नुपर्छ, काम पनि बित्छ महँगो होटललज बसाइ पनि हुन्छ।’

यस्तै दक्षिणी हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका, रामप्रसाद राई गाउँपालिका जोडिने मुख्य सडक पनि निरन्तरको वर्षाले खसेको पहिरोले अवरोध पुर्‍याएको छ। दुईपांगे्र सवारीमात्रै चलिरहेको उक्त सडकखण्डमा वर्षा मौसम सुरु भएसँगै पैदलै यात्रा गर्नुपर्ने बाध्यता छ। हतुवागढी गाउँपालिका रानीबासका शम्भु वालाहाङ राईले बताए। भने, ‘बर्सेनि ग्रामीण सडकको दुर्दशाले सबैभन्दा वृद्ध र बिरामीलाई बढी सास्ती पुग्ने गर्छ, समयमै उपचार पुर्‍याउन नसकिने बिरामी र सुत्केरी बाटैमा मृत्यु पनि हुने अवस्था छ।’

अत्यधिक वर्षा र ठेकेदार कम्पनीले सडक योजनाका कामहरू समयमै सम्झौता र काममा ढिलाइ गर्नाले पनि सडकको दुर्दशा भएको छ। एकातिर ठेकेदारले समयमै ठेक्काको काम नगर्दा सर्वसाधारणले दुःख पाएको जनप्रतिनिधि स्वीकार्छन्। सडकका योजनामा राम्रै बजेट लगानी गरिए पनि विविध कारणवश जनताले सडकको सास्ती झेल्नु परेको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्रकुमार उदासले बताए।

अवैज्ञानिक सडक खन्ने प्रवृति र तीव्र वन विनाशले वर्षात्को मौसमसँगै पहिरोको जोखिम बढेको भोजपुर पोखरेका स्थानीय नवीन प्रधान बताउँछन्। भने, ‘सम्भाव्यता अध्ययनबिनै जथाभावी सडकको ट्र्याक खोलिनु र वैज्ञानिक वनका नाममा वनविनाशले पहिरो, भूक्षयको जोखिम बढाएको छ’ कमजोर भौगोलिक भूबनोट र अवैज्ञानिक सडक विस्तारले पहिरोको जोखिम बढेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.