संघर्षका सारथि प्रधानाध्यापक हेमचन्द्र
विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकियो भने विद्यालय जोगाउन सकिन्छ भन्ने प्रअ हेमचन्द्र र सरस्वती विद्यालय उदाहरण बनेको छ।
धनकुटा : कुनै समय विद्यार्थी अभावकै कारण बन्द हुने अवस्थामा पुगेको थियो, चौबिसे गाउँपालिका— ४ फलामेटारस्थित सरस्वती माध्यमिक विद्यालय। तर आज शिक्षक, अभिभावक र समुदायको सामुहिक प्रयासले माध्यमिक तह (मावि) सम्म स्तरोन्नति भएर सञ्चालनमा छ।
२०७६ सालसम्म आइपुग्दा सरस्वती माध्यमिक विद्यालयमा जम्मा १८ जना विद्यार्थीमात्रै अध्ययनरत थिए। विद्यार्थी कम भएकै कारण विद्यालय मर्ज गर्नुपर्ने अवस्थामा थियो। सोही विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका ३६ वर्षीय हेमचन्द्र विश्वकर्मा सरुवा भएर विद्यालयमा आइपुगे। २०७७ सालदेखि प्रशासनिक जिम्मेवारी सम्हाल्दै प्रधानाध्यापक बनेपछि उनले विद्यालय जोगाउने अभियान सुरु गरे।
विद्यालय बन्द हुन नदिने अठोटसहित उनैको पहलमा अभिभावक, शिक्षक र सरोकारवाला निकाय एकजुट भए। उनीहरूले विद्यालय बन्द गर्नुको सट्टा विद्यार्थी संख्या बढाउँदै माध्यमिक विद्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गर्दै भर्ना अभियान सुरु गरे। घरदैलो अभियान गरेर विद्यार्थीको संख्या बढाउँदै लगे। ‘शिक्षक जवाफदेही भए, पारदर्शिता र सुशासन कायम गरियो भने विद्यालय चल्दैन भन्ने हुँदैन’, प्रधानाध्यापक विश्वकर्मा भन्छन्, ‘हामीले पाँच वर्ष ट्रायल गरौँ भनेर योजना बनायौँ।’
विश्वकर्माका अनुसार तमोर बेंसी क्षेत्रमा रहेको यो विद्यालय बन्द भएको खण्डमा यस भेगका बालबालिकालाई ठूलो समस्या पर्ने थियो। त्यस क्षेत्रभन्दा नजिक अन्य विद्यालय थिएनन्। भैंसेटारस्थित विद्यालय पुग्न बालबालिकालाई झन्डै दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो। अधिकांश विद्यालय माथिल्लो भेग डाँडामा रहेकाले एउटा मात्र सहज पहुँच भएको विद्यालय पनि बन्द हुने चिन्ताले अभिभावकलाई समेत थप चिन्तित बनायो।
उनैको योजनाअनुसार कक्षा ६ सञ्चालन गरियो। उनले अभिभावकसँग निरन्तर संवाद गरे। विद्यालय अनुगमनको रुटिन बनाए। उनीसहित अन्य शिक्षकहरू आफ्नो पद र तह नहेरी विद्यालय हाम्रो साझा दायित्व हो भन्ने भावनाका साथ जुटे। बालविकासमा कार्यरत शिक्षकहरूले माध्यमिक तहसम्म पढाउन थाले। विद्यालय कर्मचारीले समेत कक्षा १ देखि ७ सम्म अध्यापन गरे। अहिले पनि गर्दैछन्। विश्वकर्माका अनुसार विद्यालय पुनर्जागरणमा भौतिक पूर्वाधार र भौगोलिक अवस्थाले पनि ठूलो भूमिका खेलेको छ। तमोर कोरिडोर सडक कालोपत्रेसँगै गाउँबाट बसाइँसराइ हुने क्रम रोकियो। छिमेकी क्षेत्रमा पुल बनेपछि तेह्रथुम जिल्लाबाट समेत १०–१२ जना विद्यार्थी थपिएको प्रअ विश्वकर्मा बताउँछन्।
उनको यो अभियानमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोशन भण्डारीले पनि साथ दिए। उनका अनुसार अब उच्च शिक्षा लिन टाढा जानु पर्दैन। यही नजिकै मावि भएपछि अभिभावकको भरोसा बढेको छ।
अभिभावकले आपसमा खर्च जुटाई निजी स्रोतमा शिक्षक राख्दै मावि सञ्चालन सुरु गरेका हुन्। सुरुमा माध्यमिक तह सञ्चालनको औपचारिक स्वीकृति थिएन। तर यसै शैक्षिक सत्रदेखि विद्यालयले मावि सञ्चालनको स्वीकृति पाएको छ। यद्यपि शिक्षक दरबन्दी नभएकाले हाल शिक्षकको सेवा–सुविधा निजी तथा दाताको सहयोगबाट व्यवस्थापन हुँदै आएको छ।
प्रअ विश्वकर्माका अनुसार मावि सञ्चालन सजिलो छैन। आर्थिक चुनौती ठूलो छ। त्यसलाई व्यवस्थापन गर्न स्थानीय अभिभावकले आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ। अहिले करिब १० लाख रुपैयाँ संकलन भएको उनले बताए। उक्त रकम अक्षयकोषको रूपमा राखिएको छ। रकमको ब्याजबाट निजी स्रोतका शिक्षक राखिएको छ। संघीय अनुदानबाट दुई जना शिक्षक उपलब्ध छन् भने प्रावि तहका शिक्षकहरूले योग्यताअनुसार मावि तहसम्म पढाइरहेका छन्।
मावि बन्नुअघि विद्यालयको अवस्था निकै दयनीय थियो। प्रावि तहमै विद्यार्थी नपुग्ने अवस्था थियो। २८–३० जनाभन्दा माथि पुर्याउन पनि कठिन थियो। अहिले भने विद्यार्थी संख्या १२० जनाको हाराहारी पुगेको छ। यो उपलब्धिको श्रेय समुदायलाई दिनुपर्ने प्रअ विश्वकर्मा बताउँछन्। विद्यालय एकपटक बन्द भएपछि पुनःस्थापना गरेर सञ्चालन गर्नु अत्यन्तै कठिन हुने भन्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकियो भने विद्यालय जोगाउन सकिन्छ भन्ने उदाहरण सरस्वती विद्यालय बनेको छ।
प्रतिक्रिया दिनुहोस !