जीवनमा केही गर्नैपर्छ. . . !

रोचक प्रंसग

जीवनमा केही गर्नैपर्छ. . . !

समयको वास्तै नगर्नेका लागि यो प्रसंग कथा हुन सक्छ। व्यर्थमा समय खर्च गर्ने बानी परेका र ‘जीवनमा केही गर्नुपर्छ’ भन्ने सोच्नेहरूका लागि भने यो प्रसंग निकै रमाइलो र प्रेरणादायी हुन सक्छ।

टर्नरले बगैंचामा दिएको १५ मिनेट !
वर्ष, महिना, हप्ता, दिन, घण्टा, मिनेट, सेकेन्ड ...। समय सबैलाई एउटै हो। समय सबैका लागि उही नै हो। तर यो समय सबैका लागि एउटै र उही भए पनि त्यसलाई कसरी उपयोग गर्ने भन्ने कुरामा चाहिँ व्यक्तिपिच्छे फरकफरक तालिका र तरिका रहेको पाइन्छ। 

कसैलाई समय केवल खाने, लाउने र रमाइलो गर्ने माध्यम बन्छ। कसैलाई समय कष्टकर पनि बनिरहेको हुन्छ। कसैको समय, जिन्दगीभरि सीमित ज्ञान, सीमित स्थान र सीमित परिवेशमा बाँच्दैमा सकिन्छ। कोही चाहिँ समयलाई ज्ञान प्राप्ति, भ्रमण र अनेक परिवेशमा बदल्न रुचाउँछन्। कसैलाई समय व्यस्त बन्छ। कसैलाई समय मस्त बन्छ। मस्त हुन चाहनेलाई समय कसरी बिताउने भनेर चिन्ता हुन्छ भने व्यस्त हुने चाहिँ २४ घण्टाको समयलाई लम्ब्याएर ३०÷४० घण्टाको बनाउन पाए पनि हुन्थ्यो भन्ठान्छन्। कसैलाई समय अरूलाई दु: ख दिनमा अपुग भइरहेको हुन्छ भने कसैलाई समय, अरूको सेवा गर्नमा कम भइरहेको हुन्छ। अरूलाई दु: ख दिन समय अपुग भएको महसुस गर्नेहरूले त त्यस विषयमा लेख्न सक्ने कुरै भएन। सेवा गर्न अपुग भएको विषयमा भने महाकवि देवकोटाले ‘वन’ कवितामा रचेको कवितात्मक हरफ यस्तो छ : 

 ..सहानुभूतिले करुण बोलिन्, ‘तब किन रुन्छौ भाइ ?’
मैले बोलें, ‘समय छ छोटो सेवा गर्न मलाई ...।’
विचार आआफ्नो हो। रुचि, धारणा र सोख पनि। यसमा कसलाई के भन्न सकिन्छ र ! 

अमूल्य समयको सदुपयोग गर्नेमा लेखक, वैज्ञानिक, अनुसन्धाता, समाजसेवी धेरै क्षेत्रका व्यक्तित्व पर्छन्। तिनैमध्येका एक जना विशिष्ट व्यक्तित्वले समयलाई दिएको महत्त्वका विषयमा डा. तारानाथ शर्माले आफ्नो निबन्ध संग्रह ‘चरी भरर’ मा ‘मरेर पनि बाँचेका व्यक्ति’ शीर्षकमा उल्लेख गर्नुभएको रोचक प्रसंग यस्तो छ : 

बेलायती लेखक तथा अनुसन्धाता राफ लिली टर्नरले ‘नेपाली भाषाको तुलनात्मक र व्युत्पत्तिमूलक शब्दकोश’ लेखेका छन्। यो कुरो राम्ररी थाहा पाएका नेपाली समालोचक डा. ईश्वर बराल (यो प्रसंग नै उनै बरालले लेखक शर्मालाई भनेका रहेछन्) विद्यावारिधिका लागि लन्डन पुग्नासाथ त्यही सहरमा घर भएका टर्नरलाई भेट्ने इच्छा व्यक्त गरेछन्। निकै वर्ष बेलायती गोर्खा फौजमा सेवा गरेका टर्नर नेपालीलाई धेरै माया गर्छन् भन्ने कुरा बराललाई थाहा रहेछ। त्यही भएर पनि उनलाई, टर्नरलाई भेट्न मन लागेको होला। 

व्यस्त मानिसलाई भेट्न समय माग्नुपर्छ। त्यही भएर बरालले टर्नरलाई शिष्टतावश फोन गरी, ‘मेरो नाम ईश्वर बराल हो, भर्खरै म नेपालबाट यहाँ आइपुगेको छु। यहाँले निर्माण गरेको नेपाली शब्दकोश मैले हेरेँ र मलाई धेरै राम्रो लाग्यो। म तपाईंलाई भेट्न चाहन्छु’ भनेछन्।

बरालको यस्तो कुरा सुनेपछि टर्नरले आफू अति नै व्यस्त रहेको भनेछन्। तर बरालले भेट गर्ने ढिपी छाडेनछन्। टर्नरले भेट नदिने छनक बुझेपछि बरालले आफू समालोचक रहेको जानकारी दिएछन्। त्यसपछि टर्नरले आफूलाई आलोचना÷समालोचनासँग कुनै चासो नरहेको कुरा पनि बताएछन्। त्यति गर्दा पनि बरालले आफ्नो ढिपी नछोडी, ‘...नेपालीका ठूला कोशकारको दर्शन मात्र गर्न पाए पनि मलाई पुग्छ’ भनेछन्। केही नलागेपछि टर्नरले, ‘त्यसो भए आजको ६ महिनापछि १२ अप्रिलको मध्याह्नपछि ठीक ३ बजेर ४५ मिनेट जाँदा बिशप्फोर्डस्थित मेरो घरमा आउनुहोला। म १५ मिनेटभन्दा बढी समय दिन सक्दिनँ भन्ने कुरा पनि ख्याल राख्नुहोला’ भनेछन्। बरालज्यूले ६ महिना नकुरी धरै थिएन। टर्नरको अनुमतिबमोजिम बराल १२ अप्रिलको ठीक ३ बजेर ४४ मिनेट जाँदा टर्नरको निवासस्थल अगाडिको फूलबारीमा पुगेछन्। 

टर्नर त्यतिखेर फूलबारीमा पानी हाल्दै रहेछन्। बरालले आफू नेपाली भाषामै विद्यावारिधि गर्न लागेको हुँदा कोशकारको हैसियतले तपाईंबाट केही निर्देशन पाउन सक्छु कि भनेछन्। जवाफमा टर्नरले आफू व्यस्त भएको अनि जुन विश्वविद्यालयमा विद्यावारिधि गर्न खोजेको हो त्यहीँका प्राध्यापकहरूले चाहिँदो निर्देशन दिइहाल्छ नि भनिदिएछन्। अनि, ‘तपाईंले मलाई भेट्न अति नै आग्रह गरेकाले शिष्टतावश १५ मिनेटको समय दिएँ, त्यो अब सकियो पनि। तपाईं अब जानु भए हुन्छ। म दक्षिण एसियाली नव्य आर्य भाषाहरूको व्युत्पत्तिमूलक तथा तुलनात्मक कोशको निर्माणमा लागेको छु भन्ने कुरा तपाईंलाई मैले टेलिफोनमा जनाएकै थिएँ। म वृद्ध भइसकें, समयको सदुपयोग गरिनँ भने आफ्नो जीवनभरिको अध्ययन, अनुसन्धानलाई पूर्ण गर्नै नपाई मैले जीवन त्याग्नुपर्ने हुन्छ। यत्ति कुरा त तपाईं अवश्य पनि बुझ्नुहुन्छ होला, हवस् त, नमस्ते !’ भनेर फूलमा पानी हाल्दै गरेको भाँडो एक छेउमा थन्क्याई आफ्नो कोठातिर लागेछन्। 

समयको वास्तै नगर्नेका लागि यो प्रसंग कथा हुन सक्छ। व्यर्थमा समय खर्च गर्ने बानी परेका र ‘जीवनमा केही गर्नुपर्छ’ भन्ने सोच्नेहरूका लागि भने यो प्रसंग निकै रमाइलो र प्रेरणादायी हुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.