ली क्वान यु : प्रेरणा कि बहस ?

समीक्षा

ली क्वान यु : प्रेरणा कि बहस ?

राष्ट्र निर्माणका लागि नेतृत्वको दृढ इच्छाशक्ति नै सबैभन्दा महत्वपूर्ण तत्व हो। सिंगापुरको कथा मात्र होइन, यो नेपालजस्ता देशहरूका लागि प्रेरणादायी मार्गदर्शन पनि हो।

नेपालमा रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको करिब दुईतिहाइ बहुमत नजिकको सरकार बनेको छ। दृढ इच्छाशक्ति भएका वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको करिब २० दिनमै सुशासन र विकासको आशालाग्दो माहोल सिर्जना भएको छ। वर्तमान सरकारको दृढ इच्छाशक्ति र नेपालको आजको परिवर्तित सन्दर्भमा केही विश्लेषकले आधुनिक सिंगापुरका निर्माता ली क्वान युको नाम लिने गरेका छन्। उनलाई बुझ्नुअघि ‘फ्रम थर्ड वल्र्ड टू फस्र्ट’ पुस्तक अध्ययन गर्नु उपयुक्त देखिन्छ।

पुस्तकको समग्र समीक्षा अर्थ–राजनीतिक विश्लेषकहरूले यसअघि नै गरिसकेका छन्। पुस्तकमा उनले आफ्नो करिब ४० वर्षे शासनकालका आरोह–अवरोह प्रस्तुत गरेका छन्, जसले सिंगापुर कसरी अल्पविकासबाट विकसित राष्ट्रमा रूपान्तरण भयो भन्ने चित्रण गर्दछ। जुन पुस्तकको भूमिका लेख्दै अमेरिकी महान् कूटनीतिज्ञ डा. हेनरी ए. किसिंगरले भनेका छन्– ‘सामान्यत जतिसुकै चतुर वा मामुली अनुमानलाई असाधारण प्रतिभा भएका व्यक्तिहरूले सजिलै पराजित गर्न सक्दा रहेछन् भन्ने कुरा सिंगापुरको इतिहासले देखाएको छ। एउटा सबल राष्ट्र सिंगापुरको संस्थापक राष्ट्रपिताका रूपमा ली क्वान युको हकमा पनि यही कुरा लागू हुन्छ। मुलुक वन्न परिस्थितिभन्दा पनि व्यक्तिको अठोट बढी प्रभावशाली हुन्छ।’

पुस्तकमा ४० वटा महत्त्वपूर्ण विषय शीर्षक समेटिएका छन्। नेपालमा वर्तमान सरकार गठनपश्चात् विद्यमान ट्रेड युनियन गतिविधि, सुशासन र विकासको सहसम्बन्ध जोडेर पक्ष–विपक्षमा बहस भइरहेको सन्दर्भमा यहाँ विशेषत:  ‘युनियनलाई पराजित गर्दै’ र ‘सुशासनको अभ्यास’ शीर्षकका सिकाइलाई नेपालको वर्तमान सरकारको प्रारम्भिक कार्यसम्पादन र भविष्यसँग जोडेर समीक्षा गरिएको छ। ट्रेड युनियनलाई पराजित गर्दै सामुद्रिक टापुका रूपमा अवस्थित सानो मुलुक सिंगापुर मलाया र चिनियाँ समुदायबीचको जातीय द्वन्द्व र अस्थिरताका कारण लामो समयसम्म प्रभावित भएको देखिन्छ। बेलायतले व्यापारिक केन्द्र बनाएको यस स्थानबाट आफ्ना सेना हटाउन चाहेको भए पनि, शान्ति सुरक्षा कायम गर्न र लगानीको वातावरण सिर्जना गर्न ली क्वान युको योजनामा केही सेना रणनीतिक रूपमा राखिएको उल्लेख पुस्तकमा पाइन्छ।

सन् १९६५ मा ४२ वर्षको उमेरमा करिब २० लाख जनसंख्या भएको स्वतन्त्र सिंगापुरको नेतृत्व सम्हालेका उनले लेखेका छन् कि सन् १९५० को दशकको मध्यसम्म धेरै ट्रेड युनियनमा कम्युनिस्टहरूको प्रभाव थियो। यसका कारण १९४० देखि १९६० सम्म काममा ढिलासुस्ती, दंगा र अन्त्यहीन हडतालजस्ता समस्याहरू देखिएका थिए। सन् १९६१ जुलाईदेखि १९६२ सेप्टेम्बरसम्म मात्र १५३ वटा हडताल भएका थिए। मजदुर युनियनहरूले सार्वजनिक बिदाका दिन दोब्बर–तेब्बर तलब माग गर्ने र हडताल गर्ने प्रवृत्ति विकास भएको थियो। यस सन्दर्भमा उनले युनियन नेताहरूलाई ‘सुनको अण्डा दिने कुखुरी नमारी संरक्षण गर्नुपर्छ’ भन्दै संयमता अपनाउन आग्रह गरेका थिए। उनले स्वतन्त्रतासँगै अनुशासन र जिम्मेवारी आवश्यक हुने कुरा स्पष्ट पारे।

नयाँ वर्षको पूर्वसन्ध्यामा गरिएको हडताललाई पुनर्विचार गर्न आग्रह गर्दा अस्वीकार गरिएपछि अदालतले उक्त हडताललाई गैरकानुनी ठहर गर्‍यो। त्यसपछि १४ जना युनियन नेता पक्राउ परे, धेरै कर्मचारी बर्खास्त भए र पछि करिब ९० प्रतिशत कर्मचारी पुन:  काममा फर्किए। दुई ट्रेड युनियन खारेज गरिए। सरकारको कदमलाई आमजनताले समर्थन गरे र हडताल संस्कृतिमा परिवर्तन आयो। सिंगापुरको औद्योगिक इतिहासमा यसलाई महत्त्वपूर्ण मोडका रूपमा लिइन्छ। सन् १९६८ को सुरुवातमा एक मजदुर युनियनको कार्यक्रममा ली क्वान युले मालिक र मजदुरबीचको औद्योगिक सम्बन्ध ज्यालाभन्दा महत्वपूर्ण हुने बताएका थिए। उनले सानातिना स्वार्थमा अल्झिनुभन्दा श्रमिक आन्दोलनलाई मर्यादित बनाउनुपर्नेमा जोड दिए।

त्यही समयमा बेलायती सेना फिर्ता हुने घोषणाले जनचिन्ता बढेको थियो। यसै सन्दर्भमा ट्रेड युनियन प्रणालीमा व्यापक सुधार गरियो। सन् १९६८ मा उनको पार्टी पुन:  सत्तामा आएपछि सोही वर्ष रोजगार ऐन र औद्योगिक सम्बन्ध ऐन पारित गरियो। ती ऐनमार्फत न्यूनतम रोजगारी अवस्था, सुविधा, ओभरटाइम, बोनस आदिको व्यवस्था गरियो। साथै, व्यवस्थापनलाई काममा राख्ने, सरुवा–बढुवा गर्ने वा आवश्यक परे सेवाबाट हटाउने अधिकार पनि कानुनी रूपमा दिइयो। यस संशोधित ऐनले औद्योगिक शान्तिको आधार तयार गर्‍यो। ट्रेड युनियनहरूले हडताल वा जुलुस गर्न नपाउने तर गुनासो गोप्य रूपमा दर्ता गर्न पाउने व्यवस्था गरियो।

कानुनी सुधारको एक वर्षभित्र ५२ नयाँ उद्योग स्थापना भए र १७ हजार रोजगारी सिर्जना भयो। सन् सन् १९७० मा नयाँ लगानी भित्रिएपछि थप २० हजार नयाँ रोजगारी सिर्जना भयो। राष्ट्रिय आम्दानीमा वृद्धि भयो र राष्ट्रिय ज्याला परिषद् गठन भई प्रत्येक वर्ष ज्याला वृद्धि हुने प्रणाली स्थापित भयो। यसरी, कम्युनिस्ट प्रभावयुक्त ट्रेड युनियनबाट गैर–कम्युनिस्ट तथा सहकार्यमा आधारित प्रणालीतर्फ रूपान्तरण भई हडतालमुखी संस्कृतिबाट सहकार्यतर्फको परिवर्तनले स्वदेशी तथा वैदेशिक लगानीको वातावरण निर्माण भएको पुस्तकमा उल्लेख गरिएको छ।

सुशासनको अभ्यास :  दोस्रो विश्वयुद्धपछि इंग्ल्यान्डमा अध्ययनरत चिनियाँ विद्यार्थीहरूले चीनमा बढ्दो भ्रष्टाचारका कारण नागरिक ताइवानतर्फ पलायन भएको दृष्टान्त सुनाएपछि ली क्वान यु प्रभावित भएका थिए। त्यतिबेला सिंगापुरलगायत पूर्वी एसियाका धेरै राष्ट्रहरूमा लोभ, लालच र प्रलोभन व्यापक रूपमा फैलिएको थियो। ट्राफिक प्रहरीले लाइसेन्स जफत गरेपछि फिर्ता लिन घुस दिनुपर्ने, अस्पतालमा आकस्मिक उपचारका लागि समेत पैसा दिनुपर्ने, आयात–निर्यात अनुमति छिटो दिलाउन घुस चल्ने, चिनियाँ विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले स्टेसनरी आपूर्तिकर्ताबाट कमिसन लिने, सरकारी कर्मचारीहरूले शिलबन्दी बोलपत्रका गोप्य सूचना चुहाएर फाइदा लिने जस्ता विकृतिहरू व्यापक थिए। १९५६ देखि १९५९ सम्मको लिम यु हक नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको अवस्थामा ली क्वान यु सत्तामा आएपछि स्वच्छ प्रशासनको अभियान सुरु भयो। उनले सुरुदेखि नै व्यक्तिगत स्वार्थपूर्तिका लागि दुरुपयोग हुन सक्ने अधिकारहरूमा कडा निगरानी राखे र राज्य संयन्त्रलाई सक्रिय बनाए।

सन् १९६० मा भ्रष्टाचार नियन्त्रण ऐनमा महत्त्वपूर्ण संशोधन गरियो, जसले अनुसन्धानको दायरा फराकिलो बनायो र कडा सजायको व्यवस्था गर्‍यो। उनले बारम्बार भनेका थिए– ‘यदि तपाईं भ्रष्टाचारविरुद्ध लड्न चाहनुहुन्छ भने आफ्ना साथी र आफन्तलाई पनि जेल पठाउन तयार हुनुपर्छ।’ सन् १९७५ मा वातावरण राज्यमन्त्री वी तान बुनमाथि हाउजिङ कम्पनीबाट लाभ लिएको आरोपमा कारबाही भयो र उनलाई चार वर्ष जेल सजाय सुनाइयो। त्यसैगरी, वित्तमन्त्री ते चिंग वानमाथि घुस लिएको आरोप लागेपछि उनको मृत्यु भयो र परिवार देश छोड्न बाध्य भयो।

यसरी आफ्नै मान्छेहरूलाई कारबाही गर्दै गएपछि, सन् १९९७ मा सिंगापुर ९.१८ अंकसहित एसियामा कम भ्रष्टाचार हुने मुलुकका रूपमा स्थापित भयो। दक्षिण कोरिया र इन्डोनेसियाजस्ता देशहरू आर्थिक संकटमा परेका बेला पनि सिंगापुरले सुशासनका कारण सहज रूपमा सामना गर्न सफल भयो। सिंगापुरमा पैसाको भरमा निर्वाचन जित्ने प्रवृत्ति असफल भएको कुरा पुस्तकमार्फत उल्लेख गरिएको छ। यसबाट के स्पष्ट हुन्छ भने यदि राज्य 
नेतृत्वमा उच्च नैतिकता र दृढता छ भने भ्रष्टाचार नियन्त्रण असम्भव होइन।

नेपालको वर्तमान अवस्था र ली क्वान युको पुस्तकबाट सिकाइ :  नेपालमा लोकतन्त्र र खुला अर्थतन्त्रको युग सुरु भएपछि उदारीकरण र निजीकरणको अभियान अघि बढाइया तर सेवा क्षेत्रबाहेक औद्योगिक लगानीको अपेक्षित वातावरण निर्माण हुन सकेन। राजनीतिक खुलापनसँगै श्रमिक हकहितका लागि गठन भएका ट्रेड युनियनहरू क्रमश:  राजनीतिक उद्देश्यका माध्यम बन्न पुगे। यसको परिणामस्वरूप बन्द–हडताल, नियुक्ति र सरुवा–बढुवामा हस्तक्षेप, लगानीमा कमी, सुशासनमा कमजोरी, उत्पादकत्वमा गिरावट र जनविश्वासमा ह्रास देखियो। यद्यपि नेपालको राजनीतिक परिवर्तनमा ट्रेड युनियनहरूको सकारात्मक भूमिका पनि रहेको छ। राजनीतिक विकृति लगानीको अवरोधको एक हिस्सा उनीहरूसँग पनि जोडिन्छ। मुलुकको सवै क्षेत्रमा भएको विसंगति र असमनताले आम नागरिकमा असन्तोस बढ्दो गतिमा थियो। त्यसैको जगमा हालैको ‘जेन–जी आन्दोलन’ले सुशासन र नातावादको अन्त्यको माग गर्दै पुराना शक्तिहरूलाई चुनौती दिएको थियो।

यस आन्दोलनको स्वामित्व लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनमा होमिएको थियो। पार्टीको घोषणापत्रमा सुशासन, विकास र दलगत ट्रेड युनियनको खारेजीजस्ता विषय समेटिएका छन् र अहिले तिनको कार्यान्वयन प्रक्रियामा सरकार अग्रसर देखिन्छ। यद्यपि, पुराना स्थापित दलहरू र ट्रेड युनियनहरू यस प्रक्रियाको विरोधमा छन् भने बहुसंख्यक नागरिक सरकारको पक्षमा देखिन्छन्। यस सन्दर्भमा लिको पुस्तकले दिएका सन्देशहरू कडा तर प्रभावकारी नेतृत्व, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, मेरिटमा आधारित प्रशासन, विदेशी लगानी र औद्योगिकीकरण– नेपालका लागि पनि सान्दर्भिक देखिन्छन्। यदि पारदर्शिता, उत्तरदायित्व र कानुनी कडाइका साथ सुधार लागू गरे मात्र आर्थिक विकास र सामाजिक स्थिरता सम्भव हुनेछ भन्ने इतिहासका तथ्यहरूले पुष्टि गर्दछ। आफ्नो शासनकालमा धेरैजसो छिमेकी र अन्य विकसित देशहरूको भ्रमण गर्न रुचाउने ली क्वान युको जीवनी, अन्तराष्ट्रिय सहयोग र भू–राजनीति सन्तुलन पनि संगसगै मिलाउनुपर्ने सिकाइ उक्त पुस्तकबाट प्राप्त हुन्छ।

अन्तत: , राष्ट्र निर्माणका लागि नेतृत्वको दृढ इच्छाशक्ति नै सबैभन्दा महत्त्वपूर्ण तत्व हो भन्ने सन्देश यस पुस्तकले दिन्छ। पुस्तक केवल सिंगापुरको कथा मात्र होइन, यो नेपालजस्ता विकासोन्मुख देशहरूका लागि प्रेरणादायी मार्गदर्शन पनि हो। दूरदृष्टि, अनुशासन र प्रभावकारी शासनमार्फत राष्ट्रलाई रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश यसले दिन्छ। स्वतन्त्र भएपछिको सिंगापुर जुन भ्रस्टचार र कुशासन थियो, नेपालको वर्तमान समाजसँग प्राय:  मिल्छ।

यदि वर्तमान नेतृत्वले यी मूल्य र सिद्धान्तलाई व्यवहारमा उतार्न सके, नेपालको भविष्य अझ समृद्ध र सुदृढ बन्न सक्छ भन्ने सिकाइ हुन्छ। नेपालको वर्तमान परिवर्तन मोडको मुख्य प्रश्न कुनै व्यक्तिको तुलना होइन, प्रणालीको रूपान्तरण हो। लिको पुस्तकले दिएको सन्देश यहि हो– सफलता व्यक्तिभन्दा प्रणालीमा दिगो हुन्छ। त्यसैले विकास र समृद्धिका लागि सिंगापुर जस्तै प्रणालीमुखी शासन निर्माण नेपालमा पनि अपरिहार्य छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.