साहित्यिक सोच, पत्रकारिताको आवाज
पत्रकारिता मानव समाजको अभिन्न अंग हो। यो सूचना र सत्यको सशक्त माध्यम हो। यसले समाजका घटना र यथार्थ बोल्छ। पत्रकारिताले समाजमा घट्ने गतिविधि संकलन गर्छ। यसले ती घटनाको सही विश्लेषण पनि गर्छ। सूचना सम्प्रेषण गर्नु यसको मुख्य दायित्व हो। यसको उद्देश्य जनतालाई सुसूचित बनाउनु हो। यसले नागरिकलाई सचेत र जिम्मेवार बनाउँछ। लोकतन्त्रमा पत्रकारिता राज्यको चौथो अंग हो। यसले शासन प्रणालीलाई पारदर्शी बनाउन मद्दत गर्छ। समाजप्रति उत्तरदायी हुनुपर्ने यो महत्त्वपूर्ण कडी हो। रेडियो, टेलिभिजन र पत्रपत्रिका यसका माध्यम हुन्।
अनलाइन मिडियाले यसलाई झनै प्रभावकारी बनाएका छन्। यसले समाजमा जनमत निर्माण गर्ने काम गर्छ। पत्रकारिताले सामाजिक परिवर्तनमा ठूलो योगदान पुर्याउँछ। यो समाजको गतिशील ऐनाका रूपमा स्थापित छ। सचेतना अभिवृद्धि गर्न यसको भूमिका अतुलनीय छ। पत्रकारिताले सधैं सत्य र निष्पक्षताको वकालत गर्छ।
साहित्य अर्थात् समाजको कलात्मक प्रतिविम्ब : साहित्य मानव जीवनका अनुभूतिहरूको कलात्मक अभिव्यक्ति हो। यसले हाम्रा भावना र कल्पनाहरूलाई समेट्छ। साहित्यमा विचारहरूको सिर्जनात्मक प्रस्तुति रहन्छ। यसले समाजको सांस्कृतिक र नैतिक पक्ष देखाउँछ। कविता, कथा र उपन्यास साहित्यका मुख्य विधा हुन्। निबन्ध र नाटकमार्फत लेखकले दृष्टिकोण प्रस्तुत गर्छन्। साहित्यले मानिसलाई केवल मनोरञ्जनमात्र दिँदैन। यसले जीवनप्रति गहिरो चिन्तन गर्न पनि सिकाउँछ।
सामाजिक यथार्थ चित्रण गर्दै यसले नयाँ मार्ग देखाउँछ। साहित्यले भाषा र संस्कृतिको संरक्षण गर्छ। यसले भाषाको विकास र विस्तारमा सघाउँछ। पाठकको संवेदनशीलता जगाउन साहित्य आवश्यक हुन्छ। यसले मानिसको कल्पनाशक्ति र बौद्धिक क्षमता बढाउँछ। साहित्यले मानव जीवनलाई समृद्ध र अर्थपूर्ण बनाउँछ। यसले विगत र वर्तमानका पाटा चित्रण गर्छ। साहित्य र जीवनबीच निकै गहिरो सम्बन्ध छ। यो समाजको सभ्यता र पहिचानको आधार हो।
पत्रकारिता र साहित्यको अटुट सम्बन्ध : आजको संसार सूचना र प्रविधिमा आधारित छ। मोबाइल र इन्टरनेटले हाम्रो जीवनशैली फेरेका छन्। सामाजिक सञ्जालले हामीलाई सामग्री निर्माता बनाएको छ। हामी अब केवल सूचनाका दर्शकमात्र रहेनौं। हामी आफैं पनि सक्रिय सहभागी बनिरहेका छौं। यस्तो परिवेशमा के पढ्ने भन्ने प्रश्न उठ्छ। भविष्यका लागि कुन विषय रोज्ने भन्ने द्विविधा हुन्छ। यसको सही उत्तर पत्रकारिता र भाषा साहित्य हो। यी विषय केवल कक्षाकोठामा मात्र सीमित छैनन्। यी विषय मानव जीवन बुझ्ने बलियो आधार हुन्।
समाजसँग जोडिने यो एउटा उत्तम माध्यम हो। विश्वसँग प्रतिस्पर्धा गर्न यी विषयले मद्दत गर्छन्। आफ्नो विचार प्रभावकारी रूपमा व्यक्त गर्न सकिन्छ। सिर्जनात्मक करियर बनाउन चाहनेलाई यो उपयुक्त छ। पत्रकारिताले समाज र सामाजिकताको ऐना देखाउने काम गर्छ। साहित्यले जीवनलाई कलात्मक रूपमा बुझ्न सिकाउँछ।
शब्द चयन र अभिव्यक्तिको सामथ्र्य : पत्रकारिताले सोध्छ— समाजमा वास्तवमा के भयो ? साहित्यले सोध्छ— त्यो घटनाले कस्तो महसुस भयो ? यही भिन्नताभित्र यी दुईको गहिरो सम्बन्ध छ। सफल पत्रकार बन्न भाषा सशक्त हुनुपर्छ। लेखन र बोलीमा शब्द चयन महत्त्वपूर्ण हुन्छ। वाक्य संरचनामा स्पष्टता हुनु अति आवश्यक छ। यी सबै सीप साहित्यबाट मात्र सिक्न सकिन्छ। साहित्यले पत्रकारको लेखनलाई गहिरो र सार्थक बनाउँछ। पत्रकारिताले साहित्यलाई सरल र सुस्पष्ट बनाउँछ।
प्रसिद्ध लेखक जर्ज अर्वेलले लेखनबारे महत्त्वपूर्ण कुरा भनेका थिए। उनले राम्रो लेखनलाई काँचजस्तै पारदर्शी हुनुपर्ने बताएका थिए। पत्रकारितामा यही पारदर्शिताको सबैभन्दा ठूलो महत्त्व छ। अर्नेस्ट हेमिङ्गवे सुरुमा पत्रकारका रूपमा चिनिएका थिए। उनले छोटो र प्रभावकारी लेखन शैली अपनाए। उनले पत्रकारिताको सीपलाई साहित्यमा सफलतापूर्वक प्रयोग गरे। यसबाट उनले विश्वप्रसिद्ध साहित्यिक कृतिहरू सिर्जना गरे। पत्रकारिता र साहित्य एकअर्काका परिपूरक हुन्।
प्रविधिको लहर र भाषिक शक्ति : डिजिटल युगमा सूचनाहरू एक क्लिकमा उपलब्ध छन्। फेसबुक, युट्युब र ब्लगले पत्रकारितालाई फेरेका छन्। अहिले समाचार केवल पढ्ने सामग्रीमात्र रहेन। यो हेर्ने, सुन्ने र अनुभव गर्ने माध्यम बन्यो। यस्तो अवस्थामा भाषा अझ शक्तिशाली हुन आवश्यक छ। थोरै शब्दमा गहिरो प्रभाव पार्ने लेखन चाहिन्छ। विश्वव्यापी सञ्चारका लागि अंग्रेजी भाषाको भूमिका विशेष छ।
अन्तर्राष्ट्रिय समाचार बुझ्न यो भाषा अपरिहार्य देखिन्छ। अनुसन्धान र प्रविधि बुझ्न पनि भाषाको ज्ञान चाहिन्छ। सञ्चारविद् मार्सल म्याक्लुहानले सन्देश र माध्यमको सम्बन्ध बताए। सन्देशलाई प्रस्तुत गर्ने माध्यमले त्यसको प्रभाव निर्धारण गर्छ। डिजिटल पत्रकारितामा भाषा र शैली निकै महत्त्वपूर्ण छन्। राम्रो प्रस्तुतिले मात्र पाठकको ध्यान तान्न सकिन्छ। त्यसैले भाषामा पकड हुनु आजको पहिलो आवश्यकता हो। पत्रकारिता र साहित्यले भाषालाई माझ्ने काम गर्छन्।
विद्यार्थीका लागि सीप र अवसर : प्रतिस्पर्धात्मक युगमा केवल पाठ्यपुस्तकको ज्ञानले मात्र पुग्दैन। विद्यार्थीमा विश्लेषण गर्ने र सोच्ने क्षमता हुनुपर्छ। आफ्नो विचार स्पष्टसँग राख्ने सीप विकास गर्नुपर्छ। पत्रकारिता र साहित्यले यही क्षमताको विकास गर्छन्। अभिव्यक्ति क्षमतालाई सशक्त बनाउन यी विषय सहयोगी हुन्छन्। मनमा भएका राम्रा विचार व्यक्त गर्न सक्नुपर्छ। स्पष्ट बोल्न र लेख्न नसके विचारको मूल्य रहँदैन। साहित्यले भाषालाई सुन्दर र आकर्षक बनाउने काम गर्छ। पत्रकारिताले भाषालाई प्रभावकारी र वस्तुपरक बनाउन सिकाउँछ। साहित्य पढ्दा पात्र र घटनाको विश्लेषण गर्न सकिन्छ। यसले मानिसमा आलोचनात्मक सोचको विकास गराउँछ। पत्रकारिताले एउटै घटनालाई विभिन्न कोणबाट हेर्न सिकाउँछ। यसले विद्यार्थीलाई सचेत र विवेकी नागरिक बनाउँछ। भाषिक दक्षता हासिल हुन्छ। अन्तर्राष्ट्रिय स्तरका अवसरका लागि भाषा नै मुख्य माध्यम हो। पत्रकारिताले सामाजिक समस्याप्रति विद्यार्थीलाई जिम्मेवार बनाउँछ।
आधुनिक बजारमा रोजगारीको भविष्य : फ्रान्सिस बेकनका अनुसार पढाइले मानिसलाई पूर्ण बनाउँछ। छलफलले मानिसलाई चतुर र तयार बनाउने काम गर्छ। लेखाइले मानिसलाई सही र निखारिएको बनाउन सघाउँछ। यी तीनै गुण पत्रकारिता र साहित्यमा पाइन्छन्। यी विषयको अध्ययनपछि धेरै अवसरहरू प्राप्त हुन्छन्। आजको समयमा केवल पत्रकार मात्र बनिँदैन। विभिन्न क्षेत्रमा आफ्नो करियर बनाउन मार्ग प्रशस्त छ। समाचारपत्र, रेडियो र टेलिभिजनमा रोजगारीका अवसर छन्।
अनलाइन मिडिया र डिजिटल कन्टेन्ट निर्माणमा माग बढ्दो छ। ब्लगर, स्क्रिप्ट राइटर र युट्युबर बन्न सकिन्छ। अनुवादक र सम्पादकका रूपमा पनि काम गर्न सकिन्छ। शिक्षण र अनुसन्धानमा रुचि हुनेलाई यो उत्कृष्ट छ। पब्लिक रिलेसन र कम्युनिकेसन विशेषज्ञको माग उच्च छ। राम्रो लेख्न र बोल्न सक्नेको बजार ठूलो छ। प्रभावकारी रूपमा प्रस्तुत हुन सक्नेले सफलता पाउँछन्।
भविष्यको प्रविधि र मानवीय संवेदना : भविष्य झनै डिजिटल र प्रविधिमैत्री हुँदै जानेछ। आर्टिफिसियल इन्टेलिजेन्स र डेटा पत्रकारिताको समय आएको छ। मल्टिमिडिया स्टोरिटेलिङको क्षेत्र नयाँ र रोमाञ्चक छ। यस्तो परिवेशमा यी विषयहरू झनै उपयोगी हुनेछन्। एउटा कुरा कहिल्यै परिवर्तन हुँदैन— त्यो भाषा हो। मानिसलाई सशक्त अभिव्यक्ति र स्पष्ट भाषा सधैं चाहिन्छ। प्रविधि आए पनि मानवीय भावना र संवेदना आवश्यक हुन्छ।
अंग्रेजी भाषा साहित्यले हामीलाई विश्वदृष्टि प्रदान गर्छ। यसले हामीलाई सधैं नयाँ सोच र ऊर्जा दिन्छ। पत्रकारिताले त्यो सोचलाई व्यवहारमा उतार्न मद्दत गर्छ। यी दुई विषयको संयोजनले प्रतिस्पर्धा गर्न सिकाउँछ। विश्वस्तरमा आफ्नो उपस्थिति देखाउन यी विषय आवश्यक छन्। भाषा र सूचनाको ज्ञानले मानिसलाई शक्तिशाली बनाउँछ। आफ्नो भविष्य निर्माण गर्न यी विषय अचुक साधन हुन्।
रोजाइ र आवाजको संसार : पत्रकारिता र भाषा साहित्य केवल शैक्षिक पाठ्यक्रम होइनन्। यी त हाम्रो व्यक्तित्व निर्माण गर्ने आधार हुन्। यी विषयले सोच्न, बुझ्न र बोल्न सिकाउँछन्। आफ्नो आवाज संसारसम्म पुर्याउन यो बाटो रोज्नुहोस्।
आफ्नो सोचलाई प्रभावकारी बनाउन पत्रकारिता अध्ययन गर्नुहोस्। उज्ज्वल भविष्यका लागि भाषा र साहित्यको ज्ञान लिनुहोस्। साहित्यले हामीलाई नयाँ र गहिरो सोच दिन्छ। पत्रकारिताले हाम्रो सोचलाई बुलन्द आवाज प्रदान गर्छ।
प्रतिक्रिया दिनुहोस !