नेपालदेखि अस्ट्रेलियासम्म संगीतको नशा

नेपालदेखि अस्ट्रेलियासम्म संगीतको नशा

र त मानिस भएर जन्मिएपछि केही न केही राम्रो काम गर्नुपर्छ, आफ्नो कार्यलाई जीवन्त राख्न सक्नुपर्छ, त्यसका लागि कर्ममा निरन्तरता चाहिन्छ।

झट्ट हेर्दा गहुँगोरो वर्ण, आकर्षक जिउडाल, स्तरीय पहिरन अनि सफाचट्। एउटा उच्च ओहदाको व्यक्तिजस्तो देखिन्छ उनलाई। अपरिचितहरूले पनि उनको पेसा–क्षेत्र करिब–करिब ठम्याउँछन्। काँचको पर्दामा आँखा डुलाइरहने र नजिकैबाट नियाल्नेहरूले त स–सम्मान मार्गदर्शक नै ठान्छन्। मिजासिलो स्वभावका उनी धैर्यवान्, भद्र र बौद्धिक पनि छन्। ‘सेलिब्रेटी’को पनि रोजाइको ‘सेलिब्रेटी’मा पर्छन्। जहाँ ‘सेलिब्रेटी’ र कलाको चर्चा हुन्छ– त्यहाँ स्वत :  उनको नाम जोडिन्छ।

फरक यति हो कि ‘सेलिब्रेटी’लाई धेरैले देखेरै चिन्छन्, उनको चाहिँ नाम शब्द/वाक्यमा आउँछ। नेपथ्यमै रहेर पनि अद्वितीय भूमिका निर्वाह गर्छन्। नेपाली कलाकार हुनुको गर्व, समाज–राष्ट्रप्रतिको जिम्मेवारी तथा उत्तरदायित्व साबित गरेका छन्। यसैको परिणाम आफ्नो निस्वार्थ पाइलालाई अझै अघि बढाउँदै शिखरतर्फ लम्कँदै छन्। लोकप्रिय गीतकार, गायक तथा संगीतकार आरसी (रामचन्द्र) थापाको कलाकारिता यात्रा–चर्चा हो यो।

आरसीको जन्म २०३४ सालमा दोलखा जिल्लाको हालको भीमेश्वर नगरपालिका–६ गैरस्वाँरा, थापागाउँमा टंकबहादुर थापा र नेत्रकुमारीका चार छोरामध्ये कान्छो सन्तानको रूपमा भएको हो। उनका दाइहरू कुबेर, बलराम र परशुराम छन्। गाउँको मध्यमवर्गीय परिवारका आरसीको बाल्यकाल साथीसंगीको तुलनामा पृथक् ढंगले बित्यो। त्यतिबेला उनका बुबा प्रहरीमा कार्यरत थिए भने आमा व्यापार–व्यवसायमा संलग्न थिइन्। त्यसका अलावा कृषि र पशुपालन त भइहाल्यो। आफूले आफ्नो परिचय दिन सक्ने उमेरबाटै अध्ययनका अतिरिक्त सांगीतिक क्रियाकलापमा सदा अब्बल आरसीलाई त्यस्तै तीन/चार वर्षको उमेरमा चरीकोट बजारमा भर्खरै खुलेको माउन्ट भ्याली बोडिङ स्कुलमा भर्ना गरियो। उनले त्यहाँ कक्षा ५ सम्म अध्ययन गरे।

त्यसपछि कालिञ्चोक माध्यमिक विद्यालयमा सिधै कक्षा ८ मा भर्ना भए। कारण के थियो त भन्दा एक त उनी बोडिङमा अंग्रेजी माध्यममा पढेको अर्को उनका साथीसंगी सरकारी विद्यालयमा ८ कक्षामा पुगिसकेका थिए। यस्तैयस्तैमा आरसीले २०५१/०५२ मा कालिञ्चोकबाटै एसएलसी पास गरे। यहाँसम्म आइपुग्दा आरसीको काँधमा पनि घरायसी केही जिम्मेवारी थपिन थाल्यो। र त उच्च शिक्षाका लागि नजिकै रहेको गौरीशंकर क्याम्पसमा मानविकी संकायमा भर्ना भए। अध्ययनबाट बचेको समय व्यापार–व्यवसायमा सघाउन र संगीतमा दरिलो बन्न खर्चन थाले। यसरी उनले त्यहाँबाटै स्नातकसम्मको अध्ययन पूरा गरे। 

उसो त संगीतको क्षेत्रमा आरसीको जग बाल्यकालबाटै दरिलो बनेको हो। उनका बुबा टंकबहादुर पनि संगीत पारखी थिए। र त आरसी बोर्डिङ पढ्ने समयमै कहिले बुबा त कहिले दार्जिलिङका शिक्षकहरूसँग रहेर हार्मोनियम, गितार बजाउन मेसो पाउने भइसकेका थिए। अर्को सकारात्मक पक्ष, गाउँमा पहिल्यै गैरस्वाँरा समाज सेवा समिति नामक सामाजिक संस्था स्थापना भइसकेको थियो। त्यहाँ आबद्ध भएर नाच्न, गाउन, बजाउन कुनै रोकतोक थिएन, बरु उल्टै संस्थाले नै बेलाबखत त्यस्ता कार्यक्रमको आयोजना गर्ने गर्दथ्यो।
यस अर्थमा घर र यो संस्था आरसीका लागि संगीतप्रतिको प्रेरकमात्रै होइन, विद्यालय नै बने। ‘विद्यालयमा हरेक शुक्रबार आयोजना हुने अतिरिक्त क्रियाकलापहरू जस्तै लेखन, गायन, वाद्यवादन, हाजिरी जवाफ, वादविवाद आदि प्रतियोगितामा सदा भाग लिन्थें’ आरसी विगत स्मारण गर्छन्– ‘त्यही हौसलाले ऊर्जा थप्दा पछि पनि संगीत विधा रुचि बन्यो।’

रोचक पक्ष त के हो भने २०५४/५५ ताका स्वर्गीय राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा चरीकोटमा दोलखा जिल्लास्तरीय प्रतिस्पर्धात्मक सांगीतिक कार्यक्रमको आयोजना हुने भयो। त्यसको मापदण्ड थियो– जसको गीत हो उसैले गाउनुपर्ने वा जसले गाउने हो गीत उसैको हुनुपर्ने। निकटस्थहरूले थपडी मारेपछि आरसी उक्त कार्यक्रममा भाग लिन कस्सिए। विडम्बना, समय अत्यन्त थोरै थियो। यद्यपि उनले आधा घण्टाभित्रै गीत लेखे र संगीत बजाउन लगाएर गाए पनि। सौभाग्य, जिल्लाभरबाट आएका तीन दर्जन जति व्यक्ति–समूहबीचको प्रतिस्पर्धामा उनको ‘ए कान्छी मनकी प्यारी पिरती गाँसौं न, दुई दिनको यो जिन्दगी हाँसखेल गरौं न...’ बोलको गीत दोस्रो भयो। आरसीले २५ सय नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे।

स्थानीय कलेजको अध्ययन पूरा भएपछि २०५६/५७ सालमा आरसीले सहयात्री कुलराज थापा र बोडिङका शिक्षक तेन्जिङशेरप लामासँग मिलेर ‘आरकेटी’ समूह स्थापना गरे। अनि त्यसलगत्तै ‘जिन्दगीको यात्रा’ गीति एल्बम पस्किए। आठवटा गीत समावेश उक्त एल्बमको ६ वटा गीतमा आरसीकै स्वर–संगीत र बाँकी दुई वटामा कुलराज अनि तेन्जिङको रह्यो। सोही एल्बममा समाविष्ट ‘सपनीमा आउने माया...’ बोलको गीत त्यतिबेला नेपाल टेलिभिजनमा शिवानीसिंह थारूले सञ्चालन गर्ने चर्चित कार्यक्रम ‘मेरो गीत, मेरो सन्देश’मा विशेष प्राथमिकताका साथ घन्कियो। त्यसपछि त आरसीमा संगीतप्रतिको सामीप्यता र रुचि झनै बढ्यो।

प्रसंग २०६०/६१ सालको हो– अब भने थप अध्ययनसँगै संगीत क्षेत्रमै रम्ने, जम्ने र भविष्य खोज्ने सपना सँगालेर आरसी काठमाडौं भित्रिए। त्यस समयमा दाइहरूले काठमाडौंको कोटेश्वरमा घर बनाइसकेका थिए। त्यो उनलाई थप सहज बन्न पुग्यो। अनि आरसी अध्ययनतर्फ त्रिभुवन विश्वविद्यालयमा एक वर्ष अघिबाट सुरु भएको ‘ग्रामीण विकास’ (आरडी) संकायमा भर्ना भए भने संगीतमा गोरेटोबाट मूलबाटो पहिल्याउन लागिपरे। त्यसको केही समयपछि २०६२ तिर आफ्नो गीत रेकडिङ गर्न बाहिर रकम खर्चिन नपर्ने र धेर–थोर आम्दानी पनि हुने भएकाले आरसी र कुलराज मिलेर 
क्षेत्रपाटीमा रेकडिङ स्टुडियो स्थापना गरे। 

काठमाडौं आएपछि आरसीले केही बाहिर त केही आफ्नो स्टुडियोमा भजन, गीत रेकर्ड गराए। उनको आफ्नै शब्द, संगीत र कुलराजको स्वरमा सार्वजनिक भएको पहिलो भजन हो– ‘जय–जय कृष्ण, जय–जय राधेश्याम’। यो भजन इमेज च्यानलमा हरेक बिहान लामो समयसम्म बज्यो। त्यसैगरी, आरसीको चर्चित ‘कालिञ्चोकी माता तिमी...’ (भजन), ‘हे दोलखा भीमसेन...’ (भजन), ‘चिटिक्कै परेकी...’ (गीति भिडियो), ‘कालिञ्चोक डाँडैमा हावा सररर...’ (गीत), ‘सानुमाया साह्रै नै राम्री छौं...’ (लोकपप) आदि सार्वजनिक भए। यस्तैमा करिब दुई वर्षपछि २०६४ सालमा रेकडिङ स्टुडियो एकजना साथीलाई सुम्पिएर आरसी अस्ट्रेलियातर्फ लागे। तथापि गौरीशंकर हिमालको काख दोलखा–चरीकोटबाट सुरु भएको उनको संगीतको नशा अस्ट्रेलिया पुग्दा पनि मत्थर भएन, बरु अझै झांगियो, फक्रियो। 

त्यसो त संगीत एउटा यस्तो भाषा हो, जसलाई बुझ्न कुनै शब्दको जरुरत पर्दैन। यो आत्माको भोक हो, जसले मानिसलाई भौगोलिक सीमाभन्दा टाढा लैजान्छ, परिधि छिचोलिदिन्छ। लिच्छवी, मल्ल र शाहकालदेखि हालसम्म हाम्रो सांगीतिक विकासक्रम यसरी नै चलिरहेको छ। आरसीको संगीत यात्राले पनि नेपालदेखि अस्ट्रेलियासम्मको सांगीतिक आरोह–अवरोह र अनुभवलाई चित्रण गर्दछ। संगीतप्रतिको अगाध प्रेम, संस्कृतिसँगको सामीप्य, जगेर्नाभाव र अस्ट्रेलिया रहँदा पनि नेपाली संगीतलाई जीवित राख्ने उनको प्रयास गर्व गर्न लायक छ।

‘यता आएपछि भजन, लोक, लोकपप भन्दा पनि आधुनिक गीतमा संगीत भर्न बढी आकर्षित भएँ’ आरसी भन्छन्। स्व. कल्पना अधिकारीको शब्द र स्वरूपराज आचार्यको स्वरमा २०७२ सालमा सार्वजनिक ‘तिम्रो नजरबाट...’ बोलको म्युजिक भिडियोले पाएको सफलताले पनि आफूलाई आधुनिक गीतमा संगीत भर्दा नै बढी रुचाइने गरेको उनी बताउँछन्। यसैगरी, २०७५ मा नै आरसीले सत्य र स्वरूपराज आचार्यसँगको सहकार्यमा आठ वटा गीत रहेको एल्वम ‘प्रारम्भ’ सार्वजनिक गरे।

‘प्रारम्भ’को तीनवटा गीतमा शब्द पनि र सवैमा संगीत उनकै छ। त्यसपछि घनिष्टता बढ्दै जाँदा र श्रोता–दर्शकको पनि रोजाइमा सत्य–स्वरूपले गाएको एक दर्जनभन्दा बढी गीतमा आरसीले संगीत दिइसकेका छन्। ‘अब छिट्टै थारू समुदाय नैना र रेशमको प्रेमकथामा आधारित ‘कालजयी’ गीत ‘मेरी नैना...’ अनि ‘आज तिम्रो पँधेरीमा...’ ल्याउँदैछैं’ आरसी खुलासा गर्छन्– ‘त्यसमा पनि मैले संगीत र दुई वटा म्युजिक भिडियोमा अभिनय गरेको छु, आशा छ– यिनीहरूले पनि पक्कै श्रोता–दर्शकको मन जित्नेछन्।’

यहाँसम्म आइपुग्दा आरसीले आफूलाई गीतकार, गायकभन्दा पनि लोकप्रिय संगीतकारको रूपमा स्थापित गराएका छन्। उनको सांगीतिक रुचिमा श्रीमती सीता केसी थापाको पनि विशेष हौसला रहेको छ, जो आफैं एउटा गायिका र संगीत पारखी छिन्। आरसी सन् २०१२ मा पोल्यान्डको राजधानी वारसामा स्थापना भएको विश्वभर छरिएर रहेका नेपाली कलाकारहरूको साझा संस्था ‘अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज’ (इनास) को संस्थापक सदस्य, महासचिव, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ग्लोबल अध्यक्ष हुँदै हाल वरिष्ठ/प्रमुख संरक्षक छन्। करिव ५० देशमा फैलिएको यसको शाखा, उपशाखा, क्षेत्रीय, राष्ट्रिय, राज्य गरी ७५/७७ वटा समिति छन्। इनास ग्लोबलले हरेक दुई/दुई वर्षमा ‘इनास चलचित्र अवार्ड’ र ‘इनास विश्व स्रष्टा सम्मान’ को आयोजना गर्दैआएको छ।

‘कोही मानिस बाँचेर मरिरहेका हुन्छन् त कोही मरेर पनि बाँचिरहन्छन्। मृत्यु त्यो हो– जसको शरीर छुट्नासाथ संसारमा अरू केही बाँकी रहँदैन। अनि जो धेरैको सम्झनामा जीवित रहने छाप छोडेर शारीरिक रूपमा बिदा हुन्छ त्यो उसको मरण होइन– बरु अमरता हो। र त मानिस भएर जन्मिएपछि केही न केही राम्रो काम गर्नुपर्छ, आफ्नो कार्यलाई जीवन्त राख्न सक्नुपर्छ, त्यसका लागि कर्ममा निरन्तरता चाहिन्छ’ मूर्धन्य गीतकार, गायक तथा संगीतकार आरसी थापा सन्तुष्ट व्यक्त गर्छन्– ‘जीवन संयोग हो र मृत्यु शाश्वत हुन्छ। अस्थायी रूपमा आर्जित पद तथा सम्मानभन्दा सिर्जना–इतिहासलाई महत्त्वपूर्ण रहन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.