रोकिएन सेयर बजार घट्ने क्रम

रोकिएन सेयर बजार घट्ने क्रम

काठमाडौं : वैशाखको अन्तिम सातामा पनि सेयर बजार घट्ने क्रम जारी रहयो। यस साता सेयर कारोबार ५ दिनै भयो। २ दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बढ्यो भने ३ दिन घट्यो। सेयर बजारमा कारोबार भने सुस्त रह्यो।

अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २७४५.६५ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार उच्च अंकले बढ्यो। यस दिन नेप्से ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुग्यो। त्यसपछि ३ दिन लगातार घट्यो। मंगलबार नेप्से ३९.४४ अंक, बुधबार ४.१५ र बिहीबार १०.०७ अंकले घट्यो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार अति सामान्य अंकले बढ्यो। यस दिन १.७७ अंकले बढेर नेप्से २७३१.९४ विन्दुमा उक्लियो।

सातामा तीन दिन सेयर घट्दा ५३.६६ अंकले घट्यो भने दुई दिनमा ३९.९६ अंकले बढेपछि नेप्सेमा १३.७० अंकले गिरावट आयो। अघिल्लो साता भने नेप्से ६.९४ अंकले बढोत्तरी भएको थियो। 

यस सातामा बिहीबार न्यून विन्दु २७१७.४५ मा र मंगलबार उच्च विन्दु २८०२.८४ अंकसम्ममा नेप्से बढेर सेयर कारोबार भयो।
यस साता सोमबार सबैभन्दा घटी ३ सय ३२ वटाको कारोबार भएको थियो। बुधबार सबैभन्दा बढी ३ सय ३९ स्क्रिप्टहरूको कारोबार भयो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार भने ३ सय ३८ स्क्रिप्टहरूको कारोबार भएको थियो।

यस साता सबैभन्दा कम बुधबार २ अर्ब ८० करोड ७४ लाख र सबैभन्दा बढी मंगलबार ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भयो। साताभर ५ दिन कारोबार हुँदा जम्मा १८ अर्ब ४७ करोड ४० लाख रुपैयाँले कारोबार भयो। चैत १३ गते नयाँ सरकार गठनभन्दा पहिले चैत ९ गते एकै दिन २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको थियो। त्यसपछि सेयर बजारमा 
कारोबार घट्दै गयो। 

नेप्से र कारोबार दुवै बढ्न सकेका छैनन्। यस साता औसतमा दैनिक ३ अर्ब ६९ करोड ४८ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो। अघिल्लो साता औसतमा ३ अर्ब ४२ करोड ४१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। यसले सातामा औसत सेयर कारोबार लगभग ८ प्रतिशत बढेकोे देखाउँछ। अघिल्लो साता भने औसत सेयर कारोबार करिब ३५ प्रतिशलले घटेको थियो।

नेप्सेको कुल बजार पूँजीकरण शुक्रबार ४६ खर्ब ५९ अर्ब ४७ करोड रुपैयाँ छ। गत साताको बजार पुँजीकरण ४६ खर्ब ७२ अर्ब ८६ करोड रुपैयाँ पुगेको थियो। साताभर नेप्से १३.७० घट्दा कुल बजार पुँजीकरण २३ अर्ब ३९ करोड रुपैयाँले घट््यो। अघिल्लो साता भने कुल बजार पुँजीकरण ११ अर्ब ८४ करोड रुपैयाँले बढेको थियो।

साताभर एक दिन मात्रै एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलका कारोबार भयो। मंगलबार धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियोे। शुक्रबार युनियन हाइड्रोपावरको १४.७९ प्रतिशतले बढेको थियो।
सेयर बजारमा सूचीकृत १३ उपसमूह यस साता सबै नै घटे। यस साता सेन्सेटिभ इन्डेक्स ५.८६ अंक, फ्लोट इन्डेक्स ३.४७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२१ अंकले घटे। अभिल्लो साता भने सेन्सेटिभ इन्डेक्स २.९५ अंक, फ्लोट इन्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ अंकले बढेका थिए।

याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट
याम्बालिङ हाइड्रोपावरको साधारण सेयर (आईपीओ) वैशाख ३० गते बाँडफाँट भएको छ। कम्पनीले गत वैशाख १६ देखि २२ सम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। कम्पनीको आईपीओमा कुल २९ लाख ८२ हजार ४ सय ९८ जनाले कुल ३ करोड २४ लाख ७८ हजार २ सय ३० कित्ता सेयरका लागि आवेदन दिएकोमा २९ लाख ३८ हजार ८२ आवेदन स्वीकृत भएका छन्।

कम्पनीको आईपीओ १ लाख ७४ हजार ३ सय जनाले १० कित्ताका दरले प्राप्त गरे। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हो।

रोयल टुलिप काठमाडौंले आईपीओ ल्याउँदै
ललितपुरको ग्वार्कोमा रहेको होटल, रोयल टुलिप काठमाडौंले आईपीओ ल्याउने भएको छ। नबिल इन्भेस्टमेन्ट बैंकिङ र द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौं), आईपीओ ल्याउने विषयमा वैशाख २८ गते सम्झौता भएको हो।

सम्झौताअनुसार निजी कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने, आईपीओ जारी गर्ने काम नबिल इन्भेस्टमेन्टले गर्नेछ।
सम्झौतामा होटलका तर्फबाट अध्यक्ष राजेन्द्र शाक्य र इन्भेस्टमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीले हस्ताक्षर गरे।

नीति तथा कार्यक्रममा पुँजी बजार सुधारका विषय

सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्रास्ट्रिय मापदण्डअनुरूप विकास गर्न जोड दिइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युचुअल फन्ड र गैरआवसीय नेपालीको सहभागिता विस्तार गरिने जनाएका छन्। ऋण बजार, बन्ड बजार, पूर्वाधार बन्ड र जोखिम व्यस्थापन उपकरण विकास गरी दीर्घकालीन पुँजी निर्माण गरिने नीतिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.