सगरमाथामा रेकर्ड ब्रेकको रोचक शृंखला

आफ्नै कीर्तिमान तोडे ‘एभरेस्ट म्यान’ र ‘माउन्टेन क्विन’ले

सगरमाथामा रेकर्ड ब्रेकको रोचक शृंखला
सुन्नुहोस्

ओखलढुंगा : वसन्त ऋतुको सुरुआती सिजनसँगै सगरमाथा आधार शिविर (बेस क्याम्प) मा एकाएक चहलपहल बढेको छ। सर्वोच शिखर ८,८४८.८६ मिटरको उचाइतिर पाइला बढाउँदै गरेका आरोहीहरूको सुरक्षा र मौसमको जानकारी लिन आधार शिविरमा सञ्चार सेटहरू लगातार गुञ्जिरहेका छन्।

यही भीडभाड र उत्साहका बीच नेपाली समयअनुसार २०८३ साल जेठ ३ गते (मे १७, २०२६) आइतबार बिहान ठीक ९:३० बजे आएको एउटा खबरले बेसक्याम्प जुरुक्कै ब्युँझियो। जेठको कञ्चन बिहानीमा सर्वोच्च शिखरको उचाइबाट आएको सन्देश थियो— संखुवासभाकी ५३ वर्षीया लाक्पा शेर्पा उर्फ ‘माउन्टेन क्वीन’ ले ११ औंपटक सगरमाथाको चुचुरोमा पाइला टेकेर विश्वका महिला आरोहीहरूमध्ये सबैभन्दा धेरैपटक आरोहण गर्ने आफ्नै ऐतिहासिक रेकर्ड नवीकरण गरिन्।

यो खबरबाट आधार शिविरमा देखिएको खुसियालीको लहर साम्य हुन नपाउँदै ठीक ४२ मिनेटपछि, अर्थात् बिहान १० बजेर १२ मिनेट जाँदा अर्काे झन् रोचक खबर गुञ्जियो— सोलुखुम्बु थामेका ५६ वर्षीय कामिरिता शेर्पा उर्फ ‘एभरेस्ट म्यान’ ले ३२औंपटक सगरमाथाको शिखर चुमेर मानव इतिहासकै सर्वाधिक आरोहणको कीर्तिमानलाई अझ अभेद्य बनाए।

मे १७ अर्थात् जेठ ३ गते विश्व पर्वतारोहणको इतिहासमा यो एउटा यस्तो दुर्लभ र रोमान्चक दिन बन्यो, जहाँ नेपाली माटोका दुई सन्तानले आफ्नै पुराना रेकर्डहरूलाई एकापसमा भत्काउँदै सगरमाथाको शिखरमा रेकर्डको नयाँ अद्भुत शृंखला थपेका छन्। यी सुखद् समाचारले नेपालको पर्वतारोहणको इतिहासमा महत्वपूर्ण अध्याय थपेको पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले बताए।

कामिरिताको रोमान्चक यात्रा : २७ देखि ३२औं आरोहणको त्यो ऐतिहासिक शृंखला
कामिरिता शेर्पाका लागि सगरमाथा चढ्नु केवल एउटा कीर्तिमान मात्र होइन, यो उनको व्यावसायिक जीवन र हिमालप्रतिको समर्पणको निरन्तरता हो। सन् १९९४ (२०५१ साल) मा २४ वर्षको उमेरमा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका उनले त्यसयता लगातार हिउँको साम्राज्यमा आफ्नो देशको नाम चम्काइरहेका छन्।

पछिल्ला वर्षहरूमा उनको आरोहण यात्रा झन् रोमान्चक बन्दै गयो। सन् २०२३ को वसन्त ऋतुमा सोलुखुम्बुकै अर्का साहसी आरोही पासाङ दाबा शेर्पाले २६औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि चुचुरोमा एउटा निकै रोचक प्रतिस्पर्धा सुरु भएको थियो। यही होडबाजीका बीच कामिरिताले २०८० जेठ ३ गते (मे १७, २०२३) का दिन बिहान ८ः३० बजे विदेशी आरोहीहरूको टोलीलाई सफलतापूर्वक नेतृत्व गर्दै २७औंपटक सगरमाथाको शिखर चुमेर विश्व कीर्तिमान फेरि आफ्नो नाममा बनाउन सफल भए।

तर, हिमालको यो रोमाञ्चक जुहारी त्यतिमै रोकिएन। कामिरिता शेर्पाले २७औं आरोहण गरेको केही दिनमै पासाङ दावाले पुनः सगरमाथाको शिखरमा पाइला टेक्दै कीर्तिमानलाई फेरि बराबरी गरिदिए। यसको जवाफमा उनले अद्भुत शारीरिक र मानसिक दृढता प्रदर्शन गर्दै पहिलो आरोहणको ठीक ६ दिनपछि, अर्थात् २०८० जेठ ९ गते (मे २३, २०२३) बिहान ९ः२० बजे २८औंपटक सगरमाथाको सफल आरोहण गरेर संसारलाई चकित बनाए।

यसपछि सन् २०२४ को आरोहण सिजन उनको ऐतिहासिक यात्राको अर्को कोसेढुंगा साबित भयो। सेभेन समिट ट्रेक्समार्फत आरोहण दलको नेतृत्व गरेका कामिरिताले २०८१ वैशाख ३० गते (मे १२, २०२४) का दिन बिहान ७ः२५ बजे २९औंपटक सगरमाथाको चुचुरोमा नेपालको झन्डा फहराए। आफ्नै कीर्तिमानलाई थप उचाइ दिने यो क्रम यतिमै रोकिएन, त्यसको ठीक १० दिनपछि अर्थात् २०८१ जेठ ९ गते (मे २२, २)२४) का दिन बिहान ७ः४९ बजे उनले सफलतापूर्वक ३०औंपटक सगरमाथाको शिखर चुमे। एउटै सिजनमा फेरि दुईपटक सगरमाथा चढेर उनले मानव इतिहासमै पहिलोपटक सगरमाथाको चुचुरोमा ३०औं पाइलाको अभूतपूर्व कीर्तिमान खडा गरे।

उनको यो अबिचलित र विस्मयकारी यात्राले सन् २०२५ को वसन्त ऋतुमा पनि निरन्तरता पायो। उमेर र प्रकृतिका कठोर चुनौतीहरूलाई सहजै पन्छाउँदै कामिरिताले २०८२ जेठ (मे २०२५) मा ३१औंपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नो कीर्तिमानी यात्रालाई अझ अभेद्य बनाए। विदेशी आरोहीहरूलाई सुरक्षित रूपमा हिमालको चुचुरोमा पु‍र्‍याउने आफ्नो व्यावसायिक धर्म निभाउने क्रममा स्थापित भएका उनका यी सिलसिलेवार रेकर्डहरू नेपाली वीरता र शेर्पा जातिको गौरवका रूपमा सधैं अमर रहने पर्यटन व्यवसायी तथा आरोही आङ्बाबु शेर्पाले बताए।

जारी २०८३ (सन् २०२६) को वसन्त सिजनको जेठ ३ गते उनले सफलतापूर्वक ३२औंपटक सगरमाथाको चुचुरो चुमेर आफ्नो नामलाई विश्व पर्वतारोहणको इतिहासमा कहिल्यै नमेटिने गरी स्थापित गरेका छन्। सगरमाथा मात्र होइन, कामिरिताले केटु, मनास्लु, ल्होत्से र चो ओयुजस्ता विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालहरू गरी कुल ४० पटकभन्दा बढी आरोहण गरिसकेका छन्। कामिरिता शेर्पालाई धेरैले रेकर्डका लागि हिमाल चढेको सोच्छन्, तर उनको बुझाइ फरक छ।

उनी सधैं मिडियामा भन्छन्, ‘म त एउटा प्रोफेसनल गाइड हुँ, विदेशी आरोहीहरूलाई सुरक्षित रूपमा चुचुरोमा पुर्‍यानु र उनीहरूलाई सकुशल आधार शिविरमा फर्काउनु मेरो पहिलो कर्तव्य हो।’ कीर्तिमानलाई कामको सिलसिलामा आफैं बन्दै गएको एउटा उपउत्पादन मान्ने सोलुखुम्बुको थामे गाउँका कामिरिताको पूरै परिवार नै पर्वतारोहणमा संलग्न छ। उनका दिवंगत पिता पनि नेपालमा व्यावसायिक पर्वतारोहणको सुरुवाती चरणका प्रारम्भिक गाइडहरूमध्ये एक थिए।

‘माउन्टेन क्विन’ लाक्पा : सामाजिक बन्देजदेखि बीबीसीको १०० प्रभावशाली महिलासम्म

कामिरिताले पुरुषतर्फ हिमालमा इतिहास रचिरहँदा महिलातर्फ संखुवासभाकी लाक्पा शेर्पाले पनि विश्वकै ध्यान आफूतिर तानेकी छिन्। संखुवासभाको मकालु क्षेत्रको दुर्गम गाउँमा जन्मिएकी लाक्पाको हिमाल आरोहणको यात्रा सहज थिएन। उनी हुर्किएको समाजमा महिलाले हिमाल चढ्नु त परको कुरा, घरबाहिर निस्कन पनि अनेक सामाजिक अप्ठेराहरू थिए।

‘तिमी हिमाल चढ्न थाल्यौं भने तिमीसँग कसैले बिहे गर्दैन, महिला हिमालमा जानु अनिष्ट हो’ भन्दै उनलाई रोक्ने प्रयास भएको थियो। तर, बाल्यकालदेखि नै बुबासँग मकालु क्षेत्रमा भारी बोक्ने काममा हिँडेकी लाक्पाको इच्छाशक्ति ती सामाजिक अवरोधभन्दा धेरै बलियो भएकाले सबै अवरोधहरूलाई पन्छाउँदै सन् २००० मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरिन् र सगरमाथा चढेर जीवितै फर्किने पहिलो नेपाली महिलाको इतिहास रचिन्।

लाक्पाले आफ्नो जीवन निर्वाहका लागि अमेरिकामा सुपरमार्केटमा काम गर्ने, वृद्धवृद्धाहरूको हेरचाह गर्ने र भाँडा माझ्ने जस्ता कडा श्रम गरेर पनि हिमालप्रतिको आफ्नो भोकलाई मर्न दिइनन्। उनले आफ्ना दुई छोरीहरूको लालनपालन र शिक्षादीक्षाको जिम्मेवारी एक्लै सम्हाल्दै सगरमाथा आरोहणका लागि खर्च जुटाइरहिन्।

असाधारण साहस र संघर्षकै कारण सन् २०१६ मा विश्वप्रसिद्ध सञ्चारमाध्यम बीबीसीले उनलाई विश्वका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा समावेश ग‍र्‍यो। बीबीसीसँगको कुराकानीमा लाक्पाले भनेकी थिइन्, ‘जब म पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेँ, मैले महसुस गरेँ कि मैले शेर्पा संस्कृति र नेपाली महिलाको अवस्थालाई परिवर्तन गरेकी छु। म घरको चौघेराभन्दा बाहिर निस्कन पाएकोमा खुसी थिएँ र यो अनुभूति संसारका तमाम महिलासँग बाँड्न चाहन्थेँ।’

सगरमाथामा १० पटक सफलतापूर्वक आरोहण गरिसकेपछि लाक्पाको जीवनमा आधारित माउन्टेन क्वीनस् द समिट्स अफ लाक्पा शेर्पा नामक वृत्तचित्र (डकुमेन्ट्री)समेत बनिसकेको छ, जसले अन्तर्राष्ट्रिय मञ्चहरूमा उनको साखलाई विश्वभर फैलाएको छ। आइतबार मे १७ का दिन ११औंपटक चुचुरोमा पुगेर उनले कीर्तिमानलाई थप मजबुत बनाएकी छिन्।

राष्ट्रिय गौरव र पर्यटनको आधार
नेपालको पर्यटन क्षेत्र र पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान अतुलनीय छ। कुनै समय विदेशी आरोहीहरूको सहयोगी वा भरियाका रूपमा मात्र हेरिने शेर्पाहरू आज विश्व पर्वतारोहणको नेतृत्व गरिरहेका छन्। कामिरिता र लाक्पा शेर्पाजस्ता आरोहीहरूले स्थापित गरेको यो कीर्तिमानले नेपालको पर्वतारोहण पर्यटनलाई विश्वमै प्रतिष्ठित बनाएको छ।

५० वर्षको उमेर नाघिसक्दा पनि कामिरिता र लाक्पा शेर्पाले जुन शारीरिक र मानसिक दृढता देखाइरहेका छन्। त्यो संसारभरिका पर्वतारोहीहरूका लागि एउटा ठूलो प्रेरणाको स्रोत हो। ‘एभरेस्ट म्यान’ कामिरिता शेर्पा र ‘माउन्टेन क्वीन’ लाक्पा शेर्पाले सगरमाथाको छातीमा कोरेका यी कीर्तिमानी पाइलाहरू नेपाली पर्वतारोहण इतिहासका कहिल्यै नमेटिने सुनौला हस्ताक्षर हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.