सिन्धुलीकाे सुनकोसीमा डुबेर दुई बालकको मृत्यु
सिन्धुली : सिन्धुलीको सनुकोसी गाउँपालिका-५ स्थित पल्धुरी सित्खा पुल नजिकै सुनकोसी नदीमा डुब्दा दुई बालकको मृत्यु भएको छ। आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा सुनकोसी ४ का दल बहादुर पुलामीका छोरा वर्ष ९ का सफल पुलामी र वडा नम्बर ५ का सरिता विकको छोरा वर्ष १० का उकेश विकको मृत्यु भएको हो।
सुनकोसी गाउँपालिका ५ का वडाध्यक्ष सुरथ बसेलका अनुसार सफल पुलामीको शव पल्धुरी सित्खामा भेटिएको र विकको शव भने केही तल सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको हो।
‘बालकहरू बेपत्ता भएको खबर थाहा पाउने बित्तिकै स्थानीय जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी रातामाटा, खुर्कोटस्थित सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयले संयुक्त रूपमा खोजतलास थालेका थिए। करिब दुई घण्टापछि विकको पनि शव भेटिएको छ,’ वडाध्यक्ष बसेलले भने।
मृतक दुवै बालक प्रगतिशील मावि रातमाटामा अध्ययनरत थिए। आज आइतबार अत्यधिक गर्मी भएको र विद्यालय पनि बिदा भएका कारण बालकहरू नदीमा पौडी खेल्न गएको अनुमान गरिएको छ। दुवैको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालतर्फ ल्याउने तयारी गरिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !