पृथ्वीराजमार्गका होटलमा गुणस्तरहिन खाना, यात्रुको स्वास्थ्यमाथि गम्भीर खेलबाड
धादिङ : पृथ्वीराजमार्ग देशकै ‘लाइफलाइन’ मानिने व्यस्त राजमार्ग हो । यही राजमार्ग हुँदै दैनिक दशौं हजार यात्रुले यात्रा गर्दै आएका छन्। यात्रु तथा चालकको सुविधाका लागि राजमार्ग छेउछाउमा सयौं होटल, रेष्टुरेन्ट तथा खाजाघर सञ्चालनमा छन्। तर यात्रुको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाना तथा खाजाको गुणस्तर र मूल्यबारे भने वर्षौंदेखि प्रश्न उठ्दै आएको छ। अहिले पनि गुणस्तरहीन खानाका कारण यात्रुहरुको स्वास्थ्य जोखिममा पर्ने अवस्था कायमै देखिन्छ।
धादिङमा मात्रै दर्जनौं होटल चौबिसै घण्टा सञ्चालनमा छन् । पृथ्वीराजमार्ग हुँदै यात्रा गर्ने सयौं सवारीसाधन र यात्रु खाना तथा खाजा खानका लागि यहाँ रोकिन्छन् । तर अनुगमनका क्रममा धादिङस्थित 'ब्लू हेभन रेस्टुरेन्ट एन्ड बार'को स्टोरमा सडेको तरकारी फेला परेको छ । विभिन्न सरकारी निकायको संयुक्त अनुगमनका क्रममा अखाद्य सामग्री भेटिएपछि उक्त रेस्टुरेन्टलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको थियो । यो घटना उदाहरण मात्रै हो, जसले राजमार्ग क्षेत्रमा सञ्चालन हुने होटलहरुमा यात्रुको स्वास्थ्यसँग कसरी खेलबाड भइरहेको छ भन्ने देखाउँछ।
धादिङ मात्रै होइन, देशका अन्य राजमार्ग आसपासका साना-ठूला होटल तथा रेस्टुरेन्टहरुको खाना तथा खाजाको गुणस्तरबारे पनि निरन्तर आशंका हुँदै आएको छ। व्यवसायीहरुले विगतको तुलनामा केही सुधार गरेको दाबी गरे पनि त्यो पर्याप्त हुन सकेको छैन । सरकारी निकायबाट हुने अनुगमन नियमित नहुँदा समस्या दोहोरिने गरेको छ । कतिपय अवस्थामा अनुगमन सरकारी निकायकै सक्रियतामा भर पर्ने गरेको यात्रु शैलेन्द्र कँडेलको गुनासो छ।
यात्रु मनिका उप्रेतीले यात्रुहरुलाई ताजा, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउनुपर्ने बताउँदै नियमित अनुगमन आवश्यक रहेको बताइन्। सम्बन्धित निकाय मात्रै होइन, होटल व्यवसायीहरुको छाता संगठन जिल्ला होटल व्यवसायी संघ धादिङले समेत व्यवसायीलाई पटक-पटक सचेत गराउँदै आएको छ । तर कतिपय व्यवसायीले सुझाव र आग्रहलाई बेवास्ता गर्ने गरेको पाइएको छ । जिल्ला होटल व्यवसायी संघ धादिङका अध्यक्ष रामशरण सिलवालले परम्परागत ढंगले होटल व्यवसाय सञ्चालन गरेर अब नचल्ने भन्दै सुधारको विकल्प नरहेको बताए ।
पोखराका होटल व्यवसायी मानप्रसाद धितालका अनुसार देशभरका धेरै होटलमा खाना तथा खाजाको गुणस्तर र परिमाणमा ध्यान नदिँदा यात्रुहरुले समस्या भोग्नुपरेको छ । धादिङ उद्योग वाणिज्य संघले व्यवसायी, सरकारी निकाय र सञ्चारकर्मीको सहभागितामा सचेतनामूलक अभियान सञ्चालन गरिएको जनाएको छ । संघका अध्यक्ष रामकुमार डल्लाकोटीका अनुसार आवश्यक परे जरिवाना समेत गरिएको छ। सामान्य कारबाहीपछि पनि सुधार नभए होटल बन्द गरेर भए पनि सुधार गराइछाड्ने प्रतिबद्धता उनले जनाए।
नियमित अनुगमन हुन नसकेको विषयमा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले स्थानीय, प्रदेश र संघ सरकारबीच समन्वय अभाव तथा दक्ष जनशक्तिको कमी मुख्य कारण रहेको बताए । उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरीले पनि कर्मचारी अभाव र कार्यव्यस्तताका कारण नियमित अनुगमनमा समस्या भएको स्वीकार गर्दै प्रयास जारी रहेको बताए।
उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर सञ्चालनमा रहेका १४७ वटा व्यवसायको अनुगमन गरिएको छ। अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन भएका व्यवसायबाट कुल १ लाख ६५ हजार रुपैयाँ जरिवाना असुल गरिएको तथ्यांक छ।
जिल्ला प्रशासन कार्यालय धादिङ, उद्योग वाणिज्य कार्यालय धादिङ, जिल्ला होटल व्यवसायी संघ धादिङ, धादिङ उद्योग वाणिज्य संघ लगायत निकायको सहभागितामा पछिल्लो समय संयुक्त अनुगमन गरिएको हो। यसबीच होटल तथा खाजाघरमा मूल्यवृद्धि बढ्दै जाँदा यात्रुहरु थप मर्कामा परेका छन् । नियमित अनुगमन अभावमा यात्रुहरु चर्को मूल्य तिर्न बाध्य छन् भने महँगो मूल्यमा खरिद गरिएको खानाको गुणस्तर र त्यसले स्वास्थ्यमा पार्न सक्ने असरबारे सरकारी निकाय, सरोकारवाला र स्वयं व्यवसायी सबै जिम्मेवार बन्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस !