भोजपुर : झिसमिसे बिहानीसँगै यतिबेला भोजपुरका अधिकांश ग्रामीण भेगका किसानहरू व्यस्त हुन देखिन्छन्। कतै हलगोरुसँग हलीहरूको ‘हह......होर्रा’ सुनिन्छ त कतै मिनिटिलरको ‘घुनुनु’ आवाज। कतै खेतका कान्लामा महिलाहरूको हाँसो मिसिएको असारे भाका गुञ्जिन्छन्। बाँझो खेत जोत्ने, आली काट्ने, हिल्याउने, बीउ काढ्ने, हिलोले भरिएको खेतमा घुँडासम्म डुबेर धान रोपिरहेका किसानहरूको व्यस्तता यतिबेला गाउँघरको मुख्य दृश्य बनेको छ। वर्षा लागेसँगै किसानहरूलाई फेरि एकपटक खेतीपातीको चटारो लागेको छ।
भोजपुरका ग्रामीण क्षेत्रमा यतिबेला बिहानदेखि साँझसम्म खेतमै किसान देखिन्छन्। खेत जोत्न, बीउ उखेल्न, रोपाइँ गर्न भ्याइनभ्याइ छ। ‘हेर्दाहेर्दै बर्खा लाग्यो, खेती गर्ने तँछाडमछाड छ,’ स्थानीय किसान भीमप्रसाद राईले सुनाए, ‘मानो रोपेर मुरी उब्जाउने समय छ, नत्र जिन्दगी चलाउन गाह्रो हामी किसानलाई’ पहाडका फाँटहरू हरियालीले ढाकिन थालेका छन्। केही साताअघि बाँझै देखिने खेतहरू अहिले हिलाम्मे बनेका छन्। आकाशबाट निरन्तर पानी पर्न थालेपछि किसानमा नयाँ उत्साह थपिएको छ। अघिल्ला वर्षमा समयमा पानी नपर्दा उत्पादन घटेको अनुभव गरेका किसान मौसमले साथ दिने अपेक्षामा छन्।
‘समयमै पानी परेकाले यस वर्ष खेती राम्रो होला भन्ने आशा छ, पर्याप्त सिँचाइ पुगेको छ,’ भोजपुर नगरपालिका–११, आम्तेकका मोहन राई भन्छन्, ‘खेती नै हाम्रो आधार हो त्यसैले दुःख गरेर भए पनि खेतमै लाग्नुपर्ने समय छ।’
गाउँघरमा अहिले सामूहिक श्रम संस्कृतिको दृश्य पनि देख्न पाइन्छ। एकअर्काको खेतमा पालैपालो रोपाइँ गर्न जाने चलन अझै धेरै ठाउँमा कायम छ। रोपाइँका बेला खेतमा गुञ्जिने गीत, हिलो छ्यापाछ्याप र सामूहिक हाँसोले ग्रामीण जीवनलाई थप जीवन्त बनाएको छ। आधुनिकताले गाउँको स्वरूप बदलिँदै गए पनि असारको यो संस्कृति अझै हराएको छैन।
तर, खेतीपातीको यो उत्साहभित्र किसानका पीडा पनि उत्तिकै छन्। रासायनिक मलको अभाव, महँगो बीउबिजन, कृषि मजदुरको कमी र उत्पादनको उचित मूल्य नपाउने समस्या किसानले वर्षौंदेखि भोग्दै आएका छन्। गाउँका धेरै युवा बिदेसिएपछि खेतमा काम गर्ने जनशक्ति घट्दो छ। त्यसैले कतिपय खेत बाँझै रहने अवस्था पनि बढ्न थालेको पनि छ। अहिले धेरै किसानले आधुनिक कृषि उपकरणको प्रयोग गर्न थालेका छन्। हलगोरुको ठाउँ मिनिटिलरले लिन थालेको छ भने कतिपय ठाउँमा धान रोप्ने मेसिनसमेत प्रयोग हुन थालेका छन्। तर, ग्रामीण भेगका अधिकांश किसान अझै परम्परागत शैलीमै खेती गर्न बाध्य छन्। पर्याप्त सिँचाइ, प्रविधि र बजारको अभावले कृषि क्षेत्र अझै संघर्षमै रहेको बोखिमका स्थानीय हर्क राईको भनाइ छ।
खेतीपातीको चटारोसँगै बजार क्षेत्र पनि चलायमान बनेको छ। कृषि सामग्री पसलमा मल, बीउ र विषादी किन्ने किसानको भीड लाग्न थालेको छ। स्थानीय तहहरूले कृषि अनुदान र प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गरे पनि किसानसम्म प्रभावकारी रूपमा पुग्न नसकेको किसानको गुनासो सुनिन्छ।
गत वर्ष भोजपुरमा धान खेतीको क्षेत्र पनि घटेको थियो। १२ हजार एक सय ५४ हेक्टर क्षेत्रमा गरिएको खेतीबाट ३७ हजार ७ सय टन धान उत्पादन भएको थियो। गत वर्ष खेती गर्ने दर घटेर कुल ११ हजार ५ सय हेक्टरमा मात्र धान खेती विस्तार भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।
यो वर्ष पनि धानखेती गर्ने किसानलाई प्रतिकूल मौसमका कारण क्षति बेहोर्नुपर्यो। गत कात्तिकमा आएको भारी वर्षाका कारण किसानले धान भित्र्याउन पाएनन्। प्रतिकूल मौसम र बसाइँसराइको दर बढेका कारण धान खेतीको क्षेत्र घटेको कृषि ज्ञानका सूचना अधिकारी घनश्याम बरालले बताए। उनका अनुसार गत वर्ष भोजपुरमा करिब ९६ प्रतिशतमात्र रोपाइँ भएको थियो।
जिल्लाको कुल उत्पादनले कुल जनसंख्याको ३७ प्रतिशतलाई मात्र वर्षभरि खान पुग्ने केन्द्रले जनाएको छ। तथ्यांकअनुसार जिल्लाको कुल २० हजार १ सय तीन हेक्टरमा धान खेती गरिने भए पनि कुल ४ हजार ७ सय २५ हेक्टर क्षेत्रफलको खेत बाँझिएका छन्। धानका लागि पकेट क्षेत्र मानिने भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत क्षेत्रमा अट्टे, जिरा मसिना, मन्सुली, पोखरेली, बास्मती जस्ता स्थानीय जातका धान खेती गरिन्छ।
प्रतिक्रिया दिनुहोस !