सुशासन र समृद्धिको नागरिक आकांक्षा सम्बोधन गर्ने गरी बजेट आएको छ : सञ्चारमन्त्री
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारले नतिजामुखी भएर दृढतापूर्वक काम गरिरहेको बताएका छन्।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम पालिका अधिवेशनका क्रममा तादी गाउँपालिका–५ मा आयोजित कार्यक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शुक्रबार सदनमा प्रस्तुत गरिएको बजेट युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको उल्लेख गरे।
उनले बजेटले मुलुकको अर्थतन्त्रलाई आगामी दिनमा कुन दिशातर्फ अघि बढाउने भन्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्दै सरकारका प्राथमिकता, राजस्व नीति तथा दीर्घकालीन विकास दृष्टिकोणसमेत स्पष्ट रूपमा समेटिएको बताए। सञ्चारमन्त्री डा तिमिल्सिनाले नीतिगत सुधारमार्फत विकास प्रक्रियालाई प्रभावकारी, सन्तुलित र समावेशी बनाउने प्रयास भइरहेको बताउँदै समानुपातिक विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे। ‘विगतका वर्षहरूमा जस्तो छरिएको र उद्देश्यविहीन बजेट होइन, यसपटक राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर विकासको स्पष्ट प्रस्थानबिन्दु तय गर्नेगरी बजेट आएको छ,’ सञ्चारमन्त्री तिमिल्सिनाले भने।
विकास र समृद्धिको नागरिक आकांक्षा पूरा गर्ने सोच र दृष्टिकोणअनुसार बजेट निर्माण गरिएको उल्लेख गर्दै उनले विकास र बजेटको लाभ सीमित शक्तिशाली समूहमा केन्द्रित हुने अवस्थाको अन्त्य गर्न सरकार प्रयासरत रहेको बताए। त्यस्तै, बजेट वक्तव्यले सबै विषय समेट्न नसक्ने भएकाले विस्तृत योजना तथा कार्यक्रमहरू रातो किताबमार्फत सार्वजनिक गरिने जानकारी पनि उनले दिए।
जिल्लाका विभिन्न समस्या समाधानका लागि आफूले सक्रिय भएर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्थानीयवासीलाई आफ्ना गुनासा र समस्या जुनसुकै माध्यमबाट भए पनि जानकारी गराउन आग्रह गरे। प्राप्त समस्याको समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिए।
सञ्चारमन्त्री डा तिमिल्सिनाले वर्तमान बजेट सत्तारूढ दलले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने उद्देश्यसहित ल्याइएको बताउँदै विकासमा सबै नागरिकको समान अधिकार सुनिश्चित गर्न सरकार केन्द्रित रहेको बताए। यो बजेटमार्फत सरकारले आगामी २० वर्षलाई लक्षित गरी योजनाबद्ध विकासको आधार तयार गरिएको पनि उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस !