उकालो यात्राको लयमा सेयर बजार
काठमाडौं : जेठको दोस्रो साता सेयर बजारले उकालो यात्रा तय गरेको छ। सातामा बिहीबार बकर इद र शुक्रबार गणतन्त्र दिवसको बिदा परेको कारणले ३ दिन मात्रै सेयर कारोबार भयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ दिन सामान्य घट्यो भने २ दिन चाहिँ बढ्यो। सेयर बजारमा कारोबार भने अघिल्लो साताभन्दा केही गतिशील हुन पुग्यो।
अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २७५८.४९ अंकमा बन्द भएको नेप्से यो साता सेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले बढ्यो। यस दिन नेप्से २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा उक्लियो। त्यसको भोलिपल्ट मंगलबार नेप्से ९.२४ अंकले घट्यो। साताको सेयर कारोबारको अन्तिम दिन बुधबार नेप्से सामान्य अंकले बढ्यो। यस दिन ४.९९ अंकले बढेर नेप्से २७८२.१० विन्दुमा पुग्यो।
सातामा एक दिन ९.२४ अंकले घटेकामा दुई दिनमा ३२.८४ अंकले बढेपछि नेप्सेमा २३.६० अंकले बढोत्तरी भयो। अघिल्लो साता पनि नेप्से २६.५६ अंकले बढेकै थियो। यस सातामा सोमबार न्यून विन्दु २७५२.४६ मा र मंगलबार उच्च विन्दु २७९१.८५ अंकसम्ममा नेप्से बढेर सेयर कारोबार भयो।
यस साता सबैभन्दा कम मंगलबार ४ अर्ब ८५ करोड ४४ लाख र सबैभन्दा बढी बुधबार ६ अर्ब ३ करोड रुपैयाँको सेयर कारोबार भयो। साताभरीमा ३ दिनको कारोबारमा १६ अर्ब ८७ करोड ८ लाखको सेयर खरिदबिक्री भयो। यसबाट औसतमा दैनिक ५ अर्ब ६२ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको देखाउँछ। अघिल्लो सातामा ५ दिन कारोबार हुँदा जम्मा १७ अर्ब ७५ करोड ६२ लाख रुपैयाँको कारोबार हुँदा औसतमा दैनिक ३ अर्ब ५५ करोड १२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। यसले सातामा औसत सेयर कारोबार लगभग ५८ प्रतिशतले बढेको देखाउँछ। अघिल्लो साता भने औसत सेयर कारोबार करिब ४ प्रतिशलले घटेको थियो।
नेप्सेको कुल बजार पुँजीकरण बुधबार ४७ खर्ब ४६ अर्ब ८२ करोड रुपैयाँ छ। गत साताको बजार पुँजीकरण ४७ खर्ब ४ अर्ब ७५ करोड रुपैयाँ थियो। साताभरमा नेप्से २३.६० बढ्दा कुल बजार पुँजीकरण ४२ अर्ब ७ करोड रुपैयाँले बढ्यो। अघिल्लो साता पनि कुल बजार पुँजीकरण ४५ अर्ब २८ करोड रुपैयाँले बढेको थियो।
साताभरि एक दिन मात्रै एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलका कारोबार भयो। बुधबार कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। उक्त कम्पनीको सेयर १४.९८ प्रतिशतले बढेको थियो। त्यसै दिन बुंगाल हाइड्रोको १४.३८ प्रतिशतले बढ्यो भने सानिमा डिभेन्चरको ६.६४ प्रतिशतले घट्यो। सोमबार भने बुंगालको १०.३२ प्रतिशतले घटेको थियो। मंगलबार कालिञ्चोक हाइड्रोपावरको ९.२४ प्रतिशतले बढेको थियो।
सेयर बजारमा सूचीकृत १३ उपसमूहमा यस साता फाइनान्सबाहेक अरू १२ वटा सबै बढे। फाइनान्स इन्डेक्स ६.१२ अंकले घटेको थियो। सातामा सेन्सेटिभ इन्डेक्स ३.६२ अंक, फ्लोट इन्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२१ अंकले बढे। अघिल्लो साता पनि सेन्सेटिभ इन्डेक्स ४.३४ अंक, फ्लोट इन्डेक्स २.०३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६२ अंकले बढेका थिए।
एभरेस्ट कलरको आईपीओ निष्कासन यसै साता
एभरेस्ट कलर कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले जेठ २२ देखि आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओमा लगानीकर्ताले जेठ २७ गतेसम्म आवेदन दिन सक्नेछन्।
- यस साता बिहीबार र शुक्रबार २ दिन सार्वजनिक बिदा परेकाले ३ दिन मात्रै सेयर कारोबार भएकोमा १ दिन नेप्से परिसूचक घट्यो भने २ दिन बढ्यो।
- औसतमा दैनिक ५ अर्ब ६२ करोड ३६ लाख बराबरको सेयर किनबेच भयो। अघिल्लो साता भने औसतमा ३ अर्ब ५५ करोड १२ लाखको सेयर खरिदबिक्री भएको थियो।
- साताभरमा नेप्से २३.६० अंकले बढ्दा कुल सेयर बजार पुँजीकरणमा पनि ४२ अर्ब ७ करोडको बढोत्तारी भयो।
आईपीओ प्रतिकित्ता १ सय रुपैयाँका दरले ६ करोड ५५ लाख ७० हजार रुपैयाँको ६ लाख ५५ हजार ७ सय कित्ता सेयर निष्कासन हुनेछ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ। कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
बजेटमा पुँजी बजार
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले घोषणा गरेको आर्थिक वर्ष २०८३÷८४ को बजेटमा पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने बताएका छन्। उनले नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना अघि बढाई इन्ट्राडे, सर्ट सेलिङ् र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध सुरुवात गर्ने जनाए।
मन्त्री डा.वाग्लेले सेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पुँजी बजारमा हुने अवाञ्छित गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति लिने जनाए। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउने उनको भनाइ थियो।
उनले आगामी आर्थिक वर्षको बजेटमार्फत सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेका छन्। तर, हाल तिर्दै आएको पुँजीगत लाभकर भने बजेटले साढे २ प्रतिशत विन्दुले बढाएको छ। करको दर बढे पनि पुँजीगत लाभकर अन्तिम हुने विषयले लगानीकर्तामा उत्सुकता छाएको छ।
हाल १ वर्षभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा ५ प्रतिशत र १ वर्षभन्दा कम अवधिमा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था थियो। अब १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेले साढे ७.५ प्रतिशत र १ वर्षभन्दा कम अवधिमा १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने भएको छ।
गैरआवसीय नेपालीले पनि सेयर बजारमा सहभागी हुने बाटो खुल्ने भएको छ। बजेटमा डा.वाग्लेले भने, ‘गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पुँजीगत लाभकरसम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गर्नेछौं।’
यसअघि पनि गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी गर्न दिने घोषणा गरिएको थियो। तर, सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सकेन वा चाहेन। यसपाली भने एकै पार्टीको लगभग दुईतिहाइको सरकारले लागू गर्नेमा लगानीकर्ता ढुक्क छन्।
प्रतिक्रिया दिनुहोस !