दुई बर्षदेखि छैन तलब, पालिकामा तालाबन्दी, समस्यामा क्यान्सरपीडित
रौतहट : कटहरिया नगरपालिकाका कर्मचारीले तलब नपाएको करिव २ बर्ष पुगेको छ । तलव नपाउनुको पीडा असामान्य छ । स्वास्थ बिमा कार्यक्रम यही १६ गते रास्वपा नेत्तृत्वको सरकारले हटाउनु र तलबी कर्मचारीले तलब नपाउनु दुवै सरकारको गैरजिम्मेवारी हो । कटहरिया नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको भन्दै गत जेठ ११ गतेदेखि आन्दोलन जारी राखेका छन्।
सुरुमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पन्तको कार्यकक्ष बाहेक अन्य सबै कक्षमा तालाबन्दी गरिएको थियो । समस्या समाधानतर्फ कुनै पहल नभएको भन्दै गत सोमबार कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् । लामो समयदेखि तलब नपाउँदा कर्मचारीहरू आर्थिक तथा मानसिक समस्यामा परेको कार्यालयका कर्मचारी मुकुन्द यादवले बताए ।
पालिकाले कर्मचारीहरूको जायज मागप्रति बेवास्ता गर्दै आएको यादवको आरोप छ । पटक–पटक आवाज उठाउँदा नगरपालिकाले एक–दुई महिनाको तलब मात्रै उपलब्ध गराउने गरेको र मूल समस्या समाधान हुन नसकेको गुनासो अर्का कर्मचारी रामानन्द पासवान बताउँछ्न । तलब नियमित नपाउँदा कर्मचारीहरु दैनिक जीवन सञ्चालनमै समस्या भएको पासवानले बताए ।
क्यान्सरको उपचारमा आर्थिक अभाव
कटहरिया नगरपालिका–२ हथियाहीका कार्यालय सहयोगी श्रीराउत बरै यतिबेला क्यान्सरसँग संघर्ष जुधिरहेका छन् । भरतपुरस्थित क्यान्सर अस्पतालमा विगत डेढ महिनादेखि उपचाररत बरै आर्थिक अभावका कारण थप समस्यामा परेका छन् । पालिकाले समयमा तलव नदिँदा उपचारमा समस्या आईरहेको उनको पारिवारिक श्रोतले जानकारी दिए ।
परिवारका अनुसार उनको स्वास्थ्य अवस्था जटिल रहेकाले निरन्तर उपचार, औषधि तथा नियमित स्वास्थ्य निगरानी आवश्यक छ । तर उपचार खर्च बढ्दै जाँदा परिवारलाई आर्थिक व्यवस्थापन गर्न कठिन भइरहेको अवस्थामा समेत तलव नपाउनुले आर्थिकदेखि पारिवारिक समस्या थपिएको समाजसेवी विनोदलाल कर्णले बताए ।
पालिकाबाट पाउनु पर्ने करिब २० महिनाको तलब हालसम्म प्राप्त हुन सकेको छैन भने लामो समयदेखि पारिश्रमिक रोकिँदा परिवारको आर्थिक अवस्था कमजोर बनेको र बिरामी परेपछि समस्या झन् जटिल भएको उनको भनाइ छ । ‘एकातिर रोगसँग संघर्ष गरिरहेका छन् भने अर्कोतिर आर्थिक अभावले परिवारलाई थप पीडा दिएको छ’, कर्णले भने, ‘उपचार, औषधि, अस्पतालमा कुरुवा बस्ने तथा आवतजावतको खर्च जुटाउन परिवारलाई निकै कठिन भइरहेको छ ।’
हाल बरैको उपचार तथा हेरचाहमा उनका ज्वाइँ महेन्द्र प्रसाद चौरसिया खटिएका छन् । अस्पतालमा बिरामीको रेखदेखदेखि औषधि व्यवस्थापनसम्मका जिम्मेवारी उनले सम्हाल्दै आएका छन् । आन्दोलनका कारण नगरपालिकाको दैनिक प्रशासनिक सेवा समेत प्रभावित बनेको छ । आन्दोलनरत कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !