त्रिपालमुनि निसास्सिएको नागरिकको सास

त्रिपालमुनि निसास्सिएको नागरिकको सास
सुन्नुहोस्

त्रिपालको ओत विपद्को अल्पकालीन मलममात्र हो, दीर्घकालीन छहारी होइन । तर, गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री—३, देवल गाउँका ८३ घरपरिवारका लागि यही त्रिपाल पनि पाँच वर्षदेखि निरन्तरको नियति बनेको छ । गाउँमा खसेको पहिरोले घर र गोठमात्रै भत्काएन, उनीहरूको उब्जनी गर्ने पाखोबारी र बाँच्ने आधारसमेत बगायो । विपद्मा परेका नागरिकलाई तत्काल राहतस्वरूप त्रिपाल थमाए पनि, स्थायी र सुरक्षित आवासको प्रबन्ध गर्नु राज्यको प्राथमिक दायित्व हो । विडम्बना ! सुदूर उत्तरी गाउँका यी बासिन्दाका लागि राज्यको उपस्थिति एकादेशको कथाजस्तै भएको छ ।

वस्तुतः देवल गाउँको सिंगो बस्ती नै स्थानान्तरण गर्नुपर्ने गम्भीर अवस्था छ, तर यतिका वर्ष बितिसक्दा पनि राज्यले सिन्को भाँचेको छैन । यहाँका बासिन्दाले पहिरोको सन्त्रास झेल्न थालेको तीन दशक भइसक्यो । पछिल्लो पहिरोले सबैको बास उजाडिदिँदासमेत राज्यले केवल नजरअन्दाजको नीति अपनाउनु चरम अमानवीयता हो । यी ८३ घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने निष्कर्ष स्वयं ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ले नै निकालेको हो । मुलुकमा विपद् जोखिम न्यूनीकरणको जिम्मेवारी बोकेको सर्वोच्च निकाय यही हो ।

गत जेठमै भूगर्भविद्हरूको टोलीले स्थलगत अध्ययन गरी उक्त गाउँ बसोबासका लागि अयोग्य ठहर गरिसकेको थियो । यसरी प्राविधिक रूपमै खतराको घण्टी बजिसक्दा पनि महिनौंसम्म राज्ययन्त्र मौनता साँधेर बस्नु क्षम्य हुनै सक्दैन । फलतः यही बर्खामा थप चार घर पहिरोले बगाइसकेको छ । राज्यको ढिलासुस्ती र उदासीनताको पराकाष्ठा यहाँ छताछुल्ल भएको छ । राज्यको यस्तै चरम बेवास्ताका कारण, आज सुरक्षित बासको पखाइमा रहेका नागरिकहरू आफ्नै आँगनमा मृत्युको पर्खाइमा बस्न विवश छन् । जसै प्राधिकरणले बस्ती स्थानान्तरणको सिफारिस गर्‍यो, वैकल्पिक स्थानको पहिचान पनि भइसकेको छ । तर, हाम्रो राज्यसंयन्त्र यति सुस्त र असंवेदनशील छ कि, अझै त्यसको अन्तिम प्रतिवेदनसम्म बन्न सकेको छैन ।

आपत्कालीन विपद् व्यवस्थापनको कामसमेत उही पुरानो, झन्झटिलो र रातोफित्ताशाहीको चक्रव्यूहमा अल्झिएको छ । नागरिकको ज्यान जोगाउने जस्तो अति संवेदनशील विषयमा पनि सरकारको चेत खुल्न सकेको छैन । कागजी प्रक्रियाको पूर्णताभन्दा नागरिकको प्राण रक्षा पहिलो सर्त हो भन्ने सामान्य मानवीय संवेदना राज्यले बिर्सिएको छ । देवलका घरपरिवारको बास सार्दै गर्दा राज्यले बुझ्नैपर्ने अर्को गम्भीर पाटो भनेको जीविकोपार्जन हो । बस्ती सार्नु भनेको केही थान इँटा र जस्तापाताको संरचना ठड्याउनु मात्र होइन, त्यहाँको सिंगो संस्कृति, जीवनशैली र अर्थतन्त्रलाई पुनर्जीवित गर्नु हो ।

गोरखाकै लाप्राक गाउँका भूकम्प प्रभावितका लागि गुम्सीपाखामा निर्मित एकीकृत बस्ती यसको ज्वलन्त उदाहरण हो । त्यहाँ लहरै घरहरू त ठडिए, तर न घरमा आँगन राखियो न त करेसाबारी नै । दुई–चारवटा कुखुरा वा गाईभैंसी पाल्ने र खेतीकिसानी गर्ने ठाउँसमेत नभएपछि ती घरहरूमा स्थानीय बासिन्दा बसेनन् । विकसित देशका ‘हाउजिङ’ वा ‘अपार्टमेन्ट’ शैलीमा नेपालीको मौलिक ग्रामीण जीवनशैली अट्न सक्दैन भन्ने सत्यलाई ती आवास निर्माताले कि त बुझेनन्, कि त बुझ्न चाहेनन् । देवलको हकमा पनि नयाँ बस्ती बसाल्दा राज्यले लाप्राकबाट पाठ सिक्न नितान्त जरुरी छ ।

नेपाली जीवनशैली, कृषि प्रणाली र रहनसहन सुहाउँदो बस्ती विकास नगरी जस्तोसुकै संरचना बनाए पनि त्यहाँ कोही टिक्दैन भन्ने यथार्थलाई राज्यले मनन् गर्नैपर्छ । अर्कोतर्फ, देवलका गाउँलेका लागि सरकारले दिने पाँच लाख रुपैयाँको राहतले जग्गा किन्नै मुस्किल पर्छ, त्यसमाथि त्यस्तो दुर्गम भूगोलमा घर निर्माण गर्नु निकै खर्चिलो हुन्छ । तसर्थ, बस्ती सार्नु भनेको थातथलोसँगै संस्कृति र बाँच्ने आधार पनि सार्नु हो भन्ने ख्याल गरिएन भने, लाप्राकीका लागि बनेर खण्डहरमा परिणत भएका घरहरूको नियति देवलमा पनि नदोहोरिएला भन्न सकिन्न ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.