असारमा धमाधम सडक पिच

असारमा धमाधम सडक पिच

गोपीकृष्ण ढुंगाना

काठमाडौँ: एक महिनाअघि शंखमुल मध्यमार्गमा गरिएको पिचमाथि आइतबार धमाधम प्याचिङ गरिँदै थियो । शनिबार पनि बुद्धनगरस्थित रोजबर्ड स्कुलपूर्व शंखमुल जाने सडक पिच भइरहेको थियो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असारमा पिच नगर्न स्थानीय निकायलाई निर्देशन दिए पनि काठमाडौं महानगरपालिकाले धमाधम सडक पिच गरिरहेको छ । बर्खा लागेपछि पानी पर्ने र पिचका लागि उपयुक्त नहुने भए पनि बजेट सक्न धमाधम यस्तो काम जारी राखिएको हो ।

शंखमुल मध्यमार्गस्थिच पाण्डे स्टेसनरीका प्रोपाइटर हरि पाण्डे आइतबार दिउँसो पसलअगाडि एक महिनाअघि बनेको पिचमा पुनः प्याचिङ गरिरहेको देखेर छक्क परेका थिए । उनले अन्नपूर्णसँग भने, ‘एक महिनाअघि पिच गरेको सडकमा महानगरपालिकाले आज प्याचिङ गरिरहेको छ । हेर्दा यति राम्रो देखिएको सडकमा प्याचिङ गर्दा नयाँ कपडा टालेजस्तो देखिएको छ ।'

महानगरपालिकाले गरेको यो काम सीधै बजेट सक्नकै लागि हो भन्ने उनको पनि बुझाइ छ । उनले भने, ‘सरकारी कार्यालय ११ महिना के हेरेर बस्छन् र बर्खा लागेपछि अन्तिम महिनामा पानी पर्दैगर्दा पिच गर्छन् ?'

शनिबार पिच गरेको बुद्धनगरस्थित पवित्र मार्गमा भाँडापसल गर्दै आएका सुशील तामाङले भने, ‘शनिबार पिच गयो, राति पानी परेको थियो बिहान ठाउँठाउँमा पानी जमिरहेको थियो, त्यहीं गाडी गुडिरहेका छन् । अब एकदुई दिनमै भत्किनेमा शंका छैन ।'

छेवैको सयपत्री क्याटरिङका सञ्चालक अर्जुन श्रेष्ठले उक्त सडकमा ग्राब्रेल र मसिनो सामग्री हालेर पेल्नुपर्ने भए पनि महानगरपालिकाले त्यसो नगरेको बताए । उनले भने, ‘यो बाटो पिच गर्ने तयारी एक वर्षभन्दा अघिदेखिको हो । तर पिच गर्दा असार नै रोजे । यो नाममात्रको पिच हो ।'

काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख डा. उत्तरकुमार रेग्मीले भारतीय नाकाबन्दीका कारण समयमा काम गर्न नपाउँदा पिचको कार्य असारमा पुगेको बताए । उनले भने, ‘अहिले पूर्वमनसुनका कारण पनि पानी परिरहेको छ । नत्र बर्खाको पानीमा पिच गरेर हामी पनि खतरा मोल्न चाहँदैनौं ।'

उनले कुनै काम सक्नैपर्ने त कुनै तीनचार वर्षदेखिको प्रयासमा रहेकाले केही सडक पिच गर्ने काम प्राथमिकताका साथ गर्नुपरेको बताए । उनले प्राविधिक रूपमा फागुनदेखि मात्र पिच गर्न सहज हुने भएकाले आर्थिक वर्षको पछिल्ला महिनामा धेरै पिच हुने गरेको पनि बताए ।

स्थानीय विकास मन्त्रालयको आर्थिक प्रशासन शाखाका प्रमुख सुवासचन्द्र शिवाकोटीले असारमा पिच गर्ने अख्तियारी नदिन मन्त्रालय दृढ भएको दाबी गरे । उनले यसका कारण यसपटक धेरै हदसम्म असारमा पिच हुने काम रोकिएको बताए । उनले भने, ‘रकमान्तर र स्रोत नमिलेको अवस्थामा बाहेक असारमा पिच गर्ने अख्तियारी किन र केका लागि भनेर सम्बन्धित निकायलाई स्पष्टीकरण सोध्छौं ।'

मन्त्रालयकै नगरपालिका व्यवस्था शाखाका प्रमुख चिरञ्जीवी तिमिल्सिनाले असारमा पिच गर्ने राष्ट्रिय रोग भएको स्वीकार्दै नगरपालिकाका साथै सम्बन्धित सबै सरकारी निकायमा एउटै प्रवृत्ति देखिएको बताए । उनले भने, ‘अघिल्लो नगर परिषद्बाटै योजनाको छनोट र बजेटको व्यवस्था गर्ने भएकाले चैत्रभित्रै आधा काम सक्न निर्देशन दिएका छौं । नगरपालिकाले हतारो लगाए पनि उपभोक्ता समिति र ठेकेदारका कारण ढिलो भएका छन् ।'

उनका अनुसार मन्त्रालयकै सचिव अध्यक्ष भएको जगेडा कोषको रकम जेठमा मात्र निकासा भएको र रोड बोर्डबाट पनि करिब एक अर्ब रुपैयाँ जेठमै निकासा भएकाले अहिले पिच भइरहेको हो । सडक विभागका सहायक प्रवक्ता लक्ष्मीकान्त भट्टले विभाग मातहतका डिभिजन सडक कार्यालय र अन्य निकायलाई वैशाख १ गतेदेखि नै पिच गर्नबाट रोक लगाएको बताए । उनले भने, ‘असारमा कुनै हालतमा सडक पिच नगर्न विभागीय निर्देशन दिएका छौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.