काश्मिरमा संचार माध्यममाथि नियन्त्रण
काठमाडौं : भारत प्रशासित काश्मिरमा त्यहाँका अधिकारीहरुले जारी हिंसालाई बाहना बनाएर संचारमाध्यममाथि नियन्त्रण र प्रहार गर्न थालेका छन्।
सुरक्षा संवेदनशिलताको कारण देखाउँदै पत्रपत्रिका तथा केबल टेलिभिजन बन्द गरिएका छन्। समाचारको स्वतन्त्र संकलन, पत्रपत्रिकाको प्रकाशन र वितरणमा समेत स्थानीय प्रशासन तथा सुरक्षा फौजले अवरोध गर्न थालेका छन्।
काश्मिर केही दिनदेखि जारी तनाव जटिल बन्दै गएपछि त्यसको तारो मिडिया बनेको हो। बिद्रोही संगठन हिज्बुल मुजाहिदीनका कमाण्ड बुरहान वानी मारिएपछि यहाँको तनावले हिंसात्मक रुप लिएको हो। हिंसात्मक प्रदर्शन र झडमा ३० जनाको ज्यान गइसकेको छ।
संचार माध्यममाथि गरिएको आक्रमण र प्रतिबन्धको संचारकर्मीहरुले विरोध गरेका छन्। उनीहरुले प्रेस स्वतन्त्रताको माग गर्दै प्रदर्शन गरेका छन्।
जम्बु काश्मिर राज्यले पहिले नै कर्फ्यु लगाएको छ भने मोबाइल फोन सेवासमेत बन्द गरेको छ। पत्रपत्रिका र टेलिभिजनले हिंसात्मक प्रदर्शन र प्रतिरोधलाई अतिरंजित रुपमा प्रस्तुत गरेको आरोप लगाइएको छ। तर जम्बु काश्मिर राज्यका अधिकारीहरुले भने संचारमाथि कुनै प्रतिबन्ध नलगाइएको दाबी गरेका छन्। एजेन्सीहरु।