विश्वकै गहना फोक्सुन्डोको वरिपरि

यात्रा
चारैतिर हिमचुचुरा । बीचमा नीलो देखिने कञ्चन पानी । साँझपखको समय । चिसो हावा सररर, एकोहोरो आफ्नै गतिमा छ । शुभ र स्निग्ध से–फोक्सुन्डो लोभलाग्दो ढंगले थुपुक्क बसेको छ काञ्जीरोवा हिमालको काखमा । त्यही लेकाली हावासँगै से–फोक्सुन्डो तालमा स्थिर पानीको ताल भने उन्मक्त जवानीझैं घरि यता घरि उता सल्बलाइरहेछ । लाग्छ, उसको १६ वर्षे जवानीले आगन्तुक सबैलाई लठ्ठ बनाइरहन्छ ।
एकछिन अघिसम्म झलमल्ल लागेको घाम देब्रेतिरबाट सुटुक्क हिमचुचुराभित्र लुक्नै लागेको थियो । चुचुराबाट छरिएको शक्तिविहीन प्रकाश से–फोक्सुन्डोलाई लालीमय बनाइरहेको थियो । मानौं, प्राकृतिक सुन्दरताले भरिपूर्ण युवतीका गालामा अझ रातो बनाउँदै थियो घामको प्रकाश । उत्तरतर्फ डाँडामाथि टुक्रुक्क बसेजस्ता सेता बादलले थपेको सौन्दर्य तालका लागि सुनमा सुगन्धझै भयो । आसपासको चट्टानी पहाडहरूले से–फोक्सुन्डोको सौन्दर्य खुल्न सहज वातावरण बनाइदिएको भान हुन्थ्यो जो कसैलाई । यसको साक्षी बनेको थियो, रिग्मो बस्ती ।
विकटको पनि विकट मानिने कर्णाली अञ्चल । भौगोलिक दृष्टिले नेपालको सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको अञ्चल हो कर्णाली । अञ्चलभित्रको मात्र होइन, मुलुककै सबैभन्दा ठूलो जिल्ला हो डोल्पा । २१ हजार तीन सय ५१ वर्गकिलोमिटर रहेको कर्णालीभित्र सात हजार आठ सय ८९ वर्गकिलोमिटरमा अवस्थित छ डोल्पा । एउटा वडाबाट अर्को वडा पुग्न एक दिन लाग्ने अनि वल्लाछेउबाट पल्लोछेउ पुग्दा सात दिन लाग्ने पनि त्यही डोल्पा । त्यही विकट डोल्पाभित्रको सुन्दर फूल हो, से–फोक्सुन्डो ।
अझै पनि डोल्पा र हुम्लामा मोटरबाटो पुगेको छैन । सडक सञ्जालले डोल्पाको दुनै जोड्न अब १६ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । जहाजको विकल्प खोज्नेहरू दुनैबाट डेढ दिन हिँडेर बस पक्रने र बसबाट दुई दिनको यात्रापछि नेपालगन्ज पुग्ने रहेछन् ।
से–फोक्सुन्डोको एकापट्टि ६० घरधुरीको रिग्मो अर्कोपट्टि पाँच सय वर्ष पुरानो गुम्बा । लगत्तै सुरु हुने उपल्लो डोल्पाको आधारशीला हो से–फोक्सुन्डो । सदरमुकाम दुनैबाट दुई दिन उकालो हिँडेर आइपुग्नेहरूको थकाइ मेट्ने ‘मसाज’ हो, से–फोक्सुन्डो । चीन छुने उपल्लो डोल्पाका लागि बाँकी चार, पाँच दिन हिँड्न ऊर्जा दिने ‘मुस्कान’ हो, से–फोक्सुन्डो । से–फोक्सुन्डोको सामु पर्दा मेरो मुखबाट फुत्त निस्कियो, चट्टान र खुइले डाँडा अनि विकटताको चरम प्रतिविम्ब मात्र होइन डोल्पा । प्राकृतिक लेपनले शृंगारिक बनेको से–फोक्सुन्डो पनि हो डोल्पा ।
से–फोक्सुन्डो, डोल्पा अनि कर्णालीको मात्र गहना होइन । यो त विश्वकै गहना हो, गर्व हो अनि गौरव पनि । तीन हजार नौ सय मिटर उचाइमा रहेर पनि नेपालकै सबैभन्दा गहिरो ताल हो, से–फोक्सुन्डो । मिटरमा नापजाँच गर्ने हो भने यसको गहिराइ ६ सय ५० छ । सुनदहबाट तापरिचा र चुनुवारहुँदै ठाडो उकालो चढेपछि देखिने से–फोक्सुन्डो छेवैमा पुगेपछि लाग्छ, अँगालोमा बेरिरहुँ । परैदेखि सर्लक्कै जे देखिन्छ, जति देखिन्छ त्यो र त्यतिमात्र होइन से–फोक्सुन्डो ।
स्कुलेजीवनमा पढेको कर्णाली, कर्णालीभित्रको डोल्पा, से–फोक्सुन्डो ताल अनि से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सबै सबैसँग पहिलोपटक रुमलिइरहेका थियौं हामी । हामी सबैको सपना साकार हुँदै थियो । र त तालको छेवैको होटेलको आँगन रोजेर बसे पनि हाम्रा आँखा प्रत्येक पल स्निग्ध तालमै हुन्थे । कुरो पनि तालकै । तालको सुगम संगीत सुन्ने कान पनि तालतिरै । तीन दिनदेखिको उकालोको थकान शरीरले निरन्तर गरिरहेको बेला पनि मन एकतमासले रमाइरहेको थियो ।
कृषि क्याम्पस चितवनबाट अवकाश जीवन बिताएका प्राध्यापक डा. पुण्यप्रसाद रेग्मीले मनका कुरा रोक्नै सक्नु भएन, ‘धरती र स्वर्गको संगम रहेछ से–फोक्सुन्डो । नेपाल र नेपालीको गर्व ।’ सेता बादलहरू बेला बेला नीलो तालको माथि सररर उडेर कहिले काञ्जीरोवा हिमालतिरबाट रिग्मो बस्तीतिर उडिरहन्थे । कहिले हूल बाँधिएर चराचुरुंगी बासस्थानतिर हुइँकिन्थे । मलाई भने तालको चिसो पानीजस्तै लाग्ने चिसो हावाले गरेको स्पर्श साँझलाई सक्ने प्रयासमा लागेको रातझैं लागिरहेको थियो ।
डीएफआईडीको केप्टाका इन्जिनियर शुभकण्ठ शर्माले निकैबेर गमेपछि थप्नुभयो, ‘से–फोक्सुन्डोको वरिपरिका डाँडामा हरियाली भएको भए सायद यो नीलो तालको सौन्दर्य फिका हुन्थ्यो सायद ।’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको कर्णाली रोजगार कार्यक्रमका संयोजक सुमन घिमिरेले से–फोक्सुन्डो प्राकृतिक रूपमा अद्भुत रहेको र यो अतुलनीय रहेको बताए । उनले भने, ‘मानवीय हस्तक्षेपको कमीले सायद प्राकृतिक पन जीवितै रहेछ । यसलाई नबिगारे भैगो, सुन्दर स्त्रीलाई जसरी शृंगार आवश्यक हुन्न से–फोक्सुन्डोलाई पनि सिँगार्नु नपर्ने रैछ ।’
...
‘अमेरिकाको भिसा लाग्नुभन्दा कर्णालीको भिसा लाग्नु ठूलो कुरो रहेछ’, राजधानीमा भ्रमणप्रेमी प्रबुद्धले भनेका थिए । उनले थपेका थिए, ‘नेपाल बुझ्न कर्णाली पुग्नू ।’ २०७३ असार १३ गते डोल्पाका लागि राजधानी छोड्नुपर्ने । उपयुक्त मौसमका कारण खासगरी भारतीय तीर्थयात्री नेपालगन्ज हुँदै हुम्लाको सिमीकोटबाट हिल्सा पुगेर मानसरोवर जान तँछाडमछाड गर्दै रहेछन् । न नेपालगन्जमा बस्ने राम्रो होटेल न डोल्पा जाने जुफालका लागि हवाईटिकट ।
‘एक घर एक रोजगार’ नारा दिएर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले १० वर्षअघि सुरु गरेको कर्णाली रोजगार कार्यक्रमबाट सुमन घिमिरे, कार्यक्रमलाई अनुगमन गरी चुस्त, पारदर्शी र दिगो बनाउने प्रयासमा लागेको डीएफआईडीको कर्णाली रोजगार कार्यक्रम प्राविधिक समूह (केप्टा) का टिमलिडरसमेत रहेका प्राडा पुण्यप्रसाद रेग्मी, केप्टाका इन्जिनियर लिडर शुभकण्ठ शर्मा र मेरा लागि केप्टाकै कार्यक्रम अधिकृत भूपेन्द्र लम्सालले आइतबार मध्याह्नमात्र मुस्किलले टिकट व्यवस्थापन गर्न सके ।
कर्णाली जान अन्य देशको जस्तो भिसा नै त चाहिँदैन । विदेश जत्तिकै महँगो यात्रा र त्यहाँ पुग्न एक्लो प्रयास असम्भवजस्तै हुने भएर रहेछ कर्णालीको भिसा भनिएको । ‘अन्नपूर्ण पोस्ट्’ मार्फत् १२ वर्षदेखि स्थानीय विकास मन्त्रालय र एक दशकदेखि नै कर्णाली रोजगार कार्यक्रमको समाचार र आलेख लेखे पनि यो अवसर जुरेको थिएन । साइत जुरेर नेपालगन्ज पुगेका हामीले सुन्नुपर्यो, खराब मौसमका कारण जुफल विमानस्थल (डोल्पा) मा जहाज अवतरण हुन सकेका छैनन् । कैयौं यात्रु नेपालगन्ज विमानस्थल जाँदै होटेलमा फर्कंदै गरेको सुनेपछि लाग्यो, ‘कर्णालीको भिसा’ चानचुने अवसर होइन ।
जुफालका लागि बिहान ८ बजे उडान हुने गरे पनि हामीलाई सबेरै पाँचै बजे नेपालगन्ज विमानस्थल बोलाइएको थियो । मध्याह्न ११ बजेपछि हुइँकिने हावाका कारण जुफाल विमानस्थल सधैं बन्द हुँदोरहेछ । पुग्दा दिनभर मौसम खुल्ने सम्भावना छैन भनेर सुनियो । ताराको हामो विमान मानसरोवर जाने तीर्थालुलाई लिएर हुम्लाको सिमीकोटतिर लाग्यो । मानसरोवरको मौसमले एकै दिनमा ५० उडानसम्म भएछन् नेपालगन्ज–सिमीकोट । सात बज्यो, घाम झुलुक्क भएपछि खबर आयो, जुफालको मौसम अनुकूल भयो । पाँच दिनपछि खुलेको जुफाल पुग्यौं । सम्झें, ‘कर्णालीको भिसा’ चानचुने होइन रैछ ।
अझै पनि डोल्पा र हुम्लामा मोटरबाटो पुगेको छैन । सडक सञ्जालले डोल्पाको दुनै जोड्न अब १६ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । जहाजको विकल्प खोज्नेहरू दुनैबाट डेढ दिन हिँडेर बस पक्रने र बसबाट दुई दिनको यात्रापछि नेपालगन्ज पुग्ने रहेछन् । हवाईजहाजमा भए बढीमा ४० मिनेट । भेरी नदीको किनारामा रहेको दुनै चारैतिरबाट अग्लो पहाडले घेरिएको छ । डोल्पाको सुगम भनेको दुनैमात्र एउटा हो । बाटो खन्न डोजर पुग्ने कुरै भएन, यसका बाबजुद पनि स्थानीयले करिब १० किलोमिटर सडक खनेका रहेछन् । जुफलबाट दुनै पुग्ने यो एक लेनको सडकमा १० वटा जिप, पाँचवटा ट्रयाक्टर र एउटा मोटरसाइकल ओहोरदोहोर गर्छन् । ससुराली दुनै भएका सल्यानका जनक बुढा र स्थानीय व्यापारी दुनैका विष्णु बुढाले २०७० सालमा हेलिकोप्टरबाट फोरह्विल जिप झारेर डोल्पामा गाडी गुडाउन थालेको रहेछन् ।
क्षेत्रफलका दृष्टिले मुलुककै ठूलो जिल्ला भए पनि जनसंख्याको दृष्टिले ३७ हजारमा सीमित जनसंख्या भएको जिल्ला रहेछ डोल्पा । डोल्पाली विकासका दृष्टिले डोल्पालाई तल्लो डोल्पा, मध्यवर्ती डोल्पा र उपल्लो डोल्पा गरी तीन भागमा वर्गीकरण गर्न चाहँदा रहेछन् । सडक विकासको मूल आधार हो । डोल्पामा भएका २३ गाउँ विकास समितिमा गोरेटो र बढीमा घोडेटो नै ‘भव्य’ सडक हुन् । यो पनि सबै गाविस र गाविसका सबै भागमा पुगेको छैन । अझ उपल्लो डोल्पा त प्राकृतिक सुन्दरताले मात्रै ‘भव्य’ छ, सडकका दृष्टिले अत्यन्तै ‘गरिब’ छ । जसरी कर्णाली रोजगार कार्यक्रमले ‘अति विपन्न’ लाई योजनाहरूमा सहभागी गर्छ त्यस्तै ‘अति विपन्न’ को अवस्थामा छ सडक र अन्य विकास ।
...
‘विकासका लागि आएको बजेट ‘टाठाबाठा’ ले भागबन्डा लगाएरै सक्छन्’ यस्तै सुनेको थिएँ तर अपुष्ट भएकाले मनमै राखेको थिएँ। दुनैबाट टोलीसँगै पाँच घन्टा उकालो हिँडेर रह गाविस पुगेपछि स्थानीय बासिन्दाबाट पनि त्यही सुनेपछि लाग्यो, ‘हावा नचली पात हल्लिँदैन ।’ कतिपय गाउँलेले त गाउँ परिषद्बाट के के योजना जिल्लामा पठाए, जिल्ला परिषद्ले कुन कुनलाई छनोट गर्यो र कति बजेट छुट्यायो अनि कहिले कुन योजना÷आयोजना सुरु भएर कहिले सकिने हो ? केही पत्तो पाउँदैन रहेछन् ।
रहवासी भन्दै थिए, ‘१० वर्ष भयो हजुर जिल्ला विकास समितिले गाविसमा योजना नछुट्याएको । छुट्याइहाले पनि स्थानीय विकास अधिकारी, इन्जिनियर र उपभोक्ता समितिको अध्यक्ष मिले भने योजना छुट्याए पनि कागजमै हुन्छ, बीचमै काम सकिन्छ ।’ रहवासीले स्थानीय खोलाबाट बिजुली बालेका थिए तर स्वच्छ खानेपानीको अभावमा बर्सेनि झाडापखाला र महामारी खेप्न बाध्य रहेछन् । अशिक्षाले ‘चोरी विवाह’ अझै कायमै रहेछ ।
रहसँग जोडिएको फोक्सुन्डो गाविसमा पुग्दा छेक्पाबाट र्याँची जाने चार घन्टाको यात्राअवधिमा एउटा घरसम्म कतै भेटिएन । र्याँचीमा १६ जना बालबालिकाका लागि प्रधानाध्यापक र शिक्षकको व्यवस्था रहेछ शुभकामना प्राविमा । तर पढ्न आउने तीन–पाँचजना मात्र । प्राकृतिक सुन्दरताले भरिपूर्ण छेक्पा, र्याँची, सुनदह, चुनुवार भौतिक पूर्वाधार विकासका दृष्टिले ‘शून्य’ अवस्थामा छन् । समग्र डोल्पालीलाई न प्रजातन्त्र, न लोकतन्त्र न गणतन्त्र नै लागेको थियो ।
एउटा अचम्म बुझियो डोल्पालीमा । कर्णाली रोजगार कार्यक्रममा सडक खन्ने होस् वा अन्य योजनामा काम गर्ने, चाहे घर, विद्यालय बनाउने होस् वा खानेपानीको अति आवश्यक काम, अधिकांश डोल्पाली काममा निस्कँदैन रहेछन् । जाजरकोट, रामेछापजस्ता अन्य जिल्लाबाट आएर श्रम गर्दा रहेछन् ।
डोल्पाली काम गर्न लाज मान्ने रैछन् । जतिसुकै गरिब किन नहुन् । वर्षको एक महिना लेकतिर गएर ‘कीरा’ अर्थात् ‘यार्चा’ टिप्ने र चार, पाँच लाख रुपैयाँ कमाउने कारण डोल्पालीमा अल्छीपन बढेको स्थानीय बताउँछन् । दुई वर्ष भएछ, कीराबाट भने जसरी कमाउन नपाएको । ‘अर्को वर्ष पनि कीरा पाइएन भने के खाने ? ’, अब धेरै डोल्पाली यसै भन्न थालेका छन् ।
पर्यटकीय मार्ग पर्ने स्थानमा भने आन्तरिक र बाह्य पर्यटकका कारण होटेल राख्नेहरूले बेलामौकामा कमाउने अवसर पाउने रहेछन् । यो पनि पर्यटक निरन्तर र संख्या बढी भइरहेमात्र । तर यस्ता ठाउँका बासिन्दा भने जनसम्पर्कले निकै चनाखो भएका रहेछन् । मध्यवर्तीहुँदै उपल्लो डोल्पातिर जाँदै गर्दा डोल्पालीहरू गरिब नै बढी भेटिए । ५० देखि ५५ सम्मको उमेर हुँदो हो भनेर सोध्दा एक डोल्पालीले भने, ‘म ३५ वर्षको ।’ हामी सबै छक्क पर्यौं । उमेरमै अनुहार चाउरी पर्नु, हातले निधारको पसिना पुछ्नु, झुत्रो टोपी र मैलिएको (कही कतै च्यातिएको) कालो कोट लगाउनु, लामो समय ननुहाउनु उनीहरूको विशेषताझैं लाग्थ्यो । बाटोमा भेटिएकाहरूले भने, ‘हजुर, वर्षभरि कमाइखाने बाली लाग्दैन । हिउँले घरबारी सबै छोप्छ । नपढेका धेरै छौं, रोजगार छैन । सरकारले गरिखाने ठाउँ दिए जाति हुन्थ्यो ।’
प्रतिक्रिया दिनुहोस !
