१२-पाक, २७ कुरा

पोहोर भैंचालो गयो । अद्यापि गइरहेको छ । नेपालको लगभग सबैजसो भाग थर्कियो । गोरखादेखि काभल हुँदै दोलखा–सिन्धुपाल्चोकसम्म मानवीय–भौतिक क्षति धेरै नै भयो । हजारौंको ज्यान गयो । लाखौं घरबारविहीन भए । जन–धनको बेहिसाब क्षति भयो । मानवीय, प्राकृतिक, सांस्कृतिक, मनोवैज्ञानिक, आर्थिक, वातावरणीय हुँदै राजनीतिक/कूटनीतिक क्षतिसमेत भोग्यौं, भोगिरहेछौं । अघिल्लो अप्रिलमा आएको अप्रिय ‘भौगर्भिक छापामार' र त्यसको बितन्डाबारे लेखक–पत्रकारले कलम चलाएका छन् । ‘अप्रिय अप्रिल' नामक अभिलेख–लेख सँगालो पुस्तक पढिमाग्न हाजिर छ ।
पुस्तकमा २७ जनाका एकएकवटा लेख संगृहीत छन् । गोरखाबाटै उदाएको ‘भौगर्भिक छापामार'बारे गोरखामै कार्यरत पत्रकारदेखि अमेरिकामा बस्नेसम्मका अनुभूति छन् । भैंचालोले सताउनु सताएका गुरुङ सुशान्तको अनुभवदेखि प्रत्यक्ष रूपमा केही असर नपरेका लेखकसम्मका अनुभूति एकै ठाउँ छन् । डाक्टर, पत्रकार, ज्योतिषी औतारका लेखकका अनुभूति छन् । धेरैजसो लेखक स्वयं पीडा भोगेकाभन्दा पनि राहत वितरकहरू छन् ।
पुस्तकको पहिलो लेख ‘मातृभूमि ऋण' भुइँचालोभन्दा पनि राष्ट्रिय ऋणबारे, हाम्रो पराधीन र अस्तव्यस्त अर्थतन्त्रबारे केन्द्रित छ । सरस्वती प्रतीक्षा भूकम्प पीडित (भूपी)हरूको सहायतार्थ हिँडेकी छन् । अभय श्रेष्ठको लेख भिन्न कोणबारे लेखिएको छ । उनी क्षतविक्षत भएको आफ्नो गाउँलाई सकेसम्म ‘राहतवञ्चित' गाउँ बनाउन चाहन्छन् । आफ्नो गाउँ र गाउँलेहरू पराश्रित हुने हुन् कि भन्ने डर छ उनलाई । लेखन र जीवन दुवै रूपमा संवेदनशील अभयले गाउँमा थुप्रै काम गरेका छन् । छोरालाई चिठी लेख्दै चितवनका भूपिन एकसाथ काठमाडौं प्लस भूकम्प अनुभूति र अनुभव सुनाइरहेका छन् ।
विषय र शैली दुवै हिसाबले विनोदविक्रम केसीको ‘प्रकोप र पात्रहरू' पठनीयमात्र हैन, सोचनीय पनि छ । उनी फारु गरी शब्द प्रयोग गर्छन् र अर्थको आधारइलाका व्यापक बनाउने सामथ्र्य राख्छन् । शीर्षकमा ‘पात्र' भए पनि उनले थुप्रै पात्रका प्रवृत्तिगत स्वभाव उधिनेका छन् । विनोदः द ड्यान्जरस राइटर ! विनोदलगत्तै दीपक सापकोटाको लेख छ । यी दुईमा फरक छ– विनोद शब्द खर्चिन एकदम किफायती, दीपकचाहिँ ह्वारह्वार्ती । ‘गाउँको हाडखोर टेकेर'मा दीपकले रसुवाको ठूलोगाउँ अर्थात् खण्डहर बनेको लासगाउँ र आफ्नो पुख्र्यौली गाउँ कुशादेवीको नोस्टाल्जिया उतारेका छन् ।
‘मेरो भागको भैंचालो एउटा रोमाञ्चक अनुभवमात्रै' लेख्ने गनेस पौडेल सहायतार्थ गोरखा पुगेको कथा हाल्छन् । भैंचालोको ज्योतिषीय व्याख्या गर्दै हरिहर अधिकारीले पूर्वानुमान गर्न सकिने ‘हाइपोथेसिस' प्रस्तुत गरेका छन् । कुनै दिन शनि र मंगलले साँच्चै पूर्वानुमान गरिदिए झनै बढी क्षति होला कि ? मान्छेहरू केके मात्रै लिएर ज्यान जोगाउन कसरी कहाँ–कहाँसम्म पुग्दा हुन् ! अधिकारीको ‘हाइपोथेसिस' पुष्टि नहोओस् यार, अहिले त भैंचालोले धनीगरीब सबैलाई समान व्यवहार गरेको छ, जुन दिन अनुमान हुनेछ गरीबको जुनी सधैं माटोमुनि । हैट् !
गुरुङ सुशान्त भैंचालो प्लस यस पुस्तकका केन्द्रीय क्यारेक्टर र न्यारेटर दुवै हुन् । उनले बेहोर्नु परेको अकल्पनीय पीडा कल्पनातीत छ । पारिवारिक–सामुदायिक क्षतिको पराकाष्ठा भोगेका उनी भाउजूसहित बाइकमा भोलिपल्टै गाउँ पुग्छन् । गाउँको पाठ्य– श्रव्यदृश्य यति वियोगान्त छ कि संसारका कुनै काल्पनिक नाकट/कथा/सिनेमाले कल्पनामै सही, यस्तो अपूरणीय क्षति बेहोर्नु परेन । भैंचालोले विक्षिप्त भएका उनीसँग यस पीडामा म आफैं पनि लामो समय सँगै रहेँ । भैँचालो आइरहँदा, टेबुलमुनि लुक्दा उनको मनमा खेलेका दुई पृष्ठ सोचाइ अतिशयुक्तिजस्तो लाग्छ ।
सुरुमा एक मिनेट पनि नआएको भूकम्प अवधिभर यत्ति धेरै दार्शनिक÷वैचारिक कुरा र स्टेटमेन्टस् कसरी सोचे हुनन् ? भैंचालोले लामो समय निःशब्द र रुन्चेपिन्चे भएका उनको यो लेख यही रूपमा कुरूप प्लस सुन्दर दुवै छ । भत्केको÷बिग्रेको पनि एउटा रचना/निर्माण/आकार हो भन्ने विनिर्माणवादीहरूले भत्केको मन, मान्छे, घर, सम्पदामा के स्वाद/सौन्दर्य देखे हुनन् ?
लक्ष्मण श्रेष्ठ ‘जीवन भनेको मृत्युबाट भाग्ने खेल' भन्दै क्वेकमान्डुबाट भागेर बुटवल घर पुगेका छन् । नारायणी देवकोटा सौराहामा छिन् । उनी अनावश्यक उत्तेजित भएकी छन्, चितवन–नवलपरासीलाई सामान्य देखाउन । डर, त्रास थिएन, जनजीवन उस्तै थियो भने पनि मनोविज्ञान उनले परख गर्न सकिनन् कि ? उनी ‘तथ्यमा आधारित भएर भन्ने हो भने' लेख्छिन् तर काठमाडौंका ८० प्रतिशत घर विज्ञका सुझाव र भवन निर्माण आचारसंहिताअनुसार नबनेका भन्छिन् ।
गोँगबु–सीतापाइला क्षतिको कारण ठोकुवा गरेकी छन् । स्रोत उल्लेख छैन । ०९७ सालको भूकम्प भनेर के भनेको होला ? उनी लेखन र अनुसन्धानमा रुचि भएकी मेरी प्रिय मित्र हुन्, उनलाई लेखनमा तथ्य–तथ्यांकको प्रयोग गर्दा विचार गर्न अनुरोध गर्छु ।
विगतका भूकम्पबारे हामीले पढ्न नपाउँदा धेरै भ्रम फिँजिए । परकम्पको आवृत्तिमै हामी अलमलियौं । यो पुस्तक भावी दिनमा भैंचालो सम्झाउन पठनीय छ । हामीले अपनाउनुपर्ने सावधानीबारे भने पुस्तकमा खास चर्चा छैन ।
दुइटा सुन्दर पुस्तक लेखिसकेका भए पनि ‘चिकित्सक भएर पनि लेखक ? ' भनिन्छ, रामेश कोइरालालाई । महेशविक्रम शाहले मदन पुरस्कार नपाएका हुँदा हुन् त अचम्म मान्दै अझै भनिन्थ्यो होला, ‘बन्दुक समात्नेले पनि कलम ? ' रामेश कोइरालाको लेख भिन्न तरिकाको छ । तीन र दुई गरी पाँच पेज पढेपछि उनी भन्छन्, यो मेरो संस्मरण होइन । के हो त ? पाठकहरू आफैं पढ्नुहोला । उनी ‘भूपि'हरूको सहयोगका लागि महिनौं गाउँगाउँ डुलेको मलाई थाहा छ तर उनले यसो गरेँ–उसो गरेँ लेखेका छैनन् । अस्ति एक भेटमा मैले रामेशलाई सोधेँ, ‘धेरैले लेख्या छन्, किन नलेख्या ? ' उनले भने, ‘पछि छुट्टै लेख्छु भने पनि सहयोगको कुरा सायद लेख्दिनँ होला ।'
एयाग्नोस्टिक रवीन्द्र मि श्रको लेख अनुभूति र स्वीकारोक्तिको सुन्दर मि श्रण हो । ‘ईश्वर नै ईश्वरले घेरिएको आँगनमा' अर्थात् थेइस्टबाट सुरु भएर ‘साँच्चिकै ईश्वर कहाँ छन्' अर्थात् एथेइस्टमा टुंगिएको उनको कविता पठनीय छ । ‘मृत्युबोध सकारात्मक प्रेरणाको सबभन्दा ठूलो स्रोत हो' भन्ने कथनमा सहमति जनाउन सकिन्छ ।
‘ऋतुविचार'झैं ‘भूकम्प–विचार'का रूपमा निबन्धकार रोशन शेरचनको ‘सेस्मिक ल्यान्डस्केप' पठनीय छ । पुस्तकको अन्तिम लेख ‘शनि—१२'०७२' मा लेखक कुमार नगरकोटीले शैलीगत भिन्नता कायमै राखी विचार÷दर्शनको गाम्भीर्य प्रस्तुत गरेका छन् । कतिपय पाठक उनका अनुप्रासयुक्त, हास्ययुक्त र भिन्न शब्द पढेर त्यसमै रमाउलान् तर उनले दिन खोजेको अर्थ गहिरो र फराकिलो दुवै हुन्छ । उनी हाम्रो युगमा स्वादिला लेखक हुन् ।
शार्दूल भराईले भैँचालोको मनोवैज्ञानिक असर सजीव तरिकाले उतारेका छन् । गोरखाली पत्रकार शिवप्रसाद उप्रेतीको लेखले जीओ, एनजीओ, आइएनजीओका अनुहार उतारेको छ । राहतका नाममा भएको मनोमानी र लुटबारे उनले जानकारी पस्केका छन् । यो लेख पुस्तकको ओज हो । अविनाश श्रेष्ठको अनिष्टको संकेत–डायरी तथा गाउँले बलदेवको व्यंग्य पनि छ पुस्तकमा । कल्पना बान्तवाको पेय, च्यूरा, दालमोठसहित मादल र बाँसुरीको तालमा उत्सव ‘भोज' अपच हुने खालको छ । देशबाहिर बस्ने–रहेका शिव प्रकाश, कुमारी लामा, सौरभ, सुरेश रानाभाट, भगवान खनाल, डा. उत्तमबाबु श्रेष्ठका लेख पनि पुस्तकमा संगृहीत छन् ।
विगतका भूकम्पबारे हामीले पढ्न नपाउँदा धेरै भ्रम फिँजिए । परकम्पको आवृत्तिमै हामी अलमलियौं । यो पुस्तक भावी दिनमा भैंचालो सम्झाउन पठनीय छ । हामीले अपनाउनुपर्ने सावधानीबारे भने पुस्तकमा खास चर्चा छैन । यो अनुभूतिजन्य पुस्तक भएको हुँदा यसमा क्षतिको विवरण छैन । पुस्तकका सम्पादक राजकुमार बानियाँले पुस्तकलाई ‘अप्रिल–अनुभूति' भनिसकेपछि तथ्यतथ्यांक, विवरण, जोगिने तरिका, झटपट झोलाजस्ता कुरा यसमा खोजेर पनि काम छैन ।
यसपालिको भूकम्प केन्द्रित भई लेखिएका पुस्तकमध्ये यो ‘अप्रिल अप्रिल' र ‘करेज इन केओसः अर्ली रेस्क्यु एन्ड रिलिफ अफ्टर द अप्रिल अर्थक्वेक' पुस्तक विशेष पठनीय छन् । हामी नेपालीहरू चाँडै बिर्सन्छौं, भावुक हुन्छौं, माफी दिइहाल्छौं, गल्ती दोहोर्याइरहन्छौं । यस्तो अवस्थामा तीतो कुरा सम्झाउन र उद्धार–राहत शीघ्र र व्यवस्थित गर्न यस्ता पुस्तकको खाँ
प्रतिक्रिया दिनुहोस !
