समाजले नै तलब दिएर राख्छ यौनकर्मीलार्इ

दक्षिणपूर्वी अफ्रिकाको भूपरिवेष्टित देश मलावीको दुर्गम दक्षिणी भेगहरूमा अचेल पनि रजस्वला भइसकेका केटीहरूसँग यौनसम्पर्क गराउनकै लागि ‘हायना' भनिने तलबी यौनकर्मी राख्ने परम्परा कायम छ । गाउँका बूढापाकाहरू यसलाई बलात्कार मान्दैनन् । उनीहरूका निम्ति यो ‘शुद्धीकरण'को संस्कार हो ।
तर, बीबीसीका पत्रकार एड बट्लर भने यसलाई रोग फैलाउने माध्यमका रूपमा बुझ्छन् । एड बट्लरले साउन ५ गते बीबीसी रेडियोको नियमित कार्यक्रम ‘असाइन्मेन्ट'का निम्ति तयार गरेको रिपोर्टः
एरिक अनिभालाई मैले दक्षिणी मलावीको एन्सान्जे जिल्लास्थित आफ्नै तीनकोठे झुप्रोको धुले आँगनमा भेटेँ । बाहिर फोहोरमा बाख्रा र कुखुराहरू आहारा खोज्दैथिए । एरिकले हरियो रङको मैलो कमिज लगाएका थिए । हिँड्दा एउटा खुट्टा खोच्याउँथे । जन्मजातै उनी खोरन्डो थिए, उनी आफैंले भनेका । उनले बडो उत्साहले मलाई स्वागत गरे । मिडियाको ध्यान तान्न उनी रुचि मान्छन् जस्तो लाग्यो ।
हरेक हिसाबबाट अनिभा यो गाउँका निपुण ‘हायना' हुन् । दक्षिणी मलावीका विभिन्न दुर्गम भागमा यौनिक शुद्धीकरणका लागि समुदायले नै तलब दिएर राखेको पुरुषलाई यो परम्परागत पगरी गुथाइन्छ । कुनै पुरुष मर्यो भने उसको लास गाड्नुअघि उसकी श्रीमती हायनासँग सुत्नैपर्ने परम्परा नै बनेको छ । कुनै महिलाले गर्भपतन गराइन् भने पनि यौनिक शुद्धीकरण गर्नु उत्तिकै अनिवार्य ठानिन्छ ।
अझ अचम्मलाग्दो त के भने, एन्सान्जेमा युवतीहरूलाई पहिलोपल्ट रजस्वला हुनासाथै कुनै क्याम्पमा लगिन्छ र तीन दिनसम्म हायनासँगै राखी यौनसम्पर्क गर्न लगाइन्छ । यसपछिमात्र बालिकाबाट पूर्ण महिलामा रूपान्तरित भएको मानिन्छ । ती केटीहरूले भनेअनुसार गरेनन् भने परिवार वा पूरै गाउँमै महामारी फैलने वा कुनै अपशकुन हुनसक्ने विश्वास गरिन्छ ।
‘अहिलेसम्म जोजोसँग म सुतेँ, धेरैजसो केटीहरू नै थिए, खासमा स्कुल जाने केटीहरू ।' अनिभाले भने, ‘कतिपय केटीहरू भर्खर बाह्र, तेह्रका हुन्छन्, तर म अलि उमेर पुगेकासँग सम्पर्क गर्न मन पराउँछु । यी सबै केटीहरू मलाई उनीहरूको हायनाको रूपमा पाउँदा खुसशी हुन्छन्, साँच्चै भन्नुपर्दा उनीहरू सबै गर्व महसुस गर्छन् । अरूहरूलाई मेरोबारे भन्छन्– मर्द भनेको त अनिभा पो त, आइमाईलाई तृप्त बनाउने सबै कला छ उसमा ।'
अनिभाले जति फूर्ति गरे पनि यथार्थ त्यस्तो थिएन । नजिकैको टोलमा भेटिएका एक हूल केटीहरूले यो अप्रिय संस्कारबारे मनको वह पोखिहाले । ‘आफ्नो इच्छाअनुसार मैले केही गर्न सक्दिनथेँ । बाउआमाका लागि मैले यो सब गरेको । मैले नमानेको भए मेरा परिवारजन रोगको सिकार हुनुपथ्र्यो, कोही मर्न पनि सक्थ्यो ।
त्यसैले म डराएँ र उनीहरूले भनेको मानेँ', मारिया नाम बताउने केटीले भनिन् । मैले त्यतिखेरै चाल पाएँ, अन्धविश्वास नै सामाजिक नियम बनेको रहेछ यहाँ । ‘हामी सबै हायनासँग यौनसम्पर्क गर्न बाध्य थियौं', ती युवतीले यथार्थ ओकले ।
अभिरा चालीसको हाराहारीका देखिन्छन् तर ठ्याक्कै कति वर्ष पुगे, उनी आफैंलाई थाहा छैन । सयभन्दा धेरै महिलासँग सम्पर्क गरेको दावा छ उनको । तर उनले यसको हिसाब राख्न छाडेको निकै भइसकेछ । आजसम्म कतिजना किशोरी र आइमाईलाई गर्भवती बनाए, त्यसको पनि अत्तोपत्तो छैन उनलाई । दुइटी स्वास्नी र पाँच केटाकेटी छन् उनका । उनले के काम गर्छन्, सबै जानकारी छ उनीहरूलाई ।
त्यो समुदायमा रहेका १० हायनामध्ये पर्छन् उनी । उनको भनाइमा एन्सान्जे जिल्लाका हरेक गाउँमा एकजना हायना भेटिन्छ । तीनदेखि पाँच डलर पाउँछन् हरेक हायनाले ।
एक घन्टा ओरालो बाटोमा गाडी कुदाएपछि फागिसी, क्रिसी र फेलियासँग भेट्न पुगेँ म । तीनैजना पचासको नेटो काटेझैं लाग्थ्यो । आआफ्नो गाउँमा यही परम्परा जोगाउने महिला थिए उनीहरू । हरेक साल किशोरी केटीहरूलाई बटुल्ने, क्याम्पमा बसाउने, हायनालाई स्वास्नी जसरी सेवा पुर्याउने अनि उसलाई कसरी यौन सन्तुष्टि दिने; यावत् सिकाउने गर्छन् उनीहरू ।
हायनासँगको यौनिक शुद्धीकरण यो कुप्रथाको अन्तिम अध्याय हो । केटीहरूका अभिभावकहरू आफैं सक्रिय रहन्छन् यसका लागि । ‘आफ्ना अभिभावक वा आफन्तलाई रोगको संक्रमणबाट जोगाउन यो संस्कार अनिवार्य छ', तीनैजनाले जिकिर गरे ।
‘शुद्धीकरण नामको यो प्रथा धेरै घातक छ, यसले रोग फैलाउने निश्चित छ', मैले आफ्नो तर्क राखेँ । यो परम्परा मुताविक हायनासँग यौनसम्पर्क राख्दा कन्डमको प्रयोग गर्ने छुट छैन । उनीहरूको बुझाइमा असल आचरण र नैतिकता भएको मान्छेलाई हायना बनाइने भएकाले एचआईभी÷एड्सबाट संक्रमित हुने कुनै सम्भावना नै रहँदैन । यथार्थ के भने धेरैभन्दा धेरै महिलासँग यौनसम्पर्क राख्नुपर्ने दायित्व नै हो हायनाको ।
त्यसैले त समुदायको निम्ति एचआईभी डरलाग्दो चुनौती बनेको छ । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार मलावीका १० नागरिकमध्ये एकजना एचआईभी संक्रमित छन् । त्यसैले मैले अभिरालाई सोधेँ, ‘तिमी एचआईभी पोजिटिभ हौ ? ' उनको सकारात्मक जवाफले म झस्किएँ । अझ तर्सिनुपर्ने त के भने उनीसँग यौनसम्पर्कका लागि छोरी सुम्पिने बाउआमालाई समेत उनले आफू संक्रमित भएको बताएका छैनन् ।
हाम्रो कुराकानी बढ्दै जाँदा आफ्नो भनाइ मैले नपत्याएजस्तो लागेछ अनिभालाई । त्यसपछि उनले गफ दिन छाडे र वास्तविक धरातलमा ओर्लिए, ‘शुद्धीकरण अभ्यासमा पहिलेभन्दा अलि कम संलग्न छु आजभोलि । तर पनि कहिले यता, कहिले उता कुदिरहेकै छु,, यो संस्कारको मुख्य हिस्सेदार मै त हुँ । तर यो सब छोड्दैछु चाँडै ।'
यो संस्कारमा संलग्न सबैलाई बाहिरी जगत्ले यसको भत्र्सना गर्ने थाहा छ । चर्च तथा सरकारी र गैरसरकारी संस्थाहरूले यो कुप्रथाको विरोध गरिआएका छन् । केही संस्थाले त ‘खतरनाक सांस्कृतिक अभ्यास' भनी योविरुद्ध अभियान नै चलाएका छन् ।
‘हामी आमनागरिकलाई गलत नजरले हेर्दैनौं', लैंगिक तथा जनकल्याण मन्त्रालयकी स्थायी सचिव डा. मे सावाले भन्छिन्, ‘तर यो संस्कार फेर्नुपर्छ भनेर उनीहरूलाई बुझाउँदैछौं हामी ।' केही मानिसले हायनातर्फ अलि शिक्षित बाउआमाको रुचि घट्न थालिसकेको बताए । तर पनि मैले भेटेका अग्रज महिलाहरू पुरानै चलनमा अड्डी लिइरहेका थिए ।
‘हाम्रो संस्कृतिमा गलत त्यस्तो केही छैन', क्रिसीले तर्क गरिन् । ‘आजको समाजलाई नियालेर हेर्नु त, केटीहरू कति छाडा भइसके । गाउँका केटीहरू नबिग्रिऊन्, बिहेपछि असल स्वास्नी बनेर लोग्नेलाई खुसी राखून् भनेर उनीहरूलाई राम्रो आचरण सिकाउनु हाम्रो कर्तव्य होइन र ? ' उनले उल्टो प्रश्न गरिन् ।
फ्रान्समा जन्मेका तर पचास वर्षदेखि मलावीमा बस्दै आएका क्याथोलिक धर्मगुरु फादर क्लाउस् वाउचर अब्बल मानवशास्त्रीसमेत हुन् । उनका अनुसार यी संस्कारहरू सदियौंदेखि कायम छन् । ‘तत्कालीन समाजले केटाकेटीलाई यौनकार्यको माध्यमबाट वयस्क अवस्थाको ‘उत्तेजना' पैदा गराउने अनिवार्यता बोध गर्यो ।
यसैमा आधारित युगीन मान्यताबाट जन्मेका हुन् यी संस्कार । विगतमा पन्ध्रसोह्र वर्षको उमेरसम्म पनि रजस्वला नहुने केटीहरूलाई उत्तेजित गराउने काम भावी लोग्नेबाटै गराइन्थ्यो । अहिले भने यो काम बिहेअघि नै तलबी यौनकर्मीबाट गराइन्छ । अनि यसमा केको लज्जाबोध भयो र ? '
फादर वाउचर थप्छन्, ‘मलावीमा इसाई धर्म प्रवेश गरेको सय वर्षभन्दा धेरै भइसक्यो । एड्सको महामारी फैलिएको पनि तीस वर्ष नाघिसक्यो । तर पनि दुर्गम दक्षिणी भेगहरूमा केटाकेटीको यौनीकरणलाई चुनौती दिने हरेक प्रयासविरुद्ध चलेको छ, निर्मम प्रतिरोध । अर्को कुरा राजधानी सहर लिलोंगवे वरपरका सहर तथा धेरै गाउँमा यौनिक शुद्धीकरणको यो कुप्रथा विरलै छ अस्तित्वमा ।
मलावीमा अति कममात्रै नारीवादी भेटिन्छन् । तिनैमध्येकी टेरेसा काचिन्डामोतो यो परम्पराविरुद्ध एक्लै लड्दै आएकी छन् । त्यसैले अन्य क्षेत्रका समकक्षीसँग मिलेर यस्ता प्रयासमा हातेमालो गर्दैछन् उनी । मलावीको मध्य क्षेत्रको डेजा जिल्लामा हायनाहरू विधवा अथवा निःसन्तान महिलाहरूका हकमा मात्र प्रयोग हुन्छन् ।
मान्गोचीलगायतका पूर्वी केही जिल्लामा त यौनसम्पर्कको सट्टा शुद्धीकरणका सहज पद्धति व्यवहारमा आइसके । तर एन्सान्जेमा भने परिवर्तनका लागि खासै पहल भएको छैन । संसारकै अत्यन्त गरिब देशमध्येको एक मलावीको भोकमरीको खबरले बढी प्राथमिकता पाउने भएकाले पनि होला, यो कुप्रथा यहाँको नीतिगत प्राथमिकतामा अझै पर्न बाँकी छ ।
मैले अनिभाकी स्वास्नी (फ्यानी) र उनकी सानी छोरीलाई पनि भेटेँ । अनिभाले यौनसम्पर्क गरेर ‘शुद्ध बनाउनु' अघिसम्म फ्यानी विधवा थिइन् रे । त्यसको लगत्तै उनीहरूको बिहे भएछ । अहिले उनीहरूबीचको सम्बन्ध तनावपूर्ण लाग्छ । लोग्नेकै छेउमा असजिलोसँग बस्दै उनले प्वाक्कै भनिन्, ‘यिनको काम त कत्ति मन पर्दैन । तर के गर्नु ? खर्चको जोहो त्यसबाटै हुन्छ ।' लगभग अबको १० वर्षमा उनकी दुईवर्षे छोरीको पनि शुद्धीकरण गर्नुपर्नेछ । त्यस्तै चाहन्छिन् त उनी ? मैले प्रश्न गरेँ ।
‘अहँ, यो संस्कार अझै चलोस् भन्ने म चाहन्नँ । बरु यसको अन्त्य भएको देख्न चाहन्छु । हामी हायनासँग सुत्न बाध्य हुन्छौं । हामीलाई त्यस्तो गर्ने इच्छा नै हुँदैन । साह्रै दुःख लाग्छ, हामी महिलाको यस्तोे अवस्था देख्दा ।'
‘तिमीलाई यस्तो भोग्नुपर्दा घृणा जागेन ? ' मैले सोधेँ ।
‘त्यति बेला मात्र होइन, म त अहिले पनि घृणा गर्छु', उनले भनिन् ।
मैले अनिभालाई यसैगरी उनकी छोरीको यौनिक शुद्धीकरण होस् भन्ने चाहन्छिन् त भनेर सोधेँ । उनको जवाफ सुनेर म जिल्ल परेँ । भनिन्, ‘अहँ, मेरी छोरीलाई यसबाट गुज्रिनै नपरोस् । अबउप्रान्त म यो कुप्रथा अन्त्यका लागि लड्नेछु ।'
‘तिमी यसविरुद्ध लड्ने अनि यही काम अझै गरिरहने ? '
‘होइन होइन । भनिसकेँ त, अब म यो काम गर्दै गर्दिनँ ।'
‘साँच्चै भनेका हौ त ? '
‘पक्का हो । साँच्चै नै छोडिदिन्छु यो काम ।'
अनुवादः गणेश खनिया
प्रतिक्रिया दिनुहोस !
