फिल्ममेकरको दिमागमा बजारको भूत

फिल्म
फेरिएका दर्शक
पछिल्लो चरण ‘कालो पोथी’ले धेरै दर्शक र राम्रो टिप्पणी पायो । यो फिल्मका थुप्रै सीमा छन् तर यसले नेपाली सिनेमाको भाषा विस्तार गरेको छ, नेपाली फिल्म दुनियाँलाई फराकिलो बनाएको छ । बजारमा पारम्परिक सिनेमा हेर्ने दर्शकको रुचिभन्दा भिन्न खालको सिनेमा सफल हुनु आफँैमा ठूलो उपलब्धि हो ।
यसले देखाउँछ, नेपाली दर्शकको रुचि कसरी परिस्कृत हुँदै गइरहेको छ । मौलिक र गम्भीर चलचित्र मन पराउने दर्शकको संख्या बढेको देखिन्छ । अहिले नेपाली सिनेमा निर्माता, निर्देशकभन्दा दर्शकहरू नै बढी परिपक्व भएका छन् र यो स्वाभाविक पनि छ । किनभने डिजिटल माध्यमको विकासले ठूलो फड्को मारेको छ । यसले गर्दा दर्शकहरू संसारभरका समकालीन सिनेमा हेर्न सक्षम बनेका छन् । र, दर्शकहरूमा परिपक्वता ल्याएको छ ।
दर्शकमा परिपक्वता केले ल्याउँछ ? समाज विकासक्रमले नै त्यसमा भूमिका खेलेको हुन्छ । दर्शकमा परिपक्वता ल्याउने मुख्य पक्ष समाजको विकासक्रम नै हो । पछिल्लो समय हाम्रो समाज खुला र उदार बन्दै गएको छ । समाजले विविधता स्वीकार्न थालेको छ । त्यसको परावर्तन फिल्ममा पनि परेको हो ।
यसमा मिडियाले पनि ठूलो भूमिका खेलेको छ । अर्कोतर्फ पठन संस्कृति पनि ह्वात्तै बढेको छ । १८ देखि ३० को उमेर समूहलाई चलचित्र हेर्ने उमेर समूहको रूपमा मानिन्छ । यो उमेरसमूहमा पठन संस्कृति पनि बढ्दो छ । त्यसैले पनि दर्शकको रुचिमा परिपक्वता बढेको छ । फलस्वरूप समाजमा जीवनसँग नजिक भएको र यथार्थपरक फिल्म हेरिने क्रम बढेको छ ।
सिनेमाको वर्तमान स्वरूप
वर्तमान समयमा नेपाली सिनेमाको रूपान्तरणको प्रयास सुुरु भएको छ । सिनेमाले अहिले मौलिकता खोजिरहेको छ । जति स्थानीय भयो, मौलिकता त्यति नै बलियो हुने हो । हिजो हामीलाई बलिउडले एकदमै प्रभावित ग¥यो । त्यसपछि अरू सिनेमाहरूको प्रभाव हामीमा प¥यो । कहिले कोरियन, कहिले मद्रासी र कहिले हलिउडको प्रभाव ग्रहण गरिरह्यौं । तर, अहिले मौलिकताको खोजी भइरहेको छ । चलचित्रको विषय र भाषालाई जति स्थानीयकरण गर्न सक्छौं, त्यो त्यति अन्तर्राष्ट्रिय हुँदो रहेछ । त्यति नै दर्शकले माया गर्दा रैछन् । नयाँ छिमलका निर्देशकहरूलाई यो बोध भएको छ ।
तर, नेपाली सिनेमाको रूपान्तरणमा जति काम हुनुपर्ने हो, त्यति भएजस्तो देखिन्न । पाँचसात वर्ष लगाएर ‘कालो पोथी’जस्तो एउटा सिनेमा बन्छ । अर्कोतर्फ ‘बजारमा चल्छ, चलाउनुपर्छ’ भन्ने मानसिकताले धेरैजसो सिनेमा बनिरहेका छन् । फिल्म निर्माताहरूमा आफ्नो क्राफ्टमा विश्वास नभएर बजारको मागअनुसार फिल्म बनाउने भन्ने देखिन्छ । फिल्म निर्माण मूलतः क्रिएटिभ आर्ट हो । तर, क्रिएटिभ आर्टमा हुनुपर्ने खोज, अनुसन्धान र क्रियाशीलता पुग्दै पुगेको छैन । चलचित्रको रूप र विषयवस्तु दुवैमा गतिलो काम हुन सकेको छैन ।
सूत्रबद्धताले स्टेरियोटाइप अभिनय जन्माउँछ भन्ने त खगेन्द्र लामिछाने वा दयाहाङ राईजस्ता ‘आफूलाई हिरो होइन अभिनेता हुँ’ भन्ने कलाकारले बुझ्नुपर्ने हो । स्टेरियोटाइप भत्काउन अभिनयमा पनि खोज गर्नुपर्ने हो तर त्यस्तो भएको पाइन्न ।
रुसी निर्देशक आन्द्रेइ तारकोभ्स्की भन्छन्, ‘फिल्म भनेको कथामात्र होइन, काव्य पनि हो ।’ तर, हाम्रोमा काव्य खोज्ने काम भएकै छैन । अर्कोतर्फ विषयवस्तुमा पनि समाजलाई अग्रगति दिने, अझ विकसित बनाउने तरिकाले उठान भएको हुन सकेको छैन । पछिल्लो समय सफल भइरहेका चलचित्रले पनि सीमान्तकृत समुदाय, महिला, अपांगको चासोलाई राजनीतिक रूपमा सही ढंगले उठाउन सकिरहेको छैन ।
हिजो चलचित्रमा एकप्रकारको सूत्रबद्धता थियो— प्रकाश थापा, तुलसी घिमिरेहरूले सुरु गरेको । त्यो सूत्रबद्धता आज तोडिएको त छ । तर, फेरि अर्को प्रकारको सूत्र–सिनेमा सुरु भएको छ । पछिल्लो चरणमा युवाहरूले मौलिकताको नाममा बनाइरहेका सिक्वेल सिनेमाहरूले नयाँ प्रकारको सूत्रबद्धता निर्माण गरिरहेको छ ।
सिक्वेल बनाउने भनेको एउटा सफल फिल्मको उपयोग गरेर अर्को फिल्मलाई सफल बनाउने हो । एउटै कुरालाई बारम्बार दोहो¥याइरहे त्यसले सूत्र निर्माण गर्छ । यो सूत्रको खोज बजारप्रतिको मोह हो । ‘बजारमा यस्तै चल्छ, दर्शकले फलानाको फिल्म मन पराएको थियो त्यही बनाऊँ’ भन्ने खालको चिन्तन हो यो ।
केही फिल्ममेकरले आफूलाई मौलिक चलचित्र निर्माणमा गम्भीर छौं भन्छन् तर हुनुपर्ने गाम्भीर्य उनीहरूमा छैन । बजारले सधैं गुणलाई इन्डोर्स गर्छ भन्नेछैन । उनीहरूले ‘चलचित्रलाई गम्भीर बनाउन चाहन्छौं, मुद्दाहरू उठाउन चाहन्छौं’ भनिरहेका छन् तर चलचित्र बनाउँदा त्यसलाई चाहिने रचनात्मक गम्भीरता भने त्यसमा पाइँदैन । नामै लिएर भन्नुपर्दा सफल मानिएका ‘पशुपतिप्रसाद’, ‘कबड्डी कबड्डी’ वा ‘टलकजंग भर्सेस टुल्के’जस्ता चलचित्रमा विषयअनुरूपको कला गायब छ । त्यसमा सम्बन्धित विषयअनुसार क्यामेरा कसरी चल्नुपर्छ, सम्पादन वा अभिनय कस्तो हुनुपर्छ भन्नेमा ध्यान दिइएको छैन । जस्तै, ‘पशुपतिप्रसाद’ र ‘कबड्डी कबड्डी’ दुई भिन्न जीवन–दर्शन बोक्ने चरित्रको कथामा आधारित छन् ।
ती चलचित्रको विश्वास फरक छ । ध्येय, उद्देश्य र भूगोल पनि फरकपmरक छ । तर दुवैको छायांकनको शैली एउटै छ । पशुपति मन्दिरको चोक, साँघुरो गल्ली र थाकखोलाको खुलापनमा एउटै फ्रेम कसरी मिल्छ ? पशुपतिको घाटको जीवन र थकाली काजीको जीवनको लय (रिदम) कसरी एउटै हुनसक्छ ? त्यो लय छायांकन र सम्पादनमा देखिनुपर्ने हो । चलचित्रको छायांकन, सम्पादनले विषयअनुसार आफ्नो दर्शन स्थापित गर्नुपर्ने हो । त्यसो गरेमात्र कथ्यलाई न्याय हुन्छ र त्यो एक अर्कोभन्दा भिन्न हुन्छ, मौलिक हुन्छ ।
अभिनयमा पनि त्यही लागू हुन्छ । सूत्रबद्धताले स्टेरियोटाइप (रूढिबद्धता) अभिनय जन्माउँछ भन्ने त खगेन्द्र वा दयाहाङजस्ता ‘आफूलाई हिरो होइन अभिनेता हुँ’ भन्ने कलाकारले बुझ्नुपर्ने हो । रूढिबद्धता भत्काउन अभिनयमा पनि खोज गर्नुपर्ने हो तर त्यस्तो भएको पाइन्न । ‘कबड्डी कबड्डी’मा थकाली समुदायको सामाजिक प्रक्रियालाई ध्यान दिइएको छैन । यो गर्नुपर्ने खोजको चरम अभाव हो । एउटा फिल्म सफल भयो भने त्यसैलाई पछ्याउने गरिएको छ । किन सफल भयो त्यो खोजी गरिँदैन ।
सामाजिक सम्बोधनको हिसाबले पनि समस्या छ । ‘कबड्डी कबड्डी’मा सौगात मल्ललाई थकालीको छोरोका रूपमा प्रस्तुत गरिएको छ । सौगात मल्ल कसरी थकालीको छोरो हुन सक्छ ? हुन नसक्ने होइन, हुनसक्छ तर त्यसले कथालाई अर्कै मोड दिन्छ । चलचित्रमा छोराका लागि खेताला लाउने प्रसंग पनि छ, त्यसले त त्यता इंगित गर्छ । तर, बजारका लागि सौगातलाई थकालीको छोरो बनाइएको हो । बजारकै लागि सिनेमा बनाउँदा पनि सिनेमाको आवश्यकता र यसको व्याकरणसँग मिल्ने बनाउनुपर्छ । ‘सिनेम्याटिक लिब्रेटी’को नाममा जे पायो त्यही गर्न हुन्न । तर, हाम्रोमा त्यो ध्यान दिइँदैन । बजारमा चलचित्र चले पुग्यो ।
बजारमा चल्ने सिनेमाहरूले पनि यसको भाषालाई विकास गर्नुपर्छ । त्यो भाषालाई सही तरिकाले उपयोग पनि गर्नुपर्छ । कसरी आर्यन अनुहारको मानिस मंगोल अनुहारको बाउको छोरो हुनसक्छ ? त्यो त हुनै सक्दैन । बजारको नाममा, सिनेम्याटिक लिब्रेटीको नाममा यो ज्यादती चलिराखेको छ ।
अर्को प्रकारको सिनेमा छ— आदिवासी जनजातिहरूले बनाइरहेको । त्यसमा केही अथेन्टिक काम हुन खोजिरहेजस्तो देखिन्छ । तर, त्यहाँ पनि ठूलो समस्या छ । त्यहाँ पनि नेपाली वा हिन्दी फिल्मको एकदमै ठूलो प्रभाव छ । आदिवासी सिनेमा त भिन्न विश्वास र जीवन–दर्शनमा आधारित हुन्छ । त्यसको निश्चित नियम, अनुशासन र पद्धति छ । तर सिनेमालाई नियम, अनुशासन र पद्धतिभन्दा कोसौं टाढा पु¥याउने काम आजका आदिवासी फिल्मकर्मीहरूले गरिरहेका छन् । यसले कालान्तरमा आदिवासीको पहिचानलाई निर्माण गर्ने नभई समस्या उत्पन्न गर्ने देखिन्छ ।
यस्ता कामले सिनेमाप्रति समाजमा निर्माण हुनुपर्ने अवधारणा निर्माण गर्न सकिरहेको छैन । जस्ता सिनेमाहरू चल्छन्, समाजमा त्यस्तै ठीक भन्ने भ्रम उत्पन्न गरिदिन्छ । यो आधिकारिकताको मात्र समस्या होइन । एउटा समुदायले अर्को समुदायलाई हेर्ने दृष्टिकोणमा ल्याउने परिपक्वताको पनि समस्या हो । हाम्रो सिनेमामा यस्तो परिपक्वताको टड्कारो अभाव देखिन्छ । जस्तो, मधेसी समुदायको कथाबारे फिल्म बनाउछौं भने मधेसी समुदायकै कलाकारलाई किन नखेलाउने ? तर, पहाडी मूलको ठूलो हिरोलाई मधेसी फिल्ममा खेलाउँदा मधेसी समुदायमा ‘हामी त हिरो बन्न नसक्ने रहेछौं’ भन्ने हीन भावना उत्पन्न भइरहेको हुन्छ ।
यसले समाजलाई अग्रगति दिँदैन । दुई-चार वर्ष ‘ए यो चलिरहेकै छ क्यारे’ भनेर पछि लाग्न पनि सक्छौं । तर, आज हामीले जसरी पञ्चायतकालमा बनेको फिल्ममा प्रश्न उठाइरहेका छौं, १०–१५ वर्षपछाडि आजका सिनेमालाई लिएर त्यस्तै प्रश्न नउठ्लान् भन्न सकिन्न । भोलिको पुस्ताले त्यसरी प्रश्न उठाउँदा अहिलेका राम्रो मानिएका सिनेमाहरूलाई गाली गर्ने स्थिति आयो भने त्यो राम्रो भएन ।
उज्यालो सम्भावना
‘कालोपोथी’का निर्देशक मीन भामको काम र अन्तर्वार्ता हेर्दा उनले फिल्मलाई गम्भीर रूपले लिएका छन् भन्ने लाग्छ । उनले ‘बजारसँग सम्झौता गर्दिनँ’ भनेका छन् । त्यसले फिल्म राम्रो बनाउन भूमिका खेल्छ । अब उनी के गर्छन् भन्ने उनका भावी कामले देखाउलान् ।
अन्य चलचित्रकर्मीसँग पनि म संवाद गर्ने कोसिस गर्छु । उहाँहरूले भात खाने कुरा गर्नुहुन्छ । भात खान चलचित्र बनाएको भन्नुहुन्छ । भात खान बनाउने चलचित्र त्यति गम्भीर हुन्छन् जस्तो मलाई लाग्दैन । हुन त मीन वा अरूले भात खाँदैनन् भन्ने होइन ।
एउटा सकारात्मक पाटो, पछिल्लो पुस्तामा केही आन्दोलन भित्रभित्रै चलिरहेका छन् । सर्ट फिल्महरू बनिरहेका छन्, त्यसमा रचनात्मक खोज भइरहेछन् । विकल्प भनेर केही नयाँ सोच लिएर वैचारिक अवधारणा नै अगाडि सारेका केही समूह छन् । तर, उनीहरूको काम ठ्याक्कै सामुन्ने आइसकेको छैन । त्यसैले पाँचसात वर्ष त पर्खिनै पर्ला । मानिसहरूले मलाई ‘गम्भीर, वैचारिक वा आर्ट सिनेमा मात्र सिनेमा हो, अरू ‘मनोरञ्जन’का लागि बनाइने सिनेमालाई सिनेमा नै होइन’ भन्यो भन्ने ठान्लान् । मेरो प्रश्न— सिनेमाको ध्येय र कलाको उद्देश्यलाई समात्नसक्ने चलचित्र बनेको छ कि छैन भन्ने हो ।
‘कबड्डी कबड्डी’मा सौगात मल्ललाई थकालीको छोरोका रूपमा प्रस्तुत गरिएको छ । सौगात मल्ल कसरी थकालीको छोरो हुनसक्छ ? बजारकै लागि सिनेमा बनाउँदा पनि सिनेमाको आवश्यकता र व्याकरणसँग मिल्ने गरी पो बनाउनुपर्छ । ‘सिनेम्याटिक लिब्रेटी’को नाममा जे पायो त्यही गर्न हुन्न ।
त्यसो त एकै प्रकारको चलचित्र मात्रै बन्न हुन्न । ‘कालो पोथी’मात्र बन्यो भने त्यसले अर्को समस्या ल्याउँछ । फिल्म त ‘कबड्डी कबड्डी’जस्तो पनि बनाउनुपर्छ । सूत्रबद्ध चलचित्र बनाए पनि हुन्छ । तर, त्यो विधा प्रयोग गर्दा मानवीय मूल्य विखण्डित गर्नुहुन्न भन्नेमा ध्यान दिनुपर्छ । अर्कोतर्फ जुन रूप वा शैलीमा काम गरिन्छ त्यसमा रचनात्मकता ल्याउन जोड दिनुपर्छ । सबै प्रकारको सिनेमा बन्नुपर्छ तर ती सिनेमा राजनीतिक रूपमा ठीक हुनुपर्छ । समाजलाई अग्रगतितिर लैजाने र चलचित्रलाई नै विकास गर्ने खालको हुनुपर्छ सिनेमा ।
फिल्ममा ‘जनयुद्ध’
फिल्ममेकर पनि समाजकै अंग हो । फिल्ममा उसले कुनै विषयमा आफ्नै ढंगले प्रतिक्रिया जनाउने हो । फिल्ममेकरले ‘जनयुद्ध’ वा अन्यको आलोचना गर्न पाउँदैन भन्ने होइन । उसले आलोचना गर्न पाउँछ । आलोचना गर्नुपर्छ पनि । आलोचना गरेन भने त्यो आन्दोलन सुध्रिँदैन । अहिले माओवादी आन्दोलनमाथि धेरै फिल्मकर्मीले आलोचना गरिरहेका छन् । यसको आफ्नै कारण छ । अहिले नेपालको राजनीतिसँग सन्तुष्ट हुने ठाउँ छैन ।
माओवादीप्रति मात्र होइन, कांग्रेस, एमाले कसैप्रति पनि जनता सन्तुष्ट छैनन् । कुनै पार्टीको सदस्यले त पक्षधरता लिन सक्ला । तर, पार्टीमा आबद्ध नभएको र राजनीतिबाट विकास र समृद्धिको अपेक्षा राख्नेलाई निराशामात्र सिर्जना भइरहेको छ । त्यसको परावर्तन पनि फिल्ममा आइरहेको हो । हेर्नुपर्ने के हो भने त्यो आलोचनाले सुधार गर्ने ठाउँ दिन्छ कि दिँदैन ? जस्तो ‘कालो पोथी’ हेर्दा, उक्त फिल्मले यो कालखण्डमा हत्या÷हिंसाका कारण धेरै मानिस विस्थापित भए भन्छ । त्यसो त राज्यलाई पनि आलोचना गरिएको छ । पसल बन्द गराएर पसले विस्थापित भएको आदि देखाएको पनि छ । फिल्मले समस्या भएको ठाउँ पहिल्याएको मात्र हो । फिल्मले मानिसलाई विस्थापित नगरी क्रान्ति हुन सक्दैनथ्यो र ? भनेर प्रश्न उठाएको हो । त्यसले माओवादीलाई सच्चिने ठाउँ दिएको छ । तर, प्रोपोगन्डाको तहमा सिनेमा बनायो भने सिनेमाकै दुरुपयोग हुन्छ । यस्तो विषयमा सचेत हुनुपर्छ ।
सिनेमा र साहित्य
नेपालमा सिनेमा र साहित्यबीचको सम्बन्ध सहज बनिसकेको छैन । सिनेमालाई अझै पनि हेयको दृष्टिले हेरिन्छ । नेपालमा सिनेमाभन्दा नाटक महान्, नाटकभन्दा साहित्य महान् भन्ने सोच छ । तर, हरेकको आआफ्नै महŒव छ । हरेक विषयमा, कलामा त्यत्तिकै काम गर्नुपर्छ । साहित्य राम्रो लेखियो भने सिनेमा राम्रो बन्छ किनभने पाठकको रुचि विस्तार भयो भने दर्शकको रुचि पनि बढ्छ । फ्रान्समा ‘न्यु वेभ’ सिनेमा सुरु हुँदा इन्टरडिस्पिलनरी इन्टरयाक्सन (अन्तरविधागत अन्तरक्रिया) भएको थियो । त्यति बेला साहित्य लेख्नेहरूले सिनेमा लेखे । सिनेमा बनाउनेले उपन्यास लेखे । त्यसले १९५०-१९६० तिर फ्रान्समा उपन्यास लेखनको शैली भत्काएर नयाँ शैली सिर्जना भएको थियो ।
फिल्म मेकिङमा पनि नयाँ भाषाको निर्माण भयो । साहित्य र फिल्म, पेन्टिङ र फिल्मको अन्तरक्रियाले यो सम्भव बनायो । त्यसले फ्रेन्च सिनेमा, साहित्य, पेन्टिङलाई अझै शक्तिशाली बनाइदियो । हाम्रोमा भने अझै पनि हाइरार्की छ । साहित्य लेख्ने महान्, फिल्मकर्मीचाहिँ हावा भन्ने सोच छ । जबसम्म विधाहरूले एक अर्कोलाई सहयोग गर्दैनन् तबसम्म यी विधाहरूको विकास पनि सम्भव छैन ।
गतिलोे गर्नसके जुन आख्यानमा फिल्म बनाइएको हो, त्यो आख्यानभन्दा फिल्म नै शक्तिशाली हुनसक्छ । हलिउडमा त्यस्ता उदाहरण छन् जसले पुस्तककै बिक्री बढाइदिन्छन् । जस्तै— ‘लाइफ अफ पाइ’, ‘दा भिन्ची कोड’ आदि । एडप्टेसन आफँैमा कला हो । साहित्यिक कृतिमाथि बनेका आजसम्मका फिल्म हेर्दा हाम्रा फिल्ममेकरहरूमा त्यस्तो क्षमताको विकास भइसकेको पाइँदैन । अर्कोतर्फ हुनुपर्ने जति अन्तरविधागत अन्तरक्रिया भएको पनि यहाँ भएको छैन । एकअर्कोलाई बुझ्नुपर्ने जति बुझिएको छैन ।
फिल्ममेकरहरूको दिमागमा बजार हावी छ । जस्तै ‘वासुदेव’मा किन गीत चाहिन्छ ? तर, ननाची फिल्म चल्दैन भन्ने छ दिमागमा। अहिले पनि त्यही समस्या छ । लेखक, समय र कृतिलाई बुझिएन भने त्यसलाई फिल्ममा अनुवाद गर्न समस्या हुन्छ । लेखनमा सीमा हुँदैन तर फिल्ममा हुन्छ । फिल्मको एउटा फ्रेमले जति वर्णन गर्नसक्छ लेखनमा त्यही गर्न हजारौं शब्द खर्च गर्नुपर्ने हुन्छ ।
सामाजिक चिन्तनमा सिनेमा
पछिल्लो चरण सामाजिक चिन्तनमा उल्लेख्य प्रभाव पार्नेगरी सिनेमा निर्माण सुरु भएको छ । जस्तो हामीले नै सचेत रूपमा फिल्म बनाउन सुरु गरेका छौं । कम्तीमा पाँच-सातजना सचेत रूपमा फिल्म बनाइरहेका फिल्मकर्मी यहाँ छन् । सिनेमा शक्तिशाली माध्यम पनि हो, तुरुन्तै प्रभाव पार्ने खालको । तुरुन्तै छलफल चलाउनसक्ने । अहिले त सोसल मिडियाले गर्दा तात्तातै प्रतिक्रिया आउँछ ।
फिल्मले सोसल डायलगका रूपमा केही प्रभाव त पारेकै छ । सिनेमाले सामाजिक चिन्तनमा के प्रभाव पा¥यो भन्ने एउटा उदाहरण यस्तो छ— ‘दलन’ भन्ने टेलिसिरियलका लागि झन्डै ६ सय फ्यान क्लब बने । तीमध्ये ८० प्रतिशतचाहिँ गैरदलित अझ तथाकथित माथिल्लो जातकाले बनाएका थिए । यसले छुवाछूत समस्या समाधान गर्नुपर्छ भन्नेमा दलितजत्तिकै गैरदलित पनि चिन्तित रैछन् भन्ने देखायो । तर, समस्या कहाँ हो भने त्यो उठान भएको चेतनालाई फिल्मले संगठित र मुखरित गर्न सक्दैन, त्यसको पहल समाजले नै लिनुपर्छ । त्यो काम भने हुन सकेको छैेन ।
प्रतिक्रिया दिनुहोस !
