एउटा पुलको मृत्यु

साउन ११ गते मंगलबार बिहानै मेरो वर्षौंदेखिको परिचित पुलको मृत्यु भयो । यो आलेखलाई पुलप्रतिको समवेदना भन्नुस् या श्रद्धाञ्जलि । कोही भन्लान्— धत् पुललाई पनि श्रद्धाञ्जलि दिने हो ? तर, त्यो पुल मेरो गाउँलाई सहरसँग जोड्ने नसा थियो, जीवन थियो ।
बुटवलमा बग्ने तिनाउ नदी बहुलाएपछि त्यसको धारले पश्चिम किनार काटिदिँदा त्यो झोलुंगे पुलको जग भासियो र हेर्दाहेर्दै पुल खोलामा हामफाल्यो । जग भासिएर उर्लंदो भेलमा डुबेको थियो झोलुंगे पुल । असलमा पुल मेरो मित्र थियो । पुलको छातीमा उभिएर तिनाउतिर हेर्दै मैले नदीसँग अनेक संवाद गरेको छु । दुःखका साँझहरूमा त्यही पुलको छातीमा उभिएर तिनाउसँग मेरा डिप्रेसन सेयर गरेको छु । हो, त्यही झोलुंगे पुल आज हाम्रो दृश्यमा सग्लो छैन, भग्नावशेषमात्र छ ।
मेरो स्मृतिको एल्बम थाहै नपाई पल्टिन थाल्यो । पचासको दशक सकिँदै गरेका बेला । बुटवल हाम्रो नसामा भिज्दै हुन्छ र हामी बुटवलको नसामा । अर्घाखाँचीको एउटा गाउँबाट बुटवल छिरेको किशोर थाहै नपाई फेरिँदै गरेको सहरको साक्षी बनिरहेको हुन्छ । त्यहीँनेर जोडिन आइपुग्छन् हात्तीसँड, तिनाउ नदी र देवीनगर, बुद्धनगर जोड्ने झोलुंगे पुल ।
गाउँ जोड्ने पुल
नवलपरासीको अन्तिम सीमा कटेर बुटवल उपमहानगरपालिका छिर्नासाथ भेटिने पहिलो चोक हो— राजमार्ग चौराहा । यही चोकमा भैरहवाबाट हुइँकिएर आएको सिद्धार्थ राजमार्ग र पूर्वपश्चिम राजमार्ग अंकमाल गर्छन् र साउती मार्दै उत्तरतिर दौडन्छन् । लुम्बिनी अञ्चल अस्पतालको आकस्मिक कक्ष जाने गेट र पुष्पलाल पार्कबीच थपक्क बसेको चोक पुगेपछि यी दुई सडक छुट्टिन्छन् । सिद्धार्थ राजमार्ग सिद्धबाबाको पहरो कल्पिँदै पोखरा ताकेर हुइँकिन्छ । पूर्वपश्चिम राजमार्गलाई त झन् देशकै पश्चिम कुना पुग्नुपर्छ ।
हो त्यही राजमार्ग चौराहामा ओर्लिएर सुरुसुरु पश्चिम लाग्दा एउटा कुलो तर्नुपर्छ, त्यसको नाम हो छत्तीसे कुलो । बुटवलभन्दा दक्षिणको ३६ मौजा खेत सिँचाइ गर्न तिनाउको पानी तान्ने गरी समुदायकै सक्रियतामा बनाइएको यो कुलो यस भेगकै महत्वपूर्ण कुलो मानिन्छ । धान खेती गर्ने संस्कृतिले निर्माण गरेको सामुदायिकता र त्यसले निर्माण गरेको सामाजिक संरचनाको अध्ययन गर्न यो कुलो महत्वपूर्ण सन्दर्भ सामग्री बनि आएको छ । कुलो पार गरेर अझ पश्चिम गएपछि तिनाउको बगरनेर पुगिन्छ । त्यही ठाउँ हो- हात्तीसुँड ।
पचासको अन्त्यतिर र साठीको सुरुका केही वर्षसम्म यो बगरमा एउटा प्रयोगहीन बाँध जीवित थियो । प्रयोगमा नआए पनि त्यो बाँधको पूर्ण संरचना कायम थियो, जहाँ छेउछाउका मानिस बसिबियाँलो गर्न जान्थे । सिनेमा हलमा देखिने केही फिल्मी गीतका भिडियो सुटिङ पनि त्यहीँ हुन्थ्यो । बाँध कहिले बनेको थियो ? खोजिएन । किन हो कुन्नि ! हल्लैहल्लामा एउटा हल्ला भने सुनियो— तिनाउमा जलकुण्ड बनाई गर्मीमा सिँचाइ गर्न यो बाँध बनाइएको थियो ।
तर, बाँध बनाएको अर्को वर्ष नै तिनाउले बाटो फेरिदिँदा बाँध कुनै काममा आएन । तिनाउमा अनियन्त्रित रूपमा गिट्टी बालुवा उत्खनन गर्दै जाँदा नदी गहिरिँदै गयो । गहिरिएको नदीले यसको जगमा कटान गर्न थाल्यो । हामीले हेर्दाहेर्दै बर्खामा उर्लिएका तिनाउका उत्ताउला छालहरूले यसलाई काट्दै-काट्दै लगे । अनि यो हाम्रो स्मृतिबाट समेत हराउने गरी बगेर गयो । हो त्यही भग्नावशेषसम्म पुग्ने द्वारमा हात्तीका सुँडहरू प्रस्ट झल्किने गरी मूर्तिहरू थिए । त्यसैले होला सायद त्यो ठाउँलाई हात्तीसुँड भनिन्थ्यो । छत्तीसे कुलो कटेदेखि यो बिन्दुसम्मको भूभागलाई देवीनगर भनिन्छ जुन दक्षिणतिर यही नामले तन्किएर गएको छ । यो बिन्दुदेखि पर देखिने तिनाउ नदीपारिको बस्तीलाई बुद्धनगर नाम दिइएको छ ।
बजारमा हाम्रा बाजेहरू घ्यू साटेर नुन किन्न आउँथे । झलकमान गन्धर्वको चर्चित गीत ‘हे बरै’मा परेको ‘बटौलीको बजारैमा दुई पैसा रिन लाछैन'को बटौली नै आजको बुटवल हो ।
पचासको अन्तिमतिर त्यो बुद्धनगरमा आजजस्तो बस्ती थिएन । २०५८-०५९ सालतिरबाट त्यो भूमिमा सुकुमबासी बस्ती बस्न सुरु गरेको सम्झन्छन् पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष शेरबहादुर केसी । तिनाउ नदीमाथि यो पुल बनेपछि भने बस्तीको मुहार फेरियो । २२० मिटर लामो र झन्डै डेढ मिटर चौडाइ पुलले केवल सहरको दुई खण्डलाई जोडेको थियो, यो त बुटवलको अर्थतन्त्र, सामाजिक र राजनीतिक तीनवटै क्षेत्रमा आएको परिवर्तनको एउटा महत्वपूर्ण कारक पनि थियो ।
पुल बनेपछि बुटवलको अर्थतन्त्रमा निकै परिवर्तन आयो । यो परिवर्तन बुझ्न बुटवललाई चिन्नुपर्छ । बुटवल धेरै पुरानो बजार हो । कति पुरानो भने नेपाल-अंग्रेज युद्धको कारक नै यो बजारको दक्षिणका भूभागहरूको कर कसले उठाउने भन्ने थियो । यो बजारमा हाम्रा बाजेहरू घ्यू साटेर नुन किन्न आउँथे । झलकमान गन्धर्वको चर्चित गीत ‘हे बरै'मा परेको ‘बटौलीको बजारैमा दुई पैसा रिन लाछैन'को बटौली नै आजको बुटवल हो ।
र, यो आज पनि उत्तिकै महत्वपूर्ण बस्ती हो । बुटवल आसपासका गाउँहरूबाट आज पनि बुटवलमा दैनिक मजदुरी गर्न मजदुरहरू आइपुग्छन्, बजार गर्न गृहिणीहरू आइपुग्छन् । त्यसरी डेढदुई घन्टासम्मको बाटो साइकल चलाएर बुटवल आउनेका लागि यो पुल वरदान थियो । पुल बनेपछि पूर्वपश्चिम राजमार्गमा मक्किएर बसेको पक्की पुल तर्नु परेन । यसले गर्दा करिब पाँच किलोमिटर बाटो घुम्नुपर्ने समय जोगियो ।
पुल मियो हो विकासको । यसले गाउँहरू जोड्छ । मानिसहरूको सम्बन्ध विस्तार गर्न पुलले अहम् भूमिका खेल्छ जसरी यो पुलले बुटवलसँग अनेक गाउँ जोड्यो । र, बिस्तारै गाउँका नसामा अर्थतन्त्रको प्रवाह उच्च भयो । गाउँ परिवर्तनको मुख्य सूत्र पुल बन्यो भने गाउँहरू जोडिएपछि बुटवल बजार गुल्जार बन्यो । नुनतेल लिन साइकल चढेर आउनेहरू बुटवलका ग्राहक भए । पुलकै बाटो गरेर कुखुरा, खसी तथा अन्य कृषि उत्पादन आउन थालेपछि बुटवल गाउँको ग्राहक भयो । तर, सबैभन्दा पहिलो प्रभावकारी परिवर्तन थियो— उकालो लागेको जग्गाको भाउ ।
र, यो आज पनि उत्तिकै महत्वपूर्ण बस्ती हो । बुटवल आसपासका गाउँहरूबाट आज पनि बुटवलमा दैनिक मजदुरी गर्न मजदुरहरू आइपुग्छन्, बजार गर्न गृहिणीहरू आइपुग्छन् । त्यसरी डेढदुई घन्टासम्मको बाटो साइकल चलाएर बुटवल आउनेका लागि यो पुल वरदान थियो । पुल बनेपछि पूर्वपश्चिम राजमार्गमा मक्किएर बसेको पक्की पुल तर्नु परेन । यसले गर्दा करिब पाँच किलोमिटर बाटो घुम्नुपर्ने समय जोगियो ।
पुल मियो हो विकासको । यसले गाउँहरू जोड्छ । मानिसहरूको सम्बन्ध विस्तार गर्न पुलले अहम् भूमिका खेल्छ जसरी यो पुलले बुटवलसँग अनेक गाउँ जोड्यो । र, बिस्तारै गाउँका नसामा अर्थतन्त्रको प्रवाह उच्च भयो । गाउँ परिवर्तनको मुख्य सूत्र पुल बन्यो भने गाउँहरू जोडिएपछि बुटवल बजार गुल्जार बन्यो । नुनतेल लिन साइकल चढेर आउनेहरू बुटवलका ग्राहक भए । पुलकै बाटो गरेर कुखुरा, खसी तथा अन्य कृषि उत्पादन आउन थालेपछि बुटवल गाउँको ग्राहक भयो । तर, सबैभन्दा पहिलो प्रभावकारी परिवर्तन थियो— उकालो लागेको जग्गाको भाउ ।
पुल बनिसकेपछि बन्जरजस्तो बुद्धनगरको भाउ बढ्न थाल्यो । पुलले बुद्धनगरको बस्ती ह्वात्तै वृद्धि गरिदियो । पुल नबन्दासम्म बुद्धनगरमा बस्ती विकास हुन निकै गाह्रो थियो । साइकल काँधमा बोकेर तिनाउ तरी बजार आउनुपर्ने नभए कम्तीमा तीन किलोमिटर हिँड्नुपर्ने बाध्यतालाई पुलले मेटिदियो । फलस्वरूप बुद्धनगरमा नम्बरी र सुकुमबासी जग्गाको सिर्जना भयो ।
मधेसको सहरमा बस्न चाहने तर मूल सहरमा जग्गा किन्न नसक्ने पहाडका मध्यम÷निम्न मध्यम वर्गका मानिसको सहर बस्ने सपना पूरा गरिदियो । यो सबै बस्ती विकासको अवसरले नै सम्भव भएको हो । पुलकै कारण थपिएको जनघनत्वले बुटवलको राजनीतिमा पनि प्रभाव पार्न थाल्यो ।
कलुषित राजनीति
आँकडा त सायद छैन तर मैले देखेसम्म त्यो पुलले सबैभन्दा बढी चाप भोगेको दिन हो— माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक बुटवल पुगेको दिन । भर्खरै युद्धको राप र तापबाट आएको माओवादी डरलाग्दो र अनौठो शक्ति थियो । प्रचण्ड, बाबुरामलगायतका नेता तिलस्मी थिए धेरै जनताका लागि । उनीहरूलाई हेर्नकै लागि गाउँबाट बुटवल आउने जनताको भीडले दबिएर पुल कोल्टे परेको थियो ।
संविधानसभाको दोस्रो निर्वाचनमा रूपन्देही क्षेत्र नं. ४ बाट तत्कालीन माआवोदी उपाध्यक्ष डा. बाबुराम भट्टराईले उम्मेदवारी दिएको समयमा पनि यही पुलसँग जोडिएर राजनीति घुम्यो । पुलकै कारण बनेको जनघनत्व हो— बुटवल वडा नं. १३ को घनत्व । गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँची, प्यूठानलगायतका छिमेकी पहाडी जिल्लाहरूबाट बुटवल बस्न आएकाहरूले भरिएको यो वडाको जनसंख्या रूपन्देहीकै देवदह र रुद्रपुरबाहेक अन्य हरेक गाविसको भन्दा बढी हो ।
बाबुरामले उम्मेदवारी दिएको क्षेत्र नं. ४ मा (तत्कालीन) बुटवल उपमहानगरपालिका र (तत्कालीन) मोतिपुर गाविस पर्थे । त्यसैले यति धेरै जनघनत्व भएको यो वडा चुनावी राजनीतिका निम्ति महत्वपूर्ण थियो । सायद स्थानीय कार्यकर्ता र नेताले यो ठाउँमा आफ्नो पकड बढी भएकै आशा देखाएकाले होला, बाबुराम यो क्षेत्रबाट चुनाव लड्न तयार भए । चुनावी प्रचारको समयमा बाबुरामको यो वडामा भएको विशेष दौडधुपले पनि यो अनुमानलाई आड दिन्छ ।
सायद चुनावी दाउपेचमा माओवादी कमजोर नै थियो, जित एमाले उम्मेदवार विष्णु पौडेलको पोल्टोमा गइदियो । आज पनि सुकुमबासी जग्गाको लालपुर्जादेखि दिन सकिने सबै आश्वासनको बुई चढेर यो पुलले विस्तार गरेको भूमिमा राजनीतिको घोडा दौडिएकै छ । परिणाम नदीको बहाव क्षेत्र खुम्च्याएर मानवबस्ती थोपरिएको छ । हरेक बर्खामा यही मानवबस्ती आतंकको सिकार हुन्छ । अब पुल र तटबन्धलाई लिएर राजनीतिको अर्को अध्याय सुरु हुनेछ ।
जन्मको कथा
मानवबस्तीले एकातिर तिनाउ नदीको बहाव खुम्च्याएको छ । अर्कोतर्फ त्यही मानव स्वार्थले गिट्टी र बालुवा निकाल्दा निकाल्दै तिनाउ नदीलाई गहिरो गर्तबाट बहन बाध्य पारेको छ । इन्जिनियरहरूले पटकपटक गिट्टी, बालुवा निकाल्न नरोके बुटवल सहरले कुनै पनि बेला ‘अकल्पनीय दुर्घटना' भोग्नुपर्नेबारे सचेत गराइआएकै हुन् । रूपन्देहीबाटै जितेर केन्द्रसम्म पुगेका कांग्रेस नेता बालकृष्ण खाँड सिँचाइमन्त्री हँदा सुरु गरिएको ‘जनताको तटबन्ध'ले मात्र तिनाउको नियति फेर्न सक्दैन भन्ने त अहिले नदी आफैंले देखाइदियो । नदीले कटान गरेको भागमा नै ‘जनताको तटबन्ध' बाँधिएको थियो । अन्ततः ‘जनताको तटबन्ध'ले अक्षमता साबित गर्यो र एक दशकको जन्मोत्वस मनाइसक्दा नसक्दै पुलको दुखद अवसान भयो ।
पुलको मृत्युले सम्भवतः कदरबहादुर रायमाझी जत्तिको दुखी अरू छैनन् । स्थानीय ‘नवीन औद्योगिक कदरबहादुर-रीता उच्च मावि’का सञ्चालक समिति अध्यक्ष रहेका समाजसेवी कदरबहादुर रायमाझीले यो पुल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । मंगलबार साँझ उनलाई फोन गरेर पुलसँग जोडिएको सुखदुःख सुनाउन भनेँ । उनले फोनबाटै पुल निर्माणको लामो कथा बताए ।
२०५६ सालमा कदरबहादुर सञ्चालक समिति अध्यक्ष बन्दा अहिले रूपन्देहीमै राम्रो नतिजा दिन सफल सामुदायिक विद्यालयमध्येको एक ‘नवीन औद्योगिक कदरबहादुर-रीता उच्च मावि प्राथमिक विद्यालयको तहमा थियो ।
२०३३ सालमा स्थापना भएर सहरकै पिँढीमा बसेको भए पनि स्कुल उपेक्षित थियो । सुकुमबासी बस्तीका नानीहरू पढ्ने स्कुलमा पछि बुद्धनगर बस्तीका नानीहरू थपिए । तर, बर्खा लागेपछि तिनाउ उर्लन्थ्यो र स्कुल आउन कठिन हुन्थ्यो । उर्लंदो भेलबीच सुत्केरी महिलालाई बडो कठिनसँग भिजाउँदै अस्पताल लैजाँदै गरेको देख्दा कदरबहादुरको मस्तिष्क रन्थनिन्थ्यो । उनले अठोट गरे, खोलामा पुल बनाउनुपर्छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भैरहवा आएको बेला रामकृष्ण ताम्राकारको मद्दतबाट उनले पुल बनाइमाग्न अनुरोध गरे ।
गिरिजाप्रसाद कोइरालाले चासो देखाए । सडक डिभिजनका मानिस बोलाएर बेलीब्रिज राख्न लगाए । तर, राजनीतिक उथलपुथलले कोइरालालाई सत्ताबाट हुत्याएपछि बेलिब्रिजको सपना पनि खेर गयो ।
बेलिब्रिजको सपना अगाडि नबढ्ने देखेपछि कदरबहादुरले झोलुंगे पुल राख्ने अठोट गरे । नदीपारिका १२ गाविसका अगुवाहरूसमेत भेला भएर कदरबहादुरको अध्यक्षतामा समिति बन्यो । समितिको पहलमा मन्त्रालयबाट बजेट पनि आयो । बजेटअनुसार निर्माण सुरु गरेर पुल शिलान्यास गर्ने तयारी गर्दा मुलुकको राजनीतिमा राजाको प्रत्यक्ष शासन सुरु भइसकेको थियो । रामप्रसाद पन्त लुम्बिनी अञ्चलका अञ्चल प्रशासक भएर पुगेका थिए । तयारी पूरा भइसकेको शिलान्यास कार्यक्रम उनले रोकिदिए । कदरबहादुर सम्झन्छन्— पन्तले सोधेका थिए, तपाईंहरू को हो सरकारी जग्गामा पुल बनाउने ?
शिलान्यासमा निम्तो गरिएका राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. शंकरप्रसाद शर्मा पनि गएनन् । ‘रामप्रसाद पन्तले कांग्रेस-कम्युनिस्ट चलखेल गर्न लागे भनेर तत्कालीन मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीलाई फोन गरेछन् । डा. शंकरले पनि जागिर जान्छ भनेर आउन मानेनन्', कदरबहादुर भन्छन् ।
पुलको माथिल्लो भागको निर्माण ‘फेब्रिकेसन'को निम्ति टेन्डर पास भइसकेको थियो । तर, प्रजिअले पुल बनाउने योजना नै खारेज भयो भनिदिए । ६ महिनासम्म काम रोकिएपछि कदरबहादुरहरू फेरि प्रजिअ कार्यालयमा बिन्तीभाउ बिसाउन गए । अन्ततः ६ महिनामा उनै प्रजिअको सक्रियतामै पुल निर्माण सुरु भयो र २०६२ मा सम्पन्न भयो ।
यसरी समाजका निम्ति केही योगदान गर्न खोज्ने अघिल्लो पुस्ताको दौडधुपमा बनेको यो झोलुंगे पुलले मेरै आँखाअगाडि सहरको मुहार फेर्न मेरुदण्डको काम गर्यो ।
पढ्न जाने विद्यार्थी, शिक्षक, काम गरी खाने मजदुरहरूले पुललाई मिस गरिरहनेछन् । पुलको बाटो हिँडी हाट भरेर फर्किनेहरूले वा बुटवलमा मजदुरी गरेर रात-साँझ घर फिर्नेहरूले पुलको पुनर्निर्माण पर्खिरहनेछन् ।
प्रतिक्रिया दिनुहोस !
