संविधान र यथार्थ

संविधान र यथार्थ

नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको छ । तर त्यो अधिकारको उपभोग नागरिकले कसरी गर्न पाउँछन् या सक्छन् अनि त्यसमा राज्यको दायित्व के हुन्छ, त्यसबारे कानुन बनेको छैन । कानुनको अभावमा संविधानमा कोरिएको त्यो अधिकार निष्प्राण आशयबाहेक केही बन्न सक्तैन ।

राज्यले विशेष उपचार र हेरचाहका सर्वाधिक अधिकारी गर्भवती महिलालाई हेर्ने कुनै नीति र नियम बनाएको छैन, यद्यपि ग्रामीण नेपाली समाज राज्यभन्दा बढी संवेदनशील र कर्तव्यपरायण देखिन्छ, उनीहरूको हेरचाहमा । तर पनि त्यो हेरचाहसँगै विशेष विशिष्ट तथा विज्ञ चिकित्सा सेवाको आवश्यकता पर्न जान्छ, अधिकांश गर्भवती र सुत्केरी भएलगत्तै पछिको अवस्थामा ।

मातृ शिशुदरको न्यूनताको हिसाबले नेपालले दक्षिण एसियामा सर्वोत्कृष्ट 'रेकर्ड' कायम गर्न सके पनि आदर्श विन्दुमा मुलुक पुग्न सकेको छैन । गोर्खाकी २२ वर्षीया प्रीति गुरुङ र उनको चार दिनको छोराको ज्यान सहजै बच्न सक्थ्यो, स्वास्थ्य नीतिमा घोषणा भएअनुसार न्यूनतम स्वास्थ्य सेवा केन्द्रहरू जिल्लामा भएको भए । अत्यधिक रक्तस्रावका कारण ऋण काढेर निजी हेलिकोप्टर चार्टर गरी काठमाडौँ आउनु सामान्य घटना भएको छ, गाउँ र जिल्लाका गर्भवती महिलाका लागि ।

रहरले हैन त्यो, उनीहरूको ज्यान र जीवनको महत्त्वलाई आदर गर्ने पारिवारिक र परम्परागत संस्कार अझै पनि जिउँदो भएकाले खर्चिलो उपचार गराउन पनि परिवार पछि नपरेको हो ।

प्रीति र उनको छोराको मृत्यु भयो, सम्पूर्ण परिवार र एकजना कार्यकुशल पाइलटसँगै उपचारका क्रममा काठमाडौँ आउँदा हेलिकोप्टर दुर्घटना भएपछि । दुर्घटनाको दोष सरकारलाई दिन नसकिएला, तर प्रीतिलाई काठमाडौँ आउनुपर्ने विवशता किन पर्‌यो ? सुत्केरी हुनुपूर्व नै उनले केही जटिलता र अत्यधिक दुखाइसहित बच्चा जन्मिएपछि अत्यधिक रक्तस्रावका कारण जीवन जोखिममा पर्‌यो ।

गाउँबाट हेलिकोप्टर चार्टर गरी काठमाडौँ सकुशल पुग्न सकेकाहरू २० हजार रुपैयाँ खर्चमा स्वस्थ भई गाउँ फर्किन सकेका छन्, तर प्रीति र उनको परिवार त्यति भाग्यमानी सावित भएनन् । गाउँमा स्वास्थ्य केन्द्र र संविधानले भनेको मौलिक अधिकारसम्म उनको पहुँच भएको भए प्रीतिको जिउने अधिकार सुनिश्चित हुने थियो, उनको नवजात शिशु स्वस्थ नागरिकको रूपमा विकसित हुन सक्थ्यो । त्यस अर्थमा यो राज्यको असफलता मात्र हैन, आम नागरिकको स्वास्थ्य र त्योसँग जोडिएको अधिकारप्रति राज्यको पूर्ण उदासीनताको प्रमाण हो ।

प्रीति र उनको छोरा तथा परिवार र पाइलट नवीन लिम्बूको अकाल मृत्युबाट सरकारले ग्रामीण स्वास्थ्य नीति र त्यसको कार्यान्वयनलाई उच्च प्राथमिकता दिने प्रयास गर्‌यो भने त्यो उनीहरूप्रतिको श्रद्धाञ्जली र भावी आमाहरूको अधिकारप्रतिको सम्मान मानिनेछ । त्यो अधिकारप्रति राज्यले व्यवहारबाट सम्मान देखाउनैपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.