एमालेले देशव्यापी कार्यकर्ता परिचालन गर्ने
काठमाडौः एमाले आफ्नो पार्टी नेतृत्वमा सरकार रहेका बेला ल्याएको बजेट, नीति कार्यक्रम र संविधान कार्यान्वयनका सम्बन्धमा पार्टीले खेलेको भूमिका तथा आगामी रणनीतिबारे सजग गराउन देशभर कार्यकर्ता परिचालन गर्ने भएको छ । पार्टीको बुधबार बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको लोकप्रियबाट अत्तालिएर माओवादी केन्द्र र नेपाली कांगेसले सरकार ढालेको यथार्थलाई बुझाउन कार्यकर्ता परिचालन गर्न लागिएको हो । साथै सरकार किन ढल्यो, के कारण ढालियो भनेर यसको बाह्य र आन्तरिक विषयमा समेत बुझाउने रणनीति बैठकले तयार पारेको छ ।
विगतमा पार्टीले ल्याएको बजेटलगायत नीति तथा कार्यक्रमबारे अब के हुन्छ भन्ने विषयमा आमपार्टी कार्यकर्तालाई जानकारी दिन पनि कार्यकर्ता परिचालन गर्ने निर्णय भएको पार्टीले जनाएको छ । यस क्रममा भदौ महिनाभर सबै जिल्लामा कार्यकर्ता भेला, गोष्ठी, छलफल आयोजना गरिने भएको छ । बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘केन्द्रका सबै नेतालाई एकपटक जिल्लामा पठाउँछौं । निर्वाचनका निम्ति तयारी रहनसमेत कार्यकर्तालाई सचेत बनाउँछौं ।’
जारी बैठकले प्रदेश कमिटीको प्रमुखसमेत तोक्नेछ । प्रदेश कमिटीमा स्थायी समितिबाट कोहो जाने भन्नेमा पनि छलफल जारी छ ।
बैठकमा स्थानीय निकाय पुनर्संरचना आयोगले दिएको प्रतिवेदनमाथि छलफल भएको थियो । यसबारे जिल्ला कमिटीबाट आएको छलफलका आधारमा पार्टी केन्द्रले धाराणा सार्वजनिक गर्ने भट्टराईले बताए ।
बैठकमा स्थायी समिति सदस्यहरू झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, शंकर पोखरेललगायतले आआफ्ना धारणा राखेका थिए । बैठकमा बोल्ने नेताहरूले विगत सरकारले राष्ट्र र जनताका पक्षमा गरेका सकारात्मक कामको प्रचारप्रसार गर्दै कमजोरीबाट शिक्षा लिएर पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउँदै आगामी निर्वाचनको प्रतिस्पर्धामा बहुमत हासिल गर्न स्पष्ट नीति र योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतले संविधान कार्यान्वयन र तहगत निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक स्थायित्वमार्फत मुलुकको आर्थिक समृद्धिको दिशामा अघि बढ्न संसद्मा सशक्त र प्रभावकारी भूमिका खेल्नुपर्ने कुरामा जोड दिएको छ ।