सहरिया महिलामै आङ खस्ने समस्या
भक्तपुर: ग्रामीण महिलामा भयावह रूपमा रहेको आङ खस्ने समस्या पछिल्लो समय सहरिया महिलामा पनि देखिएको छ । भक्तपुरको दत्तात्रयमा शनिबार गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सहरिया महिलामा आङ खस्ने समस्या फेला परेको हो ।
लायन्स क्लब अफ भक्तपुर सूर्यविनायक, अरनिको, केदारेश्वर, ख्वप, भादगाउँ र बागमती तथा लियो क्लब अफ भक्तपुर सूर्यविनायक र अरनिकोले संयुक्त रूपमा गरेको उक्त स्वास्थ्य शिविरमा जाँच गराउन आएका सहरिया महिलामा आङ खस्ने समस्या पाइएको छ ।
शिविरमा महिलाको स्वास्थ्य परीक्षण गरेकी स्त्रीरोग विशेषज्ञ डा. शोभा मारिखुले सहरिया महिलामा पनि आङ खस्ने समस्या देखिएको जानकारी दिइन् ।
उनले स्वास्थ्य जाँच गराएका करिब एक सय महिलामध्ये १२ जनामा आङ खस्ने र पाठेघरसम्बन्धी समस्या देखिएको बताइन् ।
'उनीहरूलाई अस्पतालमा गएर विस्तृत जाँच गराउन सिफारिस गरेका छौं', उनले भनिन्, 'सहरी क्षेत्रमा आङ खस्ने तथा पाठेघरसम्बन्धी समस्या देखिनु राम्रो संकेत होइन ।'
त्यस्तै शिविरमा सहभागी धेरैजसो ज्येष्ठ नागरिकमा हाडजोर्नीसम्बन्धी अधिक समस्या देखिएको छ । हाडजोर्नी विशेषज्ञ डा. श्रीकृष्ण अवालले धेरैजसो ज्येष्ठ नागरिकमा नसा च्यापिएको र हड्डी खिइने समस्या पाइएको जानकारी दिए ।
'ज्येष्ठ नागरिकहरूमा धेरैजसो नसा च्यापिएको र हड्डी खिइने समस्या पाइयो', डा. अवालले भने, 'उहाँहरूको अव्यवस्थित जीवनयापनले यस्तो समस्या भएको देखिन्छ ।'
डा. इवामुरा मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा तीन सय ६० जनाले स्वास्थ्य परीक्षण गराएको लायन्स क्लब अफ भक्तपुर सूर्यविनायकका अध्यक्ष विष्णुभक्त मारिखूले जानकारी दिए ।
मधुमेहको समेत निःशुल्क जाँच गरिएको उक्त शिविरमा स्त्रीरोग, हाडजोर्नीसँगै साधारण चिकित्सा, दाँत तथा नसारोगसम्बन्धी विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविरमा स्वास्थ्य जाँच गराएकालाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !