राम थपलियासँग फेसबुक च्याट

राम थपलियाले हाँसेको मलाई कत्ति मन पर्दैन । कसैका कुरा घत परेन भने ऊ यति जोडजोडसँग 'हाहाहाहा' गर्दै हाँस्न थाल्छ, मानौं सामुन्नेमै चार्ली च्याप्लिन कुनै प्रस्तुति दिइरहेका छन् ।
कत्ति न उसलाई बाहेक अरूलाई केही थाहै नभएजस्तो । कसरी उडाउनु परेको अरूलाई !
फेसबुकको रेकर्ड हेर्दा ऊ करिब ६ वर्षदेखि मेरो साथी रहेछ । बीचमा मैले उसलाई बिर्सी नै सकेको थिएँ । पत्रकारिता छाडेर अध्यात्मको यात्रामा निस्केका 'ज्ञान मित्र'ले ऊबारे चर्चा गर्न थालेपछि म उसलाई भेट्न उत्सुक भएको थिएँ ।
घनश्यामको किताब विमोचनको दिन मैले ज्ञान मित्रलाई भनेँ, 'रामलाई पनि लिएर आउनू नि त ।'
प्रज्ञाप्रतिष्ठानको झ्याम्म परेका रूखको फेदमा हामी करिब दुई घन्टा गफियौं- राम थपलिया, ज्ञान मित्र र म । घनश्यामको किताबले घुम्टो नउघारिन्जेल ।
खासगरी म ज्ञान मित्रसँग कुरा गर्न चाहन्थेँ तर राम थपलियाको हरफनमौला आवरणका कारण मैले उसलाई बेवास्ता गर्न सकिनँ । त्यो दिन ज्ञान मित्र र म समाधिबारे चर्चा गर्न चाहन्थ्यौं । हामी यसैका लागि भेट्दै थियौं । राम थपलियाले हाम्रो सम्भावित संवादमा पानी खन्याइदियो । समाधि भन्नेबित्तिकै ऊ यसरी जोडजोडसँग हाँस्यो, टाढाटाढाका मानिस हामीलाई नै हेर्न थाले ।
राम थपलिया उमेरभन्दा मभन्दा कान्छै हो । दुब्लोपातलो कायाको ऊ आफूले जति जानेको छ, त्यसमै मखलेल छ । दिमाग राम्रै चल्छ उसको, कहिलेकाहीँ भने अलि धेरै चल्छ कि जस्तो लाग्छ ।
खैर, मैले पहिलोपटक भेटेको थिएँ उसलाई । फेसबुकमा संवाद गरेको ६ वर्षपछि । प्रज्ञाप्रतिष्ठानमा ठडिएका रूखको छहारीमा ।
ऊसँग मेरो कहिलेकाहीँ फेसबुकमा च्याट हुन्थ्यो । मैले लेखेका आर्टिकलहरूबारे ऊ धेरैजसो आलोचनात्मक प्रतिक्रिया व्यक्त गथ्र्यो । मलाई आलोचनात्मक प्रतिक्रियाहरू मन पर्छन् । राम्रो त जसले पनि भन्छ, यो आर्टिकललाई अझै राम्रो बनाउन यसो गर्न सकिन्छ वा यसमा यो पुगेन भने पो अर्कोपटक सच्याउन पाइन्छ । तैपनि ऊ धेरै ठूला कुरा गर्छ भन्ने मलाई लागिरहन्थ्यो ।
प्रज्ञाप्रतिष्ठानमा भेटेको केही दिनपछि राम थपलिया फेसबुक म्यासेन्जरमा देखा पर्यो । त्यो दिन मेरो दिमागको पारो गर्माइरहेको थियो । केही विषयमा चित्त नबुझेर मेरो मन बुलुकबुलुक गरिरहेको दिन थियो त्यो ।
सामान्य औपचारिकतापछि उसले लेख्यो, 'सन्तुलन सधैं ठीक हुन्छ । न बढी, न कम । ब्यालेन्स ।'
मनले 'एक्स्ट्रिम'मा प्रतिक्रिया व्यक्त गरिरहेको बेला राम थपलियाको म्यासेज मेरै लागि हो कि भनेजस्तो मैले महसुस गरेँ ।
मैले जवाफ फर्काएँ, 'तिमीलाई थाहा रहेछ ।'
राम थपलियाले लेख्यो, 'मैले आफैं जानेको होइन, मेरो स्मृतिले कामसम्म गरेको हो ।'
संवाद मलाई रमाइलो लाग्दै थियो । जवाफ फर्काएँ, 'तिम्रो अनुभवले पो हो कि ।'
उसले लेख्यो, 'ज्ञानको सीमामा प्रकट हुने कुनै पनि अनुभव मेरो आफ्नो होइन ।'
के भनूँ के भनूँको अवस्थामा मैले लेखेँ, 'काम कस्तो चल्दैछ त ? '
राम थपलियाको जवाफ सामान्य हुँदैन । काम राम्रो चलिरहेको छ वा खराब भनेर उसले जवाफ दिएन । लेख्यो, 'ठीकठीकै । म परिस्थितिलाई सन्तुलनमा ल्याइरहेको छु । ब्यालेन्स ।'
आज उसको मुड एकदमै ब्यालेन्समुखी भएको बुझ्न मलाई गाह्रो भएको थिएन । लेखेँ, 'सन्तुलन महत्त्वपूर्ण छ । ब्यालेस इज इम्पर्टेन्ट ।'
जवाफ फर्कायो, 'हो । ब्यालेन्स ।'
मैले थपेँ, 'सम्यक । होइन त ? '
उसले जवाफ फर्कायो, 'सम्यक र ब्यालेन्स दुई भाषामा एउटै शब्द हुन् । सन्तुलन मनको नियन्त्रणमा आउन सक्दैन । खास भन्ने हो भने मनले सन्तुलन के हो भन्ने थाहै पाउँदैन । त्यही भएर सन्तुलनका सबै प्रयास बेकार हुन्छन् । प्रयासले सन्तुलन आउनै सक्दैन । किनभने प्रयास मनले गर्छ ।'
प्रश्न तेस्र्याएँ, 'कसरी हासिल गर्ने त सन्तुलन त्यसो भए ? '
राम थपलियाले म्यासेन्जरमा टाइप गर्यो, 'मलाई माफ गर, हासिल गर्नु भन्ने शब्द सन्तुलनका लागि होइन । सन्तुलन हासिल हुने विषय होइन ।'
मैले सोधेँ, 'कसरी प्राप्त गर्ने त सन्तुलन ? '
जवाफमा राम थपलिया जोडजोडसँग हाँस्न थाल्यो । मानौं, ऊ अब कम्प्युटरको पर्दाबाट बाहिर प्रकट हुनेछ र आफ्नो हाँसोले हाम्रो अफिसमा भएभरका मानिसको काममा बाधा पुर्याउनेछ ।
'किन हाँसेको बिनाबित्थामा ? ' मैले मनमनै सोधेँ ।
उसले म्यासेन्जरमै टाइप गर्यो, 'किन र कसरी भन्ने शब्द सन्तुलनका लागि होइन साथी । मन सधैं कसरी, कसरी, कसरी भनेर सोधिरहेको हुन्छ ।'
थप्यो, 'त्यसैले मात्र सन्तुलन, अनि पूर्णविराम ।'
मैले लेखेँ, 'भनेपछि मात्र सन्तुलन । होइन त ? '
राम थपलियाले लेख्यो, 'हो, मात्र सन्तुलन । मनचाहिँ सन्तुलन होइन है । मनबाट बाहिर निस्कनेबित्तिकै सन्तुलन नै सन्तुलन । सन्तुलन भनेकै प्रकृति हो । मनले निर्धारण गर्ने कुनै चिज होइन ।'
मैले लेखेँ, 'चाखलाग्दो ।'
उसले थप्यो, 'हासिल गर्नु भन्ने शब्द भोलिका लागि आशा हो । सन्तुलन भोलिका लागि होइन । अहिले तत्काल, तुरुन्तैका लागि ।'
मैले थपेँ, 'सन्तुलन र जे छौ त्यही हुनु । होइन त ? '
जवाफ फर्कायो, 'एउटै कुरा हो यो । जे छौ त्यही भएरै सन्तुलन हुन्छ ।'
मैले लेखेँ, 'मलाई भने सन्तुलन भन्ने शब्दले बढी स्पष्टता दिन्छ ।'
राम थपलियाले लेख्यो, 'किनभने सन्तुलन भन्ने शब्दसँग मन धेरै परिचित छ । त्यही भएर मनलाई त्यो सजिलो भयो नि ।'
मः 'हेर त, तिमीलाई कति धेरै थाहा रहेछ ? '
राम थपलियाः 'स्मृति हो यो, स्मृति । मेरो मनको स्मृतिले काम गरिरहेको छ । यी सबै पृष्ठभूमि न हुन् ।'
मैले टाइप गरेँ, 'तर, यो त तिमीले बुझेका छौ नि ।'
राम थपलियाले लेख्यो, 'मैले सात वर्ष मूर्ख मनलाई पछ्याएँ, केही हासिल गर्न ।'
अब मलाई पनि हाँसो उठ्यो । मेरो उद्देश्य उसलाई उडाउनु थिएन । तर, म बसेकै कुर्सीमा खित्खित् गरेर हाँस्न थालेँ । सात वर्ष के हासिल गर्न भौंतारिएछ त ऊ ?
लेखेँ, 'के हासिल गर्न ? के बन्न चाहन्थ्यौ तिमी ? '
ऊ गम्भीर बन्यो, 'म जान्नु, ज्ञान, परीक्षण, स्वीकार, अस्वीकारमै अल्मलिरहेँ ।'
मैले जिस्क्याएँ, 'इन्लाइटमेन्ट प्राप्त गर्न चाहन्थ्यौ होला, होइन ? '
लेख्यो, 'गुरुका किताबहरूले त्यस्तो भोक जगाइदिएका थिए ।'
यो विषयलाई म धेरै अगाडि बढाउन चाहन्न थिएँ । मैले लेखेँ, 'मलाई गुरुहरूमा रमण महर्षि मन पर्छन् । उनले तिमी जस्तो छौ, त्यस्तै हुन भनेका छन् ।'
तर, राम थपलिया इन्लाइटमेन्टमै थियो । ऊ अलि आवेशमा आयो, आफैंले भनेको सन्तुलन शब्दलाई सायद एकैछिनका लागि बिर्सियो कि ?
'भन्न गाह्रो छ । असन्तुलन भनेको के हो भन्ने जान्नुपर्छ यसको जवाफका लागि । हाम्रा सबै अनुभव असन्तुलित छन् । सन्तुलनलाई अनुभव गर्न सकिँदैन । यो हाम्रो ज्ञान संयन्त्रको पकडमा आउन सक्दैन ।'
'आई वान्टेड टु नो, ह्वाट द हेल इन्लाइटमेन्ट इज ? (समाधि कुन चरीको नाम रहेछ भनेर म जान्न चाहन्थेँ ।)'
म हाँसेँ । अहिले राम थपलियाभन्दा बढी म हाँसिरहेको छु । निकै अप्ठ्यारो परिस्थितिबाट पो गुज्रिएको रहेछ ऊ । ती अप्ठ्यारा अहिले हाँसोको आवरणले ढाक्न चाहन्छ ।
मैले लेखेँ, 'मेरो विचारमा मनले कुनै बाधा नपुर्याएको सन्तुलनको स्थिति नै समाधि हो कि ।'
उसले लेख्यो, 'कुनै समय यस्तो आउन थाल्यो जब मलाई मेरै मनले भन्न थाल्यो, तिमी खानाबिनाको मेनुको पछाडि कुदिरहेछौ राम ।'
मैले भनेँ, 'सन्तुलनको बारेमा जान्नु र सन्तुलन हुनु, फरक चिज होइनन् त ? '
उसले लेख्यो, 'जब मनले आफ्नो सीमा थाहा पाउँछ, यो असहाय हुन्छ । त्यस्तो बेला सन्तुलनबाहेक अरू केहीले मद्दत गर्न सक्दैन ।'
मः 'मन त सधैं असहाय छ नि ।'
राम थपलियाः 'मनले सन्तुलनलाई थाहासम्म पाउन सक्दैन । तैपनि सन्तुलनको बारेमा धेरै थाहा पाएको भ्रम भने सँगालिराख्छ ।'
यति भनिसकेर राम थपलियाले हाहाहाहा लेखेको सन्देश पठायो । फेरि पुरानै हाँसोमा फर्किसक्यो ऊ । अहिले भने मलाई उसको हाहाहाहाले रिस उठाएन । उल्टै मैले पनि हाहाहाहा टाइप गरेर 'सेन्ड' गरेँ ।
लेखेँ, 'भनेपछि मन भ्रमित छ ? '
राम थपलियाः 'हो, माया भन्ने शब्द मनकै लागि हो ।'
मैले लेखेँ, 'हो, म पनि महसुस गर्न सक्छु । जब तिमी मनभन्दा बाहिर जान्छौ, तिमी आनन्दित हुन्छौ ।'
उसले लेख्यो, 'त्यही भएर सायद शंकराचार्यले भनेका हुन्, संसार माया होइन तर तिमी संसारलाई जे ठान्छौ, त्यो माया हो ।'
शंकराचार्यको दर्शन मैले पढेको छैन । त्यही भएर यतिमात्र लेखेँ, 'ए ।'
उसले लेख्यो, 'हाम्रो ठम्याइ नै ज्ञान हो । संसारबारे हामी जे ठान्छौं, त्यही ज्ञान हो ।'
मलाई लाग्यो- राम थपलियासँगको मेरो संवादले दार्शनिक मोड लिइरहेको छ । मनमा अचानक आयो- किन नछाप्ने यो संवाद ? सायद पाठकहरूका लागि पनि रुचिकर होला ।
मैले उसलाई भनेँ, 'मेरो विचारमा हामीबीचको संवाद छाप्नुपर्छ ।'
राम थपलियालाई मानौं यसको कुनै मतलब नै छैन ।
भन्यो, 'मनले जानेको छु भन्ने भ्रम दिन्छ ।'
मैले भनेँ, 'एक दिन म यसैमा काठमान्डु कथा लेख्छु ।'
राम थपलियाले भन्यो, 'तिम्रो लेख्ने अनुभव छ, विचार गर ।'
'त्यही त', मैले भनेँ ।
उसले लेख्यो, 'मचाहिँ केही लेख्न बसेँ भने बिर्सन्छु । कुनै बेला वर्षा बर्र्सेजसरी बर्सिन्छ, कुनै बेला शून्यता ।'
मः 'किन त ? '
जवाफमा राम थपलियाले उही चिरपरिचित हाँसो टाइप गर्यो, 'हाहाहाहा ।'
मैले थपेँ, 'कहिले सललल बग्नु, कहिले रोकिनु त सन्तुलन भएन नि ।'
राम थपलियाले भन्यो, 'मित्र किन भन्ने शब्दको पछि भाग्न छाड अब तिमी । जीवन भनेकै लय हो । सा रे ग म प ध नि सा । साबाट सासम्म ।'
मैले भनेँ, 'भनेपछि पानी परेजसरी लयात्मक ? '
राम थपलिया किन मान्थ्यो, 'केहीजसरी होइन सर । कुनै इफोर्ट लगाउने होइन ।'
म पनि किन छाड्थेँ, 'भनेपछि बहाव । प्राकृतिक बहाव ।'
उसले भन्यो, 'बहावलाई आफैं हुन देऊ । म 'हुन देऊ' भन्ने शब्द प्रयोग गर्छु । आफैं होस् ।'
मैले भनेँ, 'म यता अफिसमा काम पनि गर्दैछु । धेरै काम एकैचोटि गर्नु पनि खतरनाक हो है ? यसले सन्तुलनमा बाधा पुर्याउँदैन ? '
उसले लेख्यो, 'हामी केलाई सन्तुलन मान्छौं भन्ने महत्तवपूर्ण हो ।'
थप्यो, 'ज्ञान भनेको पुनरावृत्तिबाहेक केही होइन । मृत पुनरावृत्तिमात्र । हामी सन्तुलनबारे जानौंला तर सन्तुलन हुनु बढी महत्त्वपूर्ण हो ।'
मलाई साँझको न्युज मिटिङका लागि ढिला भइसकेको थियो । मैले राम थपलियासँग म्यासेन्जरबाट बिदा मागेँ ।
मैले भनेँ, 'मनलाई बेवास्ता गर्नुचाहिँ धेरै गाह्रो छ जे भए पनि ।'
मेरो सन्देशमा राम फेरि हाहाहा गरेर जोडसँग हाँस्यो ।
राम थपलियाले हाँसेको मलाई कत्ति मन पर्दैन । कत्ति न उसलाई बाहेक अरूलाई केही थाहै नभएजस्तो । कसरी उडाउनु परेको अरूलाई !
अर्को दिन साँझ म्यासेन्जरमा मैले राम थपलियालाई लेखेँ, 'तिमीले रमणको 'बी एस यु आर' भन्ने किताब पढेका छौ ? '
उसले जवाफ दियो, 'मैले रमणका केही किताब पढेको छु । मलाई लाग्छ, रमणलाई कुनै व्याख्या आवश्यक पर्दैन । मलाई निसरांगदत्त महाराजको अभिव्यक्ति कला मन पर्छ ।'
'हामी सधैं स्मृतिमा बाँचिरहेका छौं सर । स्मृतिबिना तपाईं आफ्नोबारे केही भन्न सक्नुहुन्छ ? सबै तपाईंको सजिलोका लागि बनाइएका छन् । संसार चलाउन पनि केही स्मृति आवश्यक छन् । जस्तो तपाईंको नाम ।'
मैले लेखेँ, 'हजुर ।'
उसले लेख्यो, 'उनको किताब आई एम द्याट ।'
मैले भनेँ, 'मलाई रमण मन पर्छन् ।'
उसले लेख्यो, 'हो, उनी सरल छन् । उनी जे भन्छन्, त्यही हुन् ।'
मैले लेखेँ, 'मैले निसरांगदत्त महाराजका किताब पढेको छैन ।'
राम थपलिया, 'एउटा लेखकको एउटा किताब पढ्नु पर्याप्त हुन्छ, बाँकी सबै पुनरुक्तिमात्र हो ।'
मः 'निसरांगदत्तका किताब इन्टरनेटमा पाइन्छन् ? '
राम थपलिया, 'सायद पाइएलान् ।'
मः 'मलाई प्रकृतिमा परिभ्रमण गर्न मन पर्छ, प्रकृति सास फेर्न सबैभन्दा उत्तम ठाउँ हो ।'
राम थपलिया, 'शंकै छैन । हाम्रा आफ्नै सिर्जनाले हामीलाई सास फेर्न गाह्रो तुल्याए ।'
मः 'सहरमा सास फेर्नै गाह्रो भयो ।'
राम थपलियाः 'अब त बानी परिसक्यो सर ।'
मः 'बानी नै परिसक्यो त ? '
राम थपलियाः 'हामी जे गरिरहेका छौं, हाम्रो बानीबाट निर्देशित भएर गरिरहेका छौं ।'
मः 'मलाई त सहर कहिल्यै बानी पर्दैन ।'
राम थपलियाः 'शरीर बबुरो जुनसुकै ठाउँमा पनि एडजस्ट गर्छ । खालि मनले द्विविधा सिर्जना गर्छ । यो धेरै परिवर्तनबारे कुरा गर्छ, तर परिवर्तनलाई एडजस्ट गर्न सक्दैन ।'
मः 'मनलाई कसरी नियन्त्रणमा ल्याउने त ? '
राम थपलियाः 'प्रश्न र जवाफ दुवै मनका सिर्जना हुन् । मन नै गुरु हो, मन नै चेला । यसको आफ्नै खेल छ ।'
मः 'मनले साह्रै सताउँछ ।'
राम थपलियाः 'मनले मनलाई नै सताउने हो । मनले मनबाहेक अरूलाई केही गर्न सक्दैन ।'
मः 'होइन नि, मनले कहिलेकाहीँ शरीरलाई पनि असर गर्छ ।'
राम थपलियाः 'शरीरले मनलाई अस्वीकार गर्छ । त्यही अस्वीकार गर्ने सिलसिलामा सामान्य प्रतिक्रिया देखाउँछ ।'
मः 'कहिलेकाहीँ मनले शरीरलाई असर गर्छ । मन धेरै बदमास छ । शरीरले मन ठीकै छ भन्ने ठान्यो भने मनको बदमासी सुरु भयो । सन्तुलनका बारेमा जान्नु रमाइलो हो तर सन्तुलन हुनु धेरै गाह्रो छ ।'
राम थपलियाः 'भन्न गाह्रो छ । असन्तुलन भनेको के हो भन्ने जान्नुपर्छ यसको जवाफका लागि । हाम्रा सबै अनुभव असन्तुलित छन् । सन्तुलनलाई अनुभव गर्न सकिँदैन । यो हाम्रो ज्ञान संयन्त्रको पकडमा आउन सक्दैन ।'
मः 'हो, सन्तुलन भनेको सन्तुलन हो र यो छ । होइन त ? '
राम थपलियाः 'सन्तुलन जहिल्यै त्यहाँ छ । तर, हाम्रो दुखी ज्ञानले यसलाई समात्न सक्दैन ।'
मः 'हामी त सधैं मनकै भर पर्छौं । हामीजस्ताका लागि ब्यालेन्स गाह्रैजस्तो छ ।'
राम थपलियाः 'मन असन्तुलन हो । प्रकृति सन्तुलन हो । हामी खासमा मनमात्र हौं ।'
के राम थपलियाले भनेजस्तो हामी मनमात्रै हौं त ?
मैले सोधेँ, 'हामी ? '
राम थपलियाः 'होइनौं त ? '
मः 'धेरैजसो ।'
जवाफमा राम थपलियाले लामो म्यासेज टाइप गर्यो, 'हामी सधैं स्मृतिमा बाँचिरहेका छौं सर । स्मृतिबिना तपाईं आफ्नोबारे केही भन्न सक्नुहुन्छ ? सबै तपाईंको सजिलोका लागि बनाइएका छन् । संसार चलाउन पनि केही स्मृति आवश्यक छन् । जस्तो तपाईंको नाम ।'
'हामी स्मृतिलाई छान्न र डिलिट गर्न सक्दैनौं । हामीसँग भएको संवेदनशीलताका कारण ।'
'तैपनि स्मृति र ज्ञान आफैंमा कुनै समस्या होइनन् । जब हामी यीबाट सन्तुलन वा प्राकृतिकता खोज्न थाल्छौं तब समस्या उत्पन्न हुन्छ ।'
मैले सोधेँ, 'ज्ञान के हो त ? '
उसले लेख्यो, 'ज्ञान छविहरूलाई नाम दिनुमात्र हो ।'
मैले लेखेँ, 'म सोचको सीमितता महसुस गर्न सक्छु ।'
उसले लेख्यो, 'यो तिम्रो चतुर्याइँ हो मित्र ।'
मैले लेखेँ, 'भनेपछि ज्ञान स्मृतिमात्र हो त ? '
उसले लेख्यो, 'हो नि । सबै पुनरावृत्तिमात्र । मात्र पुनरावृत्ति ।'
थप्यो, 'एउटा प्रोग्रामलाई अर्को प्रोग्रामबाट विस्थापन गर्नुमात्र हो ज्ञान जसको परिणाम सधैं एउटै हुन्छ । हामीले गर्ने एउटै प्रयास भनेको सोच्नु हो । एउटा भ्रमबाट अर्को भ्रमको यात्रा ।'
मैले भनेँ, 'म एक दिन सन्तुलन अर्थात् ब्यालेन्सको बारेमा लेख्नेछु ।'
राम थपलियाले भन्यो, 'हेरौं, तिम्रो लेखनमा कत्तिको सन्तुलन हुनेछ ।'
'यति भनिसकेर ऊ आफ्नै शैलीमा जोडजोडसँग हाँस्न थाल्यो- हाहाहाहा ।'
मैले लेखेँ, 'समय लाग्छ सर । फेरि ब्यालेन्सकै बारेमा लेखे पनि त्यो मनैले लेख्ने त हो ।'
राम थपलिया फेरि जोडजोडसँग हाँस्न थाल्यो । भन्यो, 'तिमीसँग मनबाहेक अर्को उपकरण छ पनि के र ? '
मैले लेखेँ, 'मलाई तिमी हाँसेको मन पर्छ, यसरी नै हाँस्न सिक्नु छ मलाई पनि ।'
उसले लेख्यो, 'मलाई झनै हाँसो उठायौ तिमीले । मैले जसरी हाँस्न सिक्ने रे ? '
मैले लेखेँ, 'हामी सधैं गम्भीर छौं क्या ।'
उसले लेख्यो, 'तिमीलाई त्यस्तो लाग्छ ? केले हामीलाई गम्भीर बनाउँछ ? '
मैले उल्टै प्रश्न गरेँ, 'केले ? '
उसले लेख्यो, 'जे गरिरहेका छौ वा सोचिरहेका छौ, त्यो वास्तविक हो भन्ने विश्वास गरेर मानिस गम्भीर हुन्छ ।'
यति भनिसकेर ऊ फेरि जोडजोडसँग हाँस्न थाल्यो ।
मैले थपेँ, 'मानिस गम्भीर हुने अर्को कारणचाहिँ हामी जेलाई पनि गम्भीरतापूर्वक लिन्छौं ।'
उसले लेख्यो, 'हामी त्यसरी नै प्रशिक्षित छौं । यो सांस्कृतिक परम्परा हो । हरेक चिजलाई गम्भीरतापूर्वक लिनू ।'
मैले सोधेँ, 'के यसरी गम्भीर हुनु आवश्यक छ ? '
उसले लेख्यो, 'कहिलेकाहीँ गम्भीरता किन पनि आइदिन्छ भने हामी जित्न चाहन्छौं । हार्ने डरले हामी गम्भीर हुन्छौं । गम्भीर हुनु आवश्यक छ कि छैन भन्ने प्रश्नै होइन । यसको वास्तविकतै यही हो ।'
मैले लेखेँ, 'तिमी पनि जहिल्यै कति गम्भीर भइरहेको त ? '
राम थपलियाले भन्यो, 'कसरी थाहा पायौ ? '
मैले हाँसोको चिह्नसहित लेखेँ, 'मैले सोधेका हरेक प्रश्नलाई हेर न, तिमी कति गम्भीरतापूर्वक लिइरहेका छौ ।'
राम थपलिया जोडजोडसँग हाँस्न थाल्यो । म पनि हाँस्न थालेँ ।
राम थपलियाको हाँसो त्यस्तो नराम्रो पनि छैन । उसको बिन्दास हाँसोमा एक प्रकारको जादु छ भन्ने मैले स्वीकार गर्नैपर्छ ।
तिमीले नै के सोच्छौ कुराको मतलब छैन भने मानिसहरूले के सोच्लान् भन्ने कुराको झन् के मतलब ?
प्रतिक्रिया दिनुहोस !
