खेम गुरुङका एक साथीको सम्झना

'दाइ त सकिनुभयो ।'
जुद्धवीर गुरुङ (खेमराजका बहिनी ज्वाइँ)को यो वाक्यले म अवाक् बनेँ । हातगोडा लल्याकलुलुक भए । गला अवरुद्ध बन्यो । केही पलको मौनतापछि अलि सम्हालिएर सोधेँ, 'कति बेला ? ' उनले भनेँ, '५ बजेर ५० मिनेट जाँदा ।'
पत्याउनै नसकिने कठोर खबरले मस्तिष्क चेतनाशून्य बन्यो । मनमा वेदनाका असंख्य नदीहरू वेग मार्न थाले । भावहीन मनोदशाले एकसाथ चारैतिरबाट घेरिएँ ।
प्रिय गायक खेमराज गुरुङ अब यो संसारमा रहेनन् भन्ने समाचारले बेस्मारी रन्थनायो । केही घन्टाअघि मात्रै गायक भीषण मुकाङल................. फेसुबक स्टाटस लेखेका थिए, 'खेम दाइलाई थप उपचारका लागि एअर एम्बुलेन्सद्वारा भारतको मेदान्त अस्पताल लैजाने तयारी पूरा ।' तर, त्यो प्रयास सफल हुन सकेन । लाखौं शुभचिन्तकको प्रार्थनाले कुनै काम गरेन । अस्पतालको बेडमा मृत्युसँग जुधिरहेका उनी अन्ततः पराजित बने ।
मङ्गलबार (भदौ ९) चाबहिलस्थित मेडिकेयर हस्पिटलको सघन उपचार कक्ष (आईसीयू)को एक नम्बर बेडमा उनलाई भेटेको थिएँ मैले । मृत्युसँग जुधिरहेका थिए । तर लागेको थिएन, हामीबाट सदाका लागि यति चाँडै टाढा हुनेछन् ।
त्यो भेटमा उनले भावुक भएर गला अवरुद्ध पार्दै भनेका थिए, 'नार्कोननको बसाइ जेलजस्तो लाग्यो । त्यसैले अस्पताल ल्याइमागेको हुँ । जन्डिस बढेछ, पेट पनि फुलेको छ । पानी जमेको छरे । यो आईसीयूको बसाइ पनि साहै्र कष्टकर लागिरहेको छ । यहाँबाट वार्डमा छिट्टै सारे हुन्थ्यो । तर, सार्ने छाँट छैन ।' निकै गलेका देखिन्थे उनी । हरेश खान नजानेका खेम अस्पतालको बेडमा भने निकै थकित देखिन्थे ।
उनी सघन उपचार कक्षबाट सन्चो भएर केही दिनमा जनरल वार्डमा सारिने छन् र चाँडै नै पूर्ण स्वस्थ हुनेछन् भन्ने मलाई लागेको थियो । अफशोच ! भेट भएको दोस्रो दिनमै उनी यो संसारबाट बिदा भए, कहिल्यै नफर्किने गरी । विडम्बना ! त्यो भेट नै अन्तिम हुन पुग्यो ।
विसं २०५८ जेठ १ देखि ३ गतेसम्म भोजपुरमा आयोजित साहित्य, कला, संगीत महोत्सवमा खेमलाई अतिथिका रूपमा लगेका थियौं हामीले । प्रसिद्धिको शिखर चढ्दै थिए उनी त्यति बेला । उनको 'वारि जमुना पारि जमुना' बोलको गीत दिन दुई गुना रात चौगुनाको दरले सर्वत्र फैलिइरहेको थियो । कन्सर्टहरूमा निकै व्यस्त हुँदाहुँदै पनि भोजपुर गए । विशेषतः संगीतकार पारस मुकारुङको आग्रहलाई उनले टार्नै सकेनन् । अनि समस्त भोजपुरेकोे असीम माया, सद्भाव र सम्मान पाएर फर्किए ।
साथमा एउटा गिटार र यसो पिउने व्यवस्था अनि दुई चारजना साथीभाइ भए उनलाई केही चाहिँदैन थियो । हाँस्दै, हसाउँदै, कविता सुनाउँदै, गीत गाउँदै उनी कैयौं रात छर्लंगै कटाउन सक्थे । उनी राम्रा कविता पनि लेख्थे । कसैको कुभलो नचाहने, विनम्र र शालीन स्भावका उनी बेलाबेला भयंकर रिसाउँथे रे । तर, मैले उनी रिसाएको कहिल्यै देखिनँ । रक्सी र चुरोट भने उनका लंगौटिया यार जत्तिकै थिए । हरेकपटक म उनलाई रक्सी र चुरोट छाड्न सुझाउँथेँ । उनी भन्थे, 'छोडूँ भनेको सक्दै सक्दिनँ हौ ।' मसँग भेट हुँदा भने कफी पिउन रुचाउँथे ।
भोजपुर वा खेमजीको प्रसंग जोडिएपछि भोजपुर महोत्सवको एउटा घटना ताजा बनेर आउँछ । 'यती एअरलाइन्स'को टुइनअटर जहाज हामीलाई लिएर भोजपुरतर्फ उड्दै थियो । पुग्ने बेलामा भीमकाय पहाडमाथि सघन कुहिरोभित्र जहाज एकाएक असन्तुलित भयो । हामी आत्तियौं । खेम निकै डराए ।
त्यही डरले फर्किंदा जहाज चढ्नै मानेनन् । 'बरु हिँडेरै धनकुटासम्म जान्छु' भने । संयोगले एउटा सामान बोकेर आएको हेकिोप्टर धनकुटाको हिले फर्कंदै रहेछ । हामीले उनलाई त्यसैमा पठाइदियौं । हिले पुगेर उनले फोन गरेँ, 'ओहो ! हेलिले त झन् सिकिस्तै पार्यो नि हौ । झन्डै रूखमा मुख जोतेन । भाग्यले बाँचियो ।'
गत साल ठीक यही याम । उनले फोन गरे । पुतलीसडकमा भेट भयो । उनले कपनस्थित होंगवाङ्जी गुम्बाका अध्यक्ष सोनाम वाङ्दी भुटियाको सहयोग र आफ्नो अगुवाइमा सिन्धुपाल्चोकको हैबुङ–२ स्थित गुरुङगाउँ पुगेर राहत तथा पुनर्निर्माण कार्यमा सहयोग गरेर आएको सुनाए । बौद्ध गुरु सोनाम वाङ्दीका बारे बताए । मलाई लाग्यो, बौद्ध गुरुको सानिध्यले खेमको आनीबानी र खानेपिउनै शैलीमा अवश्य सुधार आउनेछ । केही समय उनी शान्त र शालीन देखिए । तर, विस्तारै उनको पुरानो आदत फेरि बल्झिएछ ।
दोस्रो संविधानसभा निर्वाचनमा धेरै कवि/कलाकार जो कुनै न कुनै पार्टीमा आस्थावान् वा निकट थिए, ती सभासद्को टिकट पाउने इच्छा राख्थे । त्यस लहरमा खेम पनि थिए । मलाई लाग्छ, खेम त यसका लागि हकदार नै थिए किनभने उनी पार्टीको संगठित सदस्य पनि थिए । पार्टीकै लागि जेल जीवनसमेत भोगेका थिए । गीतमार्फत जनजागरणका लागि उल्लेखनीय कार्य गरेका थिए ।
मैले भनेँ, 'उसो भए तपाईं जिल्ला जानुस् । पार्टी सम्पर्कमा रहनुस् ।' उनी जिल्ला गए । पार्टी जिल्ला कमिटीले उम्मेदवारको प्रस्तावित सूचीमा उनको नाम पनि समावेश गर्यो । निकै खुसी देखिए । लाग्यो, पार्टीले साँच्चै उनको सम्मान गर्यो । खेम देशकै एक विशिष्ट सम्पदा हुन् । लागेको थियो उनलाई टिकटको सिफारिस गरेर पार्टीले राम्रो काम गर्यो । सभासद् पनि बनाउला नै ।
दुर्भाग्य ! अन्तिम सूचीमा परेरन् । राजनीति भनेको अनेकन तिकडम र चालबाजीको चक्रव्यूह हो । यसमा खेमजस्ता सोझासीधा कलाकारको के सीप चल्थ्यो र ! पटक्कै चाकडी गर्न नजान्ने खेमजस्ता कलाकारले कसरी टिकट पाउनु ? उनको कलाकार मन नमीठोसँग दुख्यो । जिल्ला पार्टी नेतृत्वसँग उनको असन्तृष्टि रह्यो । भन्थे, 'मेरो जिल्लाको नेतृत्व ठीक छैन । यसपालिको चुनावमा हार बेहोर्दैछ ।' नभन्दै त्यस्तै भयो ।
गत जेठ ३० गते उनको फोन आयो । घरमै आउने निम्तो दिए । भोलिपल्ट बिहान उनको निवास पुग्दा उनी चुरोटको कुहिरीमण्डल धुवाँ उडाउँदै एक्लै बसिरहेका थिए । औषधिहरूले घेरिएका थिए । मैले स्वास्थ्यबारे चासो राख्दा भने, 'अहिले त ठीक छु' । केही वर्षदेखि नै उनले नियमित औषधि सेवन गरिरहेको मलाई थाहा थियो ।
'एउटा गीतसंग्रह निकालौं भनेर सल्लाह गर्न तपाईंलाई बोलाएको । अमेरिकाले भिसा दिएको छ', चुरोट तान्दै उनले भनेका थिए, 'उता जाँदा यसो एउटा किताब पनि लिएर जाऊँ कि भनेर ।'
उनले गीतको पाण्डुलिपि मलाई दिए । (त्यो भेटमा पछिल्लो एल्बम 'घुमफिर' उपहार दिएका थिए, हस्ताक्षरसहित । त्यसमा केही शब्द कुँदेका थिए, 'परम मित्रलाई सप्रेम चिनोस्वरूप ।' उनै प्रिय गायकबारे लेखिरहँदा उनको हस्ताक्षर कुँदिएको उही चिनो मेरोअगाडि छ । लागिरहेको छ कि खेम सशरीर मेरोसामु उपस्थित छन् ।)
केही छिन गफिएपछि 'कफी पिउन जाऊँ' भनेर आग्रह गरे । मैले आफू बागबजार जाने बताएपछि भने, 'पुतलीसडकसम्म सँगै जाऊँ न त ।' वरिष्ठ कवि बैरागी काइँलाज्यूकहाँ जानु थियो । उनले पनि जाने इच्छा देखाए । हामी काइँलाज्यूको निवासमा पुग्यौं । खेमलाई देखेर काइँला साहै्र खुसी भए । खेमको गायनको प्रशंसा गरे । उनीसँगै गीत गाउने गोरा (जस ब्रडी)बारे जिज्ञासा राखे, 'लम्बुचाहिँ कहाँ छ नि खेम भाइ ? ' मोटो स्वरमा खेमले जवाफ दिए, 'ऊ आफ्नै देशमा छ हौ दाइ ।'
खुबी भएका क्षमतावान् प्रतिभा थिए उनी । यति विराट् प्रतिभा भएका उनले जीवन जिउने कला भने पटक्कै जानेनन् ।
केही दिनपछि नै खेमले फोन गरे, 'अस्तिको पाण्डुलिपि अलि केरमेट र अस्पष्ट छ, अर्कै साफी गरेको छु, भेटौं न है !' असार ९ गते पुतलीसडकस्थित एउटा कफी हाउसमा भेट भयो । मिहिनेतपूर्वक साफी गरेको पाण्डुलिपि बुझाए । त्यसको केही दिनपछि फेरि कुमारी हलछेउको कफी हाउसमा भेट भयो । मेरो साथमा थिए गीतकार सुवास राई 'क्याप्टेन' पनि ।
हामी निकै बेरसम्म गफियौं । थुप्रै योजना बनायौं । उनी खाँदबारीमा आफ्नै जग्गामा गुम्बा बनाउन चाहन्थे । त्यसका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेका थिए । मेरो गाउँमा पनि गुम्बा बनाउने सल्लाह थियो । अफशोच ! उनका ती सबै सपना अधुरा रहे ।
पछिल्लो समय सिक्किम सरकारका मन्त्री जीएम गुरुङसँग उनको सुमधुर सम्बन्ध थियो । उनले सिक्किमका विभिन्न धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गरी गीतहरू तयार पारिरहेका थिए-
'तिमी चिया बगानमा, राबाङ्लादेखि झरेको
कुहिरो र हुस्सु सँगसँगै, सिमसिम पानी परेको...'
सिक्किमबारे एउटा एल्बम नै निकाल्ने तयारीमा थिए उनी । कतिपय गीत रेकर्डसमेत गरिसकेका थिए ।
खेमले अत्यन्त छोटो समयमै उल्लेख्य प्रगति गरे । असीमित प्रसिद्धि कमाए । करोडौं श्रोताको माया पाए । उनीजस्ता भाग्यमानी गायक कमै होलान् यो दुनियाँमा ।
खेमको 'ढाक्रे' गीतसंग्रहको भूमिकामा कवि तथा प्राज्ञ श्रवण मुकारुङले लेखेका छन्, 'उनले (खेमले) गायनमा यति ठूलो प्रसिद्धि पाए कि सम्भवतः नेपाली गायनका क्षेत्रमा यति फराकिलो प्रसिद्धि पाउने उनी एकमात्र कलाकार हुन् । तर, अचम्म ! राज्यले उनको प्रतिभाको उचित मूल्यांकन र सम्मान गर्न जानेन । यी राष्ट्रगायकलाई आफ्नो सम्पत्ति बनाउन सकेन...।'
खेम बहुमुखी प्रतिभा सम्पन्न थिए । समाजसेवामा सक्रिय उनी गीत लेख्ने, गाउनेमात्रै होइन, राम्रो संगीत पनि गर्थे । उनका राम्राराम्रा संगीतहरू अन्य गायकका स्वरमा सजिएका छन् । चर्चित भएका छन् । राजेशपायल राईले गाएको लोकप्रिय गीत -
'शिरैफूल शिरबन्दी
हातमा रुमाल काँधमा गलबन्दी
मीठो माया पिरती
हाँसौं, खेलौं के छ जिन्दगी...'
उनकै रचना तथा संगीत हो । त्यसै गरी रीमा गुरुङले गाएको-
'लाहुरे दाइले परदेशबाट पठायो खबर
मुटुको माया, मायाको चिनो, मेरो माया मनको रहर..'.
यस्ता अन्य धेरै गीत छन्, जो उनैले रचे, संगीत गरे र अरूकै स्वरमा त्यसलाई सजाइदिए । खासगरी ग्रामीण जनजीवनलाई सूक्ष्म रूपमा स्पर्श गरेर लेख्नसक्ने खुबी भएका क्षमतावान् प्रतिभा थिए उनी । यस्ता प्रतिभा विरलै जन्मिन्छन् देशमा । यति विराट् प्रतिभा भएका उनले जीवन जिउने कला भने पटक्कै जानेनन् ।
संसारलाई जिताउँछु भनेर हिँडेका उनी अन्ततः आफैं हारे, त्यो पनि रक्सीसँग । हो, रक्सी उनको सबैभन्दा ठूलो दुस्मन थियो । त्यो दुस्मनलाई उनले कहिल्यै चिन्न सकेनन् । दुनियाँलाई हँसाउन चाहने उनी आखिरमा सबैलाई रुवाएर आफू अनन्तमा विलीन भए । मेरो परमप्रिय मित्र खेम उनकै गीतले भनेजस्तै गंगाजीका प्रिय भए । अहिले पनि कानमा उनको उही अमर गीत एकनासले गुञ्जिरहेको छ-
'आकाशैको गड्याङगुडुङ भुइँको खजुरीलाई
मरेपछि गंगाजीलाई बाँचे हजुरीलाई...।'
प्रतिक्रिया दिनुहोस !
