जहाँ गडबड छ त्यहाँ रहँदिन

जहाँ गडबड छ त्यहाँ रहँदिन

साहित्य लेखनको एउटा ध्रुव समाएर लेखनमा लामो समयदेखि संलग्न छन् विष्णु भण्डारी । 'पहेँलो घाम' नामक उपन्यासमार्फत चर्चामा आएका भण्डारी अहिले कथा संग्रह प्रकाशनको तयारीमा छन् । भण्डारीसँग कला अनुरागीले गरेको बात्चित ।

उपन्यासपछि कथासंग्रहको तयारी गर्दै हुनुहुन्छ, तपाईंको यसअघिको लेखन प्रवृत्तिभन्दा केही फरक स्वाद पाइन्छ यसमा ?

यसमा संक्रमणकालीन समाजले भोगेका विषय छन् । अहिले स्थापित गर्न खोजिएका मुद्दा र समाजमा घटित घटना विपरीत रेखामा छन् । बनिबनाउ मानक भत्किँदै छन्, नयाँ मानक निर्माण गर्न समाजमा संघर्ष भइरहेको छ । त्यसैलाई पहिल्याउने प्रयत्न गरेको छु कथामा । प्रगतिशीलहरूले लेख्न जाँगर नचलाएका वा चुनौती लिन डराएका विषयमा पनि लेखेको छु, त्यो नयाँ स्वादकै लाग्ला पाठकलाई ।

तपाईंको लेखनको आधार के हो ?

राजनीतिक विषयवस्तुमा लेख्न मन पराउँछु । समाज र समयलाई वैचारिक आँखाले हेर्नुपर्छ भन्ने ठान्छु । विचारबिनाको मान्छे हुँदैन, समाज हुँदैन, अझ लेखक त हुनै सक्दैन । निश्चित विचारद्वारा निर्देशित छैन भन्नु भावुकतामात्र हो । त्यसैले समकालीन अन्तरविरोध र तत्कालीन समयको यथार्थ अभिव्यक्त गर्दा कला साहित्यमा राजनीति भयो भन्नु अति सोच हो । तर लेखक राजनीतिक पार्टी होइन, विचारद्वारा निर्देशित हुनुपर्छ भन्ने मान्यता राख्छु ।

तपाईंको जीवन जागिर, राजनीति, व्यापार र साहित्य आदिको भंगालामा बाँडिएको देखिन्छ । साहित्यमा पनि एउटै विधामा टिक्नुहुन्न, किन यसरी भड्किरहनु हुन्छ ?

जीवन गतिशील हुन्छ, पोखरीको पानीजस्तो स्थिर हुँदैन । समाजका अन्तरविरोध, प्रकृतिसँगको संघर्ष र त्यसबाट प्राप्त चेतनाले मान्छेको दैनिकीमा प्रभाव पार्छ । मान्छेभित्रको चाहना, आशा र बाँच्नका लागि गर्ने उपक्रमले उसको हिँडाइको गति निर्धारण गर्छ । यही कारणले मान्छे विभिन्न क्षेत्रमा भड्किँदोरहेछ । म सामाजिक उत्पीडनविरुद्ध संघर्ष गर्न राजनीतितिर आकर्षित भएँ । साहित्यलाई अभिव्यक्तिको माध्यम बनाएँ ।

अहिलेसम्म पनि साहित्य र राजनीतिको दोभानमै छु । व्यापार मेरो रुचि र साध्य हैन, जीविकोपार्जनको साधन हो । करिब एक दशक व्यापार गर्दा पनि कलासाहित्य र राजनीतिबाट विमुख हुन सकिनँ । यसैबीच एक महाकाव्यसहित सात कविताकृति प्रकाशित भएपछि आख्यानमा हात हालेँ । उपन्यासले मेरो आख्यानक्षमताको परीक्षा लियो । त्यसको प्रतिक्रियाबाट उत्साहित भएर कथा संग्रह तयार गर्दैछु । साहित्य मेरो सानैदेखिको सपना हो, मूल रूपमा त्यही सपनालाई पछ्याइ हिँडेको छु ।

तपाईंको जीवन व्यवहार र लेखन हेर्दा विरोध तपाईंको प्रवृत्तिजस्तै देखिन्छ । किन यस्तो ?

हाम्रो समाज नै विरोधाभाषपूर्ण छ । सेवा प्रदायक संस्था मेवा कसरी प्राप्त गर्ने भनेर ढुकी बस्छन् । एउटा राजनीतिज्ञ सेवाको लागि हैन, पद र पैसाका लागि राजनीति गर्छ । हुँदा–हुँदा कवि पनि पद, प्रतिष्ठा र पैसाको पछि दौडेको देख्छु । यस्तो समय र समाजमा मैले विरोध गर्नुको तुक त के नै छ र ! तैपनि मैले आफैं संलग्न पार्टी नेतृत्वमा आएको विचलनबारे खुलेरै उपन्यास 'पहेँलो घाम' लेखेँ ।

त्यसमा मैले विरोधका लागि विरोध होइन, तर्क र तथ्यका आधारमा विरोध गरेको छु । जब प्रगतिशील लेखक संघको कार्यकारी ठाउँमा पुगेँ, त्यसको संरचना, कार्ययोजना र कार्यशैली देखेर ममा एक किसिमको वितृष्णा नै जागृत भयो । त्यसैले त्यस्ता प्रवृत्तिको विरोध गर्नु स्वाभाविक ठान्छु । प्रज्ञा प्रतिष्ठानको पनि हालत त्यस्तै पाएँ । एउटा लेखक हुनुको नाताले समाजमा देखिएका गलत सोच र गतिविधिलाई टुलुटुलु हेरेर बस्न सकिन्न । लेखकको धर्म भनेकै विरोध त हो ।

तपाईं राजीनामा दिन माहिर हुनुहुन्छ है । पहिले लोकसेवा लडेर खाएको जागिरबाट राजीनामा दिनुभो, केहीअघि प्रज्ञाको पद्य विभागबाट पनि राजीनामा दिनुभो !

मेरो चेतनाले जहाँ गडबड छ भन्ने सोच्छ, त्यहाँ रहन सक्दिनँ । सायद यो मभित्र रहेको विद्रोही चेतको प्रतिफल होला । म बाँच्नका लागि बाँच्न चाहन्न, सार्थक जीवन चाहन्छु । अहिलेसम्म सार्वजनिक भएका राजीनामा यतिमात्रै हुन् । तर यी भन्दा धेरै ठाउँमा र धेरैपटक राजीनामा दिएको छु मैले । समयक्रममा बताउँला ।

तपाईं अक्सर छोरा उमेरकाहरूसँग साहित्यिक वृत्त बनाउनु हुन्छ, आफ्नै छिमलका साथीसँग देखिनुहुन्न, किन हो ?

युवापुस्तासँग रम्नुको अर्थ हो आफूलाई सधैं युवा बनाई राख्नु । युवासँग नयाँ सोच, विचार र उत्साह हुन्छ । उमेर ढल्किसकेपछि मान्छेमा अलिक दम्भ, अनुभववाद र कुटिलता बढ्दै जान्छ कि जस्तो अनुभूति गर्छु । सिर्जनशीलता गिर्दो भए पनि विगतको ब्याज खान खोजिन्छ र अलि बढी व्यक्तिवादले गाँज्छ ।

तर युवाको सोचमा समाज र राष्ट्रकै सपना फैलिरहेको पाउँछु । उनीहरू यति आशावादी हुन्छन् कि सिंगै ब्रह्माण्ड घुम्ने योजना बुन्छन् । भोको पेट र निरस जीवनसँग संघर्ष गरेरै पनि संसार जित्ने कल्पना हुन्छ उनीहरूसँग । उनीहरूसँग हिँड्दा आफूमा पनि सिंगो संसार रच्ने सामथ्र्य भएको महसुस गर्छु ।

तपाईं नयाँ पुस्तालाई उठाउनुपर्छ भनिरहनु हुन्छ । अनेक अभियान चलाएर कोसिस पनि गर्नुभो । तर आजकाल थाक्नुभयो कि कसो ?

नेपाली साहित्यमा युवापुस्तालाई अघि बढ्न प्रेरणा दिनेमा पारिजात दिदी निकै अगाडि थिइन् । त्यसपछि त्यस्तो अभिभावक नेपाली साहित्यले पाएको छैन । म सामूहिकतामा विश्वास गर्छु, सहकार्यको मान्यता राख्छु । मिल्ने जति सबै मिलेर नेपाली कलासाहित्यको खोज, उन्नयन गर्नुपर्छ भन्ने लाग्छ ।

यही हुटहुटीले आन्दोलन, अभियान र प्रकाशनद्वारा युवा पुस्तालाई संगठित गर्ने, लेख्न प्रेरित गर्ने र स्थापित गर्ने प्रयत्न गरेँ र गरिरहेकै छु । थाकेको छैन । अभियानहरू त परिस्थिति र आवश्यकताअनुसार चल्छन्, सुस्ताउँछन् नै ।

महाकाव्यसहित सात कविता कृति र उपन्यास गरेर आठवटा किताब लेखिसक्नुभो । तर घरमा त एक रुपैयाँ पनि दिनु भएको छैन रे ! लुकाउनुभएको हो आम्दानी ?

नेपालमा साहित्यको बजार गतिलो छैन । केही प्रकाशन गृहले साहित्यमा लगानी गरेका छन् । लेखकलाई रोयल्टी दिने र साहित्यलाई बजारमार्फत पाठकसम्म पुर्‌याउन उनीहरूको प्रयत्न सराहनीय छ । तर देखिएका सबै प्रकाशन गृह व्यावसायिक छैनन् । कतिलाई लाग्छ, पुस्तक प्रकाशन गरेर लेखकलाई ठूलो गुन गरेका छौं ।

त्यस्ता प्रकाशन गृहका हातमा परियो भने आफ्नै खल्तीबाट पैसा खर्च गर्नुपर्ने हुन्छ लेखकले । 'पहेँलो घाम' लेख्न 'फिल्ड भिजिट' गर्दा भएको खर्चकै गन्ती लाखमा पुग्यो । उपन्यासको बिक्री पनि राम्रै भयो । तर अझै पनि घरबाट हिँड्ने समय श्रीमतीसँग खर्च माग्नुपर्ने दैनिकीमा परिवर्तन भएको छैन । यस्तै छ, के आम्दानी लुकाउनु !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.