तीज गीत: दोहोरी कि रत्यौली ?

'शिरैको शिरफूल बन्धकी राखेर
जाउ स्वामी शिक्षा लिन काशी बरिलै'
तीज गीतको यो अंशमा श्रीमतीले श्रीमान्लाई अध्ययन गर्नका लागि काशी जान प्रेरणा दिएको पाइन्छ । गीत मनोरञ्जनका लागि त हुँदै हो, चेतनास्तर उठाउने माध्यम पनि हो भन्ने यही गीतले देखाउँछ । तर, अहिले बजारमा चलेका तीज गीतमा यस्तो भाव पाउन मुस्किल छ ।
नेपाली समाजमा चलेका पुराना तीज गीतमा मूलतः बुहारी जीवनको विरह, वेदना र सकस पाइन्छ । कृषिप्रधान परम्परागत समाजमा परिस्थिति फरक थियो, सधैं दबाबमा बसेका नारीहरूले वर्षमा एकपटक तीजको मौकामा दिल खोलेर आफ्नो भावना पोख्न पाउँथे । त्यो पनि माइतीको आँगनमा पुगेपछि मात्र ।
घरका पीडा, सासूको कचकच, श्रीमान्को हेपाइ, सामाजिक घटनाहरूलाई लिएर घर घरमै तीजका गीत बन्थे । सामाजिक अवस्था पनि गीतमै समेटिन्थे । यही मौकामा परिवारका सदस्यलाई गीतमार्फत व्यंग्य पनि गर्थे । महिलाहरूको पर्व भए पनि कहीँ कतै दाजुभाइले आफ्ना दिदीबहिनीका लागि तीज गीत बनाउने गरेको पनि पाइएको छ ।
दिदीबहिनी लिन गएका तर रित्तै फर्किन विवश दाजुभाइको बिलौनामा पनि तीज गीत बनेका छन् । यी सबै तत्कालीन समाजमा महिलाको अवस्था प्रतिविम्बित गर्छन् ।
समाजमा राजनीतिक चेतना फैलँदै गर्दा तीसको दशकमा तीज गीतमा प्रगततिशीलता छिर्न थालेको पाइन्छ । नारी शिक्षाका लागि जागरण फैलाउने गीतहरू यति बेला गाइए । तीज गीतमा लैंगिक विभेदको विरोध, राजनीतिक परिवर्तन, समाज सुधारजस्ता विषय प्रवेश गरे । तीज गीतमा राजनीतिक मुद्दा समावेश गर्ने श्रेय नेपालका कम्युनिस्ट पार्टीहरूलाई जान्छ ।
अचेल पनि केही कम्युनिस्ट घटकहरूले प्रगतिशील तीज गीतका कार्यक्रम राख्ने गरेका छन् । राजनीतिक व्यवस्था फेरियो, सामाजिक संरचनामा परिवर्तन आयो । मानिसको चेतनास्तर र सामाजिक चेत पनि फेरियो । सञ्चारको विस्तार र प्रविधि प्रसारले आँगन, चोक, चौरबाट तीज गीतहरू एल्बमहरूमा उक्लिए । पचासको दशकबाट आएर तीज गीतका एल्बमहरूले बजार तताउन थाले । हरिदेवी कोइरालाका गीत त्यति बेला खुब चले ।
पुरुषहरूले तीज गीत पहिलेदेखि नै गाएको भए पनि तीज गीतका एल्बममा पुरुष आवाज भित्र्याउने श्रेय गायक प्रजापति पराजुलीले लिए । उनको एल्बम 'वेदनाको पोको'को शृंखलाले बजारमा एक दशकसम्म एकछत्र राज गर्यो । पारिवारिक गन्थनलाई तीज गीतमार्फत प्रस्तुत गर्न प्रजापति सफल भए ।
उनले आमा छोरा, दिदी भाइ, श्रीमान् श्रीमतीका गफलाई रमाइलो तरिकाले गीतमा प्रस्तुत गरेर नयाँ ट्रेन्ड स्थापित गरे । उनका गीतले सामाजिक सचेतना जगाउन धेरै सघायो । उनका अनुसार उनका तीज गीतले 'छोरीलाई विद्यालय पठाउने वातावरण बनायो ।' सामाजिक विसंगतिदेखि बिदेसिएका नेपालीको वेदनासमेत तीज गीतमा समेटेका छन् ।
दोहोरीमा जमेका गायक प्रजापतिले तीज गीतमा पारिवारिक सन्देश दिँदै पुरुष आवाजमात्र भित्र्याएनन्, यसमा दोहोरी शैली भित्र्याए ।
६० को दशकको अन्त्यतिर पशुपति शर्मा र राधिका हमालको 'टलक्कै ऐना टल्कियो' गीतले बजारमा तहल्का मच्चायो । यसले दुई गायक गायिकालाई मात्र संगीतमा स्थापित गराएन, मोडलहरू सम्झना बुढाथोकी र शंकर बीसीलाई पनि लोक दोहोरी क्षेत्रमा स्थापित गरायो । यसपछि निस्किएका तीज गीतहरूमा अधिकांशमा दोहोरी शैलीका छन् ।
खाँटी तीज गीत शिला खोज्दामात्र कहीँ कतै भेटिन्छन् । पुरुष आवाजबिना तीज गीत हुन्छ र ? जस्तो भइसक्यो । यसमध्ये पनि अधिकांश युवायुवतीका प्रेमप्रसंग तीज गीतका विषय बनेका छन् । त्यसैले यी गीत तीज गीत हुन् भनेर स्वीकार्न गाह्रो छ । तीज गीतबाटै चिनिएकी गायिका हरिदेवी कोइराला भन्छिन्, 'तीजमा निकालिएका अहिलेका गीतहरू तीज गीत नै होइनन् ।'
५० र ६० को दशकमा चलेका गायिकाहरू बीमाकुमारी दुरा, दुर्गा गुरुङ, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ अहिले छायाँमा छन् ।
'डिलै र मुनिको दुईपाते तुलसा
मोठैमा ल्याएर सारौं बरिलै
न स्वामी तिमीलाई मनमा लाग्ने इख
न स्वामी तिमीलाई शिक्षा बरिलै
शिरैको शिरफूल बन्दकी राखेर
जाऊ स्वामी शिक्षा लिन काशी बरिलै'
सामाजिक पर्वका रूपमा मनाइने तीजमा दिदीबहिनी एकै ठाउँमा भेला भएर नाच्न पनि लाज लाग्ने शब्दहरू प्रयोग हुन थालेका छन् ।
गाउँका कुनाकाप्चाबाट संकलन गरिएका यस्ता मौलिक तीज गीत गाएकी बीमाकुमारी दुरा भन्छिन्, 'अहिले त रत्यौली हो कि तीज गीत हो सुन्न पनि लाज लाग्छ ।'
एक त दोहोरीले खर्लप्पै पारेको तीज गीतमा झनै शब्दको मार्मिकता हलुँगो बन्दै गएको छ । सामाजिक पर्वका रूपमा मनाइने तीजमा दिदीबहिनी एकै ठाउँ भेला भएर नाच्न पनि लाज लाग्ने शब्दहरू प्रयोग हुन थालेका छन् । अघिल्लो वर्ष निकै चर्चामा आएको गीतले यसलाई प्रस्ट्याएको छः
'तल पनि पिरलो माथि पनि पिरलो
चोरी खान पल्केको यो ढाडे बिरालो ।'
तीजको भाषामात्र नभई भाकामा पनि आफ्नै शैली छ । तीज गीत भन्दै रत्यौलीका भाकाहरू गाइएका छन् । शोभा त्रिपाठी र राधिका हमालले गाएको यो गीत त्यसको नमुना होः
'सांसदको छोरो व्या गर्न आथ्यो,
पाटी मिलेन भनेर गयो फर्केर'
उट्पट्याङ र भड्किलो नबनाई तीज गीतमा टिक्नै नसकिने जसरी गायकगायिकाको प्रतिस्पर्धा भइरहेको छ । यस्तो बजारमा कहिले मौलिक तीज गीत गाउने दुस्साहस नगरेका होइनन्, तर यस्ता गीत छायाँमा परेका छन् । यस्तै गीतको वर्चस्व बढ्दै गए भने तीज टोल, छरछिमेक र आफन्तसँग नभई एक्लै कोठाभित्र बसेर मनाउनुपर्ने हुनसक्छ । तीजमा आफन्तसँग बसेर रमाइलो गर्दै नाच्न र सुन्न लायक गीतहरू पनि भेटिनु पर्यो नि ।
प्रतिक्रिया दिनुहोस !
