गगन गुन्गुनाउँदै गगन

'गगन दाजु बित्नुभो' हठात् मेरो कानमा यो खबर सेलफोनको अचाक्ली डिस्टब्र्ड खडाकखुडुक आवाज भएर बज्यो । सन्न भइरह्यो मेरो कान । अन्यमनस्क उभिरहेँ 'शनी मन्दिर लाइन'मा घर फर्कन भनी गाडी चढ्न आँटेको मान्छे म । कुदेर 'मेरी भिल्ला' पुगिहालूँ लागेको थियो तर सकिनँ । अन्तिम दर्शन भोलि भनेर आफूलाई गाडीभित्र इच्छाविरुद्ध घुसारेँ । दुई घन्टाअघि मात्र कवि वीरेन्द्रको पार्थिव देहलाई चिरबिदा दिएर फर्केको दिन थियो त्यो ।
बाटोभरि गगन गुरुङ मेरो आँखामा, मेरो कानमा, मेरो चेतनामा हाँसिरहे, बोलिरहे, गीत गाइरहे... । उनका ठट्टा, उनका हप्काइ, उनका गम्भीर गफ, उनका सांगीतिक विचार, उनका संस्मरण अनि अझै अरू के-के हो के-केको अन्त्यहीन फ्ल्यासब्याकसित बाटोभरि थुप्रै गगन गुरुङ मेरो साथ लागेर घरको मूल दैलोसम्म आए । म घरभित्र पसेँ अनि ती गगन गुरुङहरू मभित्र बसे । अहिले पनि देखिरहेछु गगन गुरुङहरूको यौटा लामो प्यानोरामा- अनेकौं मुहार र मुडहरूमा ।
रातो-पिरो-प्रतापिलो, हँसिलो-रसिलो-फर्साइलो, गफी-ठट्टाबाज-झोंक्की, हमेसा युवा-युवा-युवा । अनि त उमेरको ८३औं शिविरमा पुग्दा पनि वृद्ध नभई बिते उनी । यति बेला मलाई त्यो प्यानोरमाबाट कुन दृश्य टिपूँ कुन छोडूँ भइराखेको छ ।
'तृष्णा मृगतृष्णा ओ प्रेयसी/क्षितिज बनी सरिदिने मनलाई सधैं सताउने' युवा-उत्साहसित उनले गाएका हिजोअस्ति जस्तो लाग्छ ।
अहिले महिना गन्ती गर्दा दस-एघारभन्दा पर जाँदैन । उनकी ठूली छोरीले हङकङबाट ल्याइदिएकी साँपको स्पेसल रेड वाइन छ अघिल्तिर चाइना क्लेको ससाना स्पेसल वाइन-कपमा । साँपको वाइन भन्नेबित्तिकै दाजुले विशेष मलाई अनि कुमुदरञ्जन गिरीलाई सम्झिन्थे । 'मन भाइ, साँप.. आ'को छ है । तयार बस्नू ।' फोन गर्थे । माथिल्लो तलाको फराकिलो बैठक कोठा । भुँइमा छ हार्मोनियम र दुक्की-तबला ।
बयासी वर्षे युवाको आतिथ्यमा छौं हामी- पुरण गिरी, दिवस गुरुङ, सहदेव चाम्लिङ, कुमुदरञ्जन गिरी, खेमनारायण सुब्बा अनि म । चियर्स ! चियर्स ! चियर्स टु द हेल्थ अब् आवर वन्डरफुल गगन दाजु !! बैठक कोठाको देब्रेतर्फ पल्लो छेउमा विष्णु दिदीको पाककलाअनुसार पाकिरहेका÷फ्राई भइरहेका अनेक परिकारहरू आइरहन्छन् टेबलमा । वाइनको मीठो मस्तीले मुसार्दैछ हामीलाई । पैंतीस-चालीस मिनेटसम्मको गफ र हँसाइमा फुस्किँदै फैलिन थालेपछि सुरु हुन्छ गायन कार्यक्रम । आजको बैठकमा विशेष गगन दाजुको प्रकाशोन्मुख एल्बमबाट गीतहरू सुन्छौं ।
त्यस एल्बमका निम्ति उनले चयन गरेका पाँच/छजना गायक-गायिकामध्ये अहिले हामीसँग बैठकमा दुईजना छन्— दिवस गुरुङ र खेमनारायण । दुईजनाबाट सुन्छौं दाजुका नयाँ संगीत सिर्जनाहरू । पहिल्यै रचना गरिएको संगीतमा छयाप्प मिल्ने गरी पुरण गिरीले लेखेको गीत त्यो प्रस्तावित एल्बममा सबभन्दा प्रिय थियो ती हाम्रा संगीतकारलाई ।
त्यसैले त्यो दिन उनले आफैं गाए, 'तृष्णा मृगतृष्णा ओ प्रेयसी...!' अनि खेमनारायणलाई गाउन दिइएको गीत सुन्छौं- पाश्चात्य वाल्ज संगीतको लयमा रचिएको जसबारे दाजु हामीलाई भन्छन्, 'दादराजस्तो सुने तापनि यो दादरा होइन । यसमा वाल्जको स्विङ छ ।' नौलो आनन्द दिएको लाग्छ हामीलाई उनको यो कम्पोजिसनले ।
साँपको रक्सी, हङकङबाटै ल्याइएको, पहिले पनि खुवाएका हुन् उनले हामीलाई । पहिलोपल्ट, आठ/नौ वर्षअघि, सङ्लो साँपको रक्सी खाएको त्यो दिन टड्कारो सम्झिरहेछु यस क्षण । त्यस बेला तल्लो तलामा उनको बैठक कोठा । नयनप्रकाश सुब्बा, मणिकमल छेत्री, कुमुद गिरी अनि म छौं दाजुको न्यानो सामीप्यमा । जाडो दिन । बैठक कोठाको बीचमा हिटर राखेर हामी पहिलोपल्ट साँपको रक्सीको चुस्की लिइरहेथ्यौं ।
त्यो विशेष रक्सीकै निमित्त बनेको ससाना कप चिनियाँ माटोको । संगीत र साहित्यसहित अरू थुप्रै कुराका ज्ञाता नयनप्रकाश दाजुले हामीलाई देखाउँछन् त्यो कप कसरी समात्नु, त्यो रक्सीको सिप कसरी लिनु ! अनि गफहरू हाम्रा राजनीतिको, साहित्यको, संगीतको, नाटकको इत्यादि । नेपाली संगीतको प्रथम प्रहरका मित्रसेन थापा र मेलवा देवीदेखि अम्बर गुरुङ र गोपाल योञ्जन हुँदै पछिल्लो पुस्तासम्मका संगीतबारे चर्चा गर्छौं ।
अब साँप सकेर हामी कन्याक घुट्याउन थालिसकेका थियौं । बीचबीचमा कृष्णा भाउजू के के परिकार लिएर आउँदै केही बेर हाम्रो गफ सुनिदिनुहुन्थ्यो । त्यसपछि, रक्सीले पर्याप्त भिजेको गलाबाट केही गीतको रमाइलो प्रस्तुति हार्मोनियमसित । मणिकमल गाउँछन् मधुर स्वरमा 'जिन्दगी यो के हो के हो बुझ्नै गाह्रो भो...।'
गगन दाजुलाई गाउन आग्रह गर्छौं । अनि सुन्छौं उनका दुईवटा गीत आजसम्म रेकर्ड नगरिएका । अनि म आग्रह गर्छु, 'कालो कपाल सेतो भयो..।' ह्यान्सम अनुहार त्यो मुस्कानले अझ हेरिरहूँलाग्दो बनाएर, हात नचाउँदै गाउँछन् उनी 'कालो कपाल सेतो भयो जिन्दगीमा केके भयो !' ८० को दशकको पूर्वाद्र्धतिर उस बेलाको भानुभवनको मञ्चमा उभेर उनले यो गीत बढो रौसे ढंगमा गाएको मैले सुन्न पाएको हुँ ।
त्यस बेला तर ती रवाफिलो स्वभावका संगीतकारको पारखी आँखाबाट अलिक टाढै थिएँ म । त्यति बेलैदेखि हो मैले उनको गीतसंगीतमा निजत्वको निस्श्वास थाहा पाउन थालेको ।
मेरा बुवाभन्दा सात वर्षले मात्र कान्छो गगन दाजुलाई मैले कहिले चिनेँ, कहिलेदेखि कसरी नगिच भएँ थाहा छैन । सायद उनलाई चिन्नभन्दा वर्षौंपहिले नै म उनको गीतमा झुमेँ, 'वारि खोला पारिमा खोला बीचैमा पापी दोभान...' जुन गीत आजका उदय-मनिलाले गाउनभन्दा दशकौंअघि नै दार्जिलिङ पहाडको पाखाभित्तातिर देउसी, बिहेबटुल अनि वनभोजतिर गाइने-नाचिने लोकप्रिय गीत थियो ।
बीचको समयमा विस्मृत बनेको यो गीत उदय-मनिलाको स्वरमा रेकर्ड भएपछि यसको लोकप्रियता पुनजीर्वित भई अझ व्यापक बन्यो । हाम्रो आफ्नै लोकताल धिमा समलामा हामीभित्रको जातीय मर्मलाई उद्वेलित गर्दै यो गीत यस्तरी लहरिन्छ कि यसको गहिरो विरही भावमा पनि हामी झुम्छौं, अनि हाम्रो अन्तर्संवेदन ब्यूँझेर यसको लय र लचकलाई शरीरका अंगहरूले व्यक्त गर्न कति बेला उठिसकेका हुन्छौं हामी ।
तर, गगन दाजु भन्थे, 'यो नाच्ने गीत होइन, यसको शब्द र धुन दुवैमा विरह छ, व्यथा छ ।' तर फेरि जहाँ-जहाँ यो गीत बज्छ यसको लय हाम्रा मान्छेहरूका मर्ममा सन्चारित हुँदै आङ्गिक लचकमा उद्घाटित भइसकेको हुन्छ । यो गीतको शक्ति नै त्यै हो । यसका सर्जकले अन्त्यमा यो नस्वीकारी सकेनन् ।
हाम्रो स्वभाव नै त्यस्तो छ कि निज जातीय लयले हामी त्यसै-त्यसै लयान्वित भइहाल्दोरहेछौं । नेपालबाट यता छिरेको लोक गीत 'घाँसै काटी सान्नानी सात पाते रानीवन/पापिनीले रुवायो मेरो मन'मा पनि त शब्द-संगीत दुवै विरहले छपछप भिजेको छ नि तर यो गीतको लयले पनि हामीलाई ननचाई छोड्दैन ।
भाषा आन्दोलनको केन्द्रीय समितिसित जडित उनीसित त्यो आन्दोलन अवधिमा कति चोटि भेट भइरहे पनि उनको नजिक पुगेको थिइनँ म । त्यही समय हो उनीद्वारा लिखित निर्देशित नाटक 'दार्जिलिङ बाई नाइट'ले निकै ठूलो हल्लाखल्ला मच्चाएको । त्यस बेलाका साप्ताहिक तथा पाक्षिक पत्रिकाहरूतिर त्यो नाटकबारे पर्याप्त समीक्षाहरू निस्केका पढ्थ्यौं ।
दार्जिलिङ सहरको समसामयिकतालाई समातेर नितान्त नौलो प्रविधिको प्रयोगले साथै प्रतिभाशाली नयनप्रकाश सुब्बाको संलग्नताले अत्यन्तै चर्चित भएको त्यो नाटकको ह्याङओभर दार्जिलिङमा पछिसम्म रहिरह्यो ।
दार्जिलिङे नाटकको आकाशमा त्यसरी पुच्छ्रे ताराजस्तो एकैपल्ट देखा परेका गगन गुरुङको मन-प्राण तर संगीतदेखि टाढा कहिल्यै हुन सकेन । हो, उनले हामीलाई कहिलेकाहीँ गफैगफमा संस्मरणको झ्याल खोलेर जीवनका ती मोडहरू पनि देखाएका छन् जहाँ संगीत-सर्जक गगन गुरुङ बेस्सरी बरालिएका थिए, बहकिएका थिए, बतासिएका थिए ।
प्लिभा (अचेलको ग्लेनरिज)मा महँगो हिवस्कीको चुस्की लिँदै एलिटवर्गीय महिलाहरूसित डान्स गर्नु, साँझ परेको थाहा नपाउने गरी बिलियर्ड खेलिरहनु अनि मन भंगालिदिने अन्यान्य कमसल क्रियाकलाप । तर, ती मारजस्ता मोडहरूबाट उनलाई कसैले फर्काएर ल्यायो भने त्यो हो उनीभित्रको सांगीतिक मर्म, संगीतप्रतिको धर्म अनि कलाचेतले कोट्याइदिएको कर्म ।
- संगीतमाथि सूक्ष्म मौलिक दृष्टि राख्नसक्ने उनी दार्जिलिङे नेपाली संगीतमाथि एक विशद् ऐतिहासिक ग्रन्थ तयार पार्ने काममा एकदुई वर्षदेखि यसो लागिरहेका थिए जो तर अब सधैंलाई अधुरै रहने भयो ।
त्यसो त अत्यन्त सौम्य, सरल र सहृदयी स्वभावकी भाउजू कृष्णाले विविध विशेष मोडहरूमा खेलेकी अत्यन्त सकारात्मक र बुद्धिमत्तापूर्ण भूमिकाहरूलाई सम्झेर पनि भाउजूप्रति प्रेम र आदरभाव बढेर आएको कुरो गरिरहन्थे गगन दाजु । फेरि सिर्जनात्मक सक्रियतामा फर्केर आएपछि त निद्रा नलागेको अवस्थालाई पनि उनले गीतमा उने, बुने र अरुणा लामाको स्वरमा सुने- 'लागेन है लागेन मलाई निद लागेन÷हाय मलाई निद लागेन ।'
गीतको स्थायी अंशको संगीतमा निद्रा नलाग्दाको भावभंगिमा श्रोताको आँखामा प्रस्ट आउँछ । त्यही समयको उनको अर्को गीत पनि छ अरुणा लामाको स्वरमा, 'यहाँ तिम्रो नै सम्झनामा, धेरै धेरै धेरै बाँचिदिएँ ।' तर त्यस समय दार्जिलिङको साह्रै नै सीमित प्राविधिक सुविधाको दायरामा रही रेकर्ड गरिएको अनि अत्यन्त सीमित वितरणका कारण यी गीतहरूको उस्तो प्रचारप्रसार हुन सकेन ।
मनमा कुरा नलुकाई नघुमाई सोझै स्पष्टै बोल्ने अनि बोल्दा आफ्नो कुरालाई आत्मविश्वासका साथ अघि राख्ने उनी तर कति ठाउँ कति चोटि भूल पनि बुझिएका थिए । त्यस्तै भूल बुझिएको एक समयको तीतो अनुभूतिलाई उनले गीतमा पोखे-
'मैले बोल्नै भएन, केही भन्नै भएन
दुईचार कुरा मनको मैले पोख्नै भएन'
शान्ति ठटालको संगीत पाएर यो गीत अझ बढी प्राणवत् भइउठ्यो भने रामकृष्ण ढकालको गायकीले यसलाई लोकप्रियतामा फैल्यायो ।
रेकर्डिङ प्रविधिले सीडीको अवतार बजारमा उतार्नभन्दा केही वर्षअघि मात्र गगन गुरुङको पहिलो गीतिएल्बम 'मनभरिका मनका कुरा' क्यासेट रूपमा निस्क्यो । चार गायिकाहरू (हीरा रसाइली, रीमा गुरुङ, रिमला मोक्तान, माया ढुंगेल)को स्वरमा रेकर्ड गरिएको आठवटा गीतको यो सँगालोमा गीतकार-संगीतकार दुवै रूपमा आफ्नै अनुहार लिएर टड्कारो उभिएका पाउँछौं गगन गुरुङलाई ।
प्रीतिजन्य विरह र उल्लासका यी गीतहरूमा संगीत रचना आआफ्नै विशेषताका छन् र छन् श्रोताको संवेदनलाई सहजतापूर्वक तरंग्याउने किसिमका । जातीय लोकलयदेखि आधुनिकताको लहरमा लहरिँदै पाश्चात्य शैलीको लयमा आइपुगेर बिसाएका यी रचनाहरूले गगन गुरुङलाई एक मौलिक मेधायुक्त सबल सर्जक चिनाएका छन् । गीतसंगीत दुवै रचनामा पर्याप्त नेपाली मुटु धुक्धुकाएको सुनिने यी गीतहरू दोहोर्याएर सुन्न मन लाग्ने खालका छन् ।
'फाटिदेऊ है बादलु'जस्तो समलामा व्यक्त प्रणय-व्यथा होस् या त 'के भो ? के भो ? हिजोआज मेरो मन' भन्दै डम्फुको तालमा छचल्किएको विह्वलता होस्, अर्थात् कहरवामा कथिएको नस्टाल्जिया होस् या त प्रतीक्षित प्रेमी नआएकोमा दुखेको दादरा होस्, हरेक गीतका रचना-संरचना नेपाली संवेदनाको सूक्ष्म धागोले उनिएका छन् ।
गीतका विशेष केही शब्दलाई जोड दिएर संगीत सिर्जना गर्ने अनि गायनमा त्यो विशेष ठाउँमा तदनुरूप स्वराघात भएको सुन्न चाहन्थे उनी । रिमला मोक्तानलाई गाउन दिइएको 'के भो ? के भो ? ...'को चौथो पंक्तिमा 'छैन' शब्दमाथि यस प्रकारको घतपर्दो प्रयोग सुन्छौं । एल्बममा अर्को उल्लेख्य गीत रीमा गुरुङ होडाले गाएकी 'मैले त माया ला'को होइन, जूनकीरीले सिकाको'लाई पर्यावालोचना (इकोक्रिटिसिज्म)को अवधारणाले हेरेर यौटा सानोतिनो छुट्टै लेख तयार पार्न पनि सकिन्छ । त्यस्तो स्कोप यो गीतले सिर्जना गरेको छ ।
गगन-संगीतमा हामीले गजल-संगीत पनि पाएका छौं । हिन्दीका प्रसिद्ध कवि गोपालसिंह नेपालीले नेपालीमा लेखेका गजल 'म सम्झन्छु तिमीले सम्झे...' लाई गगन गुरुङले गजलोपयुक्त धुन दिएर आफ्नो बहुआयामी सांगीतिक दक्षता देखाएका छन् जसलाई पोख्त युवा गजल गायक अजनिश राईले गाएका छन् ।
एक दिन फेरि अर्को यौटा सीडी उपहारमा दिँदै आफ्नो नयाँ सिर्जना सुनाउँछन्, 'पापीले मनै चोर्यो..!' रिमलाको स्वरमा रेकर्ड गरिएको यो गीतको कम्पोजिसनले एकै सुनाइमै म रोमाञ्चित बनेको थिएँ ।
सन् १९६१ मा नेपालका राजा महेन्द्र दार्जिलिङ आएर 'माउन्ट एभरेस्ट ओबेरोय होटेल'मा बसेका बेला तन्नेरी गगन गुरुङले राजालाई 'नौलाख तारा उदाए' सुनाएर विशेष किसिमले प्रभाव पारेपछि राजाबाट एक हजार रुपैयाँ इनाम पाएका थिए । अम्बर गुरुङले संगीत रचना गरेको अगमसिंह गिरीको त्यो गीत एचएम. भी स्टुडियो, कलकत्तामा समला तालसित अम्बरकै स्वरमा रेकर्ड हुनुभन्दा पहिले तामाङ सेलोमा गगन गुरुङलाई सिकाइएको रहेछ ।
कलाप्रेमी राजाको मनोरञ्जनार्थ होटलको म्यानेजरद्वारा बोलाइएको दार्जिलिङ कला मन्दिरको सांगीतिक टोलीमा सामेल भई गएका गगनले गाए काटछाँट नगरिएको सम्पूर्ण 'नौलाख तारा' ट्याक ढुङ् ढुङ् डम्फु तालमा ! संगीतकार अम्बर गुरुङको नाम उच्चारण गरेरै गगन-गायन प्रस्तुत भएकाले कलापारखी राजाको मनमा अम्बर-प्रभाव दीर्घकालसम्म रहिरह्यो जहाँबाट सुरु भयो अम्बरलाई नेपाल छिराउने राजमार्ग ।
संगीतमाथि अत्यन्त प्रभावकारी विचारोत्तेजक वक्तव्य राख्नसक्ने गगन गुरुङ भन्ने गर्थे, 'अरूबाट लिएको कुरोलाई हामी आफ्नो कुरोसित यसरी मिलाऊँ जस्तो कि दौरासुरुवालमा कोट । हाम्रो दौरासुरुवालमा युरोपियनहरूको कोट यसरी मिलेको छ, यसरी सुहाएको छ कि अब कोट हाम्रो होइन भन्नै सक्दैनौं !'
निग्रोहरूले प्रतिवादका रूपमा ल्याएको र्याप संगीतको स्वरूप र शैली उनी हाम्रै झाँक्रीहरूले ढ्यांग्रोको तालमा फलाकेकोमा देख्थे । दार्जिलिङको 'गोर्खा दुःख निवारक सम्मेलन'द्वारा बर्सेनि आयोजना हुने संगीत प्रतियोगितामा अल्लारे छँदा तीनपटकसम्म प्रथम पुरस्कार जित्ने गगन गुरुङले आफ्नो पछिल्लो समयमा त्यो संगीत प्रतियोगिताको पारम्परिक ढाँचामा पर्याप्त परिवर्तन ल्याई समसामयिक ताजा स्वरूप दिए ।
सन् १९६१ मा नेपालका राजा महेन्द्र दार्जिलिङ आएर 'माउन्ट एभरेस्ट ओबेरोय होटेल'मा बसेका बेला तन्नेरी गगन गुरुङले राजालाई 'नौलाख तारा उदाए' सुनाएर विशेष किसिमले प्रभाव पारेपछि राजाबाट एक हजार रुपियाँ इनाम पाएका थिए ।
उक्त परिवर्तित परिपाटीको प्रतियोगितालाई नाम पनि दिए, 'स्वर श्री' प्रतियोगिता । नेपाली संगीतमाथि सूक्ष्म मौलिक दृष्टि राख्नसक्ने उनी दार्जिलिङे नेपाली संगीतमाथि एक विशद् ऐतिहासिक ग्रन्थ तयार पार्ने काममा एकदुई वर्षदेखि यसो लागिरहेका थिए जो तर अब सधैंलाई अधुरै रहने भयो ।
सारा भारतभरि ब्रिटीश औपनिवेशिक शासनबाट मुक्ति पाएको ६९औं वर्षगाँठ मनाइँदै गरेको बेला आफ्नो ८३ वर्षे जुनीबाट मुक्ति लिइसकेका गगन गुरुङको भौतिक देह पञ्चतत्वकै काखमा फर्केर गई अनन्तलाई अदृश्य भइरहेको थियो ।
अघिमाथि चर्चा गरिएको निर्माणाधीन एल्बम अक्टोबर÷नोभेम्बर २०१५ मा भव्यताका साथ नौलो ढंगले सार्वजनिक गर्ने उनको योजना भए पनि रेकर्डिङ स्टुडियोको प्राविधिक कारणले त्यो हुन सकेन ।
यसबीच उनी फेरि बिरामी परेर थलिए । 'अब अप्रिलतिर गर्नुपर्छ होला, भाइ !' भने एक दिन । तर अप्रिल पनि बित्यो अनि मैले फेरि एक दिन सोध्दा दिक्क भइसकेको जस्तो आवाजमा भनेका थिए, 'भाइ, खै के हो के हो...! अब विमोचन नगरी निकाल्छु !' तर फेरि अस्पतालमा कति दिनसम्म उनको बास भइदियो । आज उनी छैनन् ।
कम्प्याक्ट डिस्कमा कुँदिएको उनको सिर्जनाका स्वर र स्वरूप हेर्न नपाई बिते उनी । उनका गायक-गायिकाहरूलाई आशीर्वचनका दुईचार शब्द भन्नै नपाई अनन्त मौनतामा समाहित भइगए । अनि अझै पूर्णाकृति नपाइसकेको त्यो एल्बम भने आफ्नै स्रष्टाको मलामीसमेत जान नपाई स्टुडियोको चार भित्ताभित्र थुनिएको छ ।
'मानिसको जीवन कर्कोला पानी अल्झेको पातमा' लेख्ने हाम्रा ती संगीतकारलाई तीन वर्षअघि विशेष उपचारका निमित्त उनका छोरीज्वाइँले काठमाडौं लगेर राखेका थिए । तर केही महिनापछि स्वास्थ्यलाभ गरिरहेका गगन गुरुङको परिवारमाथि यस्तो बज्रपात परिदियो कि उनको जीवन-तृष्णाको तृप्ति प्राणप्रिया कृष्णाबिना कुनै पूर्वसंकेत अकस्मात् निष्प्राण भइन् ।
त्यो मानसिक संघातबाट गगन दाजु सायद फेरि कहिल्यै पूर्ण तरिकाले बाहिर निस्कन सकेनन् । उनै कृष्णा भाउजूको स्मृतिमा निर्माणाधीन उक्त एल्बम, आउने कुनै दिन सार्वजनिक भए, अब सर्जक स्वयंलाई नै श्रद्धाञ्जलि हुने भयो ।
गगन दाजु, वाल्ज् लयमा तपाईंको यो संगीत-रचनासित हामी पछिसम्म स्विङ गरिरहेका हुनेछौं:
'यस्तै नै हो सधैं यो र जिउनु-मर्नु यहाँ
तर जिउनु-मर्नु के हो र बुझिन्न यो अथाह ।'
प्रतिक्रिया दिनुहोस !
