टेम्पो एम्बुलेन्स
यात्रा
काठमाडौंबाट झापातिर बाटो लाग्दा ‘भदौको हात्ती’ भइने चिन्ताले यात्रा झन् गरम हुन पुग्यो । फर्किंदा भने राजन सुनामको टेम्पो–एम्बुलेन्स र भरतसिंह दाइको ‘नाम–चिन्तन’ले केही राहत दियो ।
खासमा गाउँमा खेतीकिसान गर्दाताका सुने–भोगेको पुरानो कुराले झापा–यात्रा मेरा लागि कष्टकर हुँदै थियो । पाकेको मकैको घोगा भाँचिसकेपछि ढोड थन्क्याउँदा कम्ता मुस्किल हुँदैनथ्यो । हामी केटाकेटीहरू गर्मी र मकैको ढोडले पाछिएर हैरान हुन्थ्यौं । जेठापाकाहरू हामीलाई ठट्टामा उडाउँदै भन्थे, ‘भदौको घामले मदेसको हात्ती पो रुन्छ त केटाकेटी हो !’
‘मदेसको भदौको हात्ती’ आतंकले एकखालको मनोवैज्ञानिक सन्त्रास पैदा भएको थियो मभित्र, ‘कसरी खप्ने होला होउ झापाको घामको राप !’
मुन्दुमको तेस्रो भाग ‘मुन्दुम: रिलुङ (संस्कृति)’को लागि काम सुरु गर्ने क्रममा झापातिर लागेका थियौं हामी तीनजना । जय दाइ (राई) अर्थात् किरात मुन्दुम (दर्शन) अनुसन्धान तथा अभिलेखीकरण समितिका संयोजक, कविजी (राई) अर्थात् क्यामेरा चलाउने पाइलट र म ।
संयोग यस्तो भयो कि हामी बसुन्जेल झापामा पानी परिरह्यो, चिसो हावा चलिरह्यो । कतिसम्म भने राति त सिरकै ओढ्ने पो बनायो ।
हामीले थुप्रै पटक ठट्टा पनि ग¥यौं, ‘मुन्दुम जोगाउन आए भनेर प्रकृति र पितृहरू खुसी भएछन् क्यार ।’
हत्तेरिका ! यसपटक झापाको घाम नै ‘मिस’ भयो । तर, झापाका केही कुरा भने गज्जब स्मरणीय रह्यो ।
टेम्पो–एम्बुलेन्स !
साउन ३२ गते साँझ ७ बजेतिर झापाको लक्ष्मीपुरमा ओर्लियौं । जय दाइले फोन गर्नुभो, ‘भान्जी, हामी ओर्लियौं त लक्ष्मीपुरमा । अब कता जाने ? ’ बस स्ट्यान्डकै पारिपट्टि घरको बरन्डामा निस्केर भान्जी भन्दै हुनुहुन्थ्यो सायद, ‘मामा यता हेर्नु न यता ।’ मामाचाहिँ ‘यता’ भनेको कता हो कता जस्तो भएर फनफनी चारतिर हेर्न थाल्नुभो । ओइलाएको सागजस्तो भएर यात्रु प्रतीक्षालयमा बसिरहेको मैले दाइलाई भनेँ, ‘दाइ पारि ।’
‘ए ऽऽऽ ठ्याक्कै वारिपारि पो ! म त ...’, जय दाइ हाँस्नुभो ।
सडक पार गरेर घरको भ¥याङ उक्लियौं । चिसो हावा खान हतारहतार घरको बरन्डामा देखाप¥यौं, मानौं कि कसैलाई उसरी नै ‘यता यता’ भनेर बोलाउनु छ। भान्जीले पनि कोठाभित्र बसौं भन्नुभएन, हामीले पनि गर्मीमा त्यस्तो गरम ‘अफर’ आश गरेनौं ।
‘मामाहरू आउनुभो कि, छिटो टेम्पो लिएर आऊ त राजन’, भान्जीले फोन गर्नुभो ।
उनी कसैलाई पु¥याउन गएका रहेछन् । लगभग १५ मिनेटमा अइपुगे । हामी टेम्पोमा चढ्यौं ।
‘भान्जा ! अब तीनचार दिन तपाईंकै टेम्पो चढ्नुपर्ने छ, लास्टमा हिसाबकिताब गरौंला है’, सुशीला दिदी (राई)को घरछेउमा ओर्लिएपछि हामीले प्रस्ताव राख्यौं ।
‘हस् भइहाल्छ नि मामा !’, उनले सहमति जनाए ।
माइक्रो बसले मात लागेर कतिखेर यो धर्तीमा खुट्टा राखूँला भइरहेको मलाई सुशीला दिदीको आँगनमा पुग्दा संसारकै सबैभन्दा आनन्दलाग्दो ठाउँमा पुगेजस्तै भएको थियो ।
राजन भान्जा तीनपटक अरबको तातो घाम खान पुगेका रहेछन् । अहिले आफैंले पाँच लाख रुपैयाँ खर्चिएर टेम्पो किनेछन् । उनको टेम्पोलाई टेम्पो के भन्नु, एम्बुलेन्स भन्दा हुन्छ ।
राजन भान्जा तीनपटक अरबको तातो घाम खान पुगेका रहेछन् । अहिले आफैंले पाँच लाख खर्चिएर टेम्पो किनेछन् । उनको टेम्पोलाई टेम्पो के भन्नु, एम्बुलेन्स भन्दा हुन्छ । उनको टेम्पोमात्र त्यस्तो टेम्पो रहेछ जो रातेखालदेखि शनि–अर्जुन नगरपालिकाको गाउँगाउँ पुग्छ, साँगुरा धुलौटे बाटोमा गुड्छ, खोला तर्छ । सफारी भनिने अरू सवारीसाधन त राम्रा सडकसम्म मात्रै !
राजन भान्जालाई भ्याइ न भ्याइ रहेछ । उनी सडकमा यात्री (ग्राहक) कुरेर बस्दैनन् । फोनमै उनलाई खबर आउँछ, ‘ए राजन, लु बिरामी लिएर हस्पिटल जानुप¥यो ।’ उनी दगुरिहाल्छन्, बिरामी बोक्छन् र अस्पतालमा भर्ना गर्नसमेत सहयोग गर्छन् र फर्किन्छन् । हामी जानुभन्दा केही दिनअघि मात्र उनले एपेन्डिस फुटेर सिकिस्त भएका दाइ (राजेन्द्र राई)लाई अस्पताल लगेर भर्ना गरेका रहेछन् ।
‘मैले नै टेम्पोमा अस्पताल लिएर गएँ । अलि ढिला भएको भए बूढा जाने रहेछ’, पहिलो दिन नै उनले बाटोमा कुरैकुरामा उनले भने ।
हामीले पनि भन्यौं, ‘भान्जाको टेम्पो त एम्बुलेन्स नै रहेछ नि ।’
उनी अझ हौसिए, ‘अस्पताल पु¥याएर भर्ना गरेको त डाक्टरले किन ढिलो ल्याएको भनेर पो हप्काए । मैले भनेँ– डाक्टरसाप्, छिटो पो ल्याइपु¥यायौं भन्नुस् न, त्यति टाढा गाउँबाट ।’
बिरामी हेर्न जाने मान्छेहरू हुने नै भए । अनि उनको मोबाइल घन्टी बजिहाल्छ, ‘राजन, बिरामी हेर्न जानुपर्ने कता छौ ? ’
‘ए एकैछिन पख्नुस् है, म एक जनालाई अर्को ठाउँ पु¥याउँदै छु । पन्ध्र मिनेटमा आइहाल्छु’, उनको रेडिमेडजस्तो उत्तर मुखमै छ । ‘पन्ध्र मिनेट’ उनको थेगोजस्तै भइसकेको रहेछ ।
भेट्न जानेहरूलाई मात्र उनी अस्पताल पु¥याउँदैनन्, आफू पनि बिरामी हेर्छन् । त्यै राजेन्द्र दाइलाई हेर्न जाने आफन्तलाई अस्पताल पु¥याउन गएको त कोठा ठसठसी गन्हाइरहेको । नर्सहरूलाई भनिहाले, ‘बिरामी बस्ने कोठा पनि यस्तो हुन्छ ? सन्चो मान्छे पनि बिरामी होलाजस्तो छ कोठा गुम्सिएर ।’
नर्सहरूले गुनासो गरे, ‘यो भाइ त कति छुच्चो !’
भदौ ३ गते छौवा (न्वागी) रेकर्डका लागि शनिश्चरे जानुपर्ने थियो । हामीले फोन ग¥यौं, ‘ल भान्जा शनिश्चरे जानुपर्ने भो, कता हुनुहुन्छ ? ’
‘मामा म आइहालेँ है पन्ध्र मिनेटमा । एक जना बच्चा बिरामी रहेछ, उसलाई पनि शनिश्चरे क्लिनिकमा लैजानुपर्नेछ ।’
केही बेरमै उनी आए । हामी साँगुरोसाँगुरो र बलौटे बाटो हुँदै रातेखालबाट उत्तर लाग्यौं । शनिश्चरे पुगेपछि हामी ओर्लिएर छौवा गर्ने ठाउँतिर लाग्यौं, बच्चालाई उनकी आमाले क्लिनिकतिर लगिन् । राजन भान्जा उनलाई कुर्न थाले ।
भदौ ४ गते साँझको बसमा काठमाडौं फर्किनु थियो । फर्किनुअघि उर्लाबारी (मोरङ)मा गरिने छौवाको पनि ‘भिजुयल’ लिऔं न त भनेर हामी बिहानै हिँड्ने भयौं ।
‘ए भान्जा ! लु भोलि बिहान उर्लाबारी जानुपर्छ तयार हुनू है’, मैले भनेँ ।
‘हुन्छ नि मामा । बिहान फोनमात्रै गर्नुस् न, म जति बजे पनि हाजिर हुन्छु ।’ बडा फुर्तिला पनि छन् हाम्रा राजन भान्जा ।
रातेखालबाट ४५ मिनेटमा हामी मोरङको उर्लाबारी आइपुग्यौं । बाटामा मैले जिस्क्याएँ, ‘हैन हो राजन भान्जा, मलाई गाडीमा हिँड्न त्यति सहज लाग्दैन । यै टेम्पोबाट काठमाडौं जाऊँ क्यार !’
उत्साहित हुँदै तु जवाफमा भने, ‘जानेमात्रै भन्नुस् न मामा, चिसो हावा खुवाउँदै म एकै दिनमा काठमाडौं पु¥याउँछु ।’
भान्जा गुरुजीले हामीलाई काठमाडौं त पु¥याउनुहोला तर रातेखालका बिरामीहरूलाई अस्पतालचाहिँ कसले पु¥याइदेला ?
उनलाई उर्लाबारीबाटै बिदा गरेर हामी साँझ बस चढेर लाग्यौं काठमाडौं ।
भरतसिंह दाइको ‘नाम–चिन्तन’
भदौ १ गते बिहानैदेखि सुशीला दिदीसँग मुन्दुमबारे कुराकानी ग¥यौं, उहाँले गाउने मुन्दुम रकेर्ड ग¥यौं । भोलि पनि बिहान यसै ग¥यौं तर दिउँसो बेस्सरी हावा चेलेकोले गर्दा क्यामेराले हावा समात्न थाल्यो, दिदीले मुन्दुम गाएको चाहिँ नाइँ । कविजीले रेकर्ड गर्न समस्या हुने बताएपछि दिदीले नै उपाय निकाल्नुभो, ‘राजेन्द्रकोमा गएर रेकर्ड गर्दा हावाले दुःख नदेला कि ? ’
झोली–तुम्बी पोका पारेर लाग्यौं नजिकै रहेको राजेन्द्र दाइको घरतिर, जो भर्खरै अस्पतालबाट घर आउनुभएको थियो । एक चरण रेकर्ड ग¥यौं । दोस्रो चरणको रेकर्ड गर्दै थियौं, मान्छेहरूको एक हूल आइपुग्यो । अलि बढी हल्ला होलाजस्तो लागेर कुराकानी स्थगित ग¥यौं । बेलुकी रेकर्ड गर्ने गरी ।
जय दाइ अघि नै गफिन सुरु गरिसक्नुभएको थियो, आगन्तुकहरूसँग । गरिएका रेकर्ड क्यामेराको मेमोरी कार्डबाट कम्प्युटरमा सारेर म पनि सहभागी भएँ गफमा ।
उहाँहरू भोलि (भदौ ३)का लागि सुशीला दिदीलाई यादैँ (निम्तो) दिन आउनुभएको रहेछ । छौवा गर्नुभन्दा एकदुई दिनअघि धामीलाई रक्सी लिएर निम्तो गर्ने चलन रहेछ ।
सबसे बढी गफचाहिँ भरतसिंह दाइसँग हुँदै थियो । सबसे बढी भरतसिंह दाइ नै गफिँदै हुनुहुन्थ्यो । उहाँका बाजेहरू खोटाङकै ससर्काबाट पाँचथर पुगेका रहेछन् । उहाँ लाहुरे हुनुभएछ । थुप्रै लाहुरेहरूसँगै उहाँको पनि झापामा बसोबास सुरु भएछ । शनि–अर्जुन नगरपालिकामा । पूरै यायावरजस्तो जिन्दगी नि भरतसिंह दाइको पनि !
भरतसिंह दुमीभाषी राई हुन् । उहाँलाई मुन्दुमको त माया छ नै मातृभाषामा राखिने नामको पनि खुब माया रहेछ । पहिचान ठूल्ठूला राजनीतिक मुद्दासँग मात्र जोडिएको सवाल होइन, ससाना र कम महत्वको लाग्ने कुरासँग पनि सम्बन्धित छ भन्ने गहिरो विश्वास रहेछ उहाँमा ।
कुराकानीकै क्रममा भन्नुभो, ‘अंग्रेजहरूले भारतमा शासन गर्दा बम्बई भन्थे, अहिले मुम्बई बनाइएको छ; कलकत्तालाई कोलकाता बनाइएको छ भने मद्रासलाई चेन्नई । अहिले पटनालाई ऐतिहासिक नाम पाटलीपुत्र राख्नुपर्छ भन्ने बहस उठिरहेको छ । नाममा केही नभएको भए किन अहिले सच्याइराख्नुपथ्र्यो र ? हाम्रो सगरमाथालाई पनि सच्याएर चोमोलुङ्मा बनाउनुपर्ने हो ।’
अझ थप्दै भन्नुभो, ‘जजसले मलाई बच्चाको नाम राखिदिन आग्रह गर्नुहुन्छ मातृभाषाबाट नाम राखिदिन्छु । जसको घरमा बच्चाको न्वारन गरिँदै छ भन्ने थाहा पाउँछु, सबैलाई मातृभाषाबाटै नाम राख्न अनुरोध पनि गर्छु ।’
मलाई झल्याँस्स याद आयो बेलायती साहित्यकार सेक्सपियरको । उनले आफ्नो कुनै नाटककृतिमा भनेका थिए, ‘नाममा के छ त्यस्तो ? गुलाफलाई गुलाफ भने पनि, नगुलाफ भने पनि फरक पर्दैन, त्यसले फुल्न र बास्ना दिन छाड्दैन ।’
समाजलाई नदीको एउटा किनारमा धकेलेर निरपेक्ष रूपमा सोच्ने हो भने गुलाफ भने पनि, ढुंगा भने पनि गुलाफलाई केही फरक पर्दैन । न त्यसले फुल्न छोड्छ, न त्यसले बास्ना दिन छोड्न, न त्यसले सौन्दर्य गुमाउँछ ।
काठमाडौंका लागि उर्लाबारीबाट गाडी चढेपछि बाटो कटनी गर्न म ‘नाम’बारे लामै दूरीसम्म घोरिएँ र निष्कर्ष निकालेँ– इतिहास, सभ्यता र संस्कृतिको अध्ययनमा नामले धेरै अर्थ राख्छ ।
जस्तो कि नेपालका प्रथम किरात राजाको नाम वंशावलीकारहरूले कसैले यलम्ब, कसैले एलम्ब, कसैले एलम् र कसैले यलम्बर उल्लेख गरेका छन् । मात्र केपी जयसवालले ‘क्रोनोलजी एन्ड हिस्ट्री अफ नेपाल’मा उल्लेख गरेको वंशावलीमा यलुङ नाम उल्लेख छ जुन मौलिक नाम हो । अझ डा. रमेश ढुंगेल त यलुङलाई ‘यलुङपा’ भन्न रुचाउँछन् जसको अर्थ हुन्छ काठमाडौं (यँ) प्रदेश (लुङ)का अगुवा (पा) ।
अर्कोतिर यलुङ नाम कुलुङ (कु + लुङ), थुलुङ (थु + लुङ), खालुङ (खा + लुङ) र चाम्लुङ (चाम् + लुङ)सँग नजिकको सम्बन्ध रहेको देखिन आउँछ । तर, संस्कृतकरण गरिएको ‘यलम्बर’ (यल + अम्बर) नामका आधारमा त्यस्तो निकटता देखाउन सकिँदैन, ऐतिहासिक अर्थ नै हराएर जान्छ । एक हिसाबले अनर्थ नै हुन्छ ।
संस्कृतकरण गरिएको नाम यलम्बर र मौलिक यलुङ (पा)ले बोक्ने अर्थले इतिहासबारेको व्याख्या र बुझाइमा यति धेरै भिन्नता ल्याउने रहेछ । भनेपछि सेक्सपियरलाई भन्नु परेन त– महान् नाटककारज्यू, नाममा धेरै कुरा छ, नामले धेरै फरक पार्छ ।