खजुम लिम्बूको नगरा निशान

 खजुम लिम्बूको नगरा निशान

तत्कालीन पल्लो किरात लिम्बूवानलाई विभिन्न १७ थुममा राजनीतिक विभाजन गरिँदा एउटा थुम ‘छथर’ कायम भयो । तेह्रथुम जिल्लाको दक्षिणी भाग र धनकुटाको उत्तरी भागका केही गाउँहरू छथरमा पर्छन् ।

कमल तिगेला र भैरव आङलाले सम्पादन गरेको ‘छथरको ताक्लुङ’ (२०६९:१०) अनुसार छथर थुममा तेह्रथुमको आङ्दिम, हमरजुङ, वसन्तपुर, फुलेक, दागपा, सुदाप, ओख्रे, फाक्चामारा र पञ्चकन्या तथा धनकुटाको तेलिया, हात्तिखर्क, मारेककटहरे, लेगुवा, जीतपुर, मूर्तिढुङ्गा, सान्ने, घार्लिखर्क, फलाटे, पाख्रिबास, ताङ्खुवा र परेवादिन गाविस पर्थे ।

त्यही छथर थुममा रहदै आएका एक लिम्बू हुन्, खजुम । खजुमभित्र पनि पारघरी, चोङबाङ, कुरुम्भङसहित ओयम, लेक्वा र इम्सङ गरी ६ वटै थर रहेका छन् । तर खजुमभित्रको ६ वटा थरका कारण नै यस थुमको नाम छथर रहेको भने होइन । खजुमहरूको बसोबास स्थल भने तेह्रथुमको पञ्चकन्या, धनकुटाको तेलिया, ताङ्खुवा र चौबीस इलाका रहेको छ ।

खजुमहरूमा प्रचलित एक लोकवार्ताअनुसार उनीहरूको प्राचीनताको लहरो निकै लामो छ । खजुमहरूको बसोबास क्षेत्रमा रहेको पेवालुङ ढुंगा र त्यहाँ रहेको हातका पाँच वटा औंलाका छापको कथा खजुम लिम्बूहरूसँग जोडिन्छ । कथा यस्तो छ :

उहिले एक बालक देखा पर्‍यो । बालक निकै समयसम्म बालकै रह्यो । पछि उसले गह्रौं ज्यावलहरू मागेर खनजोत सुरु गर्‍यो । उसको अद्भुत शक्तिले छोटो समयमै बालीनाली लटरम्म फल्यो । तर उसलाई खजुमहरूले राक्षस सम्झेर लखेटे । त्यो बालक तमोर किनार हुँदै छरुवा पुग्यो । त्यहाँबाट पनि लखेट्दै जाँदा त्यो व्यक्तिले बच्नका लागि फेरि बालकको रूप धारण गर्‍यो । खजुमहरूले धनुकाँड प्रहार गर्दा शिला ढुंगामा परिणत भयो । त्यो शिला ढुंगा बराह क्षेत्रमा रहेको छ ।

त्यसपछि पहिले बँदेलको रूपमा भाग्दा खुकुरीले चोट परेको हुँदा बदेलको चोट परेको टाउकोको प्रतिरूप बनाई खजुमहरूले पञ्चकन्यामै पूजा गर्ने गरेका छन्। प्रत्येक साउने संक्रान्तिमा त्यही प्रतिमूर्तिको विशेष पूजा गर्ने गरेका खजुमहरू बराह क्षेत्र भने कहिल्यै जाँदैनन् ।

खजुमको नगरा निशान
हरेक दसैंको नवमीमा धनकुटाको तांखुवा र तेह्रथुमका पञ्चकन्या खजुमहरूले निशान निकाली पूजा गर्छन् । तीमध्ये पञ्चकन्या कुरुम्भङसँग दुईवटा र तांखुवाका पारघरी र चोङबाङसँग एक–एक निशान रहेका छन् ।

नगरा निशान पाउने लिम्बूहरू आफ्नो क्षेत्रका सुबांगी प्राप्त अगुवा लिम्बूहरू मानिन्छन् । नगरा निशान राजाहरूबाट सोझै दिइन्थ्यो । यस अर्थमा खजुमहरू पनि राजाबाट नगरा निशान पाउने लिम्बूहरू हुन् । खजुमहरूले पहिले सेनकालमै विजयपुरका सेनहरूबाट नगरा निशान पाउने गरेकोले पछि शाह राजाले पनि त्यसलाई निरन्तरता दिँदै उनीहरूलाई नगरा निसान दिएको स्पष्ट हुन्छ । राजा रणबहादुर शाहले एक रुक्का जारी गरी खजुम रायको नाममा विसं १८३९ श्रावण वदि ८ बिहीबार नगरा निसान लिन आउन खजुम रायलाई राजदरबार बोलाएका थिए ।

राज्यविस्तार अभियानका क्रममा पृथ्वीनारायण शाहले पल्लो किरात लिम्बूवान हात पारेपछि उनी र उनका सन्तानले पनि लिम्बू सुब्बाहरूलाई सेनहरूले जस्तै नगरा निसान र जग्गाजमिनको जिम्मा दिन थाले ।

खजुमबारे भारदारहरूबाट विस्तारपूर्वक सुनेको, हिजो सेनहरूले दिएको नगरा निसान र मान मर्यादा जेजस्तो हो, त्यो आफूहरूले पनि दिने र त्यसका लागि लालमोहर पनि दिने भएकाले चाँडो गरी दरबार आउन र त्यसका लागि बाटो खर्च पनि दिइने बेहोरा त्यस रुक्कामा उल्लेख छ । रुक्काको बेहोरा यस्तो छ ः

‘स्वस्ति श्री महाराजाधिराज कस्य रुक्का...’

‘आगे षजुम राये के आसिकपुर्वक पत्र मिदम याहा कुसल ताहा कुसल चाहिये याहाको समुचार भलो छ तिमिहरूको कुरा जो छ हाम्रा भारदारहरूबाट विस्तार गर्‍या सुन्यु हिजो हिन्दुपतिले बक्स्याको नगरा निसान मान मर्‍यादा ज्या हो सो हामीले पनि बक्स्यौं मोहर देषत चाडो हजुरमा आइपुग षानदानका अर्थकन केही रुपैञा बक्सौंला तम्रा मानिसका हात लाग्यो केहि रुपैञा तिमिहरू आइपुग्नु बक्सन्छौं काज पनि लाउछौं षातिर्जामा चाडो दरबार सर्वथा आउ इति सम्वत १८३९ श्रावण वदि ८ रोज ५ शभम्...’

यस लेखमा प्रयोग गरिएको यो रुक्काको सक्कल प्रति धनकुटा, तांखुवा (हाल : धरान) निवासी लिम्बू इतिहास तथा मुन्धुमविज्ञ भरत तुङघङसँग सुरक्षित छ ।

राज्यविस्तार अभियानका क्रममा पृथ्वीनारायण शाहले पल्लो किरात लिम्बूवान हात पारेपछि उनी र उनका सन्तानले पनि लिम्बू सुब्बाहरूलाई सेनहरूले जस्तै नगरा निसान र जग्गाजमिनको जिम्मा दिन थाले । यसै क्रममा १८३९ श्रावण वदि ८ कै दिन श्रीदेव फागो, रैनसिंह सेरिङ, शुभवन्त लिवाङ र फेदाप थुमका आतहाङलाई पनि खजुमहरूलाई जस्तै छुट्टै लालमोहर पठाई नगरा निसान लिन राजा रणबहादुर शाहले राजदरबार बोलाएका लालमोहर इतिहासकार इमानसिंह चेम्जोङद्वारा लिखित ‘किरात इतिहास’ (सन् १९५२ः६२)मा पढ्न पाइन्छ । यस्तो नगरा निशान खजुम लिम्बूहरूले पनि पाए ।

नगरा निशानमा नगरा (दमाहा) र निशानस्वरूप झन्डा हुन्छ । यी सामग्रीलाई दसैंको बेला पूजा गरिने र नवमीमा बाहिर निकाली परिक्रमा गर्ने गरिन्छ । राजाबाट नगरा निशान पाउनु त्यस बेलाका लिम्बू सुब्बाहरूको प्रतिष्ठासँग गाँसिन्थ्यो ।

खजुमको जिम्मा
सेन राजासँगको खजुमहरूको सम्बन्धको इतिहास पुरानै छ । शंकरमान राजवंशीले सम्पादन गरेको ‘पुरातŒव पत्र संग्रह’ भाग दुई (२०१८ः४)मा प्रकाशित भएका स्याहा मोहरमध्ये विसं १७१९ पुस शुदि ४ मा मोरङबाट हरिश्चन्द्र सेन र बुष सेनले जारी गरेको स्याहामोहरमा ‘खेजीम राय’ उल्लेख हुनुले खजुमहरूको सेन राजाहरूसँगको सम्बन्ध निक्कै पुरानो भएको प्रस्ट हुन आउँछ । स्याहामोहरमा छापिएको ‘खेजीम राय’ खजुम राय नै भएकोमा कुनै द्विविधा छैन ।

इतिहासकार महेशराज पन्तले ‘पूर्णिमा’ ९५ (कात्तिक २०५५ः५३–५८)मा ल्याएको राजा गीर्वाणयुद्धविक्रम शाहले जारी गरेको विभिन्न लालमोहरमध्ये एउटा खजुमलाई लेखेको लालमोहर पनि परेको छ ।

खजुम सहर्सिंलगायतको नाममा विसं १८७३ कार्तिक वदी ९ आइतबार जारी गरिएको यस लालमोहरले खजुम सहरसिंहलगायत अरू लिम्बूले सुबांगी जिम्मा पाएको र उनीहरूको साँधसिमाना स्पष्ट पारिएको छ । सोअनुसार पुर्वको तमोर नुभु खोला, दक्षिण फाकुवा तांखुवा खोला, उत्तर पश्चिम अरुण खोला र उत्तर काबाई मनांगीसम्म उनीहरूले पाएको जिम्माको साँध किटान गरिएको छ । लालमोहरको बेहोरा यस्तो छ ः

‘आगे षुजुम सहर्सिं राई सुभामुषी राई ञ्युं सामुषी राइ षेम्साबोन्द राइ तुम्यांजित राइके ’

‘तिम्रा बाबज्यादाले सेनका पालादेषि सुबांगी बेहोरि आयाको रहेछ. आज हामिले पनि सुबांगी र आजसम्म आफुले षाइ आयाको जिमी जग्गा पोषरि फदुम पेघा घड्यारी त्यसको सांध पुर्व तमोर्नुभु षोला दछिण फाकुवा तंषुवा षोला पश्चीम होबेलां अरुन षोला उत्तर काबाइ मनांगी एति चार कीला भीत्रको जगा लगापातसमेत् पंचषत बाहीक राषी आफ्ना जातको अपुताली बाजे मामीला षानु भन्या बंजेद बाधी बक्स्यौं. आफ्ना षातिर्जमासंग दस लिंबुका तरहसंग चैनपुर मानी सुबागी भोग्य गर.’

खजुमको गढी
छैटौं शताब्दीमा लिम्बूवान १० प्रान्तमा विभाजित हुँदा छथरे लिम्बूहरूले पनि गढी खडा गरे । इडेन भ्यान्सिटार्टले पुस्तक ‘गुर्खाज’ (१९०६) मा यस क्षेत्रमा ताक्लुङ खजुमहाङ राजाले शासन गरी उनले चिमलिङ गढी बनाए भनी लेखेको र त्यसलाई इमानसिंह चेम्जोङले आफ्नो पुस्तक ‘हिस्ट्री एन्ड कल्चर अफ किरात पिपल’ (१९६७) मा समर्थन गरे पनि इतिहासकार शिवकुमार श्रेष्ठले यसप्रति विमति प्रकट गरेका छन् । श्रेष्ठले आफ्नो पुस्तक ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’ (२०६२ः३४–३५) मा छथर क्षेत्रको गढीमा रहेर इमिमुहाङले छथर इलाकाको शासन गरेका र उनी खेवा थरका लिम्बू थिए भनेका छन् । ताक्लुङ यकमा खेवाहरूले नै पूजा गर्ने गरेका छन् ।

तर छथर इलाकामा खजुमहरूको पनि गढी नरहेको होइन । तेह्रथुमको पञ्चकन्या गाविसमा रहेको पोखरीभन्दा करिब एक किलोमिटर पूर्वको डाँडामा रहेको भग्नावशेषलाई उनीहरूले आफ्नो गढी मान्दै आएका छन् । वरिपरि सुरक्षा खाडल खनिएको पुरानो डोब यहाँ देख्न सकिन्छ । २००७ सालसम्म यहाँ नेपाली सेनाले पहरा दिने गरेका थिए भन्ने स्थानीय भनाइ पाइन्छ ।

पञ्चकन्यामै तीनवटा शिलास्तम्भ पनि छन् । यसलाई छथरका खजुम फु्याङ राय, खजुम काम्भुङ राय र खजुम जमुना रायले आफ्नो नामका गाडेको अनु श्रुति भएको इतिहास तथा मुन्धुमविद् भरत तुंघङले चर्चा गर्दै आएका छन् ।

खजुमहरूको गढीलाई ‘योमोई चम्खासिं यक’ भनिन्छ । यो गढीवरपर खजुमहरूमा यो गीत प्रचलित छ ः

तुतु तुम्याहाङ यम्वासे

याक्ला सुहाङ यम्वासे

मुलंखे मुसुंना कुभुमीसा यम्वुसे

योमोई चम्खासिं कुयक्मी सा यम्बुसे

चाचाला चाहिदो हाङ यम्वुसे आङ्गा
   
चुंजिएच्छासारे थेसुम्थेले माहोप्लो

(हे भद्रभलाद्मी हे गण्यमान्य जानिफकार महासयहरू ! मुलुंखे सुसुङ्ना फूलले सुहाउने । अनि विशिष्ट वंशहरू । योमोइ चम्खासिं गढीका मालिक वा यस गढीमा बसी राज गर्ने वंश चाचाला चाहिदोहाङ राजाका सन्तति महानहरू हो, म अञ्जानले केही नजाने पनि एक दुई बोली बोल्न अनुमति चाहन्छु है ।)

यो गीत र यसको अनुवाद पनि तुंघङले नै उपलब्ध गराएका हुन् । यी तथ्यहरूबाट खजुम लिम्बूहरूको इतिहासको विरासत निकै पुरानो र महत्वपूर्ण देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.