‘यातायात क्षेत्रको सिन्डिकेट तोड्न सरकार प्रतिबद्ध’
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रको सिन्डिकेट तोड्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले पछिल्लो समय मुलुकमा घटेको सवारी दुर्घटनाबाट आफू चिन्तित रहेको भन्दै यातायातको सिन्डिकेट तोड्न प्रतिबद्ध रहेको बताएका हुन्।
बिहीबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘काभ्रे, बैतडी, चितवन र अर्घाखाँचीमा घटेको सवारी दुर्घटनाप्रति चिन्तित छु। यी लगायतका दुर्घटनाले मलाई गम्भीर र दुःखी बनाएको छ।’ उनले यस्ता खालका घटना दोहोरिन नदिन सम्बन्धित मन्त्रालयलाई आफूले निर्देशन समेत दिएको बताए। प्रधानमन्त्री प्रचण्डले सडक सुरक्षासम्बन्धी एकीकृत कानुन तयार पारिने समेत स्पष्ट पारे।
उनले यातायात समितिको एकाधिकार तोडिएपछिको यातायात नियमन गर्न र यातायात क्षेत्रमा कार्यरत लाखौं मजदुरहरूको पेशागत सुरक्षा तथा उचित पारिश्रमिकको व्यवस्था मिलाउन पनि सरकार प्रतिवद्ध रहेको बताए। उनले अब सडक निर्माण र मर्मतमा संलग्न निकाय, सवारी धनी, इजाजत दिने निकाय लगायतका सम्वद्ध सबै पक्षलाई सडक सुरक्षा सम्वन्धमा जिम्मेवार तुल्याउने गरी सडक सुरक्षा सम्वन्धी एकीकृत कानून तर्जुमा गरिने बताए।
उनले ६ महिनाभित्र एक सयवटा लामा र स्तरीय ठूला बस खरिद गरेर काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, विरगञ्ज, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत र घोराही लगायत शहरमा नगरपालिकामार्फत् सञ्चालन गरिने बताए। आगामी ६ महिनाभित्र उपत्यकाका ट्याक्सी सवारी प्रयोगकर्ताले कम्प्युटर विल प्राप्त गर्न सक्ने व्यवस्था गरिने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !