बंगलाभूमिमा बरालिँदा

बंगलाभूमिमा बरालिँदा

तेस्रो दिनको तेस्रो गन्तव्य थियो, सभरस्थित स्वतन्त्रता स्तम्भ । ढाकाको मुख्य सहर छोडेर बाहिरिएका थियौं हामी । बंगलादेशको लोभलाग्दो संसद् भवन घुमेपछि मध्याह्न १२ बजे ३५ किलोमिटर उत्तर–पश्चिममा पर्ने स्तम्भका लागि अघि बढ्दै थियौं ।

संसद्बाट निस्केपछि अलिपर पुग्दा ठूलो नदी देखियो । बूढीगंगा रहेछ । नदी तरेपछि बाटो साँघुरिँदै थियो । नेपालको सन्दर्भ जोड्ने हो भने सबैभन्दा फराकिलो बाटो तीनकुने–सूर्यविनायकको ६ लेनको बाटो सुरु हुँदै थियो । ढाकाको सामान्य त्यो बाटोको बीचको आइल्यान्ड नेपालको भन्दा हरियाली र सुन्दर । नदीमा दर्जनौं पानीजहाज र डुंगाहरू देखिए तर पानी सुकेको थियो सायद । नदी पुग्ने बेलाको चोक आसपास (सडकको दायाँबायाँ) ठुल्ठूला ट्रकहरूको साम्राज्य । लाग्थ्यो, हाम्रै 'मनोहरा' र 'जडीबुटी चोक'को आसपास पुगेका थियौं ।

नदीले मुख्य सहर र अन्य ठाउँ जानेलाई छुट्याएको रहेछ । सहरभित्र कहीँ कतै धुलोको महसुस गर्नु परेको थिएन, नदी तरेपछि धूलो र हिलो दुवै भेट्यौं । सडक र दायाँबायाँ खाल्डाखुल्डी पनि । जेठको मौसम गाउँको वातावरण भएर होला सायद, मन नै हर्ने गरी हरियालीले छपक्कै छोपेको थियो । काठमाडौंबाट भक्तपुरतिर जाँदा जगाती आसपासमा देखिने इँटाभट्टाहरू र हरियालीझैं लाग्थ्यो अघि बढेपछि । त्यहाँ पनि इँटाभट्टाहरूको संख्या दर्जनौं भेटिए । खेतीयोग्य जमिनभन्दा सीमसार क्षेत्र बढी देखिए ।

बीआरटीसी (बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसन) का पुराना दुईतले बस बाटोमा सार्वजनिक यातायातमा प्रयोग भएका भेटिए । ती सरकारी बस सरकारले नभई व्यक्तिले भाडामा लिएर चलाउँदा रहेछन् । कार मूलसडक छोडेर बायाँ मोडियो र रोकियो । हामी सामान्य गाउँले चोकमा थियौं । एसीबाट घाममा । एकैछिनमा पसिनाले खलखली बनाइहाल्ने । यसै पनि गर्मी ठाउँ ढाका । चोकमा ठुल्ठूला लोभलाग्दा केरा । असी टाकामा एक दर्जन । केरापछि नयाँ फल चाख्यौं ।

मैले एक दशकदेखि पत्रकारितामा 'नोइज पोल्लुसन' मा उदाहरण दिने पाल्मनामक फल रहेछ त्यो । 'आई स अ पाल्म ट्री' भनेर उदाहरण दिन्थेँ तर फल चाखे पनि पाल्मको रूख देख्न भने पाइनँ । दुईवटा खाएँ दुवै फरक स्वादका, एउटा गिलो अर्को कडा ।

सडकको दायाँबायाँ विभिन्न कलकारखानाहरू देखिए । त्यो बाटो हिँड्दा लाग्यो मानौं हामी इटहरीबाट दुहबीहुँदै विराटनगरतर्फ जाँदैछौं । मुख्य सहरबाहिर अपार्टमेन्ट बनाउने चलन प्रायः देशमा छ । अपार्टमेन्टका विविधता त्यहाँ पनि देखियो । मलाई भने भारतको नयाँदिल्लीबाट त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थल र सोबाट पनि बाहिर गइरहेको आभास भएथ्यो ।

आइल्यान्ड भएको दुवैतर्फ दुई–दुई ल्यान्डको त्यो सडक प्रयोगकर्ता नेपालका राजधानीवासीभन्दा कम थिएनन्, बीच–बीचबाटै बाटो काट्न । सडक दायाँबायाँ पार्किङ गर्ने शैली पनि नेपालबाटै सिकेजस्तो । करिब डेढ घन्टाको यात्रापछि स्मारक पुग्यौं । पुग्नुअघिको सभर कन्टिनेन्ट क्षेत्र पुग्दा लाग्यो, म नेपालको भक्तपुरमा रहेको सल्लाघारी (दूधपाटी पुग्ने) मा छु ।

हरियालीमा हराउँदा

'मेमोरी अफ लिबरेसन वारको प्रतीक हो यो स्वतन्त्रता स्तम्भ', भित्र पस्नासाथ टोलीलाई नेतृत्व गर्दै ढाका पुर्‌याउने नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले भन्नुभयो, 'सन् १९७२ डिसेम्बरमा राष्ट्रपिता बंगबन्धु शेख मुजिवर रहमानद्वारा शिलान्यास गरिएको र जुलाईबाट निर्माण सुरु भई जुन १९८८ मा सम्पन्न भएको यो राष्ट्रिय धरोहरलाई राष्ट्रिय सहिद स्मारक भनिँदोरहेछ ।'

आँखाले भ्याउन्जेलको खुला क्षेत्र । हरियाली मानौं हाम्रो मन हर्दै थियो । पर सामुन्ने देखिने स्मारक अर्थात् स्तम्भको चुच्चोले मानौं आकाश छेड्दै थियो । सयौं एकड क्षेत्रफलको हरियालीको बीचमा रहेको स्तम्भ ठूलो मन्दिरको सुनको गजुरझैं थियो । बंगलादेश नेपाल मैत्री समाजको निमन्त्रणामा नेपाल स्रष्टा समाजका स्रष्टाहरू जीवनाथ पोखरेल, प्राध्यापक डा. गोविन्दमानसिंह कार्की, मणिराज सिंह, शशि थापा पण्डित, मनोज ढुंगाना र म पहिलोपटक ढाकाको यात्रामा थियौं । यसअघिको संसद् भवन होस् वा सहिद मिनार अनि ढाकाका हरियाली र गगनचुम्बी भवनले भरिएका चोकहरू, उसैगरी छरप्रष्ट भयौं स्तम्भ क्षेत्रमा पनि फोटोमा कैद हुन ।

मोनुमेन्ट (स्तम्भ) कम्प्लेक्स ३४ हेक्टर क्षेत्रफलमा फैलिएको रहेछ । जसलाई १० हेक्टर क्षेत्रफलको हरियालीले घेरेको थियो । मोनुमेन्टको डिजाइन आर्किटेक्चर सेइद माइनुल हसनले सात भिन्न त्रिकोणात्मक खम्बा रहने गरी बनाएका थिए । परबाट हेर्दा एउटै चुच्चो स्तम्भ लागे पनि कंक्रिटबाट बनाइएका सातवटा ती टावर केही हातको दूरीमा छन् ।

र ती सबैको आकार र उचाइ फरक–फरक छन् । बंगलादेशको स्वतन्त्रताका लागि सहिद हुने सातजनाको सम्झनामा बनाइएको उक्त राष्ट्रिय सहिद स्तम्भमा सातमध्ये अग्लो खम्बाको उचाइ एक सय ५० फिट छ । सरकारको सार्वजनिक निर्माण विभागले सन् १९७२ देखि १९८२ सम्ममा तीन चरण गरी निर्माण गरेको थियो ।
...
म्युजियमको मजाचौथो र अन्तिम गन्तव्य थियो, बंगलादेश नेसनल म्युजियम । हतारमा भ्रमणको पूर्ण स्वाद चाख्न पाइन्नँ । फेरि आयोजकको पनि आफ्नै सीमा हुन्छन् । बंगलादेश–नेपाल मैत्री समाजको निमन्त्रणामा पुगेका हामी अघिल्लो दिन दुई देशबीचको साहित्यिक एवं सांस्कृतिक सन्दर्भहरूलाई साटासाट गरेका थियौं ।

शिल्पकला एकेडेमीमा जेठ १८ गतेको कार्यक्रममा प्रमुख अतिथि बंगलादेशका उपसभामुख फजल रब्बी मिया र बंगलादेशका लागि नेपाली कार्यवाहक राजदूत सुशीलकुमार लम्सालले दुई देशको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गरेका थिए भने हाम्रो टोलीको तर्फबाट समाजका अध्यक्ष आलोक र डा. गोविन्दमानसिंह कार्की, मैत्री समाजका अध्यक्ष एम्दादुल हक, महासचिव शेली सेनगुप्ता, सचिव सलाउद्दिन कुटूलगायतले दुई देशबीचको साहित्यलाई अनुवादमार्फत आदान–प्रदान गर्नुपर्नेमा जोड दिए ।

'बंगलादेश–नेपाल साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान कार्यक्रम' मा मलाई ठूलो संयोग मिलेको थियो, नेपालमा २०७२ वैशाख १२ गते गएको भूकम्प सम्बन्धीका बालकथाहरूको संग्रह 'वैशाख १२' को अंग्रेजी अनुवाद कृति '१२ वैशाख' विमोचन गर्ने । पर्सि बिहानै हजरत साहजलाल अन्तर्राष्ट्रिय एयरपोर्ट पुग्नु थियो, नेपाल फर्कन । भोलि ढाका बजार घुम्दै किनमेल गर्ने र नेपाली राजदूतावासले हामीलाई गर्ने स्वागतसहितको डिनर पार्टीमा सहभागी हुनु थियो ।

संग्रहालय पुग्दा काठमाडौंको पुरातत्त्व विभाग र अभिलेखालय भएको कार्यालय परिसरमा पुगेझैं भयो । बंगलादेशका प्रसिद्ध कवि रफिक आजादकी भतिजी डा. निरुसाम्सुन नाहर भेटिइन् । उनी संग्रहालयमा उपनिर्देशक रहिछन् । उनैले तीनतले संग्रहालयका ३८ वटा ग्यालरीको फटाफट शैलीमा ब्रिफिङ गरिन् हामीलाई ।

ग्यालरी पस्नुअघिको नक्सामा बंगलादेश र ढाकाका विभिन्न ठाउँबारे जानकारी गराइन् । बंगलादेशको मात्र होइन, विश्वकै सबैभन्दा लामो सि–बीच मानिने कक्स बजार एक सय २२ किलोमिटरको रहेछ । एकातिर बर्माको म्यानमार र बाँकी तीनतिर भारतले घेरिएको बंगलादेशको छुट्टै इतिहास रहेछ । उनको हामीप्रतिको सामीप्यताले यसअघि भेटिएका थुप्रै बंगाली मित्रहरूको सन्दर्भलाई पुष्टि गरिरहेको थियो कि बंगलादेशी नेपालीलाई नजिक ठान्छन्, मैत्री व्यवहार गर्न रुचाउँछन् । सायद सामाजिक एवं सांस्कृतिक केही आयाम उस्तै भएर ।

सहबागमा सन् १९१३ देखि सुरुआत गरिएको ढाका संग्रहालयलाई सन् १९८३ मा राष्ट्रिय संग्रहालयमा परिणत गरिएको रहेछ । पहिलो तलालाई २२ कोठामा विभाजित गरी ६४ जिल्ला भएको बंगलादेशको ठूलो नक्सा, ठूलो मूर्तिमा रोयल बेंगल टाइगर, बंगलादेशका प्राकृतिक दृश्यहरू, सन् १९०० सम्मका बंगलादेशका ऐतिहासिक सन्दर्भहरू राखिएका छन् ।

दोस्रो तलामा बंगलादेशको स्वतन्तत्राका लागि युद्धमा होमिएका दृश्य र व्यक्तिका साथै भाषा आन्दोलनका सन्दर्भलाई समेटिएको छ । तेस्रो तलामा अन्तर्राष्ट्रिय नेता, कलाकार, वैज्ञानिक र प्रसिद्ध तस्बिरहरू र चीन, कोरिया, स्विस र इरानियन गरी चार अन्तर्राष्ट्रिय ग्यालरी छन् । निरुले नेपालका लागि पनि एउटा ग्यालरी छुट्याइएको र नेपाल सरकारले आफ्नो देश प्रतिविम्बित हुने सामग्री चाँडै राखोस् भनी जानकारी गराइन् ।

हामी बिहानै देखिको भ्रमणले खानाबाट वञ्चित भएर भोक र थकानले अस्तव्यस्त भइसकेका थियौं तर निरुको निकटता प्रदर्शन त्यो यथार्थबाट टाढा थियो । अन्त्यमा हामी यसरी बिदा भयौं जसरी माइती उनले छोरी बिदाइ गरिरहेकी छन् ।

संसद्को स्वाद

सहिद मिनारबाट आधा घन्टा कारमा हुइँकिएपछि सेर ए बेंगला नगरस्थित आँखाले भ्याउन्जेलको खुला हरियाली क्षेत्र र बीचमा भव्य भवन देखियो । संसद् भवन रहेछ । आयोजकले कसरी मिलाए होलान् संसद् घुम्ने व्यवस्था ? राजधानी बसेर नेपालकै संसद् भवन नघुमेका हामी बंगलादेशको संसद् भवन घुम्न पाउँदा चकित थियौं । संसद् भवनको आउट लुकले नै लोभ्यायो हामीलाई ।

लुइस खानको त्यो डिजाइन तारिफयोग्य थियो । पस्ने सामुन्नेको बाटो सांसदहरूले पनि प्रयोग गर्न नपाउँदा रहेछन् । कारले घुमाएर पछाडिपट्टि पुर्‌यायो । आयोजक मैत्री समाजका सचिव सलाउद्दिन कुटूसँग घुमिरहेका हाम्रो टोलीमा समाजका कोषाध्यक्ष सर्बर पनि त्यहाँ पुग्दा थपिएका थिए । उसो त टोली जम्बो नै थियो, सांस्कृतिक कार्यक्रमका लागि गएको पोखराको आठजनाको टोली पनि साथमै थियो ।

राजधानी बसेर नेपालकै संसद् भवन नघुमेका हामी बंगलादेशको संसद् भवन घुम्न पाउँदा चकित थियौं । संसद् भवनको आउट लुकले नै लोभ्यायो हामीलाई । लुइस खानको त्यो डिजाइन तारिफयोग्य थियो । पस्ने सामुन्नेको बाटो सांसदहरूले पनि प्रयोग गर्न नपाउँदा रहेछन् ।

संसद् रहेको क्षेत्रफल दुई सय एकड रहेछ । नेपालको तराईसँग तुलना गर्ने हो भने तीन सय बिगाहाभन्दा बढी । निश्चित नियम पूरा गरेपछि प्रवेशमा जोकसैलाई कडाइ रहेनछ । मोबाइल लैजान बन्देज रहेछ । भवनभित्र बीचतिर एउटा बडेमाको पुस्तकालय थियो । सांसदहरूले पढ्ने कक्षहरूसहित । कीर्तिपुरमा रहेको सेन्ट्रल लाइब्र्रेरीभित्र रहेको अनुभूति भयो । तीन सय ५० सांसद हुँदा रहेछन् । डा. सिरिन सर्मिन चौधरी सभामुख ।

१२ वैशाख विमोचन गर्ने प्रमुख अतिथि उपसभामुख फजिर रब्बी मियासँग हिजो कार्यक्रममा चिनजान भइसकेको थियो । संसद्मा ५० सिट मनोनीतलाई छुट्याइने रहेछ जहाँ २० जना निर्वाचित महिला सांसद हुने व्यवस्था रहेछ । पार्लियामेन्ट लाइब्रेरीका चिफसँग सर्बरले चिनजान गराए, नेपालबाट आउनुभएको पत्रकार । कापी, कलम बोकेर टिप्दै हिँडिरहेको देखेका उनले सूचना पर्याप्त चाहिएलाझैं महसुस गरेर भवनबारे थुप्रै जानकारी दिए ।

सन् १९८२ मा निर्माण भएको भवनको भुइँतला आठ लाख २३ हजार वर्गफिटमा फैलिएको रहेछ । चिफका अनुसार, पुस्तकालयको बीचमा रहेको एउटै पिलरमा भवन बनेको छ । जोडिएका आठ भवन छन् । भव्य भवनको बीचमा जहाँ पुग्दा पनि माथिबाट प्रकाश छिर्ने रहेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.