मेरो गुरुको नाममा

भदौ २१ गते बिहान इटहरीबाट तेजप्रसाद सिटौलाले फोनमा भन्नुभयो- 'मेरा गुरु दान खालिङको हिजो देहान्त भएको सुनेँ, बहुत दुःख लागेको छ ।' 'कसरी तपाईंका गुरु ? ' मैले सोधेँ । २०१३ सालमा उहाँको विद्यार्थी हुने सौभाग्य पाएको थिएँ; मेची किनारको भद्रपुर हाइस्कुलमा उहाँ अंग्रेजी शिक्षक हुनुहुन्थ्यो । दार्जिलिङको अंग्रेजी कस्तो राम्रो थियो- उहाँले भन्नुभयो ।
त्यसो त दान खालिङ अस्वस्थ भएको कुरा ता २०७२ साल कात्तिक १० गते मंगलबारको 'कान्तिपुर'मै आएको थियो । पर्वत पोर्तेलको 'पाका स्रष्टाहरूको दैनिकी' शीर्षक रिपोर्टमा ८० कटेका ६ जना भारतीय नेपाली साहित्यका हस्तीहरूको सचित्र संक्षिप्त बयान छ- श्री हायमनदास किराँत, इन्द्रबहादुर राई, लीलबहादुर क्षेत्री, डा. लक्खीदेवी सुन्दास, दान खालिङ र गीता उपाध्याय ।
त्यस प्रकाशनमा निकै मोटो गोरो अनुहार भएका दान खालिङका आँखामा मोटो पावरवाला चश्मा छ, अलिक लामो नाक, ज्योति मलिन भए जस्तो देब्रे आँखा, तर कञ्चटको पातलो केशकालै छ अझै, शिरमा तेह्रथुमेजस्तो कुनै पूर्वेली तानको नयाँ टोपी ढल्केको । ८८ कटेका दानसरले भनेका कुरा बिर्सिनसक्ना छन्- कतै जान्न, बिरामी छु, औषधि छुट्ला भन्ने पीर हुन्छ ।
सर्वप्रथम २६ वर्षको उमेरमा दान खालिङले सोद्देश्य नेपाल प्रवेश गर्नुभएको थियो । २००७ सालको क्रान्तिमा सहभागी भई सुकेपोखरी सिमानाबाट बन्दुक भिरेर नेपाल पसेपछि नेपालभूमिको माटो शिरमा चढाएर अति भावुक बनेका उहाँको वर्णन छ । बीपी कोइरालाको नेतृत्व थियो । आन्दोलन सफल भएर मुक्तिसेनाले झापा कब्जा गरेपछि दान खालिङलाई प्रचार विभाग सुम्पेको कुरा इतिहासमा छ ।
'झापा दिग्दर्शन' पृष्ठ १०८– १०९ मा लेखिएको छः 'अन्तमा मंसिर २६ गते झापाको सदरमुकामनिरको झिलझिलियामा ट्रेन्च खोली पोजिसन लिएर बसेका सेनामाथि लामो समयसम्म घेराउ गर्दा पनि तिनले आत्मसमर्पण नगरेपछि मोहन शमशेरका कप्तान एवम् बिर्ता आक्रमणपछि बन्दी बनाइएका भूपालमानसिंह कार्कीले मध्यस्थता गर्न स्वीकार गरेपछि राणा सेनाले आत्मसमर्पण गर्न सहमति जनाए, झापा क्रान्तिकारीहरूको नियन्त्रणमा आयो ।
त्यहाँका बडाहाकिम अनिरुद्धप्रसाद सिंह पहिला नै झापाबाट हिँडिसकेका थिए । त्यसको लगत्तै स्थानीय क्रान्तिकारीहरूले झापामा अस्थायी सरकार गठन गरे । मिलिटरी फौजी, निजामती सर्वत्र नै आमूल परिवर्तन गरियो । यसरी चुनिएका बीस व्यक्तित्वमध्ये दान खालिङलाई प्रचार विभाग प्रमुख बनाइएको थियो ।'
त्यस यताका उहाँका ५० वर्षमध्ये २० वर्ष काठमाडौंमा बिते ३० वर्ष जति पुनः झापामै ।
दान सरको जीवन अनेक प्रक्षेप–पथले भरिएको छ । प्रजातन्त्रको लागि संघर्ष, पञ्चायतमा प्रवेश, फेरि त्यसको बहिष्करण, साहित्य र शिक्षामा लामो तपस्या र अन्त्यको ध्यान तपस्या अनि अशक्तताको जीवन । उहाँको कर्ममय जीवन शिक्षक, अनुवादक, लेखक, प्रकाशक अनेक भूमिकामा बितेको थियो । एक बौद्धिक भाषाप्रेमी विश्वसाहित्य ज्ञाताको रूपमा चिनिनु भयो ।
२००७ मा झापा पसेपछि, क्रान्तिकाल सकिएपछि केही वर्ष भद्रपुर हाइस्कुलमा पढाउनुभयो । पछि २०१७ सालपछि दार्जिलिङका धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, अम्बर गुरुङ, महानन्द सापकोटा, लैनसिंह वाङ्देलजस्ता अनेक हस्तीलाई राजा महेन्द्रले यता ताने र अनेक ठाउँमा ससम्मान राखे । तिनैमध्ये एक हुन् दान खालिङ । उहाँलाई पञ्चायतभित्र एक पद प्राप्त भयो पछि नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको उपसदस्यता पनि दिइयो भन्छन् तर यी कुराको प्रमाण जुटाउन बाँकी छ । त्योभन्दा पहिले उहाँलाई फर्पिङ बोडिङमा शिक्षक बनाइयो ।
यसमध्ये २०२५ पश्चात् नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानअन्तर्गतको उहाँको जीवन एक प्राज्ञको र स्रष्टाको थियो । नेपालको एकतन्त्रीय शासनभित्र असन्तुष्टि व्यक्त गर्दै, प्रजातान्त्रिक शक्तिसँग जोडिँदै उहाँ धरापमा जिउनुभयो । पछि जनमतसंग्रहपश्चात् उहाँ झापा फर्केर त्यहाँका अनेक विद्यालयलाई वर्षौसम्म शिक्षण सेवा प्रदान गर्नुभयो ।
उहाँले कन्काई बोर्डिङ हाइस्कुलमा अध्यापन गर्नुभयो, विशेषगरी राजेश खड्काको लिटल फ्लावर बोर्डिङमा भाइस प्रिन्सिपल भई लामो समयसम्म सेवा गर्नुभयो, टावर टेम्पल हाइस्कुलको संस्थापक प्रिन्सिपल भई सेवा गर्नुभयो- यी सबै कर्म बिर्तामोड वरिपरि हुनुहुन्थ्यो । झापाको शैक्षिक बौद्धिक साहित्यिक जीवनमा दान सर एक उच्च सम्मान पाइरहने सङ्ला अभिभावक हुनुहुन्थ्यो । उहाँ बौद्धिक नेपाली वाङ्मयसेवी हुनुहुन्थ्यो ।
केही वर्षअघि झापा छोडेर दार्जिलिङ जानेबेलाको बिदाइको दिन धेरैले बिर्सन सकेका छैनन्- मेरो देहान्त जहाँ भए पनि मेची बगरमा दाह गरेको धुवाँ दुवै देशमा पुगोस् । दान खालिङबारेका विज्ञ हुनुहुन्छ मदन ढकाल, अरु कृष्ण धरावासी, विष्णु भट्टराई, राजेश खड्का, केशव आचार्य, पूर्वका धेरै व्यक्तित्व उहाँका ज्ञाता छन् । त्यस घटनाका साक्षी हुन् । उनलाई नागरिकता नदिएर अपमानित गरिएको थियो ।
यस्ता खालिङसरको जन्म ८९ वर्षअघि दार्जिलिङमा र कर्मक्षेत्र नेपालमा अनि असमर्थ काल र देहावसान पनि दार्जिलिङमै भयो । यस्ता खालिङ सरले काठमाडौं बसेर एक दशक जति उच्च प्राज्ञिक कर्म सम्पादन गर्नुभयो । खासगरी नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानअन्तर्गत अनुवादक समालोचक सम्पादक आदि कर्म गर्नुभयो । यस्ता दान खालिङ सरसित मेरो २०३१ सालको असारमा प्रथम भेट भएको थियो ।
म त्रिविमा बीएड पढ्दै भीमसेनस्थानमा बस्थेँ, उहाँ साहित्य गर्दै गुच्चाटोल पर्तिर वीर अस्पतालको पछिल्तिर बस्नुहुन्थ्यो । उता वनारसदेखि दाजुले चिठी लेखिदिनु भयो- दान खालिङ सरसित भेट गर्न जानू, यति नं. घरमा हुनुहुन्छ, ठूला साहित्यकार, हाम्रा अभिभावक । नभन्दै तत्कालै म त्यहाँ गएँ र भेटेँ । पुस्तकहरूका थाक छेउमा सफा बिछ्यौनाका आडमा हुनुहुन्थ्यो । भर्भराउँदो अनुहार मीठो दार्जिलिङको लवज । त्यसपछि हप्ता पन्ध्र दिनमा निरन्तर जान्थेँ ।
एकदिन हरियो गातावाल लाइट कपी भरी 'मुग्लान'को पाण्डुलिपि लिएर उहाँसँग भूमिका लेखिमाग्न पुगेँ । निकैबेर हेरेर भन्नुभयो- भाइ यसरी 'पहिलोचोटि' भन्दा 'चोटी' लेख्नु हुँदैन, यसको अर्थ हुन्छ 'टाकुरा' । अरु पनि छ गल्ती सुध्याउनू; फेरि म त त्यति भूमिका पनि लेख्दिनँ, पर जानू म्हैपी, म भन्दिउँला, एउटा बैनी छ पारिजात, उसलाई भेट्नू ।' नभन्दै अर्को हप्ता सोध्दै म्हैपी पुगेँ र पारिजातलाई भेटेँ, अनुरोध गरेँ, लेखिदिनुभयो र पछि अनेक व्यक्तिलाई धन्यवाद दिँदा दान खालिङज्यूप्रति विशेष आभार व्यक्त गरेको छु भूमिकामा ।
दान खालिङ अविवाहित रहनुभयो । उहाँ घरबार बेगरको त्यागी, आजीवन ब्रह्मचारी । पर्दा दार्जिलिङ मोड नजिकै आफ्ना भाइ बैनीकोमा बस्नुहुन्थ्यो । सम्पूर्ण जीवन एक ऋषिको, त्यागीको, तपस्वी शिक्षकको थियो ।
पछि २०३४ सालमा म वनारस पुगेँ, उहाँ त्यहीँ बस्नुहुन्थ्यो । त्यसबेला धमाधम प्रकाशन कार्यमा लाग्नुभएको थियो । 'भ्रमर'को नयाँ संस्करण, 'खहरे' कथा संग्रह जस्ता एक दर्जन कृति छपाइसक्नु भएको थियो । रामचन्द्र गिरीद्वारा अनुदित शेक्सपियरको नाटक 'मर्चेन्ट अव् भेनिस'लाई नेपालीमा 'भेनिसका महाजन' शीर्षकमा छपाएर उहाँले सिलिगुडीस्थित प्रधाननगरमा बस्तै सगर प्रकाशको स्थापना गर्नुभयो ।
मौलिक, लेखेर, सम्पादन गरेर, विशेषगरी अनुवाद गरेर गराएर उहाँले नेपाली वाङ्मय भर्नको लागि कठोर प्रयत्न गर्नुभयो । विराटनगर हिमालय रोडमा हाम्रो भट्टराई पुस्तक पसल थियो । उता वनारसबाट दान खालिङ सरका केही पुस्तक त्यहाँ आउने अथवा माइला दाजु आफैं प्रधाननगर पुगेर लिई आउने यस्तो पनि चल्यो तर २०३० को दशकमा कति पुस्तक पत्रिकामाथि प्रतिबन्ध भएको समयमा स्तरीय कृतिका पाठक थिएनन् होला । तसर्थ यो कर्म पनि केही समयमै ओइलिएर गयो । उहाँका आफ्नै पनि एक कवितासंग्रह लगायत चार कृति प्रकाशित छन् ।
दान खालिङ अविवाहित रहनुभयो । उहाँ घरबार बेगरको त्यागी, आजीवन ब्रह्मचारी । पर्दा दार्जिलिङ मोड नजिकै आफ्ना भाइ बैनीकोमा बस्नुहुन्थ्यो । सम्पूर्ण जीवन एक ऋषिको, त्यागीको, तपस्वी शिक्षकको थियो ।
एउटा दुःखलाग्दो कुरा छ, उहाँलाई केही गर्दा पनि नेपाली नागरिकता दिइएन र अत्यन्त दुःखित हुँदै यो भूमि माया मार्न नसकेर पनि मेची तर्नुभयो । एकजना झापाली लेखक भन्नुहुन्छ- उहाँले एउटा लेखमा मेरो शव मेची बगरमा अन्त्येष्टि होस् - त्यसको धुवाँ दुवै देशको आकाशमा पुगोस् भन्नुभएको थियो । के भयो थाहा छैन ।
प्रज्ञा–प्रतिष्ठानसँग सम्बद्ध भई अनुवादक लेखक भई कार्य गर्ने दानियाल सरले नेपाली साहित्यलाई विश्ववाङ्मयमा चिनाउन ठूलो परि श्रम गर्नुभएको थियो । रवीन्द्रनाथ ठाकुरको 'चित्रांगदा' काव्य नाटकलाई नेपालीमा 'चित्रांगदा' शीर्षकमा अनुवाद गरी २०२९ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले छपाएको थियो ।
तत्कालीन साहित्य विभागका आयोजक रत्नध्वज जोशीले त्यसमा लेखेका छन्ः 'रवीन्द्र ठाकुरका कृतिको अनुवाद गर्नु जस्तो कठिन कामलाई सरल बनाई नेराप्रपप्रति गुन लगाउनु भएबापत यसका सुयोग्य अनुवादक दानियल खालिङलाई धन्यवाद ।'
दान सरको योगदान भर्खर स्थापित प्रज्ञा–प्रतिष्ठानको सुदृढिकरणमा अत्यन्तै महत्त्वपूर्ण थियो । शेक्सपियर एवम् रवीन्द्रनाथलाई नेपालीमा ल्याउनु भनेको विश्वसाहित्यको उत्कृष्टतालाई चिन्न सक्नु थियो । उहाँले उमरखैयामको रुवाइयातको पनि अनुवाद गर्नुभएको थियो ।
त्यति मात्र होइन प्रज्ञा–प्रतिष्ठानबाट सबैभन्दा पहिले दुईवटा नेपाली कवितासंग्रह अंग्रेजीमा अनूदित भएर गए- ती थिए 'मोडर्न नेपाली पोएम्स' एवम् 'सेवेन् पोएट्स्' । तिनमा प्राज्ञ तुलसी दिवसको योगदान छ । २०३२ मा प्रकाशित 'सेवेन पोएट्स्'मा लेखनाथ पौडेल, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, मधवप्रसाद घिमिरे र मवीवी शाहका गरी २४ कविता (१६० पृष्ठमा) अंग्रेजीमा प्रकाशित छन् । अनुवादकमा दान खालिङ र दमनराज तुलाधर हुनुहुन्थ्यो ।
ती दिनसम्म अनुवादकको दर्जा हलिको अथवा दासको जस्तो मात्र थियो । त्यसैले संग्रहका कुन कविता दमनराज तुलाधरले कुन दान खालिङले अनुवाद गरेका हुन् भन्ने कुरा कतै छैन । अनुवादकको भनाइ ता कुनैमा हुन्थेन- तर कठिन कार्यमा हाम्रा अग्रणी द्वैभाषिक गुरु दानियल खालिङले सम्पन्न गरेर देखाउनु भएको थियो । यो राष्ट्रलाई माथि उठाउनुभएको थियो ।
दानसरले यो देशको सेवामा ५० वर्ष अर्पण गर्नु भयो । अन्त्यमा उहाँलाई दुईवटा पुरस्कार प्राप्त भए- नेपाली नगरिकताको वञ्चना र नेपाली लेखक स्रष्टाको नामबाट उच्छेदन । हेर्नोस् नेपाल प्रज्ञा–प्रतिष्ठानबाट हालै प्रकाशित 'साहित्यकार–कलाकार परिचयकोश' (२०७०) दान खालिङको नाम कतै भेटिने छैन । गतवर्ष सिलिगुडीका स्रष्टाले यसमा आश्चर्य र दुःख व्यक्त गरेका थिए । कत्रो कृतघ्नता प्रदर्शन !
प्रतिक्रिया दिनुहोस !
