ब्रह्माण्डका एक्ला हामी

'हर तरफ हर जगह बेसुमार आद्मी
फिर भी तन्हाइयोका सिकार आद्मी'
के भन्या होला यो कविले ? अनगिन्ती मानिसमध्ये ऊ यदि एक्लो महसुस गर्दैछ भने मनोचिकित्सकीय भाषामा मस्तिष्कमा पक्कै केही केमिकल लोच्चा चलिरहेछ । अब यो केमिकल लोच्चाको मूल कारण जे पनि हुन सक्छ । प्रेमिका रिसाएकी हुन सक्छे, श्रीमतीसँग ठाकठुक भएको हुनसक्छ, समालोचकले उसको लेखाइलाई झुर भनिदिएको हुन सक्छ, जागिरबाट निष्कासन पनि भएको हुन सक्छ, तलब थापेर आउँदै गर्दा बाटोमा पाकेटमारको हातको सफाइ पनि कविलाई यो गहिराइसम्म/मुखाईसम्म पुर्याउने कारण भएको हुन सक्छ ।
कवि भन्छ यो भरिपूर्ण दुनियाँमा 'म एक्लो छु' । तर यो साढे सात अर्ब मानिसको दुनियाँमा के ऊ एक्लो हुन सक्छ ? मानिसमात्रै किन रूख, बिरुवा, पशुपंक्षी, कीटपतंगलगायत अन्य सूक्ष्म जीवले ऊ घेरिएकै हुन्छ । अनि ऊ कसरी एक्लो हुन सक्छ ?
आफ्नो सन्न्यासी जीवनको प्रारम्भिक दिनमा म पनि शान्ति र शान्त वातावरण एवं एक्लो हुने चाहनाले ग्रस्त थिएँ । यस्तै फिराकमा हिमालयको यात्रा गरेँ । गंगोत्री पुगेँ, गौमुख पुगेँ, गौमुखबाट गंगा ग्लेसियरमाथि हिँड्दै तपोवन पुगेँ । मलाई सबैभन्दा मन नपर्ने कमिला त्यहाँ पनि थिए । आकाशमा काग उडी नै रहेका थिए । मृग पनि थिए ।
कवि त आफ्नो कोठामा एक्लै थियो, मैले चार हजार मिटरमा पनि आफूलाई जीवनबाट घेरिएको पाएँ । तर के एक्लो हुनु सम्भव छ ? के आजसम्म कोही मानिस पूर्णरूपेण एक्लो हुन पुगेको छ ? यसको खोजी मैले पनि गरेको थिइन, तर एडविन एल्ड्रिनको नेपाल आगमनले मलाई यसको जानकारी दियो । एल्ड्रिन महाशयको नेपाल आगमनका लागि धन्यवाद एवम् स्वागत भन्दै म मूल विषयमा फर्किन्छु ।
२० जुलाई १९६९ । यसैदिन मानव जातिको कुनै सदस्यले प्रथम पटक पृथ्वीबाट तीन लाख चौरासी हजार चार सय तीन किमि टाढा रहेको चन्द्रमामा पाइला टेके । १६ जुलाई १९६९ का दिन केनेडी स्पेस सेन्टर, फ्लोरिडाबाट सुरु भएको यस यात्राका तीन जना चन्द्रयात्री थिए– नील आर्मस्ट्रङ, एडविन एल्ड्रिन र माइकल कोलिन्स । सर्वप्रथम चन्द्र धरातलमा २० जुलाई १९६९ का दिन २०.१८ यूटीसीमा नील महाशयले पाइला राख्ने सौभाग्य पाए । त्यसपछि २१ जुलाई १९६९ का दिन २.५६ यूटीसीमा एल्ड्रिन महाशय चन्द्रमा टेक्ने दोस्रो पुरुष बने ।
भन्न सकिन्छ एल्ड्रिनले पछ्याउँदै नगएसम्मको अवधिमा नील पूर्णरूपेण एक्ला व्यक्ति थिए । तर होइन उनी एक्लो भएर पनि एक्लो थिएनन्, उनी लगातार पृथ्वीमा रहेको सेन्टर र अपोलोको कमान्ड मोड्युलमा बसिरहेका माइकल कोलिन्ससँग रेडियो सम्पर्कमा थिए । माइकल कोलिन्स चन्द्रमासम्म पुगेर पनि त्यहाँ ओर्लिन पाएनन् । तपाईंका नजरमा उनी अभागी होलान्, उनी यानमा बसेर चन्द्रमाको चक्कर लगाइरहे ।
चक्कर लगाउने क्रममा आजसम्म जन्मेका १०५ अर्ब मानिसमध्ये सर्वोच्च सौभाग्यशाली मानिस बन्न पुगे माइकल कोलिन्स । बुझ्नु भएन किन ? ल सुन्नुस् नील र एल्ड्रिनलाई सम्पर्क साधी पुनः यानमा ल्याउने महत्त्वपूर्ण जिम्मेवारी पाएर कमान्ड मोड्युलमा बसिरहेका कोलिन्स चन्द्रमाको परिक्रमा गर्दै चन्द्रमाको अर्को किनारामा पुगे । भन्नुको अर्थ हामी जुन चन्द्रमाको किनार हेर्छौं त्यसको विपरीत किनारामा र यही बेला उनको नील तथा स्पेस सेन्टरसँग रेडियो सम्पर्क टुट्न गयो ।
त्यो बेला टेक्निकल्ली माइकल कोलिन्स पूर्णरूपेण एक्लो मानिस बन्न पुगे । ४८ मिनेटसम्म नितान्त एक्लो आफ्नो यानबाट ब्रम्हाण्डको अनन्त विस्तारमा चिहाइरहेको एक्लो मानिस । पूर्णरूपेण एक्लो हुने सौभाग्य पाए कोलिन्सले । यस्तो सौभाग्य सायदै अरु कसैले पाए । उनको बायोग्राफी, 'कैरिंग द फायर' मा लेखिएको छ, 'ही एक्चुअली एन्जाएड द सोलिट्यूड एन्ड फ्रिडम ही एक्स्पिरियन्सड इन द फ्लाइनिङ सोलो इन द कमान्ड मोड्युल स्पेसली भेन हि फ्ल्यु एराउन्ड द ब्याक साइड अफ द मुन एन्ड वाज द ओन्ली ह्युमन अन दैट साइड अफ द युनिभर्स ।'
यो भयो मानिसको कुरा । ब्रह्माण्डमा सबैभन्दा टाढासम्म पुगेको मानवनिर्मित वस्तु के हो ?
५ सेप्टेम्बर १९७७ नासाबाट प्रक्षेपित 'भोयागर प्रथम' ४५ किलोमिटर प्रतिसेकेन्ड को रफ्तारले ३९ वर्षदेखि निरन्तर यात्रामा छ । यो अवधिमा यसले २० खर्ब किमिभन्दा बढी दूरी तय गरिसकेको छ । जुन २०१६ मा यो यान सूर्यभन्दा एक सय ३५ एयू (२० खर्ब किलोमिटर) टाढा रहेको थियो । भन्न सकिन्छ, यो नै ब्रह्माण्डमा सबैभन्दा टाढा पुगेको मानव निर्मित वस्तु हो ।
विकिपिडियाका अनुसार, यसमा जडान गरिएको 'प्लुटोनियम' आधारित ऊर्जा संयन्त्रले यसलाई अझै दस वर्ष (२०२६ सम्म) यात्राका लागि इन्धन उपलब्ध गराइरहन्छ । त्यसपछि यान निस्तेज भएर ब्रह्माण्डको अनन्त विस्तारमा कतै हराउँछ, पृथ्वी स्थित स्टेसनसँग यसको सम्बन्ध सदाका लागि विच्छेद हुनेछ ।
नासाले यस यानमा एउटा 'गोल्ड प्लेटेड डिस्क' पठाएको छ । यस डिस्कमा हामी मानिसबारे जानकारी, हाम्रा डीएनए कोड्स, हाम्रो सौर्यमण्डलको नक्सा (अमेरिकाको होइन) आदि सूचना संगृहीत गरिएको छ । कारण यस विशाल ब्रह्माण्डमा कतै हामी जस्तो वा कुनै किसिमको प्राणी छन् भने र उनले त्यो यानमा रहेको डिस्क भेटे भने थाहा पाउन् ।
यस पृथ्वीका प्राणी नितान्त एक्लै छन्, हजारौं वर्षदेखि प्रतीक्षारत छन् । यस अनन्त ब्रह्माण्डबाट कसैको सन्देश त आओस्– 'ओ पृथ्वीवासी तिमीहरू एक्लो छैनौं हामी पनि छौं ।'
यो विशाल ब्रह्माण्डमा रहेको अनेकौं आकाशगंगा समूहमध्ये एक 'विरगो सुपर कलस्टर'मा रहेको आकाशगंगा 'मिल्की वे' को ओरियन भुजामा अवस्थित एउटा सूर्यनामक ताराबाट १५ करोड किमि टाढा एउटा लाल र नीलो रङको ग्रह पृथ्वी छ जहाँ उनीहरू जस्तै अथवा भिन्न प्रकारको जीवन छ, प्राणी छन् ।
यस पृथ्वीका प्राणी नितान्त एक्लै छन्, (माथिको कविले भनेको जस्तै) हजारौंवर्षदेखि प्रतीक्षारत छन् । यस अनन्त ब्रहमाण्डबाट कसैको सन्देश त आओस्– 'ओ पृथ्वीवासी तिमीहरू एक्लो छैनौं हामी पनि छौं ।' तर जबसम्म यस्तो सन्देश आउँदैन हामी पृथ्वीवासी यस ब्रह्माण्डमा एक्लो छौं । 'वी आर द मोस्ट लोनली पिपुल इन् युनिभर्स ।'
यस डिस्कमा एउटा गीत पनि पठाइएको छ । २५ जनवरी १८९७ मा टेक्सासमा जन्मेका विली जोन्सन रचित 'डार्क वाज द नाइट, कोल्ड वाज द ग्राउन्ड' बोलको गीत १९ खर्ब किमि टाढा समस्त मानवताको नेतृत्व गरिरहेको छ ।
(विकिपिडिया, नासा, एवम् भारतीय मित्र विजयसिंह ठकुरायको सहयोगले यो आलेख तयार पारिएको हो ।)
प्रतिक्रिया दिनुहोस !
